हाम्रा बाउबाजे धर्मकर्म गर्थे। बाटो हिँड्ने बटुवाको सुविधाको लागि ठाउँ-ठाउँमा पाटीपौवा बनाउँथे। धारा कुवा खन्थे। बर पिपल रोप्थे। फलैचा, चौतारा र बिसौनी बनाउँथे। कसैको कुभलो चिताउँदैन थिए।
मर्दापर्दा दिल खोलेर एकअर्कालाई साथ सहयोग गर्थे। दसैँ तिहार चाडबाड आउनुअघि गाउँघर सफा गर्थे। १२-१५ माइल सार्वजनिक बाटो जनश्रमदान जुटाएरै खन्थे, मर्मत गर्थे। खेतबारीमा सिंचाइको लागि कुला खन्थे।
भिर खोपेर पानी ल्याउँथे, नसके ढुग्रेबाँसको डुँढ बनाएरै भए पनि पानी बगाउँथे। कसैको पशुचौपाया फुकेर कसैको बालीनाली भुसुक्कै पारेको रहेछ भने चौतारामा बुढापाका पञ्च बसेर मेलमिलाप गराउँथे। मर्का परेकोलाई उचित क्षतिपूर्ति पनि तोकिन्थ्यो। तर अड्डा अदालतको ढोका कसैले देखेका थिएनन्।
हाम्रा बाउ काकाहरू केटाकेटी पढ्ने स्कुलको छाना छाउँथे, डेस्कबेञ्च आफै बनाउँथे। गुरुलाई पिता समान आदर श्रद्धा गर्नुपर्छ भनेर संस्कार सिकाउँथे। घाँसदाउरा, मेलापात गर्न, केटाकेटीलाई स्कुल जाँदाआउँदा तर्नुपर्ने ठाडो खोलामा बाँस, काठ र ढुङ्गाको अस्थायी पुल (फड्के) आफै बनाउँथे।
सरकारको मुख ताकेर बस्ने चलन थिएन। गाउँघरमा खेताला गोठालो, अर्मपर्म, अैचोपैचो, सारन्तारन मज्जाले चल्थ्यो। चाहिएको बेला भएसम्म टोलछिमेकमै सरसापटबाट काम चल्थ्यो। टारी र गैरी खेत रोपाईको दिन सानोतिनो पर्वभन्दा कम रमाइलो हुँदैन थियो।
गाउँका तन्नेरीहरू हल गोरु नार्न पुग्थे। बाउसे, रोपार रोपार्नीको बैँसालु हातपाउले धानखेत कर्मभूमि झैँ सजिन्थ्यो। काकी आमाहरूको सुरिलो असारे भाकामा खेतका गरा-गरा नाच्थे। पञ्चे बाजासहितको गैरी खेतमा लगाएको बेठीले सारा गाउँ नै रमझम हुन्थ्यो।
दसैँको लागि भनेर बोका, पाठा, राँगा, सुगुर, कुखुरा वर्षदिन अगाडिदेखि नै पालिन्थ्यो। टाइचिन धानको चिउरा आफ्नै ढिकीमा कुटिन्थ्यो। लिङ्गे पिङ हाल्न तन्नेरीहरू घरलौरी बाबियो उठाउँदै हिँड्थे। रातभरि लगाएर रमाइलो गर्दै लठारो बाट्थे। बाँस काट्ने, ओसार्ने र लिङ्गो गाड्ने सबै काम आ-आफै गर्थे।
टीकाको दिन निधारभरि रातो टीका लगाएर तरुनीतन्नेरी, केटाकेटीदेखि बुढाबुढीसम्म एकपटक भुइँ छाड्न पर्छ भनेर पिङ खेल्ने ठाउँमा भेला हुन्थे। वारिपारि चल्दोमिल्दो तरुनीतन्नेरी चोखो माया प्रेम पनि साट्थे। त्यो मायामा कुनै स्वार्थ र छलछाम हुँदैन थियो। देउरालीलाई साक्षी राखेर गाँसेको पिरती जुनी-जुनीसम्म दिगो हुन्थ्यो, जीवन छउन्जेल पुग्थ्यो। आहा! कति प्राकृतिक र निश्चल थिए ती सम्बन्धमा डोरीहरू!
छुट्टीमा आएका मलायाका लाहुरेहरूले टेप रेकर्डर (टेप्रिकेट) बजाउँदा सबै लठ्ठ पर्थे अनि रिल भएको क्यामराले घरलौरी डुलेर फोटो खिचेर लग्थे। दुई/चार महिनापछि लाहुरबाट फोटो धोएर फिर्ता पठाउँथे। घरको दलानको मूलढोका सिरानमा दलिनमा काँटी ठोकेर वरिपरि सिसाको फ्रेममा फोटोहरू सजाएर राख्ने गरिन्थ्यो।
नौलो पाहुनाहरू आउँदा मख्ख परेर रंगिन फोटोहरू हेर्थे। एलबम त पछि मात्र निस्केको हो। साउने संक्रान्तिमा लुतो फाल्न गोठालो गएको बेला वनबाट चाहिने सामान खोजेर ल्याइन्थ्यो। माघे संक्रान्तिमा झम्पल, खन्ती र झोला बोकेर वनतरुल खन्न तन्नेरीहरू जङ्गल हुल बाँधेर जान्थे। वन तरुलको टीका लगाउँदै उसिनेको तरुल, फापरको रोटी, फुलाउँरो पकाएर आमा दिदीहरूले खान दिनुहुन्थ्यो। त्यस बेलाको आनन्दको वर्णन अहिले कुन शब्दले गरौं?
तिहारमा देउसीभैली खेल्दा गाउँका तरुनीतन्नेरी भेला भई ठूलासाना, धनीगरिब सबैको आँगनीमा छमछमी नाच्थे। आ-आफ्नै कोठेबारीमा ढकमक्क सयपत्री र गोदावरी फूल फूल्थ्यो। दिदीबहिनी रातभर नसुती-नसुती माला गाँस्ने र उन्ने गर्थे। केराको गाभा स-सानो टुक्रा पारेर दियो बनाइन्थ्यो।
आफ्नै बारीमा फलेको तोरी कोलमा पेलेको तेलमा काँचो खाँडीको धागोको बत्ती काटेर घरको चारसुर, बार्दली र बरन्डामा बालेर लक्ष्मी पूजा गरिन्थ्यो। देउसी भैलीबाट उठेको पैसा, धानचामल संकलन गरेर गाउँमा परी आउने बिहेबटुल मरिमराउ जस्ता सामाजिक कार्यको लागि चाहिने ठूला खड्कुला, थालबोटुका, पेट्रोलम्याक्स, स्ट्रेचर आदि जोडिन्थ्यो।
कहिलेकाहीँ सामूहिक वनभात खाने कार्यक्रम पनि हुन्थ्यो। मतुवालीको घरमा लोकल कोदोको रक्सी खानेले खान्थे तर मातेर जात्रा कसैले पनि देखाउँदैन थिए।
वर्षाभरि झरिबादल, हलोकोदालो, रोपाई, बाउसे, कुलोचौतारी गर्दा-गर्दा खिइएको ज्यानले चिल्लोचाप्लो र मिठोमसिनो खोजेको हुन्थ्यो। बोसोदेखि कोही डराउँदैन थिए। न त सुगर, न त प्रेसर। न कसैलाई ठगी गर्नु छ, न कसैविरुद्ध षडयन्त्र, जालझेल बुन्न नै छ। दिनभरि टन्न खेतबारीमा काम गर्यो पेटभरि खायो, मज्जाले निदायो।
केको सुगर, केको प्रेसर, केको स्टोन, केको थाइराइड, केको युरिक एसिड? भोलिपल्ट बिहानै भालेको डाँकसँगै ब्युँझियो, गोठबाट दूध दुहेर ल्यायो, उमाल्यो, खायो। मतवालीको घरमा आफ्नै घ्याम्पामा बनाएको सिन्को ठडिने बाक्लो कोदोको निगार छान्यो, एक डबका सिनित्त पार्यो, खुकरी भिर्यो, हलोकोदालो बोक्यो, डोकोनाम्लो गर्यो, पटुकी बाँध्यो अनि खोलाखेतमा आली लगाउन, बिउब्याड गर्न, धान गोड्न, घोचाघारो गर्न बाहिर निस्कियो। न कसैको रिस न कसैको ईर्ष्या केको टिकटिक? चिसो चिसो बताससँगै आँखा मिच्दै घाम झुल्किँदा आधा मेलो भ्याइन्थ्यो।
मंसिरमा धान काट्दा, उठाउँदा र दाइँ गर्दा कम्ता रमाइलो हुँदैन थियो। कत्रा-कत्रा बिहेबटुल आफै उतारिन्थ्यो। पार्टी प्यालेस र क्याटरिङको नामो निसान थिएन। दुनाटपरी गाँस्न सालको पात टिप्न डोकोको लहर लगाएर दिदीबहिनी बेंसी झर्नुहुन्थ्यो। बिहेघरमा बेलुकीखेरि भलाकुसरी गर्दै गाउँभरिका दिदीबहिनी भेला भई दुनाटपरी गाँस्थे।
कसार बाट्न, सेलरोटी पोल्न आमा, दिदीहरू आफै खटिनुहुन्थ्यो। कामको दृष्टिकोणले तुलनात्मक रुपमा पुस महिना हल्का हुन्थ्यो। जाडो बढेको हुन्थ्यो। डिलमाथि, कोठेबारीमा गुन्द्रीसकुल ओछ्यायो, कोदो, फापरको ढिडो ओढाल्यो, घिउ, बोसोसँग चोब्दै खाएको सम्झँदा जिब्रोबाट पानी रसाउँछ।
गाउँघरमा त्यस खालका रमाइलो अझै पनि हुबहु नभए पनि मासिसकेको छैन। त्यही भएर त सहरमा भुइँचालो आयो गाउँ, सहरमा कोरोना वा कुनै महामारी फैलियो गाउँ, दसैँतिहार आयो गाउँ। सुन्दरता, सरलता र कोमलताको खानी गाउँ। पहराकन्दरा, खोलानाला, भिरपाखा, वनजङ्गल, उकालीओराली अनि पाहुनालाई देउतासमान मान्ने निश्चल मान्छेहरू बस्ने गाउँ सहरको दुई दिनको कृतिम रमझमले कसरी कसले भुल्न सक्छ र?
दसैँमा घरमा रातो माटो, चुनले रङ्गाउने गरिन्थ्यो। कहिलेकाहीँ माटो खन्दाखन्दै ढिस्कोले पुरिएर दुर्घटना पनि हुन्थ्यो। त्यसो त सहरका अत्याधुनिक बाथरुममा ओछ्याइएको मार्बल र टाइलमा चिप्लेर मृत्युका खबरहरू बेलाबेलामा आउने गर्छन्। रातो माटोको सुवास अलग्गै खालको हुन्थ्यो। गाईको गोबरले भुइँ पोतिन्थ्यो। गोबरले पोतेको भुइँ आफैमा शुद्ध र पवित्रताको प्रतीक मानिन्थ्यो।
यी सब हाम्रै पुस्ताले देखेभोगेको यथार्थ र वास्तविकता हो। यति छोटो अवधिमा हामी कति टाढा पुग्यौँ। धर्मकर्म त गर्छौं तर मनमा स्वार्थ त्याग्न सकेका छैनौँ। टोलछिमेकको बाटोघाटो सामान्य मर्मत गर्न सरकारको बाटो ताक्छौँ। घरआँगन सफा गर्छौं तर गाडीमा फोहर राखेर राति राति लुकीलुकी सडकमा फाल्छौ।
गाई पालेर दूध बेच्नेलाई खिसीटिउरी गर्छौं तर कुकुर पालेर सडकपेटीमा फोहोर हिँड्ने आफूलाई रोयल फेमिली वा इलाइट सम्झन्छौं। वाह, क्या आधुनिक जमाना!
महँगो डलर तिरेर ल्याएको बिजुली मालाले सहरमा धनीमानीहरू महल र बंगला झिलिमिली पार्दै दिपावली गर्छन्। बैठक कोठा झुमर लाइटले झकाझक बनाउँछन्। तर मन उज्यालो भएको हुँदैन। दिल भित्रैदेखि हाँसेको हुँदैन। गाउँमा त माटोको पाला र केराको गवरामा बालेको दियोले गाउँ नै उज्यालो हुन्छ।
सयपत्री फुल्दा मेरी बहिनीको मन पनि सँगै फुल्छ। गोदावरी र मखमलीसँगै आफन्त, साथीभाइ र छिमेकी बीचको आपसी माया, सद्भाव र सम्बन्धहरू पनि ढकमक्क भएर फुल्छन्। शरद ऋतुको खुला आकाश अनि घामको न्यायो किरणले हरेक घरको पिँढीमा चिहाउन आइपुग्दाको आनन्द मार्बलले पिटेको महलको बरण्डामा किन पाइन्थ्यो!
बाटो काट्दा वृद्धाले तन्नेरीलाई बाटो छोड्नुपर्ने? सार्वजनिक बसमा बृद्धबृद्धालाई सिट नछोड्ने हामी विदेशी युनिभर्सिटीको सम्बन्धन प्राप्त महँगो स्कुल कलेजका विद्यार्थी?
दिनभरि टेबल मुनिबाट लिएको घुसको पाप कट्टी गर्न बिहानभर पूजाकोठा वा मन्दिर गुम्बाको दर्शन गर्ने तर टोपी फाँटेको, थोत्रे चप्पल लगाएर लाइनमा उभिनेबाट समेत घुस लिन नछाड्ने धर्मभिरुहरू! नौटंकी, खोक्रो आदर्श र कृतिमता देखेर वाक्कदिक्क भएको बेला गाउँको सम्झनाले भुतुक्क बनाउँछ, खासगरी चाडबाडको बेला।