आजको समाजका निकै थोरै मान्छेहरू छाती ठोकेर भन्न सक्लान्, ‘म निकै खुसी छु।’
बर्तिका राईले 'खै' गीतमा भने जसरी आजभोलि हामी सबै जना बिहान सबेरै जुरूक्क उठी दगुर्छौं, केही न केही लक्ष्य समात्न।
कोही भोक मेटाउन कुद्छन् त कोही सौख पूरा गर्न, कोही रोग मेटाउन कुद्छन् त कोही भोग मेटाउन।
हाम्रा सबैका कहानी फरक-फरक होलान् तर गन्तव्य सबैको एउटै। खुसीसँग जीवन बितोस्। राति आफ्नै न्यानो सिरानीमा निर्धक्क सुत्न पाइयोस्। मन्त्रीको होस् या मजदुर, सिपाही होस् या शिक्षक, सबैको अन्तिम जमर्को यही होइन र? अन्त्यमा खुसी हुनु?
मान्छेले जेसुकै भनेता पनि थुकतेल गरी कमाएको पैसा छोराछोरीको महँगो पढाइमा खर्च गर्छन्। किन?
आखिरीमा अरूको अगाडि छोराछोरी यस्तो गर्दैछ, उस्तो गर्दैछ भनेर सुनाउन होइन? त्यसमाथि गर्वका साथ नाकका पोरा फुलाउँदै सुनाउँछन्।
अवश्य उसको राम्रो होस्। उसको भविष्य सुनिश्चित होस् भनेर त हो नि! तर अन्त्यमा के प्राप्ति हुन्छ? त्यही खुसीका लागि होइन र! सन्तान सुखी छन् रे! उन्नती गरिरहेका छन् रे! आफ्नो पालनपोषण व्यर्थ गएन छ भन्दै मनमा सन्तुष्टि बोक्छन्।
आखिर खुसी नै त हो। पैसा जम्मा गरेर कुनै बेला पोखरा, मुस्ताङ, थाइल्यान्ड त कहिले बाली। हाम्रो मन किन यसरी उडिरहन्छ? घुमेर फोटो खिचौंला, हालौंला, ऊ फलानोले 'वाउ सो ब्युटिफुल' लेख्ला अनि मख्ख पर्दै धन्यवाद लेखौंला भनेर होइन?
संसारको जुनसुकै ठाउँमा पुगेर फर्किएपछि नै जीवन वाक्कदिक्क लाग्ला। तर पनि किन घुम्न जान्छन्? त्यही क्षणिक खुसीका लागि होइन र? गाउन आए पनि नआए पनि नानाथरीका गीतमा मुख बाङ्गो-टिंगो पार्दै टिकटक बनाई, लेख्न नआए पनि कनिकुथी कविता कोर्ने, हातमा सद्दे फोन हुँदाहुँदै अष्ट्रेलियाबाट नयाँ आइफोन मगाउने, ह्याप्पी बर्थ-डे र कंग्राचुलेसन जति लेखे पनि नथाकेको आखिर किन?
त्यही खुसीका लागि होइन र? कता गएर हाँस्ने मौका मिलोस्, रमाउन बहाना मिलोस्। यथार्थको भिमकाय चट्टान एकैछिन पन्छाएरै भए पनि हामी सधैं स-सना खुसीका गट्टा त खेलिरहेका हुन्छौं नै।
तर हाम्रो समाज र यो पुस्ता खुसीबाट धेरै टाढा छ। हामी बाह्य प्रमाणीकरणको रूपमा खुसी खोज्छौं। रूप जुनसुकै हुन सक्छ। नयाँ लुगा, नयाँ काम, नयाँ देश होस् वा नयाँ प्रशंसा। हामीमध्ये धेरैको खुसी स्वयम् आफैंसँग छैनौं।
हामीले स्वइच्छाले आफ्नो खुसी अरूको हातमा सुम्पिदिएका छौं। सूर्यको वरिपरि ग्रह घुमेझैं हाम्रो खुसी पनि घुमिरहेछ।
'फलानाले के भन्ला, डिस्कानाले के सोच्ला' भनी सोचेरै अनवरत चक्कर काटिन्छ। यो कस्तो विडम्बना, दुःखी हुन धेरै पर जानै पर्दैन। जसोतसो आफैँमा वा आफू वरपर दु:खको भण्डार सजिलै पाउँछौं। तर खुसी हुन अरूकै शरण पर्नुपर्छ, धेरै पटक। त्यसैले पनि हाम्रो पुस्ता बिछिप्त छ। दुःखी छ, साँचो र दीर्घकालीन खुसीबाट धेरै माइल टाढा छ।
विश्व जनसंख्या समीक्षाको रिपोर्ट खोजेर हेर्ने हो भने, डिप्रेसनको सबैभन्दा कम दर भएको शीर्ष १० देशमा, नेपाल पनि पर्छ। नेपालमा डिप्रेसनको दर ३.२ % छ। वल्ड ह्याप्पिनेस रिपोर्ट अनुसार विश्वका खुसी राष्ट्रको सूचीमा नेपाल ८४ औं स्थानमा छ, जुन दक्षिण एसियामै सबैभन्दा बढी हो।
सरसर्ती यो तथ्यांकले मैले पहिले दाबी गरेको कुरा गलत लाग्न सक्छ। तर हामी आफूले आफैंलाई प्रश्न सोध्न आवश्यक छ। के तथ्यांकले वास्तवमा सत्यलाई प्रतिबिम्बित गर्छ? के हामी साँच्चै संसारको सबैभन्दा खुसी मानिसमध्ये एक हौं? के हाम्रो खुसी यी डाटाले देखाए अनुरूप नै छ? कहीँ तथ्यांक मापन तरिका गलत त अपनाइएको छैन नि?
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०६८/६९ मा ३९७७ र २०७८/२०७९ मा ६८३० जनाले ‘आत्महत्या’ गरेका छन्।
२०७८ सालको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार ६.५ % जनसंख्याले आत्महत्या गर्ने योजना बनाएका छन्। विगत दशकको तुलनामा आत्महत्या दर ७२% ले बढेको स्पष्ट छ।
त्यसैले म सोच्छु हामी खुसी कता र कहाँ छौं? कहाँ छ हामीमा जीवन बाँच्ने मोह? कहाँ छ त्यो खुसी जसका लागि हामी सबै मरिमेटिरहेका छौं?
'तिमी किन दुःखी छौ?', मेरो चिकित्सकले मलाई भेटको प्रत्येक सत्रमा सोध्ने प्रश्न हो।
म लामो समयदेखि दुःखी महसुस गरिरहन्छु। सुरूसुरूमा यो निकै लामो समयसम्म रहिरहन्थ्यो, दु:ख।
कहाँबाट आउँछ, किन आउँछ, खै मलाई पनि पत्तो हुँदैन। झलमल्ल घाम लागिरहेको आकाशमा मौसम पूर्वानुमानको ठिकविपरीत, कालाकाला बादल आएर मुसलधारे पानी परे जसरी, मेरो खुसीको घाम पनि पानी झर्ने गर्थ्यो। ममाथि न परिवारको आर्थिक भार बोक्ने जिम्मा छ, न मैले कसैको जिम्मेवारी आफ्नो थाप्लोमा नै लिनु परेको छ, न पेट भर्ने पीर नै छ।
शरीर ढाक्न, पढ्न पाएकै छ, बेलाबखत घुम्न पाएकै छ, माया गर्ने बाआमा जिउँदै छन्। म दुःखी हुनुपर्ने केही कारण थिएन। त्यही पनि म किन दुःखी छु? यो प्रश्न मलाई चिकित्सकले मात्र होइन, सबैले सोध्ने गर्थे।
'नानी? किन दुःखी छस्?'
'तँलाई केको दु:ख छ र हौ त्यस्तो? हामीलाई हेर् त। तेरोजस्तो जिन्दगी पाए कति खुसी हुन्थ्यौं। किन दुःखी?'
मलाई यसको जवाफ आजसम्म थाहा छैन। यो दु:ख नबोलाएको पाहुना जसरी टुप्लुक्क आइपुग्छ। कहिलेसम्म बस्छु पनि भन्दैन, कुन बेला जान्छु पनि भन्दैन। टन्न पोकापन्तेरा बोकेर आइपुग्छ।
यदि तपाईं हरर फिल्म हेर्दै हुनुहुन्छ भने, तपाईंलाई यो थाहा हुन्छ।
फिल्ममा तपाईंलाई कहिल्यै थाहा हुन्न भूत कहाँबाट, कसरी, कुन कुनामा आइपुग्छ। यो बिस्तारै, चुपचाप, बिना आवाज, चेतावनी आउँछ र तपाईं जतासुकै लुक्ने प्रयास गरे पनि तपाईंलाई फेला पारी छोड्छ। यो दु:ख पनि ठ्याक्कै त्यस्तै हो। बाजा बजाएर आउँदैन, 'जम्पस्केयर' बनेर आउँछ।
म खुसी हुन नचाहेको होइन। प्रयास नगरेको पनि होइन। तर बेलाबेला यो दु:ख यति असह्य हुन्छ कि सानो भन्दा सानो काम गर्न पनि मुश्किल पर्छ।
बिस्ताराबाट उठ्न, सरसफाइ गर्न, बोलचाल गर्न, मनले र शरीरले सक्दैन। मानौं रक्तचाप चट्टानको तल्लो तहमा पुगेको जस्तो, तपाईंको शरीरमा ऊर्जा नै बाँकी नभएको जस्तो, मानौ बिस्तारै तपाईं हराउँदै हुनुहुन्छ।
मानिसहरूले धेरै अनुमान लगाए। मलाई यो भएको हुनुपर्छ, त्यो भएको हुनुपर्छ। उही क्या फलाना र ढिस्कानाहरू। हल्का छाया रहेछ भनेर प्रेत झारेनन् कि, धेरै माया पाएर पुल्पुलेका, जूतमा राख्नुपर्छ भनेनन् कि। अनेकन कुरा गरे।
तर मेरो दु:ख मैसँग थियो, समाजले यसको रत्यौली खेल्यो। आखिरीमा समस्या स्वास्थ्यको रहेछ, मेरो शरीरले खुसी हुने हर्मोन अर्थात् रसायनिक पदार्थ 'अक्सिटोसिन','सेरोटोनिन','डोपामाइन' इत्यादि उचित ढंगसँग बनाइरहेको रहेनछ। अब राम, राम, राम… यो त डिप्रेसनमा पो गएकी रहिछे भनी जिब्रो काट्दै हुनुहुन्छ भने, बधाई छ तपाईं यसपटक भने ठिक हुनुहुन्छ।
मलाई डिप्रेसन भएको पत्ता लागेको थियो र बिस्तारै पार गर्दैछु। तर मजस्ता भाग्यमानी धेरै छैनन्।
पहिलो कारण, हामीमध्ये धेरैले डिप्रेसन वा एङ्जाइटी के हो बुझेका छैनौं र बुझ्दैनौं पनि। बुझे पनि यसबारे राम्ररी ज्ञान छैन। हरेक मानसिक समस्यालाई डिप्रेसन भन्दै स्वस्थानी पढाउँदै हिँड्ने अशिक्षितलाई झनै केही भन्नु छैन।
समस्या त शिक्षित र विशेषाधिकार प्राप्त भएका मान्छेमा छ। सबै जाने बुझे पनि बुझ पचाएर हिँड्ने टाउकोमा छ। त्यो कुरा त विस्तारमा अर्को पटक कुरा गरौंला। आज म मेरो दु:खको जड खोज्ने प्रयास मात्र गर्दैछु। सायद म र मजस्ता धेरै दुःखी साथीहरूको।
शारीरिक स्वास्थ्य कारणबाहेक यसमा लुकेका अन्य धेरै कुराहरू हुनुपर्छ भनेर लाग्यो। जसले मेरो दुखाइलाई झन् सकस पनि बनायो।
सर्वप्रथम सामाजिक सञ्जालको जन्जाल।
सामाजिक सञ्जालले हामीलाई थप सामाजिक र मिलनसार बनाउन सिर्जना गरिएको थियो। तर अहिले बाँदरको हातमा नरिवलझैं भएको छ।
सामाजिक सञ्जालले दैनिक जीवनमा तनाव थपेको छ। म र धेरैले यो सबै भ्रम मात्र हो भनेर बिर्सेको देखिन्छ। मानिसहरूले उज्याला, हँसिला अनुहारका तस्बिर फेसबुक र इन्स्टाग्राममा राख्छन्। उनीहरू आज कहाँ आफ्ना साथीसँग घुमिरहेका छन्, कहाँ केही नयाँ सामान किनिरहेका छन्, कहाँ नयाँ खाना चाखिरहेका छन्, आदि, इत्यादि।
कसको एसइईमा कति आयो, कहाँ नाम निस्कियो निस्किएन, कसले कुन कार चढिरहेछ, कति धुमधामले बिहे गर्यो, कसले बेबी सावर कसरी मनायो, कसले कुन लेहेंगा लगायो। कसले कुन लुङी बेर्यो,इत्यादि इत्यादि। सामाजिक सञ्जाल प्रतिस्पर्धाको मैदान बनेको छ। कक्षाकोठाको प्रतियोगिता पर्याप्त थिएन र?
सामाजिक सञ्जालले हाम्रो जीवनलाई प्रतिस्पर्धा बनाइदिएको छ।
इमान्दारिताका साथ भनौँ भने, यो प्रतिस्पर्धामा सबै फेल भइरहेका छन्।
‘यो लुगा म फेरि लाउन्नँ। अस्तिको फोटोमा यही लगाएको छु।'
'फेरि यहाँ जाने? ऊ त त्यहाँ जान्छ।'
यदि प्रतिस्पर्धा महत्वाकांक्षी हुनु र जीवनमा राम्रो चीजहरू चाहनेमा सीमित भएको भए, यो ठीक हुन्थ्यो। तर प्रतिस्पर्धा भनेको देखाउने, अरूलाई तल ल्याउने, घृणा र नकारात्मकता फैलाउने विषय बनेको छ। तपाईंले सामाजिक सञ्जालमा जति घृणा कतै पाउनु हुन्न।
अनलाइन धम्की, उत्पीडन एक ठाउँमा छ, अहिले भाइरल हुन, अनावश्यक टिप्पणी, कमेन्ट जो पनि गर्न तयार छ। 'कल आउट' र 'क्यान्सिल' कल्चर सबै ठाउँमा छन्। तपाईंले प्रोत्साहनका थोरै शब्दहरू मात्र पाउनुहुनेछ तर अन्तहीन लाज, अश्लीलता, बर्बरता र तर्कहीन टिप्पणीहरू सर्वव्यापी छन्।
म आजको पुस्तालाई ‘बटहर्ट’ पुस्ता भन्छु। अर्थात् स-सना कुरामा अत्यधिक वा अनुचित रूपमा अपमानित वा क्रोधित महसुस गर्ने। यो सबै क्रोध सामाजिक संजालमा पोखिन्छ।
हामीमध्ये धेरैले हामीसँग भएका विशेषाधिकारहरू चिन्न सक्दैनौं। हामी यस्तो समयमा बाँचिरहेका छौं जहाँ मेसिनले सबै कुरालाई सजिलो र सुविधाजनक बनाएको छ। तै पनि हामी स-साना कुरामा गल्ती खोज्न सफल हुन्छौं। आफूले भनेको जस्तो भएन, सोचेको जस्तो भएन, चाहेकोजस्तो भएन भने हामीमाथि आकाश खस्ला जस्तो हुन्छ। प्रलय आउला जस्तो हुन्छ।
हामी त स्पोटिफायी चलाउने पुस्ता हौं। हामी आफ्नो मनपर्ने गीतहरू सुन्छौं। हामीले मन नपराउने गीतलाई छोड्छौं। हामी हाम्रा गीतहरू छिटो अगाडि बढाउन सक्छौं। हामी गीतहरू छोड्न सक्छौं, तिनीहरूलाई दोहोर्याउन सक्छौं, तिनीहरूलाई पुन: भोलिपल्ट बजाउन सक्छौं। अनि हामी चाहन्छौं जीवन पनि यस्तै होस्।
हामी हाम्रो जीवनको रिमोट आफ्नै नियन्त्रणमा राख्न चाहन्छौं। हामी आफूलाई मन पर्ने गीतहरू मात्र बजोस् भन्ने चाहन्छौं। तर हामी बिर्सन्छौं कि जीवन हामी जस्तो आधुनिक छैन। जीवन त त्यो पुरानो रेडियो जस्तै छ। जहाँ गीत आफैं बज्छ। तपाईंको नियन्त्रणमा केही छैन। सुन्ने तपाईं, बजाउने कोही दूर, पर बसेको छ। तपाईंले या जे गीत बज्छ त्योसँग रमाउन सिक्नुपर्छ या रेडियो बन्द गरी संगीतविहीन निन्द्रा सुत्नपर्छ।
हामी अक्सर त्यो बिर्सन्छौं कि हामी आफ्नो जीवनको उतार-चढाव, उदय र पतन, लय र धुन छनोट गर्न सक्दैनौं।
हामीले केवल अप्रत्यासित संगीतसँगै र जीवनले प्रदान गर्ने अप्रत्यासित स्थितिसँग हातेमालो गर्दै रमाउन सक्छाैँ।
हामीमध्ये धेरै दुःखी छौं किनभने हामीले धेरैजसो नचाहेका परिस्थितिहरूको सामु आत्मसमर्पण गर्नुपर्छ। हामीलाई अध्ययन गर्न भनिएको विषय वा हाम्रो लागि डिजाइन गरिएको क्यारियर, वा विवाहको लागि छनोट गरिएको व्यक्ति हामीलाई मन नपर्न सक्छ।
तर जसरी सोक्रेटले खुसीसाथ हेमलक पिएका थिए, त्यसरी नै हामी सामाजिक अपेक्षा, न्याय र तुलनाको हेमलक पिउँछौं। यो हेमलकले मार्दैन तर बिस्तारै हामीलाई दुखी बनाउँछ। त्यो दु:ख जसले दैनिक जीवनलाई नर्क बनाउँछ।
'दिदीबहिनी सबै अष्ट्रेलिया, अमेरिका गैसके, किन नगको तिमी?'
‘सर किन आफूले अघि श्रीमतीलाई पि.एच.डी गर्न दिनुभाको?’
'तिमीजस्तो फर्स्ट हुने विद्यार्थीले पनि आर्ट्स् पढेको? लौ न!'
'फलानोको छोरोले केके गरिसको! थुक्क तँ हुत्तिहारा!'
‘सारा दाजुभाइले आफ्नै जातमै बिहे गरे, तिमी चाहिँ कूजात भित्र्याएर बाउको शिर निहुँराउने?’
जताततै हेम्लोक!
'यस्ता सबै कुराले काठलाई धमिराले भित्रभित्रै खाए जसरी मलाई सताइरहन्छ। सायद मेरो दु:खको कारण यही पो हो कि?' धेरै सत्र पछि मैले यो रहस्य मेरो थेरापिस्टलाई खोलेँI
‘के तपाईं भगवानमा विश्वास गर्नुहुन्छ?’ उनले अचानक सोधे।
‘होइन, म गर्दिनँ।’ म जवाफ दिन्छु I
‘मलाई लाग्छ कि तपाईंले चिन्ता गर्नुहुने अधिकांश चिजहरू तपाईंको नियन्त्रण बाहिर छन्। कहिलेकाहीँ विश्वासले काम गर्न सक्छ।’
‘कस्तो विश्वास?’ म हिचकिचाउँदै सोध्छु।
‘परिस्थिति राम्रो हुनेछ भन्ने बलियो विश्वास। भगवानले तपाईंको रक्षा गर्नुहुनेछ भन्ने विश्वास। एक ईश्वरीय शक्ति तपाईंमाथि छ र त्यो दिव्य शक्तिले तपाईंको हेरचाह गर्नेछ भन्ने विश्वास। तपाईं खुसी हुनुहुनेछ भन्ने विश्वास।’ उनी मुस्कुराउँदै जवाफ दिन्छन्।
र त्यसपछि मलाई मेरो जर्मन हजुरआमासँगको एउटा विशेष कुराकानी याद आउँछ।
मैले एक दिन उनलाई सोधेँ, 'तपाईंका दुवै श्रीमान क्यान्सरले मरे, तपाईं सन्तानविहीन हुनुहुन्छ, तपाईं वृद्ध भइसक्नुभयो अनि अझै पनि एक्लै बस्नुहुन्छ। किन तपाईं सधैं यति खुसी हुनुहुन्छ ?'
मनमा हात राखेर मेरी जर्मन हजुरआमाले त्यतिखेर मलाई भनिन्, ‘मसँग भगवान छ। मसँग सधैं भगवान छ। उसले मलाई खुसी बनाउँछ।' हुनसक्छ हामीमध्ये धेरै दुखी हुनुको कारण विश्वासको कमी हो। राम्रोमा, सकारात्मकमा, ईश्वरमा विश्वासको कमी। मलाई अझै थाहा छैन।
मेरा धेरै साथीहरू अनिद्राको गुनासो गर्छन् र यसको सामना गर्न तिनीहरू नकारात्मक संयन्त्रहरूमा फसेका छन्। रक्सी, लागूपदार्थ, धूमपान, मेरा साथीहरूले यहाँ आफ्नो खुसी खोज्ने प्रयास गरेका छन्। तर यी साथीहरू ती हुन् जो शान्त हुँदा सबैभन्दा दुःखी देखिन्छन्I
मैले खोजेको यो खुसी कहाँ छ?
आजको पुस्ताले मानसिक क्षमतामा धेरै ध्यान केन्द्रित गरेको छ। हामी बौद्धिकता चाहन्छौं, हामी स्मार्ट मानिसहरू चाहन्छौं, हामी चतुर मानिसहरू चाहन्छौं। तर हाम्रो शारीरिक गतिविधि बिस्तारै घट्दै गएको छ। हामी आसीन बनिरहेका छौं। हाम्रा विद्यालयहरूले बिस्तारै खेल र पि.टि.बाट ध्यान गुमाउँदै गएका छन्। हामी अरूसँग घुलमिल हुनु, हिँड्नु वा यताउता दौडनु भन्दा घरभित्रै बस्न चाहन्छौं।
फोनमा संसार अटेको छ तर संसारमा फोन अटेको छैन भन्ने कुरा म र हामीमध्ये धेरैले बिर्सन्छौं। त्यहाँ अझै पनि यस्ता ठाउँहरू छन् जहाँ मानिसहरू फोन प्रयोग गर्दैनन् र पनि तुलनात्मक रूपमा धेरै खुसी देखिन्छन्।
कसले के भन्यो, वा कसले के लगायो भन्ने कुराको उनीहरूलाई परवाह हुँदैन, उनीहरूको जीवन हामीमध्ये धेरैको जस्तै क्लिकको वरिपरि घुम्दैन। संसार कहाँबाट कहाँ पुगिसक्दा पनि उनीहरू ‘बालै फरर’ भनेर बसेका छन्। तर तिनीहरू खुसी छन्, मभन्दा, तपाईंभन्दा, हामी सबैभन्दा धेरै खुसी छन्।
म र मेरो पुस्ताको सबैभन्दा ठूलो समस्या यो हो कि हामी चिजहरू सजिलै लिन सक्दैनौं र हाम्रो पाचन प्रणाली पनि निकै कमजोर छ। हामी चिजहरू सजिलै पचाउन सक्दैनौं।
यदि कसैले हामीलाई चोट पुर्यायो भने त्यो कुराले हामीलाई धेरै दिन सताउँछ। यदि हामीलाई केही समस्या छ भने, हामी त्यसलाई तुरून्तै समाधान गर्दैनौं। हामी त्यो सानो समस्यालाई हाम्रो सम्पूर्ण खुसी उपभोग गर्न दिन्छौं। कसैलाई केही भन्न मनलागे फ्याट् भनेर कुरा सकाउनु छैन, त्यसैलाई लिएर घोत्लिएर, सोचेर हामी मन अमिलोपिरो पारेर बसिरहन्छौं।
हाम्रा विद्यालयहरूले हामीलाई धेरै सोच्न सिकाउँछन्। सायद मलाई कम सोच्न सिकाएको भए म खुसी हुन्थें कि!
'जे आउँछ मज्जाले पचाउँछ', भन्ने जीवनरूपी हाजमोला पनि बनिदिएको भए पो सायद म खुसी हुन्थे कि ?
हामी मध्ये धेरैले गणितलाई विषयको रूपमा घृणा गर्छौं। तर हामी हाम्रो जीवन भने चट्ट लार गणितीय होस् भन्ने चाहन्छौं। हामी मनमानी र अस्पष्टताको अभाव चाहन्छौं। हामी आश्वस्त हुन चाहन्छौं कि जवाफहरू मायावी होलान्, तर फेला अवश्य पार्न सकिन्छ। जति दिक्क मानेपनि गणितका प्रश्नका उत्तर हुन्छन्।
तर जीवनका प्रश्नहरू तर परिष्कृत हुन्छन्। जीवनका जटिल प्रश्नहरुको या त कुनै जवाफ नै छैन वा धेरै अथाह जवाफहरू छन्।खुसी हुनको लागि, मैले जीवन गणित होइन भनेर सिक्नु आवश्यक रहेछ।
कसरी खुसी हुने?
तपाईंले या मैले कहिल्यै गणितीय उत्तर पाउने छैनौं।
तर खुसी हुने एउटा गुप्त मन्त्र मैले सिकेर आको छु। तपाईंले तब मात्र खुसीलाई भेट्न सक्नुहुन्छ जब अन्तत: जीवनका विकराल परिस्थिति अनि भयनीय अवरोधहरूका अगाडि पनि तपाईं मुस्कुराउन सक्नुहुन्छ र भन्नुहुन्छ, 'बालै फरर'!
(मिमांशाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)