'मामु, हजुरआमा बितेको अनि हजुरबाले फेरि विवाह गरेको विषयमा भन्नु न है,' छोराले केही समय अघिदेखि जान्ने इच्छा गरिरहेको थियो।
उसले अति नै जिद्धी गरेपछि मैले भन्न सुरू गरेँ।
आमा स्वर्गीय हुँदा तँ सानै थिइस्। हामी सबैजना रोएको देखेर 'आमा किन नबोल्नु भएको अनि तपाईंहरू आमाका छेउमा बसेर किन यति धेरै रूनु भएको?' भन्दै हामीसँगै बसेर रोएको थिइस्। तर भोलिपल्टदेखि आमालाई बिर्सिएर तेरा साथीसँग खेल्नमा तल्लीन भइस्।
वास्तवमा केटाकेटी हुँदा नै हो स्वतन्त्र र स्वच्छन्द भएर खुसीका साथ बाँच्ने। अरु सबै कुरासँग बेमतलब भै रमाउने। चित्त दुखे रुने, रिसाउने तर केही समयको लागि मात्र। एउटै कुराले सधैंभरि पीर नपार्ने। सानासाना कुराहरूले सजिलै खुसी हुने।
सानो हुँदा यसरी रमाउने, खुसी हुने व्यक्ति हुर्किदै जाँदा सामाजिक परिवेश, परिस्थितिअनुसार चल्दै जान्छ। आफ्नो खुसी, चाहनाभन्दा पनि सामाजिक रीतिरिवाजअनुसार जीवन चलाउन विवश हुन्छ। बुवाको पुनर्विवाहको विषयमा भन्नुपर्दा पनि हाम्रो समाजिक चालचलनको उल्लेख गर्नु आवश्यक छ।
हाम्रो समाज पुरुषप्रधान समाज हो। त्यसैले घरभित्रका कामधन्दाको सबै जिम्मेवारी महिलाहरूले लिएका हुन्छन्। हाम्रो सामाजिक परिवेशमा घर 'घर' हुनका लागि एक महिलाको खाँचो पर्छ। पितृसत्तात्मक पद्धतिमा चलेको हाम्रो समाजमा महिलाहरूले सामान्य रुपमा गर्दै आएका बिहान बेलुकाका घरधन्दा पुरुषहरूका जिम्मामा आउँदा गर्न कठिन हुन्छ।
महिला बिना घरव्यवहार सहज हुँदैन। त्यसैले विधुर पुरूषहरूका निम्ति पुनर्विवाह समयको माग बन्छ। आमा बितेपछि नाती (भान्जाको छोरो)का साथमा बस्दै आउनुभएको बुवाको निम्ति पुनर्विवाह समयको माग बन्यो। समयको त्यो मागलाई सहज रुपमा स्वीकार्दै बुवा अघि बढ्नु भयो।
तर हाम्रो समाजले पुनर्विवाहको बारेमा एक पक्षीय निर्णय गरेको छ। महिला बितेपछि पुरूषलाई सहारा चाहिन्छ भनेर पुनर्विवाहको अनुमति दिने समाजले महिलालाई बेवास्ता गरेको प्रष्ट देखिन्छ। समाजमा परिर्वतनका कुरा त धेरै हुन्छन्। तर व्यवहारमा लागु हुँदैनन्।
यदि बुवा बित्नु भएको भए ५६ वर्षकी आमासँग पुनर्विवाह गर्न को राजी हुन्थ्यो र? ५६ वर्षकी आमाको के कुरा? विधवा उदितयौवना महिलासँग विवाह गर्ने पुरूष समाजमा विरलै भेटिन्छन्। आमाले पुनर्विवाह गर्नु त के सोच्नु पनि पाप ठहर्ने समाजमा पुरूष भएकै नाताले बुवाले पाएको सुविधा किन उपयोग नगर्नु?
फेरि पुरूष भएकै नाताले सहजरूपमा पाइने त्यो सामाजिक सुविधा जसले सामाजिक प्रतिष्ठामा कुनै आँच आउँदैन। अझ इज्जतसाथ बाँच्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ। उमेरको असमानतालाई बेवास्ता गर्दै पुनर्विवाह पछिको जोडीलाई समाजले सहर्ष स्वीकार्ने गर्छ। त्यसैले पुरूषप्रधान समाजले पुरूषहरूको सुविधाका निम्ति सहजै स्वीकृति दिएको पुनर्विवाहको लागि बुवा इच्छुक हुनु स्वभाविक थियो।
नहुनु पनि किन? आखिर पुनर्विवाह पुरूष भएकै नाताले पाइने एक यस्तो सामाजिक सुविधा हो। जसको परिणाम स्वरूप ६० वर्षको उमेरमा पुनर्विवाहको इच्छा राख्दा दुलहीको खाँचो व्यहोर्नु परेन। बुढेसकालमै सही, छोरी दिने अभिभावकको कमी भएन। त्यसैले पुरूषप्रधान हाम्रो सामाजमा स्वस्फूर्तरूपमा निर्माण भएको पुनर्विवाहको नियमले बुवालाई दोस्रो घरव्यहार गर्न सहज भयो।
हामी सन्तानहरूलाई समेत बुवा एक्लै हुनुभयो भन्ने तनावबाट सहजै मुक्ति दियो। पुरूष भएकै नाताले निर्विवादरूपमा उपयोग गर्न पाएको समाजिक सुविधालाई बेवास्ता गरेर पुनर्विवाह नगरेको भए बुवा के गर्नुहुन्थ्यो होला? बुवालाई दिनभरि एक्लै बसेर दिन बिताउन कति गाह्रो हुन्थ्यो होला? दिनहरू लामा, पट्यारलाग्दा, दिग्दारीपूर्ण र निरस लाग्ने हुन्थे होला।
वास्तवमै मनका कुरा सुनिदिने कोही नहुँदा कति पीडा हुन्थ्यो होला? घरव्यवहार एक्लै समाल्नु पर्दा, जीवन एक्लै बिताउनु पर्दा केही नपुगेको, केही छुटेको, केही हराएको जस्तो महसुस हुन्थ्यो होला? आदि।
तर बुवाका अत्यन्त निकटका छुट्याउनै नमिल्ने र छुट्याउन खोजे पनि नसकिने गरेर सँगै टाँसिएका, अमुक अनि मिलनसार साथी बनिसकेका लामा र पट्यारलाग्दा दिनहरूलाई सहज रुपमा बिताउने वातावरण पुनर्विवाहकै कारण मिलेको छ। मेरो हेरचाहको लागि आसपासमै कोही छ भन्ने मानसिकताले बुवालाई स्वस्फूर्त रुपमा स्वस्थ्य पनि राखेको छ।
हाम्रो समाजमा एकल महिला, पुरूषका बारेमा बढी चर्चा हुने गर्छ। समाजमा हुने गरेका त्यस्ता अनावश्यक कुराहरूको चर्चापरिचर्चाकै कारण पनि बुवा पुनर्विवाह गर्न बाध्य हुनुभएको थियो। यो सत्य घटना सुन जुन बुवाको पुनर्विवाहको कारक बन्यो।
आमा बितेपछि बुवाका बारेमा गाउँतिर सुरु भएका टीकाटिप्पणी काठमाडौँमा बसेकी मेरो कानसम्म आइपुगे। ती कुरा सुनेपछि म विलखबन्दमा परेँ। आमा बितेपछि एक्लो भएका बावुलाई विश्वास नगरेर यस्ता अनावश्यक कुरा कसरी सोधुँ? भन्ने दुविधा पनि नभएको होइन। तर समाजमा सबैजना भलादमी हुन्छन् भन्ने ग्यारेन्टी छैन।
मौकाको खोजीमा बसेकाहरूले अपजस मात्र लगाए भने पनि वर्षौंदेखि कमाएको इज्जतमा पलभरमा दाग लाग्न सक्छ। त्यो कलंकले परिवारका नाति पनातिसम्मको बदनामी गराउँछ। अनावश्यक नै किन नहुन्, समाजमा हुने त्यस्ता विषयमा बेलैमा ध्यान दिइएन भने विकराल स्थिति आउन बेर लाग्दैन भन्ने सम्झेर आँट गरेर त्यसको बारेमा बुझ्न बुवालाई फोन गरेँ।
सामान्य हालचाल सोधिसकेर 'छिमेकी पनि आउँछिन् रे अनि तपाईं पनि जानु हुन्छ रे भन्ने सुनेँ। कुरा के हो बुवा?' भनेर सोधेँ।
बुवाले, 'ठिकै छ, जसले तेरो कानसम्म यो कुरा पुर्याए तिनको जय होस्। तर मलाई यी प्रश्नको जवाफ दे, म के गँरू? मेरो घरको आँगनबाट नै त्यो घर देखिन्छ। अब के म गान्धारीले झैँ पट्टी लगाउँ? मेरो काममा जाने बाटो पनि त्यही घरको अगाडि छ। अब बिहानका धन्दा सकेर हत्तारिँदै पल्लो लामो बाटो प्रयोग गरेर काममा जाउँ कि त्यो काम पनि छोडिदिउँ?
नाती केटो पढ्न बस्दा घरमा दोरोहो बोल्ने मान्छे कोही नहुँदा साँझमा कुनै दिन हावा खाँदै बाटामा हिँड्दा के गर्दैछौ भन्दै छिमेकीका आँगनमा टेकेँ होला? के अब म घरभित्र मात्रै बसिरहुँ? कि के गरूँ? यति लामो समय बिताएको ठाउँमा एक्लै भएको ६ महिना नबित्दै समाजले यस्तो नकरात्मक कुरामा सक्रियता देखाउला भन्ने कल्पना पनि गर्न सक्दिनँ छोरी। तर मैले कल्पना नगरेर के हुन्छ र? कुरा भएर नै तेरा कानसम्म पनि पुगिसकेछ।
६० वर्षको उमेरमा ५६ वर्षकी श्रीमती, त्यो पनि हृदयघातका कारण क्षणभरमा गुमाउनुको पीडा भोगिरहेको म जस्तो विधुरका लागि सान्त्वना, समवेदना दिनुको साटो यस्ता अनावश्यक कुराको चर्चा गरेर बस्ने समाजको बारेमा म के भनुँ? मसँग यो विषयमा बोल्ने कुनै शब्दहरू नै छैनन्। बोल्नलाई शब्दहरूको अभाव भयो' भन्दै बुवाले फोन राख्नुभयो।
बुवाले फोन राखेपछि सोच्न बाध्य भएँ। हाम्रो समाजको विचित्रको सामाजिक परिवेश। आमा हुन्जेल त घरमा जो आए पनि, बुवाले जहाँ गएर जति दिन बिताए पनि कसैले केही खोजी गर्दैनथ्यो। तर आमा बित्ने बित्तिकै छिमेकीका नाताले घरभित्र नपसी घरबाहिरका कामहरू आँगन बडार्न, गाईलाई खोले पकाउन सघाउन आउने महिलाको विषयलाई लिएर चर्चा सुरू भइहाल्यो।
विधुर पुरूष र लोग्ने विदेश गएकी महिला बीचको सामान्य आवतजावत समाजका नजरमा कुरा काट्नेहरूका लागि ठूलै निहुँ बनिहाल्यो। कति कमजोर छन् हाम्रो समाजले निर्माण गरेका सामाजिक सद्भाव जुन व्यक्ति विधुर हुने बित्तिकै उसलाई हेर्ने दृष्टिकोण पनि फेरिने गर्छन्। विधुर हुने बित्तिकै फेरिने यस्ता सामाजिक दृष्टिकोण अजिंगरको जस्तै ठूलो स्वरुप लिएर बुवा अगाडि देखापर्यो।
आमा बितेपछि 'तिमीहरू मेरा लागि चिन्ता नगर। आफ्नु काम गर। म नाति (भान्जाको छोरो) सँग बसेर आफ्नो व्यवहार चलाउँछु' भनेर छोराबुहारीलाई बिदा दिनुभयो। तर उनीहरूलाई सहज रूपमा पठाएर एक्लै बस्दै आउनु भएको बुवाको आत्मविश्वासमाथि घात हुनसक्ने सम्भावना देखा पर्यो।
त्यसैले त्यो फोन संवादको केही समयपछि बुवाले विधुर हुनुको पीडामा छटपटिएका सुसेली सुसेल्दै, 'सबैका आवश्यकता बुझेर अरूको सेवामा समर्पित हुने महिला बिनाको घर सुनसान छ। तत्काललाई जसोतसो जीवन चले पनि बुढेसकालमा साथी पनि आवश्यक पर्छ। घरका निम्ति चाहिने सबै चीज छन्, मात्र श्रीमती छैनन्' भन्न बाध्य हुनुभयो।
यसरी बुवाको पुनर्विवाहको मुख्य कारणमा एकल महिला, पुरूषहरूलाई हेर्ने हाम्रो समाजको दृष्टिकोण हो। कारण जे भए पनि पुरूषहरूका निम्ति समाजले सहजै अनुमति दिने पुनर्विवाहले बुवाको एक्लोपनका बारेमा सम्झेर डराउने, आत्तिने, मनलाई सहज बनाइदिएको छ। बुवाले पनि जीवनको उत्तरार्धमा अर्धाङ्गिनी पाउनु भएको छ।
जो विवाह गरेर आउनु भयो, उहाँले पनि नारी स्वभावअनुरूप माइतीघरको भन्दा नितान्त फरक परिवेशलाई अनुसरण गर्दै उमेरमा आफू भन्दा अलिकति कान्छा छोराछोरी भएको परिवारमा आएदेखि नै घर सम्हाल्नु भएको छ। बुवाआमा दुवै भएपछि सुनसान घरमा रौनक छाएको छ। अर्की आमा नै सही, उहाँको आगमनले माइतीघर उराठलाग्दो छैन। समयले बुवालाई जुन आघात दिएको थियो, पुनर्विवाहले त्यो घाउमा मलमपट्टीको काम गरेको देखेर मन खुसी छ।
हेर नानी, अहिले यो उमेरमा आइपुग्दा प्रष्ट भएकी छु कि जीवन पूर्वनिर्धारित कुराहरूको सञ्चालनको लागि निमित्त पात्र मात्र हो। जे जति गर्यौं, जे जति गर्दैछौं, जे जति गर्नुपर्ने छ त्यसमा हामी निमित्त पात्र मात्र हौँ। हामी हाम्रो पूर्वनिर्धारित भूमिका निर्वाह गर्न आएका छौं। त्यही भूमिकाका लागि बाँचिरहेका छौं।
पूर्वनिर्धारित भूमिका निर्वाह गर्नको लागि समयले हामीलाई डोर्याउँछ। उमेरसँगै भोग्दै गएको समयले हामीलाई सुखदुःख, राम्रा नराम्रा घटनाहरूको अनुभूतिसँगै नयाँ नयाँ कुराहरू सिकाउँदै लान्छ। समयको लगामले जकडीसएका हामी हाम्रा खुसी र चाहनाले मात्र कहाँ चल्न सक्छौं र? हामीकहाँ आफ्नो खटनमा बाँच्न पाउँछौं र?
आफ्नो इच्छा विपरीत समयले हाम्रो जीवन यात्रालाई कहिले असारमा गडगडाहट सहित आउने भेलजस्तो मैलो, विनाशकारी अनि कहिले हिउँदको सफा, निर्मल, कञ्चन र शान्त एकनासले बगेको पानी जस्तो बनाइदिन्छ। समयको खटनमा चल्ने जीवन समयले नै गराएका, नियतिले भोगाएका धेरै घटनाहरूले भरिपूर्ण हुन्छ। निर्धारित समयमा नियोजित सबै कामहरू हुँदै जान्छन्।
रङ्गमञ्चमा पात्रले आफ्नो भूमिका निर्वाह गरेर नाटक मञ्चन गरे झैँ हामी पनि निश्चित समयका निम्ति आउँछौँ र विलय हुन्छौँ। रङ्गमञ्चको पात्रको जस्तै छ हाम्रो जीन्दगी। जसरी रङ्गमञ्चको पात्रले आफ्नो भूमिकाको समाप्तिपछि रङ्गमञ्च छोडेर निस्कनुपर्छ त्यसरी नै हामीले पनि बाच्ने समयावधि सकिएपछि यो धर्ती छोड्नुपर्छ।
जीवनमा मृत्यु निश्चित छ। हामी एकअर्काको परिपूरक भएर सधैँ बाँचिरहन सक्दैनौँ। समग्रमा भन्नुपर्दा जीवनको उत्तरार्धमा बुवा वा आमा दुई मध्ये एकले एक्लो हुनु निश्चित थियो। तर सबै कुरा जाने, बुझे पनि ५६ वर्षकै उमेरमा आमाले हामीलाई छोडेर जानुहोला भन्ने लागेको थिएन। तर जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि जीवन गतिशील छ।
मर्नेले छोडी गए पनि बाँच्नेले जिन्दगी सम्हाल्नुपर्छ। जे आइपरे पनि पीडकले आफूलाई सम्हाल्दै जीवनलाई निरन्तरता दिनैपर्छ। समयले दिएका घाउहरू निको बनाउन समयले नै मद्धत गर्दै जान्छ। जीवन कहिले सुख कहिले दुःखका घटनाहरू समेट्दै कुमालको चक्र झैँ निरन्तर घुमिरहन्छ।
कुमालेले गाग्रो निर्माणको अन्तिम चरणमा चक्रलाई आफ्नो नियन्त्रणमा लिँदै विस्तारै घुमाएर कलालाई निखार दिएजस्तै गतिशील जीवनको निश्चित समयावधिमा जीवन सहज र सरल बनाउनलाई केही न केही निर्णय लिन आवश्यक छ। तर ती आवश्यक र महत्वपूर्ण निर्णय लिने समयावधि हामी हुर्केको परिवेश, समाज र संस्कारले निर्धारण गर्छ।
सामाजिक प्राणीका हैसियतले समाजले निर्धारण गरेका निर्णयलाई मान्दै सामाजिक चलन र संस्कारअनुरूप जीवन चल्दै जान्छ।