वर्षौंपछि आज दिन बहुत खास लाग्दै छ। सायद आमाबाको जन्मदिन परेर होला। हजुरबाले एक शताब्दीलाई छुँदा मेरो मन नाचिरहेको छ। आमा पनि फुरुङ्ग हुनुहुन्छ।
बाआमालाई देख्दा लाग्छ मैले सिंगो संसार स्पर्श गर्न पाएको छु।
'हामी त बूढा भइसक्यौँ। तिमीहरू त भर्खरै हुर्किँदै छौ। हाम्रो जिन्दगीको त अब ठेगान छैन बा।' जहिले भेट्दा पनि, जति पटक भेट्दा पनि आमाले जिन्दगीको गुनासो पोख्न कहिल्यै छोड्नु भएन।
बा पनि संगसंगै थप्नुहुन्थ्यो, 'हो नानी, हाम्रो केही भर छैन। हामी त बिग्रेको मान्छे हौँ, हामीलाई त समयले बिगारेको। समय र उमेर ढल्कँदै जाँदा सपना र जिन्दगी पनि अस्ताउँदै जाँदो रैछ। हामी त अब अस्ताउने बेला भएको मान्छे। अस्तायौँ भने कहिल्यै उदाउने छैनौँ। हामी त अब काल मात्र पर्खेर बसेका हौँ!'
बाआमाले पोख्नु भएको आधा जस्तो गुनासो म बुझ्दैन थिएँ। कलिलो दिमागले कसरी बुझ्न सक्नु यस्ता जिन्दगीका कुरा?
पहिले पहिले स्कुलले जाडो महिनाको बिदा हुँदा म र दिदी बाआमालाई भेट्न भन्दै मामाघर दौडिन्थ्यौँ। तर आजभोलि म आक्कलझुक्कल मात्रै पुग्ने गर्दछु।
'वर्षमा एक/दुई पटक त आउँछेस् तर पनि एक दिनमै फर्किन्छेस्। अलि १५/२० दिन बस्ने गरी आए पो!' आमाको सधैँ एउटै गुनासो हुन्छ।
फर्किने बेला बाआमाले नरमाइलो मानेको देख्दा मलाई मेरो पाइला निकै गलेको महसुस हुन्थ्यो। आमा त कहिलेकाहीँ रोइदिनु हुन्थ्यो।
हुर्कदै जाँदा जिन्दगी सँगसँगै आमाबाको गुनासो पनि बुझ्दै गएँ। त्यसैले जन्मदिनको खुसियाली मनाउन हरेक वर्ष बाआमाको जन्मदिनमा म जसरी भए पनि मामाघर पुगेको हुन्थेँ। एकैदिन पर्ने बाआमाको जन्मदिन मलाई कुनै चाडपर्वभन्दा कम लाग्दैन।
हरेक वर्षको जन्मदिनभन्दा यो वर्षको जन्मदिन अलि खास थियो। हजुरआमा ८१ वर्ष र हुजुबुवा १०० वर्ष लाग्दै हुनुहुन्थ्यो। मलाई मेरी आमा साक्षात देवी जस्तै लाग्छ अनि बुवा एक शताब्दीका सुन्दर कविता जस्तै।
बाआमाको उमेरले भुइँ छोइसक्दा पनि म सदा झैं उहाँहरूलाई आज पनि उस्तै देख्छु। आमाको फुलेको केश उस्तै छन्। सिउँदोमा सिन्दुरको रातो धर्सा र चुल्ठोमा रातो धागो कहिल्यै छुटेको हुँदैन। बुवाको पनि शिरमा ढाकाटोपी, निधारमा भगवानको टीका र हातमा लठ्ठी कहिल्यै छुटेको हुँदैन।
'बुढेसकालको सहारा भनेकै तेरी आमा र यो लठ्ठी न हो' भन्दै बा बेलाबेला ठट्टा गर्नुहुन्छ।
आमा आज पनि उस्तै फुर्तिलो देखिनुहुन्छ। १०० वर्ष लागिसक्नु भएको बुवा अझै पनि ढिपी गर्दै बिहान ५ बजे उठेर आफ्नो नित्य कर्म सक्काएर, सूर्यलाई जल चढाएर मात्रै खानु हुन्छ।
कति पटक त बा तुलसीको मोठ अगाडि नमज्जाले लड्नुभएको छ। तर पनि सधैँ एकनासले आफ्नो नित्य कर्म गर्न भने पछि हट्नुहुन्न। सायद उमेरले गर्दा होला, आजभोलि मान्छेको नाम भने बुवालाई खासै याद हुँदैन।
'बा! मलाई चिन्नुभयो?' भनेर एकदिन सोधी हेरेँ।
'किन नचिन्नु? तिमी त नातिनी हौ,' भन्दै शिरमा हात राख्नुभयो।
'मेरो नाम के हो भन्नू त त्यसो भए,' भन्दै फेरि एकपटक जिस्काइ हेरेँ!
'नाम त बिर्सिए!' भन्दै दाँत देखाएर फिस्स हाँस्नुभयो।
आमाबाको यो हाँसोको कथा जिन्दगीभर लेखिरहन पाउँ। आमाबाको आशीर्वाद लिइरहन पाउँ। बूढो हुनुभएका आमाबाको आशीर्वाद पाउनु साँच्चै भाग्यको कुरा हो भने आमाबा मुटुकै टुक्रा हुन्!
त्यसैले,
हजारौँ कथा कोरिएता पनि,
सबैभन्दा प्रिय पात्र हुन् बाआमा
हजारौँ कविता मनमा सजाएता पनि
जिन्दगीकै साक्षात कविता हुन् बाआमा!
हजुरबुबा र हजुरआमालाई जन्मदिनको अनगिन्ती शुभकामना!