सामान्य अवस्थामा हामी बुद्ध जन्मिएको देशका शान्तिप्रिय नेपालीलाई 'एउटा मान्छेले अर्को मान्छेलाई पिट्न पाइन्छ' भनेर सोध्ने हो भने 'पाइँदैन' नै भन्छौं होला। तर डाक्टर पिट्न पाइन्छ भनेर यदि सोध्ने हो भने सायद पाइन्छ भन्छौं।
डाक्टरले बिरामीको उपचारमा लापरबाही गर्यो भने, उपचारको क्रममा बिरामी मर्यो भने, बल्ल पाएको शल्यक्रियाको मिति अनाहक सर्यो भने, अपर्झट गर्नुपर्ने डायलाइसिसको पालो नपाउँदा, कार्यालय समयमा डाक्टर नआउँदा, डाक्टरको रूखो व्यवहार, उपचारको चर्को व्यवहार। हामीकहाँ डाक्टरमाथि हातपातका लागि यी 'जायज' कारणहरू हुन्!
ठमठम हिँडेर अस्पताल आएको बिरामीको नचाहिने औषधि दिएर, गर्नै नपर्ने शल्यक्रिया जबरजस्ती गरेर मृत्यु भयो भने त झन कुट्नुपर्छ! यो अवस्थामा डाक्टर पिट्ने मात्र होइन, हातखुट्टा भाँचिदिनुपर्छ, झुन्डाउनुपर्छ, ज्यानको बदला ज्यान!
यो मैले अतिरञ्जना गरेको होइन।
'चिकित्सकीय लापरबाहीले बिरामीको ज्यान गयो, अस्पतालमा तोडफोड' शीर्षकमा नियमितजसो छापिने समाचारहरूको समाजिक संजालमा पाठक प्रतिक्रिया सरसर्ती हेर्ने हो भने यो मनोविज्ञान स्पष्ट हुन्छ।
केही दिन अघिको कुरा हो, गोरखा जिल्ला अस्पतालको बहिरंग विभागमा डाक्टर अविनाश पराजुली बिरामी हेर्दै थिए। दुई जना मानिसहरू आएर कोठाको ढोका लगाए र डाक्टरलाई हातपात गरे, लात्ताले समेत हिर्काए। निस्किँदै गर्दा हातखुट्टा काटिदिन्छौं भनेर धम्की दिए। अस्पतालका पालेदाइ, केही नर्स र १५/२० जना बिरामी यो घटनाका साक्षी छन्।
डाक्टरको गल्ती भनेको थाइरोइड जाँचको रिपोर्ट लिएर आएकी एकजना महिलालाई पुरानो रिपोर्ट र अहिले सेवन गरिरहेको औषधि पनि लिएर आउनु भन्ने आग्रह। चिकित्सकले गर्ने नै त्यही हो, रोग पहिले र अहिले कुन अवस्थामा छ भनेर जान्न र त्यहीअनुसार औषधिको मात्रा मिलाउन।
उनी फर्किइन् तर केहीबेरमा ती दुई जना व्यक्तिहरू ओपिडी कक्षमा प्रवेश गरे र रिपोर्ट किन नहेरेको भनेर डाक्टरलाई पिटे। घटना घटेको एक हप्ता बढी भयो, पीडित चिकित्सकले रत्तिभर पनि न्याय महसुस गर्नसकेका छैनन्।
अघिल्लो हप्ता लहान जिल्ला अस्पतालमा त्यहाँका मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समितिका अध्यक्ष समेतको उपस्थितिमा कार्यरत महिला चिकित्सक डाक्टर अंशु सौरभमाथि एकजना 'सेवाग्राही' महिलाले हातपात गरिन्। घटनापछि विक्षिप्त भएकी डाक्टरको भिडिओ सार्वजनिक भएको छ।
आजभन्दा एक महिनाअगाडि देशको विकट मानिने जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक डाक्टर करण शाहमाथि त्यहीँका एकजना कर्मचारीले करङ भाँचिने गरी हातपात गरे। लखेटीलखेटी लात्तीले हानेको सिसिटिभी फुटेजमा देख्न सकिन्छ। उनको गल्ती इमर्जेन्सीमा टाँका काट्ने 'नन इमर्जेन्सी' काम लिएर आएका कर्मचारीलाई 'यता होइन, टाँका काट्ने सामान पनि सर्जरी ओपिडीमै हुन्छ, त्यता जानुस्' भनेर पठाउनु थियो।
आजभन्दा ठिक एक वर्षअघि भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा आफ्नो दाजुको निधन भएको भन्दै उपचारमा संलग्न चिकित्सक डाक्टर प्रकाश चन्द्र साहु र केही नर्सहरूलाई लखेटीलखेटी पिटियो। नर्सहरूले एकतला माथिबाट हामफालेर मात्र आफ्नो ज्यान जोगाउन सकेको बयान दिएका थिए।
यो कोरोना कालको कुरा हो। त्यो बेलामा स्वास्थ्यकर्मीमाथि कुनै पनि हातपात र अस्पतालमा हुलदंगा सरकारले निषेध गरेको थियो। त्यो घटनालाई सम्बोधन गर्दै राष्ट्रपति स्वयंबाट बिरामीका मान्छेहरू तनावमा हुन्छन् र भावनात्मक उत्तेजना यदाकदा विष्फोट हुन्छ भन्ने आशयको ट्विट आएको थियो। मुख्य आरोपी जसले कारवाहीमा केही रात हिरासतमा पनि बिताएका थिए, उनी पार्टीबाट टिकट पाएर अहिले कुनै वडाका अध्यक्ष बनेका छन्।
कोरोनाको सुरूआती दिन थियो। मोबाइलको रिङटोनमा अत्यावश्यक काम नपरेसम्म बाहिर नजानू, घरमै बस्नूहोला भन्ने सन्देश बज्न थालेको थियो। पल्लो टोलको कोभिड आफ्नो टोलमा नआओस् भनेर गल्ली–गल्लीमा मान्छेको आवागमन रोक्न बाँसका छेकबार ठडिएका थिए।
त्यस बेला नेपाल मेडिकल कलेजमा काम गर्ने चिकित्सकद्वय श्री श्रेष्ठ र राकेश सिंहको परिवारलाई पनि आफ्नो सन्तान कतै बाहिर नजाओस्, यो भयानक रोगबाट जोगिएर यतै घरमा बसोस् भन्ने लागेको थियो होला। तर डाक्टर मान्छे, अस्पतालमा ड्युटी थियो। बिहान ६ बजेतिर बेसीगाँउबाट आएका दमका बिरामीको उपचारको क्रममा मृत्यु भयो। मृतकका छोराले लापरवाही गरेको भन्दै दुवैलाई थप्पड हाने।
किंकर्तव्यबिमूढ हुनु र धर्मसंकटमा पर्नुमा केही अन्तर छ। एउटा औसत मान्छेको जीवनमा साँच्चिकै अर्थमा धर्मसंकट कहिले आउँछ, कति पटक आउँछ म ठ्याक्कै भन्न त सक्दिनँ तर मेरो जीवनमा त्यो पहिलो पटक यही कोभिड महामारीको समयमा आयो।
संक्रमण तीव्र गतिमा फैलिरहेको थियो, कुन सुरक्षाका उपायले कति जोगाउँछ भन्ने यकिन भइसकेको थिएन। संसारभरि फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीहरूले ज्यान गुमाइरहेको खबर आइरहेको थियो। स्वास्थ्यकर्मीहरूमा संक्रमणको दर औसतभन्दा दस गुणा ज्यादा थियो र कडा खालको न्युमोनिया लागेर मृत्यु हुने जोखिम सात गुणा बढी।
अमेरिकामा समेत पर्याप्त व्यक्तिगत सुरक्षाका उपकरण (पिपिइ) नहुनाले नर्सहरूले प्लास्टिक बेरेर बिरामी हेरेका थिए। त्यसबखत नेपालमा पाइने त झन् कुरै भएन। काम गर्ने अस्पतालले न पिपिइ दिन्थ्यो, न त मास्क नै। छतछतमा मास्कहरू धोएर सुकाएको हुन्थ्यो पुनः प्रयोगका लागि।
अधिकांश अस्पतालले आर्थिक भार परेको भन्दै डाक्टरहरूलाई आधा तलब मात्र दिन्थ्यो। त्यो पनि महिना, दुई महिना ढिलो गरेर। यो अवस्थामा ज्यानको जोखिम लिएर एउटा अस्थायी करारको जागिर खान जाने कि नजाने भन्ने धर्मसंकट भयो। जोखिम आफूलाई मात्र थिएन, घरका बुढा भएका परिवारजन, दूधे छोरो सबैलाई थियो।
तर पनि सोचेँ, सिमानामा युद्ध छ। म सिपाही, मैदान छोडेर कँहा भागूँ? म भागिनँ। मैले जागिर छोडिनँ र मलाई त्यसमा गर्व छ। हामी स्वास्थ्यकर्मीहरूले यस्तै यस्तै मनोदशाबाट गुज्रिएर थोरै डरमा, थोरै भगवानको भरमा काम गर्यौं। केही साथीभाइहरू उनै भगवानको प्यारा पनि भए। युद्ध थियो, गोली लाग्यो– सिपाही ढल्यो।
यो अपसोचको कुरा होला, तर आश्चर्यको पक्कै होइन। हामीले रोजेको पेसा थियो यो, कसैले जबरजस्ती हामीलाई डाक्टर बनाएको होइन। कोरोनाको महामारी, कहिले डेंगी, कहिले इन्फ्लुएन्जा। यो मुठभेड चलिरहन्छ, चली नै रहनेछ।
एउटा बिरामी रोगसँग लडिरहँदा हामी पनि ऊसँगै लडिरहेका हुन्छौं। बिरामीले रोगलाई जित्नु हाम्रो पनि जित हो, हामी पनि सोही टिमका हौं। त्यही समयमा बिरामीका मान्छे र पूरै समाजसँग लड्ने हाम्रो सामर्थ्य छैन। तर पटकपटक हामीमाथि हातपात भइरहन्छ। किन?
मलाई थाहा छ आम मानिसको हामी चिकित्सकहरूप्रति धेरै गुनासोहरू छन् र कति सिकायतहरू जायज पनि छन्। अस्पताल रमाइलो ठाउँ होइन। अक्सर अस्पतालसँग जोडिएका हाम्रा सम्झनाहरू सुखद हुँदैनन्। रोग, चोट र पीडा, अस्पतालको लामो बसाइ, आफन्तजनको देहान्त र बिछोड, अस्पतालको दुर्गन्ध, ओपिडीको लाइन, रिपोर्ट लिन संघर्ष, ल्याबको सास्ती– यी सुखद् अनुभूतिहरू होइनन्।
बिरामी सन्चो भएर गएको छ भने पनि जाँच गर्दाको खर्च, औषधिको बिलले मन तितो नै रहिरहन्छ। त्यसैले सायद हामीमा अस्पताल र डाक्टरहरूप्रति नकारात्मक पूर्वाग्रह छ।
जोन हप्किन्स विश्वविद्यालयले सन् २०१८ मा गरेको एउटा अध्ययनअनुसार अमेरिकामा मात्रै प्रत्येक वर्ष २ लाख ५० हजार जनाको मृत्यु उपचारमा हुने त्रुटिले गर्दा हुन्छ। मुटुरोग र क्यान्सरपछि मान्छेको मृत्युको कारणहरूमा 'चिकित्सकीय त्रुटि' मुख्य देखियो। अमेरिका जस्तो विकसित मुलुकमा यस्तो अप्राकृतिक मृत्युभारलाई न्यूनीकरण गर्नेका विभिन्न उपाय अपनाइएका छन्, तैपनि यो हुन्छ।
नेपालमा बिरामीको उपचारका क्रममा त्रुटि हुँदैन भनेर म भन्दिनँ। पाइला-पाइलामा कमीकमजोरी छन्, पाइला-पाइलामा समस्या छन्। तर यसको समाधान डाक्टर पिटेर हुँदैन।
एउटा पुरानो गाडी छ, सन् ७० दशकको मोडल। इन्जिन बनाउँदै बिग्रिँदै, बनाउँदै बिग्रँदै गरेर कमजोर छ। पार्टपुर्जाहरू खिया लागेर, मक्किएर काम नलाग्ने भएका छन्। झ्याल छ तर लाग्दैन, ढोका बन्द हुँदैन। बसेर ३० जना र उभिएका समेत ५० जना अट्ने यो सवारीमा २०० जना चढाएर घुमाउरो भिरको बाटोमा बस पल्टियो भने दोष सवारी चालकको मात्र नहुन सक्छ।
हाम्रो देशको स्वास्थ्य सेवा व्यवस्था पनि त्यस्तै छ। स्वास्थ्य क्षेत्रले वार्षिक बजेटको सानो हिस्सा मात्रै पाउँछ। तर त्योभन्दा पनि ठूलो दरिद्रता यथास्थितिलाई सम्बोधन गर्ने इच्छाशक्तिमा छ। यो अव्यवस्थाको केही अंशको जिम्मेवारी चिकित्सकले पनि जरूर लिनुपर्छ तर यसको समाधान डाक्टर पिटेर हुँदैन।
यो लेख लेख्दै गर्दा म चिकित्सक मात्र होइन, म आफैं पनि कहिलेकाहीँ बिरामी हुँ। कहिले बिरामीको बाबु, कहिले छोरा, कहिले बिरामीको मान्छे पनि हुँ। अस्पतालका असीमित लाइनहरू बस्दा मलाई पनि दिक्क लाग्छ। डाक्टर झर्किँदा मलाई पनि रिस उठ्छ।
श्रोतसाधनको अभावमा र तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा मैले पनि निकट आफन्तजन गुमाएको छु। अस्पतालमा हुने कमीकमजोरी र असावधानीलाई मैले अझ स्पष्टसँग देखेको छु। तर यसको समाधान डाक्टर कुटेर हुँदैन।
समाजले (ऐतिहासिक रूपमा कमसेकम) चिकित्सक वर्गलाई देवत्वकरण गरेको, साहेब भनेको त्यसै होइन। यो गाह्रो काम, जोखिम बोकेको काम, जिन्दगीभरि पढेको पढ्यै गर्नुपर्ने, रातबिरात दगुर्नु पर्ने, पस्केको खाना छोड्नु पर्ने काम गर्न कोही न कोही त चाहियो। आर्थिक रूपले धेरै प्रोत्साहित गर्न सके/नसके पनि सम्मान गरिदयो भने मेधावीहरूलाई यो पेसामा आउन प्रेरणा मिल्छ भन्ने मनोविज्ञान थियो होला। हाम्रो पुस्तासम्म पनि राम्रो पढेर डाक्टर बन्ने उत्प्रेरणा थियो। अब त्यो रहेन।
कुनै दिन आउला जब एलन मस्कले एउटा यस्तो यन्त्र मानव निर्माण गर्लान् जसले दाहिने प्रोब घुमाएर मान्छेको दीर्घरोग, संक्रमण र शारीरिक समस्या सबै पत्ता लगाइदेला र देब्रेतिरबाट लेजर निकाल्दै सबै ठिक बनाइदेला।
त्यो बेला हामीलाई चिकित्सक चाहिँदै चाहिँदैन। तर त्यतिन्जेलसम्म प्रिय समाज, डाक्टर पिट्न पाइँदैन!