माटोको घर, जस्ताको छानो, छेउमा परालको कुनो, गाई-गोरू बाँध्ने गोठ र अविरल बगिरहने खोलानालाका मुहान।
हो, यस्तो सोचेको थिएँ मैले जुम्ला बजारको दृश्य र मुहार। तर जहाजबाट ओर्लनासाथ मेरो आँखाले देखेको दृश्यमा फरक पाएँ। केही भिन्न परवेश देखेँ। वरिपरि भर्खरै बसन्त ऋतु आएर पालुवा पलाउन लागेको पहाड, कहि कतै मात्रै देखिने धुपीको रूख, पहाडको पल्लो छेउमा बग्ने तिला नदी, काठमाडौंका जस्तै ३-४ तले चिटिक्क परेका घरहरू र सहजै हिँड्न मिल्ने पिच गरेको रोड। सहरको रूप यस्तै भए पनि गाउँघर भने मैले कल्पना गरे जस्तै थियो।
एकछिन त जुम्ला भनेर अर्कै ठाउँ पो पुगे कि जस्तो पनि लाग्यो। एयरर्पोटमा लेखिएको ‘जुम्ला सदरमुकाम, चन्दननाथ’ देख्दा मनलाई सान्तवना मिल्यो। जुम्ला बजार, मैले पढेको र सुनेको भन्दा फरक पाएँ। मैले धेरै छिटो मूल्यांकन गरी स्टेरियोटाइप भएँ कि सायद।
समुदायको अवलोकन, किशोरी तथा महिलाको अवस्थाको बारेमा उत्सुक भएकाले जुम्ला पुगेकी थिएँ। जुम्ला बसाइँको पहिलो केहि हप्ता त यो के हो, त्यो के हो भनेरै बित्यो। गाउँले जीवन नजिकबाट पहिलेनै देखे पनि आफू पूर्वी भू-भागबाट भएकाले हरेक कुरा नौलो र अनौठो लागिरहेको थियो।
जुम्ला बजार नजिकै रहेको गुम्बा मेरो पहिलो अवलोकन थियो। त्यस गुम्बाबाट लगभग सारा जुम्ला बजार देखिन्थ्यो। चन्दननाथ मन्दिर दर्शन, लालिगुराँस टिप्न जाने, नुन चियाको स्वाद, खोलामा लुगा धोएको पहिलो अनुभव र राजासिमसम्मको मर्निङवाकले मलाई मोहित पारेको थियो। तर १२ बजेपछि चल्ने हावा र चिसोले हिमाली जिल्लामा आएको अनुभव गराइदिन्थ्यो।
गँहुगोरो वर्णको अनुहार, खैरो रंगको कर्ली कपाल, ट्रेकिङ जुत्ता, पछाडि भिर्ने ठूलो ल्यापटप ब्याग, मास्क र ज्याकेट। यस्तै हुने गर्थ्यो मेरो हुलिया। त्यसैले होला सायद मैले जुम्लामा पहिलो उपनाम पाएँ ‘टुरिस्ट’!
‘उ हेर त, विदेशी जुम्ला घुम्न आएकिन।’
यो सुन्दा मुसुक्क हाँस्नुबाहेक मसँग अरू उत्तर थिएन। सुरू सुरूमा त नरमाइलो लाग्थ्यो। किन यो उपनाम?
यसो सोच्दै जुम्लाकै दिदीबहिनीको पहिरनमा ध्यान गयो। कुर्ता सुरूवालको भेष, आफैंले बुनेका चिटिक्क परेका स्वेटर, लेडिज जुत्ता, हाते ब्याग, प्रायः सलको कुम्लो, लामो कालो कपाल र अलिअलि हाँस्न खोजेको अनुहार।
हत्तेरी! म त साँच्चै टुरिस्ट नै रहेछु। न त मेरो लुगा लगाउने तरिका मिल्थ्यो, न त हाइट नै, न त कपाल। यतिबेला टुरिस्टको वास्तविक अर्थ आँकलन गरेँ।
म बसेको घरबाट करिब ७-८ मिनेटको दुरिमा थियो प्लेसमेन्ट भएको संस्था-पेस नेपाल। बिहान १० बजेदेखि भ्याएको जति जुम्ला बजार घुमेर खाना खाई १० बजे अगाडि नै अफिस पुग्थेँ। ५ बजेपछि साँझ नपरून्झेल फेरि नपुगेका ठाँउमा पुग्थ्यौं, म र मेरी आनी।
तामाङ भाषामा आनी-यानी भनेको फुपू हो। जुम्लामा मेरो अभिभावकको भूमिका निर्वाह गर्ने माला आनी र भानु आसेङ (फुपाजु)। दुवै जना मेरा बा आमाका विगत ३३-३४ वर्ष देखिको मिल्ने साथी।
मलाई जस्तै आनीलाई पनि घुम्न मनपर्ने। नयाँ ठाँउ हेर्न मन पर्ने। सानो सानो कुरामा रमाउने। खुब बोल्न मन पर्ने। निकै चञ्चले स्वभावले गर्दा होला हामी दुईको जोडी खुब जम्थ्यो। जुनसुकै कुरा गर्न सबैभन्दा सुरूमा तयार हुने हामी नै हुन्थ्यौं। आसेङ डब्लुएफपीमा काम गर्न थाल्नुभएको थियो। मुगु र जुम्ला गरेर लगभग १५ वर्ष बिताइसक्नुभएको थियो।
उहाँकै सिफारिसमा मैले पेस नेपालमा प्लेस्मेन्टको अवसर पाएको थिएँ। आसेङको स्वभाव भने आनीको भन्दा फरक थियो। धेरै नबोल्ने, आफ्नै काममा व्यस्त भइरहने र शान्त स्वभावको भए पनि जिज्ञासा भने भरपुर थियो।
अफिस जानु अगाडि नै ‘ङा निजि है!’ (म जान्छु है) भनेर विद्यालय जान लागेको झैं खाजा बोकेर आनी र आसेङको अनुहार हेर्दै मुसुक्क हाँसेर निस्किन्थेँ।
मैले तामाङ भाषा आनीबाटै सिकेको थिएँ। पहिले कहिल्यै पनि अन्य भाषा सिक्ने रूची थिएन। बेलाबेलामा नयाँ शब्द सिकिरहेकी थिएँ। यो देखेर म आफैं चकित थिएँ। तामाङ भाषा सिकाउन पाएर आनी भने निकै उत्साहित हुनुहुन्थ्यो।
अफिस जाने भन्दै जुत्ता लगाएर गेटमा पुग्दा मभन्दा पहिले नै तयार भई बसेको हुन्थ्यो घरबेटिको भोटे कुकुर-योर्गेन। मभन्दा अगाडि निस्किएर बाटो देखाउँदै पुग्थ्यो पेस नेपालको अफिस। गेटभित्र छिर्न नदिएपछि गेट बहिरबाटै मायालाग्दो अनुहारले मलाई हेर्ने गर्थ्यो। लाग्थ्यो यो मैले दिएको जुठो हड्डीको ब्याजसहित फिर्ता रकम हो। जुम्ला बसुन्झेल मलाई निकै सुरक्षा गर्थ्यो योर्गेनले।
केही महिनाको मात्र हुँदा योर्गेन चोरी भएको थियो रे! उसलाई जंगलमा लगेर विभिन्न थरी तालिम दिने गर्थे रे। तर केहि महिनापछि कसो-कसो भागेर घर आउन सफल भएको हल्ला सुनेकी थिएँ। वाकमा, अफिस, बजार, पसल जता जाँदा पनि योर्गेनबाट छलेर जानुपर्थ्यो। किनकि देख्यो कि पछ्याइहाल्थ्यो। आफू पनि कुकुर भनेपछि हुरूक्कै हुने मान्छे।
अरूले बोलाउँदा नआए पनि मैले बोलाउँदा भने कसरी-कसरी टुप्लुक्क आइपुग्थ्यो। हड्डी-भातको लोभले हो कि मायाले भन्ने कुरा मैले बसुन्झेल पत्ता लगाउनै सकिनँ। योर्गेनसँग म यति नजिक भैसकेकी थिएँ कि त्यसको नाम हरेक हप्ता जस्तो मायाले फेरिदिन्थेँ। कहिले योर्गेन्द्र प्रसाद, कहिले योर्गेन्द्र झा त कहिले नरेन्द्र। जुम्लाबाट फर्किन दुई हप्ता अगाडि मात्र थाहा भयो कि उसको नाम त नोर्गेन पो रहेछ। तर म बसेको घरको बहालमा बस्ने सबैले योर्गेन नै भन्ने गर्थे।
बसन्त ऋतु आउने समयमा जुम्ला पुगेकोले आफूलाई निकै भाग्यमानी ठानेकी थिएँ। स्याउका सेता फूल, २-३ थरी आरूका फूल, ओखरको बोटको पाउला, भर्खरै फुलौला जसरी कोपिला लागेका गुलाफका फूल र अरू मलाई नाम नै नआउने के के हो, के-के।
फूलहरूले जुम्ला बजार रङ्ग्याएको थियो। मानौं कुनै उत्सव। कति त मैले आफ्नो फोनमा कैद पनि गरेँ। तर आँखाले देखेका जति क्यामेराले के देख्थ्यो! जति गुलाफका फूल देखेँ त्यति त मैले जिन्दगीमा देखेकी थिइनँ। जंगली प्रजातिका गुलाफ पातैपिच्छे फुलेको देख्दा निकै लोभ लाग्थ्यो। कसरी फुल्न सकेका होलान् म र आनी गुलाफ फूल हेर्नकै लागि पनि वाकमा जान्थ्यौं।
मेरी आमाले जसरी रारा तालको बयान गर्नुहुन्थ्यो नि, त्यो सुन्दा त अहिले नै गएर त्यसको सुन्दरताको पूर्ण आनन्द लिऊँ जस्तो लाग्थ्यो। सानोमा आमाले राराको किस्साहरू सुनाउँदा त जिन्दगीमा म कहिले नि नपुग्ने ठाँउ होला जस्तो लाग्थ्यो।
आज भन्दा करिब २५-२६ वर्षअघि बाबाको फिल्ड बाजुरा हुँदा बाबा, आमा, दाइ र बाबाको अन्य साथीहरू बाजुराबाट हिँडेरै रारा पुग्नु भएको थियो रे। सिलसिलैमा म, आनी र आसेङ पनि पुग्यौं रारा। घुम्न भनेपछि हुरूक्कै हुने म र मेरी आनीले भ्रमणको भरपुर मनोरञ्जन लियौँ। गाडीको यात्रामा गीत गाउँदै, फोटो र भिडिओ खिच्दै र कहिल्यै बिर्सन नसकिने दृश्य हेर्दै मुगुको मिलिचौर पुग्यौं। घोडा भनेपछि हुरूक्कै हुने म झन् फाँटभरि चरेको देख्दा पेटभरी हेर्न मन थियो। जुम्लाको २ महिना बसाइँमा धेरै घोडाहरू देखे पनि फर्किने दिनसम्म अघाएकी थिइनँ।
जब धूपीको घनघोर जङ्गल छिचोलेर ठूलो ताल आफ्नो आँखा आगाडि देखेँ। नि-शब्द भएँ। जहिले बोलिराख्ने मान्छे म, एकछिन निशब्द भएको देखेर आनी पनि छक्क पर्नुभयो। जति हेर्यो उति मनमोहित बनाइदिन्थ्यो। त्यसपछि घोडा चढेर रारा हेर्न मन लाग्यो।
यो घोडा चढ्नु मेरो पहिलो अनुभव थियो। काठमाडौंमा विभिन्न पार्कहरूमा घोडा सवारी सजिलै गर्न सकिन्थ्यो तर मलाई भने छोटो अवधिलाई चढ्न मन थिएन। म मेरो साथीलाई सधैं भन्थेँ, अब कतै टाढा हिमाल र पहाडको बिचमा गएर चढ्छु घोडा। नभन्दै त्यस्तै भयो। वरिपरी हरियो धूपी, गुराँस, सल्ला, हेम्लक, कटुसजस्ता अरू विभिन्न रूख विरूवाहरू, साथ-साथै रूमा, मालिका, चुचेमारा र मुर्मा जस्ता पहाड, रारा ताल, घोडा र म।
रारा ताललाई मैले तीन रूपमा देख्ने मौका पाएँ। एउटा हावासँगै यता र उता छाल खेलिरहेको रारा, शान्त अन्धकारमा स्थिर रहेको रारा र अर्को आकाश र पहाडलाई आफ्नै सुन्दरताको अमूल्य भाग सम्झेर हुबहु आफ्नो छातिमा प्रतिबिम्बित रारा। रारालाई नियालेर दुई दिनको बसाइँले पनि मेरो मन भरिएको थिएन।
जुम्लामा मैले सबैभन्दा धेरै बिताएको समय भने पेस नेपालमा थियो। एअरपोर्टबाट आनीलाई झोला जिम्मा दिएर सोझै अफिस पसेको पहिलो दिन देखेका अनुहार सबै नौला थिए। तर प्लेसमेन्ट सकेर फर्किने दिन मेरो मस्तिष्क सबै अनुहारसँग परिचित बइसकेको थियो।
कति व्यक्ति निकै आत्मीय नि हुन पुग्नुभयो। त कति बसुन्झेल खिस्स हाँसेर नमस्कार भन्नेमै सिमित रह्यो। पेस नेपालले रिपोर्ट स्टडी, केश स्टडी, इन्फोगाफिक्सहरू बनाउन सहयोग गर्थ्यो। यसै सिलसिलामा समुदायका मानिसहरूसँग पनि भेट्ने मौका पाएँ। साथै आनी र आसेङसँगै अरू पालिकाको अवलोकन गर्ने अवसर पनि मिल्यो।
सिन्जा, कनकासुन्दरी, तिला, हिमा, पतरासी र तातोपानीको अनुभव भने उस्ता उस्तै थिए। उही लवाईखवाई, मानिस र प्राकृतिक सुन्दरता। फरक यति थियो कि तातोपानी, तिला, पतरासीसँग तिला कर्णाली नदीको अविरल साथ थियो भने सिन्जा, कनकासुन्दरी, हिमासँग हिमा-कर्णाली नदीको।
मैले देखेको जुम्लामा पुरूषको दाजोमा महिलालाई निकै कामको भार थियो। हिउँदको सन्दर्भ त देख्न पाइनँ तर बर्खामा भने एकछिन हात खाली नहुने। अफिसको काम गरेर पनि खेत बारीको काम भ्याउने महिलाको संख्या धेरै थियो जुम्लामा। प्रायः जस्तो महिलाहरू निकै महत्वाकांक्षी भएर प्रगति गरेको देखेँ। कति चाहीँ वैवाहिक जीवन त्यसमा पनि बाल विवाह गरेर पारिवारिक काममा ब्यस्त। दुवै पाटोको जीवन उतिकै महत्वपूर्ण भए पनि कहीँ कतै नकारात्मक भागले सकारात्मक भागलाई छाँयामा पारिदिने रहेछ।
तर बाल विवाहले धेरै किसिमको परिवारिक, शारीरिक तथा मानसिक समस्याहरू ल्याएको कुरा समुदायकै महिला दिदिबहिनीले गुनासो गर्नुहुन्थ्यो। उहाँका अनुसार आफूले गरेको गल्ती अरूले नदोहोर्याउन भन्ने लाथ्यो। तर अझै पनि उहाँहरूको हिसाबमा जनचेतना भने पुगेको थिएन।
हरेक ठाँउमा आफ्नै किसिमको विशेषता र अलग अनुभूति हुन्छ। त्यो दुई महिनाको जुम्ला बसाइँले धेरै कुरा सिकाएर एउटा छाप छोडेर गएको छ। बसाइँको अवधि दुई महिना भए पनि वर्षौंदेखि बस्दै आएको जस्तो आत्मीय भएको छ जुम्लामा।
कसैले जुम्लाको केही कुरा गर्यो भने पनि चासो लाग्ने र मन यसै भरिएर आउने। मनले नजिक भए पनि भौगोलिक रूपमा भने निकै टाढा लाग्छ। हरेक क्षेत्रको विकासको लागि क्षमता बोके पनि भौगोलिक रूपले पछाडि परिदिएको ठाउँ हो जुम्ला।
त्यहाँका मानिसहरूको संघर्ष देखेर त हामीलाई निकै भाग्यमानी ठानेकी छु। तर अखिरमा यो संघर्षको मुख्य उद्देश्य भनेको जीवनलाई कसरी सजिलो बनाउन सकिन्छ भन्ने हो। चाहे त्यो जुम्लामा होस् वा काठमाडौंमा।