म करिब सात वर्षको भएपछि विद्यालय भर्ना भएको हुँ। बुबाले मलाई तत्कालीन पार्वती प्राविमा ल्याएर भर्ना गरिदिनु भयो।
उहाँले तत्कालीन प्रधानाध्यापक इन्द्रबहादुर तिमल्सिनाको छेउमा लगेर 'ल भतिजको भर्ना गरिदिएको छु, के गर्नु पर्ने हो गर है तिम्रो जिम्मा छोडे नि' भनेको म आज पनि सम्झन्छु।
मलाई भने 'बाबु भरे म लिन आउँछु, यो पैसाले पापा खानू' भनेर एउटा सुकी (२५ पैसा) दिएर घर फर्कनु भयो बुबा।
काका इन्द्रबहादुर तिमल्सिनालाई त्यो बेलामा बुबाले मलाई जिम्मा लगाउनु भएको थियो र आज पर्यन्त बुबाको निधनपछि त झन् पूर्ण रुपमा म काकाकै जिम्मामा छु। उहाँकै नीति, निर्देशन र आर्शीवादले अगाडि बढिरहेको छु।
म विद्यालय भर्ना भएपछि नियमित पढ्न आउन थालेँ। मलाई एक कक्षामा नभएर हाफ (१/२) कक्षामा भर्ना गरिएको रहेछ। अर्धवार्षिक परीक्षामा राम्रो प्रगति गर्नेलाई कक्षा एकमा लैजाने परम्पराअनुसार छ महिना बितेपछि कक्षा एकमा जानेहरूको परिणाम सुनाइयो। त्यो परिणाममा मेरो नाम आएन।
छ महिना सम्मको अध्ययनको क्रममा 'तँ कक्षा एकमा छिट्टै जान्छस्' भन्नुहुन्थ्यो सरहरूले तर नाम नआएपछि म रुँदै घर गएँ।
बुबाले 'के भयो ?' भनेर सोध्नुभयो। मैले सबै कुरा भनेँ।
बुबाले 'पीर नगर, म केदारलाई भेटेर आउँछु' भनेर तुरुन्तै गेल्डुङ झर्नुभयो। इन्द्रबहादुर काकालाई गाउँमा केदार भनेर पनि बोलाउँथे।
साँझमा फर्केर बुवाले मलाई 'तेरो नाम छुटेको रहेछ, भोलिदेखि कक्षा एकमा पढ्ने' भन्नुभयो। म ज्यादै खुसी भएँ।
साँच्चै छुटेको हो वा बुबाले भनेपछि काकाले पास गरिदिनु भएको हो, अहिलेसम्म यसको सच्चाई थाहा भएको जस्तो लाग्दैन। मैले अहिले सोध्दा पनि तेरो नाम छुटेको रहेछ भन्नुहुन्छ काकाले।
जे होस् म कक्षा एकमा पुगेँ। बुबाले भोलिपल्टै कक्षा एकका पुस्तक, एउटा सिसाकलम र कापी किनेर ल्याइदिँदा खुसी भएको अहिले पनि झलझली याद आउँछ। त्यसपछि मलाई कहिल्यै बुबाले काकासँग पास गराउन भन्नु परेन। म सायद सधैंजसो प्रथम वा दोस्रो हुँदै कक्षा पास हुन थालेँ।
अहिले सम्झँदा मलाई लाग्छ म सानैदेखि अलि बढी संवेगात्मक र भावनात्मक रहेछु।
सायद ३/४ कक्षा तिर हुन पर्छ, कारण बिर्सेँ, किन हो कुन्नी म खाना नखाई विद्यालय गएँ। भाइ शिव पछि खाना खाएर पढ्न आयो र बुबाले भाइसँग एक मोहर (५० पैसा) खाजा खान भनेर दिएर पठाउनुभएको रहेछ।
भाइले मलाई त्यो ५० पैसा दियो। खाजा खानुको सट्टा मैले त्यो ५० पैसाको कापी किनेर ४ बजे घर फर्किएँ। कति वटा कापी किनेँ त्यो चाहिँ बिर्सेँ तर सबै पैसा कापीमा खर्च गरेँ।
म घर पुग्दा बुबा घरमै हुनुहुन्थ्यो। मलाई अलि डर लागेको थियो, नखाई हिँडेकोमा बुबाले गाली गर्नुहुन्छ भनेर। तर उल्टो बुबाले 'के खाइस् त त्यो पैसाले?' भनेर सोध्नुभयो। कापी देखाउँदै 'मैले त सबै पैसाको कापी किनेँ' भनेर देखाएँ।
बुबा एकछिन टोलाएजस्तो हुनुभयो र गहभरि आँसु पारेर 'बाबु, तैँले पढ्न मन गरेसम्म म सम्पत्ति बेचेर भए पनि पढाउँछु तर पेट खाली राखेर नै पढ्ने काम चाहिँ नगर है।'
यो भनेको अहिले पनि कानमा गुन्जिरहे जस्तो लाग्छ। त्यसपछि मैले पढ्ने क्रममा कहिल्यै अभावको महसुस गर्नु परेन।
यसरी कक्षा १, २, ३ हुँदै कक्षा सात पास गरेँ। मैले पढ्न सुरु गर्दा प्राथमिक विद्यालय पछि निमावि भैसकेको थियो। त्यसैले मैले कक्षा सातसम्म गाउँमै अध्ययन गर्न पाएँ। कक्षा सात पास गर्ने हामी जम्मा १५ जना थियौँ।
धेरैजसो साथीहरू कक्षा आठमा श्रीराम मावि खोपासीमा भर्ना हुनुभयो। बहिनी नानीमैया इन्द्रेश्वरमा भर्ना भइन्। मलाई भने बुबाले 'पकाउने, भाँडा माझ्ने, लुगा धुने लगायतका काम गर्न तँलाई गाह्रो हुन्छ, त्यसैले दिदीको घरमा बसेर पढ्' भनेर श्री कुशादेवी माविमा भर्ना गरिदिनु भयो।
कुशादेवी माविमा भर्ना गर्न पनि बुबा आफै जानु भएको थियो। बुबाले तत्कालीन प्रधानाध्यापक रामप्रसाद अधिकारी सरलाई भेटेर भन्नुभएको थियो, 'नजिकका स्कुल छाडेर यहाँ ल्याएर भर्ना गरेको छु, गुरुको मात्र हैन अभिभावकको पनि भूमिका निर्वाह गरिदिनु होला है हेड सर।'
साँच्चै हेडसरले त्यस बेलादेखि आज पर्यन्त त्यो अभिभावकीय भूमिका निर्वाह गरेको महसुस गर्छु। आज पनि कतिपय बेला रामप्रसाद सर मेसेन्जरमा फोन गर्नुहुन्छ र के गर्दै छौ, सञ्चो बिसञ्चो के छ भनेर सोध्नुहुँदा र मैले गरेको प्रगतिमा चाहे फेसबुकबाट होस्, चाहे फोनबाट खुसी व्यक्त गर्नुहुँदा म सधैँ भावुक हुने गर्छु। गुरु त साँच्चै यस्तो पो हुनुपर्छ भन्ने लाग्छ।
बुबाले मेरो पढाइको लागि गरेको योगदान सम्झँदा म साँच्चै भावुक हुन्छु।
म कक्षा आठ र नौ पढ्न दिदीको घरबाट (नयाँगाउँ) कुशादेवी बजारमा पढ्न आउँथें। कक्षा दशमा पुगेपछि अझ बढी परिश्रम गर्नुपर्छ भनेर कुशादेवीमा डेरा लिने कुरा भयो। सोहीअनुसार दिदीको छिमेकी हरि आचार्यको घरमा डेरा लिएर बसेँ।
अब कुरा आयो खानाको, ढुंखर्क खेत हुने ठाउँ होइन। तल्लो गाउँमा केही खेत भए पनि हामी धेरै टाढा भएर होला त्यता खेत थिएन।
वर्ष भरिको लागि मकवानपुर जिल्ला फापरबारीबाट धान ल्याएर चाडबाडमा भात खाने गर्दथ्यौं। मेरो मायाले बुबाले फापरबारीबाट ल्याएको धान ढिकीमा कुटेर मेरो डेरासम्म ल्याइदिनु हुन्थ्यो। आफै बोकेर आउनुहुन्थ्यो। आज सम्झँदा पनि भकानिन्छु म। बुबाको म प्रतिको माया अनि प्रेम कति थियो।
२०४० सालमा एसएलसी दिएँ। म टेस्टमा दोस्रो भएको थिएँ। दीपक शर्माभन्दा मात्र ३ नम्बर बढी ल्याएर। कक्षा आठ र नौ पास गर्दा मभन्दा दीपकजी अगाडि हुनुहुन्थ्यो। प्रथम सधैँ प्रेम सापकोटा हुन्थे, उहाँलाई जित्न हामी कसैले सकेनौँ।
दीपकजी र म भने चाकलचुली खेल खेले जस्तो कहिले को अगाडि कहिले को अगाडि, त्यही पनि थोरै अङ्कले मात्र। यो सौहार्दपूर्ण प्रतिस्पर्धा बेलायतमा स्नातकोत्तर तह पढ्दासम्म रहिरह्यो। जे भए पनि मैलेभन्दा बढी दीपकजीले नै मलाई जित्नु भयो।
२०४० साल माघमा एसएलसी दिएपछि घरमै बस्न थालेँ। त्यो बेला टेस्ट (कक्षा दश) पास गरेकाले पनि प्राथमिक तहमा शिक्षक नियुक्ति पाइन्थ्यो। मलाई पनि शिक्षक जागिर खाने उत्कट चाहना थियो। जयराम प्रावि पाट्नेखोलामा खाली पनि थियो। बुबालाई मेरो इच्छा जाहेर गरेँ।
'ल म कुरा गर्छु नि त' भनेर बुबा एकदिन गेल्डुङ्ग झर्नुभयो। बेलुकी आएर त 'छोड्दे तैँले प्राविमा जागिर खाने होइन, त्योभन्दा माथि खालास् पीर नगर्' भन्नुभयो।
के भयो कुन्नी, बुबाले कहिल्यै बताउनु भएन। तर पछि मैले केही कथा थाहा पाएँ, त्यो कथाले मलाई थप पढ्नको लागि प्रेरणा मिल्यो, बस यति नै।
सायद यो कुरा थाहा पाएर हुन सक्छ एकदिन विष्णु दाइले बुबालाई 'भाइलाई जागिर खुवाउने हो?' भनेर सोध्नु भएछ।
'खै बाबुले जान्छु भन्यो भने तिम्रो जिम्मामा पठाउँछु' भनेर घर आउनु भएको कुरा बुबाले बताउनु भयो। २०४० साल चैतदेखि म ललितपुर जिल्लास्थित श्री कालेश्वर मावि बतासेमा पढाउन थालेँ। यो सबै श्रेय विष्णु दाइलाई जान्छ।
विष्णु दाइ र मेरो पहिले सामान्य चिनजान मात्र थियो। कालेश्वर मावि बतासेमा पढाउन थालेपछि भने हामीबीच कोखै दाजुभाइ समान सम्बन्ध गाँसियो। आज पर्यन्त मेरा हरेक सुख, दुःख, प्रगति आदि इत्यादिमा विष्णु दाइ अभिभावक हुनुहुन्छ जुन मैले बेग्लै लेख्ने वा व्यक्त गर्ने हो भने एउटा किताब बन्छ।
२०४१ साल असार ९ गते म काठमाडौँ जान ढुंखर्कबाट बिहानै हिँडेर पनौती आउँदै थिएँ। बाटोमा आउँदा नै थाहा भयो एसएलसीको रिजल्ट भयो भनेर। अनि म बनेपामा गोरखापत्र हेर्न झरें।
दीपकजी लगायत बनेपामा भेट भयौं तर गोरखापत्र पाउन मुस्किल भयो। करिब १/२ बजे मात्र पूरा गोरखापत्र पढ्न पाइयो। दीपकजी, मलगायत १० जना मात्र पास भएछौँ। अत्यन्त उत्कृष्ट साथीहरू पनि असफल भएको देखेर आफू पास भएको पनि मजा लागेन।
मलगायत केही साथी दीपकजीको घर गयौं। दीपक जीको बुबा-आमाले बधाई दिनुभयो, खाजा खुवाउनु भयो। दीपकजीको बुबाले सकेसम्म दुई भाइ सँगै पढ्नु है भनेको आज जस्तो लाग्छ। अनि म भने कुशादेवी दिदीको घर गएँ।
एसएलसीको रिजल्ट भएको भोलिपल्ट मात्र म घर गएँ। गाउँ नै खुसी, सायद त्यो वर्ष ढुंर्खकबाट म र अर्जुन श्रेष्ठ २ जनाले मात्र एसएलसी पास गर्न सक्यौँ। म घर पुग्दा त बुबाआमा कतै नगई घरमै बसिरहनु भएको रहेछ, कुन बेला आइपुग्छ छोरा भनेर।
म देख्ने बित्तिकै बुबाका आँखा रसाए र अनायसै मुखबाट फुत्कियो- 'मलाई अपुत्रो भन्थे, यस्तो छोरा जन्मियो।'
'बाबु तिमीले धेरै पढेर तिनीहरूलाई समेत सम्मान र मर्यादा गर्नू ल।'
तर बुबाले तिनीहरू भनेका को हुन् कहिल्यै बताउनु भएन र मैले पनि कहिल्यै सोध्ने हिम्मत गरिनँ।
जे होस् छोरा नजन्मिएकोमा बुबालाई होच्याउनेहरू गाउँमा रहेछन् त्यस बेला, यतिमात्र हो। आमाले भने केही भन्नु भएन, एकोहोरो मलाई हेरिरहनु भएको थियो र आँखामा आँसु भने टिल्पिलाएका थिए। सायद खुसीका आँसु होला।