केही दिनदेखि लगालग टाउको दुखिरहेको थियो। अस्पताल जाना नि टाढा छ, के जानु भनेर आफै सहिरहेकोको थिएँ। अलि धेरै भएपछि चाहिँ अब हुँदैन जान्छु भनेर जाने सोचेँ।
डाक्टर आउने समय दिउँसोको २ बजे थियो तर टिकेट १२ बजेदेखि नै काट्न सुरु हुन्छ। २ बजे तिर गयो भने त टिकेट नम्बर अन्तिम तिरको आउँथ्यो। त्यसैले साढे ११ मै गएर लाइनमा बसेँ। टिकट पनि काटेँ। अब बस् डाक्टर कुर्नुपर्ने मात्र काम रह्यो।
यसो घडी हेरेको १ बजेको रहेछ। अहिलेदेखि डाक्टरको कोठा बाहिर त बस्न मिलेन। बरु बाहिरको खुला ठाउँमा बसेर घाम ताप्ने सोच गरेँ। चौरमा बसेर मोबाइल चलाउँदै थिएँ, लगभग ३०-३२ उमेरकी एउटी दिदीले छेउमै आएर सोध्नु भयो, 'नानी, यी डाक्टर कति बजे आउँछन्?'
'खै दिदी कुन डाक्टर हो हेरौँ त?' भनेर मैले उनको पुर्जा हेरेँ। हामी एउटै डाक्टर कुरिरहेको रहेछौं। मैले उनलाई डाक्टर आउने समय भनिदिएँ र आफू पनि त्यही डाक्टर कुरिरहेको जानकारी दिएँ।
एकछिनपछि ती दिदी अर्को एकजना वृद्ध महिला लिएर छेउमा आएर बस्न पुगिन्। उनीहरूलाई हेर्दा लाग्थ्यो कि उनीहरू कतै टाढाबाट आएका हुन्। एउटा ठूलो जेब्रा झोला र एउटा हाते ब्याग बोकेकी थिइन्।
छेउमा आएर बसेको देख्दा मैले 'उहाँ चाहिँ को हो?' भनेर सोधिहालेँ।
जवाफ आयो 'आमा' हो।
'आमाको दाहिने हात त्यति राम्रोसँग चल्दैन, धेरै समय भयो। अस्ति आको दसैँअघि औषधि लगेर गाको, अब हेरुँम् अहिले के भन्नुहुन्छ।'
मैले एकनासले आमालाई हेरिरहेँ। उहाँको दाहिने आँखाबाट पानी अलिअलि चुहिने रैहेछ। आँखा खोल्न गाह्रो हुनेरहेछ।
फेरि नसोधी बस्न सकिनँ, अलि अप्ठ्यारो मानेरै भए नि सोधेँ, 'आँखामा पनि समस्या छ आमालाई?'
'यो त धेरै पुरानो हो बहिनी, म सानै हुँदादेखि नै यस्तै थियो। आमालाई आँखाको समस्या आउँदा नि समयमा उपचार पाउनु भएन। त्यो आँखा खासै चल्दैन, एउटाले मात्र देख्नुहुन्छ सबै।'
कुरा गर्दैगर्दा दिदीले झोलाबाट खानेकुरा निकालेर आमालाई दिनुभयो र थोरै मलाई नि दिनुभयो। म नि केही नबोली हात थापेँ।
'अनि नानीको घर यतै हो,? दिदीले मलाई प्रश्न गर्नुभयो।
'हो दिदी, मेरो घर यतै गोङ्गबु हो बसपार्क नजिकै' भनेर जवाफ दिएँ।
त्यसपछि उनले आफ्नो बारेमा भन्न थालिन्, 'हामी ताप्लेजुङबाट आएका। उताबाट काठमाडौँ आउने गाडी पाउन मुस्किल छ, धरान आएर गाडी चढ्नु पर्छ। घरबाट हिँडेको आज ४ दिन भयो, पानीले गर्दा बाटोभरि पहिरो गएको छ अनि ठाउँ-ठाउँमा जाम परेर हिजो मात्र काठमाडौँ आइपुगियो।
यही नजिकैको होटलमा बास बस्यौं। बिरामी लिएर यहाँसम्म आइपुग्दा गाह्रो हुन्छ, अब लिएर जान नि त्यै सास्ती खेप्नु पर्छ। गाउँघरमा सापटी खोजेर लिएर आएको पैसा नि बाटोमै सकिन लाग्यो, डाक्टरलाई आजै देखाउन पाए भोलि मिलाएर फर्किन पाउथ्यौं कि भन्ने आशा हो। हेरुम यो कर्ममा कति दुःख पाउनु छ।
हाम्रो तिर अस्पताल त छैन तर मोटर बाटो नै राम्रो भएको भए नि अलिक सजिलो हुन्थ्यो। २४ घण्टा नै भए नि एउटै गाडी समातेर आउन पाए केही सजिलो हुने थियो। बिरामी हुँदा नि अस्पताल नपुग्दै मरिन्छ कि भन्ने पीर सधैँ हुन्छ गाउँघरमा।'
यति भनिसक्दा उनको अनुहारमा एक किसिमको निराशाको आभास झल्किरहेको थियो।
मैले केही सोध्नै परेन उहाँलाई, सारा वृतान्त बयान गर्नुभयो सोध्नुअघि नै। सायद मनको कुरा सुनाउँदा हलुका महसुस हुन्छ भनेर पनि होला जस्तो लाग्यो। कुरै कुरामा समय बितेको थाहै भएन, डाक्टर आएको पत्तो असिस्टेन्टले मेरो नाम बोलाएर मात्रै थाहा पाएँ। हुन त पालो मेरो अगाडि थियो तर दिदीसँगको कुराकानीपछि उहाँलाई अगाडि जानुस् भन्दै अगाडि लाएँ।
उहाँहरू डाक्टरकोमा गइसकेपछि मेरो मनमा उनले सुनाएका कुराहरू घुमिरहे। एउटा बिरामी शरीर बोकेर त्यति टाढाबाट उपचार खोज्दै यहाँसम्म आइपुग्न कति गाह्रो भयो होला उनीलाई!
यहाँ सहरमा आफ्नो कोही छैन, केही परिहाल्यो भने पनि कति असहाय महसुस गर्दिहुन्। खर्च अस्पतालको मात्र हैन, आउने, बस्ने, खाने, र सन्चो भएर फिर्ता जाँदा सम्मको छ। आखिर एउटा सामान्य परिवारले कसरी सम्हाल्ने यो सबै?
भन्नेले भन्छन् कि ताप्लेजुङ ठाउँ विकट छ, अस्पताल खोल्दा पनि कोही डाक्टर जान मान्दैन, बस्न खोज्दैन। तर अस्पताल कहाँ छ? अस्पताल त अहिले टाढाको कुरा, हिँड्न मिल्नेसम्म बाटो कहाँ छ? गाडी कहाँ छ? सजिलोको लागि एउटा गाडी जाने बाटोको सुविधा नै भएको भए सायद धेरै बिरामीले आफ्नो ज्यान त अकालमै गुमाउनु पर्दैन थियो कि।
यही सोच्दै थिएँ, दिदी आउनु भयो छेउमा।
'सबै ठिकै छ रे, आज फर्किन पाइने भो,' खुसी हुँदै आफ्नो दुई दिनको दुई वटा गाडी फेरेर ताप्लेजुङ तर्फको यात्राको तयारी गर्न बिदा भइन्।
केही दिनमा दिर्घायु अस्पतालसम्म पुग्नु थियो। साँझको ५ बजे रहेछ डाक्टर आउने समय, हामी ४ बजे पुग्यौँ। डाक्टरलाई कुर्दै थिएँ, छेउमा एकजना वृद्ध उमेरकी महिला आएर बस्नुभयो। उहाँको ढाडको ओपरेशन भएको रहेछ। छेउमै बसेको एकजना उस्तै उमेरको भएर आमासँग उहाँ सन्चो बिसन्चोको कुरा गर्दै हुनुहुन्थ्यो।
'मेरो एक महिनाअघि ढाडको अपरेसन भएको, अहिले ढाड त दुख्दैन तर खुट्टा दुख्न थालेको छ। त्यही देखाउन यहाँ आको।'
'कता बस्नु हुन्छ नि हजुर?,' आमाले सोध्नुभयो।
'मेरो खास घर त धनगढी हो। तर अहिले यता चाहिँ सुन्धाराको एउटा होटेलमा बसेको छु। ढाड दुख्न थालेको १ वर्ष जति भाको थियो, ४-५ वटा ठाउँमा देखाएँ उता तर केही जात लागेन। अन्तिममा काठमाडौँ नै जानुस् भनेरर पठायो अपरेसनको लागि। अनि यतै आएर उपचार गरियो। अहिले खुट्टा दुख्न थाल्यो। आखिर उता चेक गरे नि यतै जानुस् भन्छन्। त्यही भएर सिधै यतै आएँ यसपालि। फोकट खर्च र समय किन बर्बाद गर्नु त्यता,' ती वृद्ध आमाले भन्नुभयो।
'गाह्रो छ है?' आमाले भन्दाभन्दै अर्की आमाले भन्नुभयो, 'हुन त खर्च उस्तै उस्तै हो, यहाँ नि आफ्नो कोही छैन। आउने जाने, खाने, बस्ने सबैको खर्च छ। गाह्रो त धेरै छ। भन्न त सबै छ भन्छन् तर अलि राम्रो अस्पताल नि भाको भए हामीजस्तो केही नहुनेलाई सानो केही हुँदा यहाँ आएर खर्च त गर्न पर्दैन थियो।'
यति भन्दै डाक्टरको कोठातिर लागिन् ती आमा।
यो सबै सुन्दा मलाई केही दिनअगाडि भेटेको ताप्लेजुङको दिदीको याद आयो। उनी विकट ठाउँको। कुरा बाटोको थियो, गाडीको थियो। यिनी त धनगढी कि हुन्, अलि सम्पन्न त छ तर समस्या चाहिँ उस्तै बोकेर आएका छन् नि।
दुई जनाकै लागि काठमाडौँ एउटा अपरिचित र एक्लो सहर थियो। कुरा बाटो, गाडी र अस्पतालमा मात्र त सीमित छैन। कुरा यहाँ एउटा नागरिकले उपभोग गर्न पाउने जीवनयापनका आधारभूत सुविधाको छ।
नेपाललाई सम्पन्न बनाउने, नेपालमा यो ल्याउने, त्यो ल्याउने, यस्तो गर्ने उस्तो गर्ने कुरा गफमै सीमित गरेर हुन्छ र? आखिर आधारभूत सुविधाको समस्याका कुरा कहिले गर्ने? जसले एउटा आम नागरिकलाई सामान्य जीवनयापनको सुनिश्चितता होस्।
सायद यही कुराहरूको भान भएर होला मैले आमाबुवालाई पहिलेदेखि काठमाडौँ आउनु भनेको तर उहाहरू मान्नु हुँदैन।
'यही जन्मेँ, हुर्कें, अब मर्ने बेलामा सहरको रहर लाग्दैन गाठे, मनले पनि त मान्दैन' भन्नुहुन्छ।
हाम्रो लागि फेरि ठ्याक्कै उल्टो। गाउँ गएर न केही फाइदा छ, पढ्ने, कमाउने, सरल रुपमा जीवन जिउन त गाह्रो छ।
समस्या मेरो, तिम्रो वा कुनै एउटा गाउँको हैन, सायद सबै गाउँको यही हो। अरु एकछिनलाई बिर्सिएर सानो समस्या हेरौँ। प्रायः सबैको घरमा अहिले बुढाबुढी मात्र बस्छन्। आधा युवा विदेश आधा जति सबै सहरमा आइसके, पढाइ र कामको लागि।
खानेपानीको धारा समेत छैन, टाढाको धारामा पानी लिन जान पर्छ। धेरैजसो पानीकै लागि पनि छिमेकी बुहारीको भरमा बस्छन्, लिन जान सक्दैनन्। ती बुढा आँखा आखिर कहिलेसम्म अरुको बाटो कुर्दै बस्ने?
आम नागरिकले पाउने आधारभूत आवश्यकताको समस्याको समाधानका कुरा कहिले गर्ने?
नेपालका भित्री दुर्गम गाउँहरूमा अझै पनि भोक छ, रोग छ, अशिक्षा छ, अन्धविश्वास छ। त्यति कष्टकर जीवन जिउनलाई कति गाह्रो छ होला त्यहाँका मानिसहरूलाई! यस्तोमा सरकारले ती नागरिकका समस्याको सम्बोधन कहिले गर्ने?
गाउँमा उपचार गर्न अस्पताल छैन, कतिपय ठाउँमा अस्पताल भए पनि सुविधाको अभावमा डाक्टर बस्न मान्दैनन्।
गलत त यो पनि हैन नि। सामान्य जीवनयापन इच्छा कस्को हुन्न होला र? टाढा कतै गएर उपचार गर्नलाई यातायातको सुविधा छैन, छोराछोरी पढाउनलाई एउटा राम्रो स्कुल छैन, अझै पनि धेरै ठाउँमा स्कुल छैनन्, खुल्ला चौरमा बसेर पढ्ने बाध्यता छ। राति टुकी नै बाल्नु पर्ने अवस्था छ। पानीका लागि डोकोमा गाग्री बोकेर डाँडापारि जानुपर्ने अवस्था छ।
समग्रमा भन्नू पर्दा जीवन निर्वाह गर्न चाहिने आधारभूत कुराहरूको पहुँच नै पुगेको छैन अझसम्म पनि। यस्तो हालतमा सरकारले चुनावका बेला देखाउने ठूल्ठूला विकासका योजनाहरू त्यहाँसम्म पुर्याउन कसरी सम्भव होला? देश प्रेमका कुरा र सपना कहिलेसम्म बाँड्ने?
गाउँ-गाउँमा नेता पुगे, संघीयता पुग्यो तर विकाश कहिले पुग्ने?
'मन का कुरा हुन् सबै दिदी। सबैको कुरा मात्रै चिप्ला हुन्छन्। हाम्रो कसले सुन्ने? बोले नि बोलीको खेर मात्र। ल म गएँ है, फेरि सुन्धारा पुग्नु छ टाढा छ। कुनै दिन फेरि भाग्यले भेटियो भनी गाउँका कुरा सहरलाई फेरि सुनाउँला।'
डाक्टरको कोठाबाट निस्किँदै हाम्रो नजिक आएर यही भन्दै एउटा मिठो मुस्कानका साथ उनी भिडबाट विलय भइन्।