नेपाली पञ्चाङ्गअनुसार आज अर्थात कात्तिक २२ गते मंगलबार साँझ ५:११ मा सुरू भएर बेलुका ६:३४ मा समाप्त हुनेगरी अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्नेछ।
आजको चन्द्र ग्रहण मुख्यतः उत्तरी-पूर्वी यूरोप, एशिया, अस्ट्रेलिया, प्रशान्त महासागर, हिन्द महासागर, उत्तर अमेरिका र दक्षिण अमेरिकाको अधिकांश भागबाट देखिन्छ।
आजभन्दा ४७ वर्षअगाडि २०३२ सालको कार्तिक पूर्णिमामा आजै जस्तो मंगलबारकै दिन खग्रास चन्द्रग्रहण देखिएको थियो। त्यो बेला वृष राशिको कृतिका नक्षत्रमा तथा यसपालि मेष राशिको भरणी नक्षत्रमा। त्यो बेला ग्रस्तास्त वा ग्रस्तोदित थिएन यसपालि भने ग्रस्तोदित चन्द्रग्रहण हाम्रो देशबाट देखिने छ। र आउने सन् २०४० मा पनि कार्तिक पूर्णिमाको दिन वृष राशिको कृतिका नक्षत्रमा लाग्ने खग्रास चन्द्रग्रहण देखिनेछ।
त्योभन्दा अगाडि कार्तिक पूर्णिमाको दिन हाम्रो देशबाट कुनै चन्द्रग्रहण देखिने छैन। अब नजिकै अर्को वर्ष कार्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण र त्यसपछि ८२ सालको भदौ २२ गते मात्र एशियालगायतका देशबाट पूर्ण खग्रास चन्द्रग्रहणको दर्शन हुनेछ।
सामाजिक प्रभाव:
संहिता ज्योतिषको क्षेत्र भूगर्भबाट अन्तरिक्षसम्म छ। यसभित्र हुनेवाला परिवर्तन र त्यसका परिणामको निरूपण संहिता स्कन्धले गर्छ। विगतमा योभन्दा अगाडि लगातार ७६,७५ र ७४ सालमा हाम्रो देशबाट देखिएका चन्द्रग्रहणको बारेमा ग्रहण लागेकै दिनहरूमा सेतोपाटीमा प्रकाशित लेखहरू पनि पाठकहरूले अध्ययन गर्न सक्नुहुनेछ।
ती लेखहरूमा ग्रहणको विषयमा भूमण्डलमा पर्नसक्ने प्रभावहरूको बारेमा विस्तृतमा जानकारी गराइएको थियो।आजको यस चन्द्र ग्रहणको फलादेशमा संहिता ज्योतिषमा उल्लेख भएका सामुहिक रुपमा सजगता अपनाउनुपर्ने भूमण्डलमा पर्नसक्ने केही विशेष प्रभावहरू यसप्रकार छन् -
ग्रस्तोदित र ग्रस्तास्तको फल :
बृहत संहितामा भनीएको छ-यदि सूर्य वा चन्द्रमा ग्रहणको दौराननै अस्त वा उदित भएमा अर्थात् ग्रस्तोदित वा ग्रस्तास्त ग्रहण हुँदा जाडो महिनामा हुने फसलको हानी हुन्छ। यस्तो स्थितिमा ग्रहण देखिने ठाँउका देश वा प्रदेशका शासकलाई कष्ट हुन्छ।
यदि सूर्य वा चन्द्रमामाथि ग्रहणको समय शनि वा मंगलको दृष्टि परेको छ र तिनको सर्वग्रास ग्रहण भएमा अकाल र जनहानिको योग हुन्छ। विगतमा यो भन्दा ५ वर्षअगाडि ७४ माघको खग्रास र त्योभन्दाअगाडि ७१ सालको साउन र चैत महिनामा नेपालबाट देखिएका दुवै खण्डग्रास चन्द्रग्रहण ग्रस्तोदित थिए। नजिकै १५ दिन अगाडि यहीँ कार्तिकमा देखिएको खण्डग्रास सूर्यग्रहण पनि ग्रस्तास्त थियो। २०६२ सालमा २ ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण र एउटा ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण देखिएको थियो।
अयनबाट ग्रहण फल :
चन्द्रमा हरेक महिनामा दुई अयनमा हुन्छ। अतः मकरबाट मिथुनसम्मको राशिमा गोचर भएको चन्द्रमा उत्तरायणमा र कर्कटबाट धनुसम्मको गोचरकालमा दक्षिणायनमा हुन्छ।
मेष राशि उत्तरायनमा पर्ने राशी हो। द्विजनृपतीनुदगयने हन्ति। अर्थात् सूर्य वा चन्द्रमा आ–आफ्नो उत्तरायणमा ग्रस्त छ भने उच्चवर्ग, शासकवर्गा, ठूला नेताहरु र शासनका लागि अशुभ हुन्छ। ग्रहणादि संहितातत्वको फल त्यस वर्गलाई धेरै प्राप्त हुन्छ, जसको कुशल वा कष्ट सामान्य जनको कष्ट वा कुशलताको कारण बन्छ।
महिनानुसार ग्रहणफल
जुन चान्द्रमासमा ग्रहण छ, त्यस महिनानुसार फल यस्तो छ – कार्तिक महिनामा ग्रहण हुँदा – अग्निजीवीहरूलार्इ कष्ट हुनसक्छ। भारतको बिहारमा पर्ने मगध देश, पूर्वी प्रदेशका अधिपति, कोसल प्रदेश (अयोध्या), शूरसेन प्रदेश (मथुरा) र काशीमा निवास गर्नेले विशेष सजगता अपनाउनुपर्ने हुन्छ।
भारतको उडीसा प्रदेश, मन्त्री र सचिवहरू तथा प्रायः देश एवं प्रदेशका अधिपति सर्वोच्च शासकहरू मुख्यमन्त्री आदिले विशेष सजगता अपनाउनुपर्ने प्रभाव बुझिन्छ। वर्षा र कृषि उब्जाउका लागि कार्तिक महिनाको ग्रहण शुभ मानिएको छ।
राशि अनुसार ग्रहणफल :
मेष राशिमा ग्रहण लागेमा – शस्त्रधारी सैनिक, पुलिस, सेना, अर्धसैनिक बल, शस्त्र विनियमन विभागमा हल्लीखल्ली, अग्निबाट रोजगारी चलाउने मान्छेहरु जस्तै सुन आदि धातुलार्इ आगोले पगाल्ने खालका, ग्याँस संयन्त्र, होटल, अग्निको स्थान जस्तै थर्मल पावर, विद्युत प्राधिकरण आदिमा कष्टको उदय र बिजुलीको कमी हुन सक्ने मानिन्छ।
ग्रहण लाग्ने नक्षत्रको कारक क्षेत्र र दिशामा पनि कष्ट हुने मानिन्छ। जस्तै भरणी नक्षत्रको कारक क्षेत्र - हत्या, बलात्कार, डकैती, रगत, मासु, हिंसा, ह्रिंसक व्यक्ति, सबै प्रकारका अपराध, स्वार्थीपना, दलित वर्ग, खाद्य सामग्रीहरूको कारक मानिन्छ। पृथ्वी कूर्ममा भरणी नक्षत्र उत्तर पूर्वको पूर्वीय दिशामापर्ने नक्षत्र भएकाले पूरै विश्वको र ग्रहण देखिने देश एवं प्रदेशहरूको पूर्व र्इशान दिशातर्फ अलि सजगता अपनाउनुपर्ने बुझिन्छ ।
ग्रहण कालमा चन्द्रमाथि ग्रह दृष्टि फलः
यस पटक ग्रहण लाग्ने ग्रह चन्द्रमालाई तुला राशिमा बसेको बुध र शुक्रको पूर्ण सप्तम दृष्टि र मकरमा बसेको शनिको भने पूर्ण नभएर २ चरणको चौथो दृष्टि परेको देखिन्छ।
पश्यन् ग्रस्तं सौम्यो घृतमधुतैलक्षयाय राज्ञां च। अर्थात् बुधको दृष्टि पर्दा – मन्त्रीहरुलाई कष्ट, घ्यू तेल आदिको कमी। शुक्रः सस्यविमर्द नानाक्लेशांश्च जनयति धरित्र्याम् । अर्थात् शुक्रको दृष्टि पर्दा – उब्जाउ र उत्पादनमा कमी, अनेक प्रकारको क्लेश । रविजः करोत्यवृष्टिं दुर्भिक्षं तस्करभयं च । अर्थात् शनिको दृष्टि पर्दा –वर्षामा कमी, अपराधमा अप्रत्याशित वृद्धि, दुर्भिक्ष यानी
अनिकालको सम्भावनाः
ज्योतिषशास्त्रमा प्राचीन ऋषिहरूले गरेका अनेक प्रकारका संकेतको विचार गर्दा कुनै एक प्रकारको मात्र अशुभ प्रभावभन्दा धेरै प्रकारका अशुभ प्रभाव जुधेको खण्डमा भूमण्डलमा ठूला अशुभ र अप्रिय मानिने घटनाहरू घट्ने गरेको देखिन्छ।
यो वर्षको राजा शनि हुनु, मंगल बक्री भएर मिथुनबाट वृषमा आउनु, यो वर्षको उत्तरार्धमा स्तम्भ र आर्षमानको प्रभाव कमजोर हुनु विशेषगरी आजको कार्तिक पूर्णिमा र कृतिका नक्षत्रको संयोगले विचार गरिने चौथो आर्षमान अति कमजोर हुनु शुभ होइन।
यो वर्ष गर्मी हुनुपर्ने जेठ महिना ऋतुको धर्म विपरित जाडो हुनु लगायतका लक्षणहरू पनि विचार गर्दा आउने नजिकैका ६ महिना माथि उल्लेख भएका लगायत सबै पक्षले हेलचेक्र्यार्इ नगरी सबै दृष्टिकोणले विशेष सजगता अपनाउनु राम्रो रहन्छ।
निर्णयसिन्धुलगायतका धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार राहुले सूर्य अथवा चन्द्रमालाई ग्रस्त बनाउँदा सबै वर्णका मानिसलाई सूतक लाग्छ। ग्रहणको बेला पकाइएको अन्न भोजन गर्न हुँदैन। ग्रहणमा सबै वर्णका मानिसले स्नान गर्नुपर्छ। जसले ग्रहणले छाडेपछि स्नान गर्दैन त्यो मानिस अर्को ग्रहणस्नान नगर्दासम्म आशौचमा रहन्छ।
ग्रहणको ग्रस्यमान समयमा स्नान, ग्रस्तकालमा होम, र (मोक्ष) मुक्तिको समीपमा दान र ग्रहण मोक्ष कालमा स्नान गर्नुपर्छ। ग्रहणारम्भदेखि ग्रहण समाप्ति पर्यन्त कालसम्म जप र देवार्चन प्रभृति अनुष्ठान पनि गरिनुपर्छ।
वैज्ञानिक दृष्टिले पनि प्रतिक्षण प्राप्त हुने सूर्य एवं चन्द्र किरणहरूका अग्नि सोम रसहरूको ग्रहणकालीन अवरोध, मानव जीवनको सञ्जीवन तत्वहरूमाथि दुष्परिणामको हेतु हुने गर्छ। अतः यस्तो समयमा स्नान क्रियाले ग्रहणकालीन सञ्जीवन अवरोध क्षतिको परिपूर्ति जल तत्वद्वारा नै गरिनुपर्छ।
ग्रहण लागेको बेला मानिसहरूले सांसारिक प्रपञ्चका अरू काम रोकेर ईश्वरको आराधना, दान, पुण्य, पूजा-पाठ आदि धार्मिक कृत्य गरी क्षीण भइरहेको प्राणशक्तिलाई स्थिर राख्नु परमकर्तव्य हुनआउँछ। अन्यथा ग्रहणको दुष्प्रभावबाट उत्पन्न हुने रोग-व्याधि भोग्नुपर्ने हुन्छ।
ग्रहणको सूतक विचार-
चलनको पात्रोहरूमा बिहान सूर्योदय ६:२० मा सूर्यास्त १७ :१३ मा र त्यसैगरी ग्रहण सूतककालको आरम्भ समय ९ घन्टाअगाडि बिहान ८:११ बजेदेखि भनेर उल्लेख छ। विचार गर्दा वास्तवमा सोमबार बिहान ९ बजेपछि मात्र ग्रहणको सूतक प्रारम्भ हुनुपर्ने बुझिन्छ। किनकि शास्त्रमा घन्टा हैन प्रहरको उल्लेख छ।
निर्णयसिन्धु ग्रन्थमा भनिएको छः चन्द्रग्रहण जुन प्रहरमा हुने निधो गरिएको हुन्छ त्योभन्दा तीनप्रहर अघि र सूर्यग्रहण जुन प्रहरमा लाग्ने निधो गरिएको हुन्छ त्योभन्दा चारप्रहर अघि बालक, वृद्ध, रोगी,स्त्री र आतुर बाहेक अरूले भोजन गर्न हुँदैन।
जस्तै ग्रहण लाग्ने दिनको दिनमान १० घन्टा ५३ मिनेटलाई ४ भाग गर्दा २ घन्टा ४३ मिनेट १५ सेकेन्डको एक भाग यानी चारप्रहर मध्ये एक प्रहरको समय हुन्छ।
२:४३:१५x३ = ८:९:४५। सूर्यास्त हुने समय १७ :१३ मा ८:९:४५ घटाउँदा ९:०३:१५ हुन्छ। ग्रहण प्रारम्भ हुने समयबाट घटाउँदा २ मिनेट कम यानी आज कमसेकम ९ बजेर १ मिनेटपछि मात्र ग्रहणको सूतक प्रारम्भ हुने प्रस्ट बुझिन्छ। दिनमान १२ घन्टा भएको खण्डमा ९ घन्टा अगाडिबाट सूतक सुरु हुनु स्वभाविक मानिन्थ्यो तर दिनमान १० घन्टा ५३ मिनेट मात्र छ ।