चुनाव वा निर्वाचन भन्नाले जनमतको माध्यमबाट धेरै व्यक्तिले रुचाएको व्यक्तिको छनौट गर्नु भन्ने बुझिन्छ। नियमअनुसार हुनुपर्ने निर्वाचनमा कसैले नियमविपरीतका कार्य गर्न खोज्ला र वादविवाद र झैझगडा उत्पन्न होला भनेर हरेक निर्वाचनमा दक्ष कर्मचारीका साथ सुरक्षाकर्मी समेत खटाइएको हुन्छ।
निर्वाचनमा खटिएर जानु अन्य काममा भन्दा झन्झटिलो र जोखिमयुक्त भएकोले खटिएर जाने कर्मचारी र सुरक्षाकर्मीलाई आवश्यक तालिम दिनुका साथै थप भत्ता र बिमाको सुविधा पनि गरिएको हुन्छ।
सोझासाझा कर्मचारी मतदान अधिकृतको रुपमा खटिएर जाँदा व्यवस्थापन कार्य गर्न हम्मेहम्मे पर्ने रहेछ। आफ्नो २७ वर्षे सरकारी जागिरे जीवनमा चुनावमा खटिएर जाँदाको अनुभव प्रस्तुत गर्ने जमर्को गरेको छु।
ललितपुर
मेरो जागिरको पहिलो नियुक्ति ललितपुर जिल्लामा भयो। २०४९ सालको स्थानीय निर्वाचनमा पहिलो पटक चुनावमा खटिएर जानुपर्यो। जागिरको फिल्ड २५ कोश टाढा ठूलादुर्लुङसम्म जानुपर्ने भए पनि चुनावमा नगरपालिकाभित्रै परियो।
तत्कालीन ललितपुर नगरपालिका वडा नम्बर १६ मा निर्वाचन सम्पन्न गराउने जिम्मा हाम्रो काँधमा आयो। हाम्रो कार्यालय भूकम्प पीडित क्षेत्र पुन:निर्माण तथा पुनर्थापन आयोजना जिल्ला सम्पर्क केन्द्र ललितपुरबाट ५ जना व्यक्ति एकै ठाउँमा परियो।
हामो कार्यालयका कार्यालय प्रमुख सानुभाइ लिम्बु मतदान अधिकृतको रुपमा खटिनुभएको थियो। चुनावको अघिल्लो दिन हामी सबै मतदान केन्द्र नागबहालमा जम्मा भयौं र बुथ निर्माण गर्यौं। अनि पाटनढोकाको एउटा होटलमा खाना खाएर सबै नागबहालको पाटीमा सुत्यौं। स्थानीय युवा क्लबका साथीहरूले हामीलाई सहयोग गरे।
भोलिपल्ट विहान सात बजेबाट मतदान कार्य सुरु भयो। मतदाता संख्या १६ हजारभन्दा बढी थियो। वडा नम्बर १५ को केही भाग समेत १६ नम्बर वडामा गाभिएको हुँदा जनसंख्या बढेको रहेछ। मतदान अधिकृतलाई मतपत्रमा हस्ताक्षर गर्न भ्याइनभ्याइ थियो।
अन्य कर्मचारी पनि आफ्नो आफ्नो काममा व्यस्त थिए। बिहानदेखि साँझसम्म नै मतदाताका लाइन खाली भएनन्। हामीले खाना र खाजा खान पनि पालो मिलाएर जानुपर्ने भयो। साँझ ५ बजेपछि मात्र हामीले विश्राम गर्न पायौं।
त्यो बेला जिल्ला निर्वाचन कार्यालय स्थापना भएको थिएन। निर्वाचन सम्बन्धी काम अदालतबाट हुने गर्थ्यो। मतपेटिकासहित मतदान अधिकृत सर जिल्ला अदालतमा जानुभयो। हामीमध्ये नजिक घर हुनेहरू घर गयौं भने टाढा हुनेहरू त्यतै बस्यौं।
त्यतिबेला मतदाताको फोटो पनि हुँदैनथ्यो। परिचयपत्र पनि हुँदैनथ्यो। मतदाताको नाम, बाबु वा पतिको नाम र उमेर सोधेर एकिन गर्नुपर्थ्यो। कतिपय मतदाताको नाम अध्यावधिक गरिए पनि उमेर भने पुरानै लेखिएको हुन्थ्यो। मृत्यु भएकाको नामावली समेत हटाइएको हुँदैनथ्यो।
त्यो बेला विश्वासको आधारमा र दल वा उम्मेदवारका प्रतिनिधिको रोहवारमा मतदान गर्न दिइन्थ्यो। तर जे जस्तो भए पनि वादविवाद र झमेला भने आइपरेन। यसरी निर्वाचनको पहिलो अनुभव संगालियो।
मनाङबाट लमजुङ
विसं २०५१ को मध्यावधि निर्वाचनको समय म जिविस मनाङमा कार्यरत थिएँ। मनाङमा जम्मा १२ गाविस र ३० वटा गाउँ भएकोले चुनावको लागि मनाङबाट ५५ जना कर्मचारी र ५५ जना प्रहरीलाई लमजुङ जिल्लामा चुनाव काज पठाइएको थियो।
म पनि लमजुङ जिल्ला जानेमा परें। तिहारअघि नै मनाङबाट खटाइएको थियो भने भाइटीकाको भोलिपल्ट लमजुङमा सम्पर्क मिति तोकिएको थियो। नजिक घर हुनेहरू तिहार मनाउन घर जान पाउने भए। म पनि तिहारमा घर गएर आएँ।
मलाई दुराडाँडा गाविसको संस्कृति सदन प्रावि मतदान केन्द्रमा खटाइेको रहेछ। केही दिन बेसीशहरमा तालिम प्रशिक्षणपश्चात हामी दुई दिन अगाडि नै मतदान केन्द्र पुग्यौं। स्कुलमा बेन्चहरू जोडेर सुत्ने व्यवस्था गरियो।
म त फिल्ड हिँड्ने कर्मचारी, स्लिपिङ ब्याग सधैं साथमा हुन्थ्यो। जाडो याम सुरु हुन लागेको थियो। स्थानीय जनसमुदायले लुगाकपडा र भाँडाकुडाको व्यवस्था गरिदिए। अनि सबैजनाले खाद्यसामग्री किनेर पकाएर खाइयो।
हामी निर्वाचनको तयारीमा जुटेका थियौं। तर चुनावको दिन हरिबोधनी एकादशी (ठूलो एकादशी) परेकोले चुनाव २ दिनपछि सारिएको सरकारी घोषणा आयो। गाह्रो अप्ठ्यारो भए पनि हामी मिलेर स्कुलमा बस्यौं। अनि मतदान कार्य सफलताका साथ सम्पन्न गरियो।
चुनाव सकिएपछि हामी पनि मतपेटिकासँगै अर्चल्यानीबाट सुन्दर बजार आयौँ। मतदान अधिकृत र सुरक्षाकर्मीहरू राती नै बेसीशहर जानुभयो। हामी भने सुन्दरबजारमा होटलमा बस्यौं र भोलिपल्ट हिँडेर बेसीशहर गयौं। त्यसको केही दिनपछि मनाङको चामेतिर लागियो।
मुस्ताङ
विक्रम सम्वत २०५४ को स्थानीय निकायको निर्वाचनताका म जिविस मुस्ताङमा कार्यरत थिएँ। त्यो बेला मलाई चीनको सीमावर्ती छोसेर गाविसको दिव्यदीप मावि मतदान केन्द्रमा खटाइएको थियो। उम्मेदवारी दर्तादेखि लिएर मतगणना गरी प्रमाणपत्र वितरण गरुन्जेलसम्म स्कुलमा नै बस्नुपर्ने।
नौ वटा मतपेटिका र अन्य निर्वाचन सामग्री बोकेर हामी ४ दिन हिँडेर छोसेर पुगेका थियौं। त्यो बेला मतपेटिका फलामले बनेका गह्रौं बाकसजस्ता हुन्थे। २ जना कार्यालय सहयोगीलाई ९ वटा मतपेटिका बोक्न गाह्रो परिरहेको थियो। हामी सबै मिलेर आलोपालो गरी र अरु भरिया समेत लगाएर मुस्किलले छोसेर पुगेका थियौं।
सबै गाविस सचिवलाई आआफ्नै गाविसमा खटाइएकोले व्यवस्थापनको लागि केही राहत महसुस भएको थियो। १ देखि ८ वडा सम्मको लागि यो हाइस्कुल केन्द्र तोकिएको थियो भने वडा नम्बर ९ सम्जुङ गाउँ ३ घण्टा टाढा भएकोले छुट्टै मतदान केन्द्र राखिएको थियो। सबैजना सँगै गएका थियौं।
विद्यालयको अवस्था नाजुक थियो। भौतिक पूर्वाधार राम्रो थिएन। जोमसोम उत्तरको १० गाविसको एक्लो माध्यमिक विद्यालय भए पनि आर्थिक अभाव झेलिरहेको रहेछ। वैशाख जेठको याम भए पनि उचाइमा रहेकोले जाडो बढी नै थियो। बिहान हेर्दा खोला कुलोमा पानी जमेको देखिन्थ्यो।
बलौटे भुइँमा चौंरीपट फ्यार्पा बिच्छ्याएर आफूले लागेका स्लिपिङ ब्याग प्रयोग गरेर जसोतसो बस्ने व्यवस्था मिलाइयो। तर खाद्यसामग्री किन्न २ घण्टा दक्षिण हिँडेर ल्होमन्थाङ आउनु पर्थ्यो। बेलाबेलामा सामान ओसार्दै गरियो पनि।
उपल्लो मुस्ताङमा दाउरा नपाइने र सबैले गोबर र जुत्तो प्रयोग गर्ने गरेकोले हामीलाई समस्या पर्यो। मट्टितेल स्टोभको व्यवस्था पनि थिएन। केही रकम दिएर विद्यार्थीहरूलाई काँडेबुट्यानका दाउरा सङ्कलन गर्न लगाइयो। मिठो नमिठो पकाएर पनि खाइयो। सबैले पैसा उठाएर च्याङ्रा पनि किनियो।
साँझमा गाउँका युवायुवतीहरू आएर नाचगान गर्ने र दोहोरी खेल्ने पनि गर्दथे। हामी त्यसैमा रमाएर दु:ख भुल्ने गर्थ्यौं। दिउसो फुर्सद हुँदा मिलेर भलिबल पनि खेल्ने गर्थ्यौं।
चुनाव शान्तिपूर्ण सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भयो। उक्त विद्यालयका पूर्व शिक्षक शङ्खलाल गुरुङ गाविस अध्यक्षमा निर्वाचित भए।
साझमा सांस्कृतिक कार्यक्रम पनि राखियो। भोलिपल्ट हामी सबैसित बिदाबारी भएर जोमसोमतिर झरियो। चिसोमा बसेर चिसो पानी प्रयोग गरेकोले होला फर्कदा मलाई अलि अप्ठ्यारो महसुस भैरहेको थियो। जे होस्, ३ दिन लगाएर सकुशल जोमसोम आइपुगियो।
धादिङ
विसं २०६४ को पहिलो संविधान सभा निर्वाचनको बेला म धादिङ जिविसमा कार्यरत थिएँ। चुनावमा जीवनपुर गाविसमा खटिएर जानुपर्ने भयो। तालिम सकेपछि हामी छ वटा टोली सँगसँगै धादिङबेसीबाट खानीखोला टायलघरसम्म गाडीमा गयौं। त्यहाँबाट हिंडेर जीवनपुर गयौं।
टायलघर-जीवनपुर सडक पुरानो सडक भए पनि काठमाडौंबाट छत्रेदेउराली हुँदै जीवनपुर जोड्ने सडक बढी उपयोगमा आउने गरेको रहेछ र यही चल्तीको सडक रहेछ। टायलघर-जीवनपुर सडक खोला र खेतको बाटो छिचोल्नुपर्ने भएकोले गाडी धेरै फस्दा रहेछन्। दुई घण्टा हिंडेपछि हामी जीवनपुर पुग्यौं। छ टोलीमध्ये एउटा टोली बेसीमा नै बस्यो।
त्यहाँको प्रावि स्कुलमा मतदान केन्द्र रहेछ। अरु हामी ५ समूहको केन्द्र भने जीवनपुर डाँडामा रहेछ। मतदान केन्द्र खुल्ला चौर वा बारीमा राख्नुपर्ने रहेछ। कुनै विद्यालय वा सरकारी भवन रहेनछ त्यहाँ। काठमाडौंबाट जीवनपुर हुँदै सडक गल्छी त्रिशूली सडकसँग जोडिएको रहेछ। डाँडामा केही घरहरू र पसलहरू रहेछन्।
संयोगले त्यहाँ एउटा खाली घर भेटियो। भुइँतलामा सुरक्षाकर्मी र माथिल्लो तलामा हामी कर्मचारीहरू बस्यौं। नअटाएका साथीहरू सँगैको अर्को घरमा बसे। केही तल ओरालोमा मूलको पानीको धारो रहेछ। पसलबाट सामान किनेर हामीले समूहमा मिलेर खाना पकाएर खायौं। बसाइ सन्तोषजनक नै रह्यो।
चुनावको अघिल्लो दिन फेदीबाट बाँसका घना किनेर ल्यायौं। अनि बारीमा (क) देखि (ङ) सम्मका मतदान केन्द्र क्षेत्र विभाजन गरी मिलायौं। हाम्रो प्रयासबाट गज्जबको बुथ तयार भयो। त्यसको सबै व्यवस्थापकीय जिम्मा मेरो थियो।
चुनाव राम्रैसँग सम्पन्न भयो। अनुगमन टोली, पर्यवेक्षक, पत्रकार सबै जानकारी लिन आएका थिए। सबै काम शान्तिपूर्ण वातावरणमा सम्पन्न भयो।
चुनावको दिन हामीले केही खान पाएनौं। साँझपख समय निकालेर चिउरा खाइयो। अनि मतपेटिका सुरक्षाकर्मीको जिम्मा लगाएर हामी हिँडेर टायलघर पुग्यौं। सडकमा गाडी खुलेका थिएनन्। सडकै सडक हिँडेर खानिखोला पुग्यौं। त्यहाँ दहीचिउरा खाएर गाडी कुरेर बस्यौं। तर कुनै गाडी चलेको थिएन।
राती दश बजेतिर एउटा खाली ट्रक आइपुग्यो। अनि ५० जना जति साथीहरू मिलेर १०० रुपैयाँका दरले पैसा उठाएर ५००० रुपैया पुर्याएर ट्रकलाई धादिङबेसी लैजान अनुरोध गर्यौं। ट्रकमा खाँदिएर गीत गाउँदै राती २ बजे धादिङबेसी पुग्यौं।
रसुवा
विसं २०७० सालको दोश्रो संविधानसभाको निर्वाचन हुँदा म रसुवा जिविसमा कार्यरत थिएँ। मलाई चुनावमा गत्लाङ गाविसको नेपाल राष्ट्रिय मावि मतदान केन्द्रमा खटाइएको थियो। तालिम सकेपछि सामान बुझेर हामी गाडीमा गत्लाङ पुग्यौं। विद्यालय नजिकै होटल भएकोले खानबस्न खासै समस्या भएन। खानेबस्ने सबै व्यवस्था होटलमा नै गरियो। गाउँघर घुमेर मतदाता परिचयपत्र पनि वितरण गरियो। अनि चुनावको अघिल्लो दिन बुथ तयार पारेर विद्यालयमा नै गएर बसियो।
चुनावको दिन सबेरै उठ्दा साथीहरूले भने- 'सर! तपाईं दोश्रो हुनुभयो।'
मैले भने- 'केमा दोश्रो?'
'घुर्नमा,' सबैले एकसाथ भने।
कुरो के रहेछ भने सबै एउटै कोठामा लस्करै सुत्दा को कत्तिको घुर्दोरहेछ भन्ने कुरा सबैले थाहा पाएका रहेछन्। एकाजना टिमुरे गाविसको कर्मचारी मभन्दा पनि ठूलो स्वरले घुर्ने रहेछन्। घुर्ने मान्छेसित सुत्ने बानी नपरेका साथीहरूको निद नै हराम भएको रहेछ।
अनि चुनावतिर लागियो। शान्तिपूर्ण तवरले चुनाव सम्पन्न भयो। सबै हिसाबकिताब मिलाएर हामी सुरक्षाकर्मीसँगै गाडीमा आयौं। झलल्ल बत्ती बाल्दै हिंडेका गाडी र मोटरसाइकलको ताँती थपिँदै जान थाले।
गोल्जुङ र स्याफ्रुबेसीमा केही बेर अरु गाडीलाई पर्खदै गाडी रोकिएका थिए। हामीले खाजा खान पनि समय पाएनौँ। राति १२ बजे धुन्चे आएर सामान बुझाइ वरी कोठामा पुगेर भोकै सुतियो। डबल भत्ता पाइने काममा दु:ख पनि डबल नै हुने रहेछ भनेर चित्त बुझाइयो।
अन्य जिल्लामा जगेडामा
२०५६ सालको प्रतिनिधिसभा निर्वाचन ताका म कालिकोट जिविसमा कार्यरत थिएँ। चुनावमा खटिनेमा मेरो पनि नाम राखिएको थियो तर 'रिजर्भ' अर्थात् जगेडामा मेरो नाउँ रहेको थियो। आवश्यक परे तत्काल खटिएर जानुपर्ने र निरीक्षण अनुगमनको टोलीमा सरिक हुनुपर्ने बताइएको थियो। तर भाग्यवश कतै जानुपरेन।
सशस्त्र द्वन्द्वकालमा भएको उक्त चुनाव निकै चुनौतीपूर्ण रहेको थियो। त्यस्तै राजाको प्रत्यक्ष शासनकालमा भएको नगरपालिकाको चुनावको बेला म संखुवासभा जिविसमा कार्यरत थिएँ। निर्वाचनमा खटिने कर्मचारीको सूचीमा मेरो नाम समावेश भए पनि कतै खटिएर जानुपर्नेमा मेरो नाम आएन र मतदान गर्न पनि जानु परेन।
त्यस्तै २०७४ सालको स्थानीय निकाय निर्वाचन र २०७४ कै प्रतिनिधिसभा निर्वाचनमा म दुर्गम क्षेत्र विकास समितिको केन्द्रीय कार्यालय, श्रीमहल पुल्चोकमा कार्यरत थिएँ। चुनावमा खटिने कर्मचारीहरूको नामावलीमा मेरो पनि नाम समावेश थियो। तर अन्तिममा मलाई 'रिजर्भ' अर्थात् जगेडामा राखिएको थियो। यसरी जागिरे जीवनमा थरीथरीका चुनावको अनुभव संगालियो।
मतदाताको रुपमा म
म सानो छँदा बालिग मताधिकार प्रयोग गर्न एक्काइस वर्ष उमेर पुगेको हुनुपर्थ्यो। पछि त्यो उमेर घटाएर १८ वर्ष बनाइयो। स्कुल क्याम्पस सकिए लगत्तै सरकारी सेवामा प्रवेश गरेकोले कुनै पनि निर्वाचनमा म आफ्नो गाउँ चुँदी तनहुँ गएको छैन। त्यतिन्जेलसम्म मतदाता नामावलीमा मेरो नाम समावेश भएको पनि थिएन।
मैले हालसम्म कर्मचारी मतदाताको हैसियतले मात्र मतदान गरेको छु। २०७४ सालको निर्वाचन अघि मात्र मैले आफ्नो गाउँघरमा स्थानीय मतदाताको रुपमा आफ्नो नाम दर्ता गराएको हुँ। अब आउने चुनावमा मात्र मैले पहिलो पटक स्थानीय मतदाताको रुपमा आफ्नो मताधिकार प्रयोग गर्नेछु।