मलाई रिले दौड असाध्यै मनपर्छ। यस कारण होइन कि म आफै एक उच्च कोटीको खेलाडी हुँ, बरू यस कारण कि सानोमा जब मैले पहिलो पटक यो खेल देखेथेँ, मलाई मज्जा लागेको थियो। हामी केटाकेटीजस्तै खेलाडीहरू पनि लट्ठी खोसाखोस गरेर खेलेको देखेर। तर हाम्रो खेल तथा उनीहरूको खेलमा केही भिन्नता थियो।
हाम्रो खेलमा केही नियमहरू थिएनन्। हामीमध्ये कोही केही टिपेर भाग्थ्यौँ। केही पनि हुनसक्थ्यो। एउटा लट्ठी वा बल वा कसैले लगाइराखेको टोपी नै किन नहोस्, बस् टिप्यो भाग्यो। अझ कहिलेकाहीँ त केही वस्तु टिपेको अभिनय गरी भाग्यो। अनि त के चाहियो, एउटा युद्ध सुरु हुन्थ्यो- एक विरुद्ध सबै।
सबैको उद्देश्य खोसेको वस्तु फिर्ता लिनु मात्र हुँदैनथ्यो, बरु भाग्नेलाई लखेटालखेट गरी समात्यो, वस्तु फिर्ता लियो, लछारपछार गर्यो। अनि त के चाहियो? कोलाहल, धुलोको बादल, चिच्च्याहट, हाँसो, उस्तै परे मुक्कामुक्की, रोदन आदि आदि।
कैयौं पटक त हाम्रो खेलले आकर्षित भई बुढाहरू भेला भएको सम्झना छ। सायद आफ्नो वर्तमान सम्झेर, हाम्रो कुदाकुदमा ईर्ष्या गरेर। अझ हाम्रो मुक्कामुक्की देखेर कहिलेकाहीँ उनीहरू आफै दुई खेमामा विभाजित हुन्थे।
मज्जाको कुरा, खेलखेलमा हामीबीच कहिले झगडा भयो भने कहिले अँगालो हालियो; कुनै लेखाजोखा हुँदैनथ्यो। तर बुढाहरू भने धेरै दिनसम्म एकार्कासँग तर्किएर हिँड्थे। अहिले सम्झँदा पनि हाँसो लाग्छ।
अँ! रिले दौडको कुरा गर्दै थिएँ। लहरै केही खेलाडीहरू एक-एक लट्ठी लिएर कुद्थे। केही पर पुगेपछि अरू खेलाडीहरूले उनीहरूसँगका ती लट्ठीहरू खोसेर भाग्थे। हाम्रो र उनीहरूको खेल यहीँदेखि भिन्न हुन्थ्यो। उनीहरूको खेलमा एउटा नियम हुन्थ्यो।
दायाँबायाँ जुन खेलाडीले जसको लट्ठी पनि खोस्ने भन्ने हुँदैनथ्यो। एउटा लहरको खेलाडीले आफूभन्दा पछाडिको खेलाडीसँग भएको लट्ठी मात्र लिन पाउँथ्यो। त्यो पनि त्यतिखेर जब पछाडिको खेलाडी आफूनेर आइपुग्थ्यो। त्यतिन्जेल धैर्यका साथ आफू पछिका खेलाडीलाई कुर्नुपर्थ्यो।
पछि पो थाहा भो, यो त एउटा नियम हो। चुनाले धर्को कोरेर बनाइराखेका दुई सेता धर्का बीचको गल्लीको बाटोभित्र १०० मिटरको दूरीमा एकपछि अर्को लहरै रहेका चार खेलाडीको एक समूह हुँदो रहेछ अनि पुछारको खेलाडीको जिम्मेवारी सकेसम्म पहिलो सय मिटरको दूरी छिटो दौडेर आफ्नो अगाडि लट्ठी लिई दौडन तयार रहेको खेलाडीलाई हस्तान्तरण गर्नुपर्छ।
दोस्रो खेलाडीले पहिलो खेलाडीसँग लट्ठी लिनु खोस्नु होइन रहेछ। त्यस्तै क्रमैसँग दोस्रो खेलाडीले तेस्रो खेलाडीलाई तथा तेस्रो खेलाडीले चौथो खेलाडीलाई क्रमैसँग लट्ठी हस्तान्तरण गर्नु नियम रहेछ। अनि जुन समूहको चौथो अर्थात् अन्तिम खेलाडीले लट्ठीसहित दगुरेर चार सय मिटरको दूरीमा रहेको रिबन टाँगेको लक्ष्यसम्म को पहिले पुग्छ उही समूह पहिलो हुँदो रहेछ।
खेलको मज्जा त लट्ठी हस्तान्तरणको क्रममा हुन्थ्यो। अघिसम्म अगाडि रहेको समूह लट्ठी हस्तान्तरण ढिलो चाँडो हुँदा दौडको जित/हार नै फरक हुन्थ्यो। अझ ढिलो चाँडो मात्र होइन, कहिलेकाहीँ हस्तान्तरणका क्रममा अघिल्लो खेलाडीको हातमा सही तरिकाले लट्ठी दिन नसकी त्यो क्रममा लट्ठी खस्दा तथा लट्ठी लिने क्रममा पछाडि फर्केर हेर्दा समूह नै दूम हुन्थ्यो।
त्यसै कारणले लट्ठी हस्तान्तरण गर्न खप्पिस समूह छिटो दगुर्न नसक्ने भए तापनि कहिलेकाहीँ प्रतियोगिता जित्थ्यो भने छिटो दगुर्न सक्ने समूह पनि लट्ठी हस्तान्तरण राम्रोसँग गर्न नजान्नाले प्रतियोगिता हार्थ्यो।
त्यस बेला हामीलाई राम्रोसँग यस खेलको नियम थाहा थिएन। तर प्रतियोगिताको क्रममा जब हामीलाई मन नपरेको समूहले लट्ठी हस्तान्तरण गर्दा लट्ठी खस्थ्यो हामी खूब ताली बजाउँथ्यौँ, साथै जिस्काएर सिट्टी बजाउँथ्यौँ। हामी आफ्नो मन परेको समूहको जितमा रमाउँथ्यौँ। कुन समूहले कसरी जित्यो अथवा हार्यो भन्ने कुरासँग हाम्रो खासै सरोकार हुँदैनथ्यो।
पछि मात्र थाहा भयो, रिले दौड पछाडिको दर्शन। सबै खेलाडीहरूको चयन क्षमताको आधारमा गरिन्छ तथा उनीहरूको निश्चित जिम्मेवारी हुन्छ। जबसम्म एक खेलाडीको क्षमता हुन्छ, ऊसँग लट्ठी रहन्छ। जब कम हुन्छ, अग्र खेलाडीलाई लट्ठी बागडोर हस्तान्तरण गर्नुपर्छ ताकि सबै खेलाडीहरूले आफ्नो अधिकतम योगदान गर्न सकून्।
लट्ठी हस्तान्तरण गरिसकेपछि खेलाडीको योगदान पूरा हुन्छ तथा ऊ निष्क्रिय हुन्छ चाहे उसको योगदान जस्तोसुकै उत्कृष्ट रहेको होस्। सामान्य रूपमा भन्नुपर्दा रिले दौडमा वर्तमानले भूतसँग लट्ठी लिएर भविष्यको हातमा लट्ठी हस्तान्तरण गरिन्छ। हस्तान्तरण पछि उक्त खेलाडी भूत हुन्छ तथा उसको कुनै प्रकारको सक्रियता प्रतिगमन हुन्छ, अमान्य हुन्छ।
कम्युनिस्ट भाष्यअनुसार समाज अग्रगमनकारी तथा प्रतिगमनकारी शक्तिहरूमा विभाजित हुन्छ। जहाँ अग्रगमनकारी विचारकहरू समाजलाई समाजवाद उन्मुख बाटोमा डोर्याइरहेका हुन्छन् भने प्रतिगमनकारी शक्तिहरू पुरानै सामन्ती व्यवस्था फर्काउन दत्तचित्त रहेका हुन्छन्। यसरी समाज लगातार रूपमा रुपान्तरण भइरहेको हुन्छ: अग्रगमन अथवा प्रतिगमन।
जब समाजमा गति हुँदैन अथवा प्रतिस्थापन हुँदैन तब समाज स्थिर रहन्छ। जसरी जमेको पानी कीटाणुहरूको वृद्धिका कारण हानिकारक हुन्छ, स्थिर अर्थतन्त्रले प्रगतिको सम्भावनालाई न्यून गराइदिन्छ। एवम् रीतले गतिहीन जीवनले व्यक्तिमा हीनताबोध गराई डिप्रेसनको भावना जगाइदिन्छ। तर स्थिर तथा धीर नेतृत्वबिना देशविकास सम्भव हुन्न।
तर जब त्यही स्थिर तथा धीर नेतृत्वमा गतिशीलता हुँदैन तब समस्या सुरु हुन्छ। गतिहीन नेतृत्व नयाँ विचार, प्रविधि तथा परिवर्तित समयलाई आत्मसात् गर्न असफल रहन्छ भने असीमित स्वार्थहरूले घेरिएको पनि हुन्छ। त्यस्तो अवस्थामा सरल नेतृत्व हस्तान्तरणको कुरा मात्र एउटा कल्पना हुन्छ जुन अन्ततोगत्वा खण्डन, विघटन, अनि पतनमा अन्त हुन्छ।
हामीले धेरै राजनीतिक पार्टीहरू टुक्रिएका त देखिआएकै हौं। टुक्रिएका पार्टीमा नेता त रहन्छ तर कार्यकर्ताहरू रहँदैनन्, साथै रहन्नन् जनताको साथ पनि।
अर्कातिर जब स्थिर तथा धीर नेतृत्वमा गतिशीलता तथा सृजनशीलता हुन्छ तब असीम सम्भावनाका ढोकाहरू खुल्दै जान्छन्। स्थिर, धीर, गतिशील तथा सृजनशील नेतृत्व सधैँ आफ्नो उल्लेखनीय प्रदर्शनप्रति सचेत रहन्छ। जब त्यहाँ प्रदर्शनीमा कमी आउँछ उनीहरू बुझ्छन्- यो नेतृत्व हस्तान्तरणको समय हो।
रिले दौडको उल्लेखनीय पक्ष भनेकै यही हो। खेलाडीको उल्लेखनीय प्रदर्शनको अन्तका बेला खुरुक्क नवीन, जोशिला तथा सक्षम नयाँ खेलाडीलाई नियमित तथा सुचारु रूपमा लट्ठी अर्थात् आफ्नो बागडोर हस्तान्तरण गर्नु तथा उत्कृष्ट नतिजा प्राप्त गर्नु। यहाँ 'म'को अस्तित्वको ठाउँमा हामी हुनेछ तथा जित हाम्रो हुनेछ। यहाँ अन्तिम परिणाम कसका माध्यमबाट आयो भन्ने विषय गौण रहन जान्छ।
तर जीवनको खेल रिलेदौडको खेलभन्दा भिन्न हुने रहेछ। जीवनको खेलमा त हाम्रो भन्ने अस्तित्व नै नहुँदो रहेछ। म्याद नाघिसकेको, थकित, गतिहीन तथा असक्षम भई हारेका व्यक्तिहरू समेत नयाँ खेलाडीहरूको उपलब्धिमा ईर्ष्या गर्दै आफ्नो असक्षमता स्वीकारेर हस्तान्तरण गरिसकेको लट्ठी तथा बागडोर समेत विभिन्न हथकन्डा अपनाएर खोस्न तल्लीन हुँदा रहेछन्। कल्पना गर्नुहोस् त पहिलो खेलाडीले चौथो खेलाडीको हातबाट लट्ठी खोस्न खोज्दा के हुन्छ? सम्भव छ?
खेलाडी फर्केर लट्ठी खोस्न आउने कुरा गर्दा म नेवार संस्कृतिमा हुर्केको मान्छे, गँप्याखँ सम्झन्छु। गँप्याखँ अर्थात् नेपालीमा अष्टमातृका गणनृत्य। पाटनको नकबहिलबाट दसैंको नवरात्रीभर राति, अझ एकादशीसम्म गँप्याखँ निकाली मङ्गलबजार कृष्णमन्दिर सँगैको डबली तथा मूलचोकमा प्रदर्शन गरिन्छ। तर अन्तिम दिन नकबहिल डबलीमा प्रदर्शन गरिन्छ।
अन्तिम दिनको प्रदर्शनलाई बेलख: भनिन्छ। त्यो दिनको प्रदर्शन यसकारण विशेष हुन्छ कि त्यो दिन लेख/रचनाको उपसंहार जस्तै सबै दिनको प्रमुख किस्सा देखाइन्छ, एक किसिमले सारांश वा उपसंहार। एक हिसाबले भन्ने हो भने पहिले छुटेकाहरूले त्यो दिन सबै दिनहरूको गँप्याखँ एकैदिन हेर्न पाउँछन्। अनि जो लोभी छन्, जसलाई जति हेरे पनि चित्त बुझ्दैन र फर्की-फर्की हेर्न आउँछन्, उनीहरूका लागि उत्तम अवसर।
त्यही भएर होला कहिलेकाहीँ असन्तोषी भएर केही प्राप्त गर्न फर्की-फर्की आउनेहरूलाई बेलख: भनी जिस्काउने सुन्ने गरेको। एक प्रकारको उपमा- लौ बेलख: आयो, कस्तो बेलख: जस्तो आदि, आदि।
नेपाल भाषामा बेलख: दुई शब्दहरू मिलेर बनेको छ। 'बेल' अथवा 'ब्यल' जसको अर्थ हुन्छ खोल्नु तथा 'ख:' जसको अर्थ हुन्छ खट अथवा डबली अथवा मञ्च। अर्को शब्दमा भन्नुपर्दा 'ख: ब्यन्काछोयेगु' याने मञ्चभत्काउने क्रिया नै बेलख: वा ब्यलख: हो।
जब मञ्च भत्काइन्छ, निर्माणको प्रक्रिया एकपल्ट पुन: देख्न पाइन्छ। त्यसैले 'बेलख:' लाई फर्की-फर्की फेरि स्थान लिन आउने क्रियाको रूपमा हेय दृष्टिमा लिइन्छ।
स्वस्थानी व्रतकथाको कपिल ब्राम्हण जो नवराज राजाको भोजमा भोजनपश्चात् पनि शालीनदी किनारमा रहेकी चन्द्रावतीका लागि एउटा भोज भागका लागि ओहोरदोहोर गरिरहेको थियो। यसरी भोजन माग्नुपर्दा कपिल ब्राम्हण अपमानित हुनुपरेको थियो।
त्यसैले आफ्नो उत्कृष्ट प्रदर्शनपछि विश्राम लिएर अरूलाई लट्ठी अथवा बागडोर हस्तान्तरण गर्नु नै प्राकृतिक कार्य हो। महाभारतका राजा शान्तनुको कथा त हामी सबैले पढेकै छौँ।
हिन्दु आश्रम व्यवस्थाबारे सोच्दा खुसी तथा अचम्म लाग्छ- कति प्राकृतिक तथा वैज्ञानिक! अर्को शब्दमा भन्ने हो भने प्रकृति भन्नु नै विज्ञान। पदार्थको रूप परिवर्तन हुन्छ अनि त्यसका साथै कार्य परिवर्तन हुन्छ। परिवर्तनको क्रममा त्यो समय आउँछ जब परिवर्तनको लागि इन्धन बाँकी रहन्न तथा त्यसको अन्त हुन्छ।
पुतली नै लिऊँ न, अन्डाबाट सुरु भएको पुतलीको जीवनचक्र लार्भा यानी झुसिलकिरा हुँदै प्युपामा परिवर्तन भएर अन्तमा एक वयस्क पुतलीको रूप लिन्छ जसको आयु एक/दुई हप्ता मात्र रहन्छ। पुतलीको सुन्दरताले त्यसको आयुमा केही प्रभाव पर्दैन। यो हो सुन्दर पुतलीको कथा।
बलवान् हात्तीको कथा पनि त त्यस्तै हो। हुँदा-हुँदा ब्रह्माण्डको कथा पनि त त्यही हो। अनि हामी मानिस मात्र कसरी फरक रहन सक्छौँ र? यही सत्य बुझेर नै त होला नि हाम्रा ऋषि मुनिहरूले हामी सुखीसाथ जिउन सकौँ भनेर नै आश्रम व्यवस्था गरेको- ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास।
आफ्ना छोरा देवव्रतलाई शासन हस्तान्तरण गरी सन्यास धारण गरेको भए त्यत्रो महाभारत युद्ध हुने नै थिएन।
राजा शान्तनुका पालामा सायद रिले दौडको चलन थियो कि थिएन थाहा भएन। तर यदि राजाले नवजीवनको, सत्यवतीको सुन्दरताको मोहमा नफसी राजदण्ड, सत्ताको बागडोर आफ्ना छोरा देवव्रतलाई हस्तान्तरण गरेको भए महाभारत हुने थिएन। शान्तनु बेलख: भए - हामीले महाभारतको कथा पायौं।
(लेखक पाटन मल्टिपल क्याम्पसका सेवानिवृत्त शिक्षक हुन्।)