‘बाल्यकालमा आमा नमरून्, बुढेशकालमा स्वास्नी नमरून् भन्छन्। तर म एघार वर्षको हुँदा आमा बित्नुभयो। म ५३ वर्षको हुँदा मेरी मीरा,’ कलाकार हरिवंशले आफ्नो आत्मकथा ‘चिना हराएको मान्छे’ मा लेखेका छन्।
हुन पनि श्रीमती मीरा बित्दाको क्षण उनको जीवनमा सबैभन्दा पीडादायी थियो। विसं २०६८ साल एउटा हाँस्य कलाकारको अनुहारबाट हाँस्यरस खोसिदिने कठोर वर्ष थियो। जुन उनी सम्झन चाहँदैनन्। तर सम्झन नचाहने कुरा नै जीवनमा बिर्सन नसकिने रहेछ।
त्यस्तै भयो उनलाई पनि।
प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरूष’ यतिबेला प्रदर्शनमा छ।
फिल्ममा छोराले बाउको बिहे गरिदिने प्रसंगले यतिबेला चर्चा पाएको छ। ती बाउको भूमिकामा थिए, हरिवंश। दशकअघि श्रीमती गुमाएका हरिवंशको बाबु पात्र बुढेशकाल लागेसँगै एक्लो र निराश महसुस गर्न थाल्छ। त्यो एक्लोपनलाई विलिन पार्ने गरी एकदिन उसको जीवनमा एउटा बहार आउँछ- प्रेम।
बुढेसकालको प्रेम र विवाहलाई नेपाली समाजले कसरी लिन्छ? फिल्मले यो मुद्दालाई मिहीन ढंगले केलाएको छ। चुनौतीका बाबजुद आफ्नो छोराले बाउको बिहे गर्न जुन संघर्ष गर्छ, फिल्मको द्वन्द यहीँनिर छ।
दुई दशकदेखि सहयात्री गुमाएको फिल्मका महापुरुषलाई हरिवंशले नजिकबाट नियालेका छन्। किनकि जीवनको दुई वर्ष उनका लागि पनि न कहिल्यै दिन भए, न रात। 'त्यो पीडा कतिसम्म थियो कसैले अनुभूत गर्न सक्दैन,' हरिवंश सुनाउँछन्।
बैठकक्षको भित्ताहरूमा हरिवंशकी मीरा मुस्कुराइरहेकी थिइन्। ‘चाहे घरको भित्तामा होस्, वा मनको भित्ता। मीरा कहिल्यै छुट्दिननन्,’ हरिवंश मीराका तस्वीरहरू नियाल्दै भन्दै थिए।
हरिवंशलाई लाग्दो रै’छ- मिराले आफूलाई कतैबाट हेरिरहेकी छन्। स्नेही लवजमा बोलाइरहेकी छन्।
धन्न, हिजो मिराको याद आउँदा दुखिरहन्थ्यो हरिवंशलाई। झट्का लागिरहन्थ्यो। अहिले याद आउँदा प्रेममात्रै भरिएर आउँछ। मीठा अनुभूति भरिएर आउँछ।
यतिबेला हरिवंशको साथमा छिन् रमिला। जो मीरा बितेको दुई वर्षपछि उनको जीवनमा आएकी थिइन्, सहयात्री बनेर। ‘हामी दुवैले एकल जीवन बिताइरहेका। उस्तै पीडा भोगिरहेका। जब विहे भयो, हामी दुवैले एकर्काको हाँसो फर्कायौं,' हरिवंश भन्छन्।
जब मिरा गइन्...
मीरा हरिवंशलाई भन्ने गर्थिन्- ‘मेरो ४७ वर्षमा खड्को छ। दुर्भाग्य, मीराको जीवन ४७ वर्षमै रोकियो।’ म बुढो हुन्छु होला तर मीराले अब कहिल्यै बुढी हुनु पर्दैन। उनी अब सधैँ सच्चालिस वर्षकी मात्र हुन्छिन्– सधैँसधैन्,’ आत्मकथा चिना हराएको मान्छेको २६५ पेजमा हरिवंश लेख्छन्।
मीरा गएपछिका थुप्रै दिन हरिवंशका आँखा ओभाएनन्। थुप्रै रातहरू अनिदो बिते। उनी साइक्याट्रिक डाक्टरकहाँ जान्थे।
डाक्टरले भन्थे, ‘तपाईँलाई एक वर्ष एकदमै गाह्रो हुन्छ। सेकेन्ड सेकेन्डमा सम्झनुहुन्छ। एक वर्षपछि अलि कम हुन्छ। तर जीवनभरि पीडा त भइनै रहन्छ।'
जेठा छोरा बुहारी अमेरिकामा थिए। कान्छो छोरा मोहित २२ वर्षका मात्र थिए। छोरा बुहारी बाबुको अवस्था देखेर अमेरिका छाडेर नेपाल आए। छोरा बुहारीले एकछिन पनि छाड्दैन थिए हरिवंशलाई। एकातिर मीराको याद, अर्कोतिर छोराहरूलाई दु:ख दिएँ भन्ने पीडा। उनी झन् झन् दुखिरहे।
‘एक एक सेकेन्डमा झसङ्ग भसङ्ग हुन्थेँ। एक्लै कराउँथेँ, बर्बराउँथे। नाम लिएर बोलाउँथेँ। मीरा फर्केर आउँछिन् कि जस्तो लाग्थ्यो,’ हरिवंश सम्झन्छन्।
हरिवंश घरका हरेक कुरामा मीरासँग निर्भर थिए। आफूले के लगाउनुपर्छ, उनको रोजाइ हुन्थेन। छनोट मीराको हुन्थ्यो। ‘म उनीसँग डिपेन्ट थिएँ। अरुमा डिपेन्ट भएको मान्छेलाई सबै थोक सम्हाल्नुपर्दा कति गाह्रो हुन्छ न,’ उनी सम्झन्छन्।
उनलाई मीराको आवाज सुनेर कहिल्यै पुग्दैन थियो। रेडियो र एफएममा बोल्दाकी मीराको आवाजको उनी सदैव तारिफ गर्थे। मीराको स्वभाव झनै फूलजस्तो लाग्थ्यो उनलाई। मीराको यादका कारण उनी त्यो घरमा बस्नै सकेनन्। कोलोनीको घर बेचेर नयाँ घरमा सरे। ‘म त्यो घरमा अझै पनि भित्र पस्न सकेको छैन,’ उनी भन्छन्।
अब हरिवंशलाई कुनै काम गर्न उत्साह थिएन। ‘महसन्चारबाट दाइलाई अभिनयमा फर्काउन धेरै गाह्रो पर्यो। उहाँ अब यो केका लागि गर्नु भन्नुहुन्थ्यो। लयमा ल्याउन सकेका थिएनौं,’ निर्देशक प्रदीप भट्टराई त्यस क्षण सम्झेर भावूक बने।
त्यतिबेला हरिवंशलाई बाँच्नुको मोह नै थिएन। उनले मर्ने कल्पनासम्म गरे। तर मानिसलाई मर्नबाट जोगाउने कुनै सूत्र हुँदो रहेछ। हरिवंशका लागि त्यो सूत्र थिए छोरा मोहित। ‘म भइनँ भने कान्छो छोरा मोहितको अवस्था के होला?’ मान्छेलाई बाँच्न प्रेरित गर्ने एउटा सूत्र हुँदो रहेछ। त्यो सूत्रचाहिँ जेठोको त बिहे भइसकेको थियो। तर मोहित सानै थियो।मलाई त्यही कुराले बाँच्ने प्रेरणा दियो,’ हरिवंश सम्झन्छन्।
अनि आइन् रमिला...
'जब श्रीमती बित्छिन् त्यसको भोलिपल्टदेखि नै बिहेको कुरा सुरू हुन थाल्दो रहेछ,' हरिवंश सुनाउँछन्।
भाइको पीडा देखेर हरिवंशका दिदीहरू अतालिन थाले। उनीहरूले झक्झकाउन थाले- अब अर्को जिन्दगी सुरू गर।
मीरा बितेपछि बिहेको प्रस्ताव लिएर थुप्रै कल आए हरिवंशलाई। उनी अति भएपछि मोबाइल अफ गर्थे। एक समयपछि लाग्यो- बिहे त गर्छु। तर आफूजस्तै पीडा भोगेको मान्छेसँग।
घटनाको डेढ वर्षपछि उनी सर्ट फिल्मको सुटिङमा निस्किएका थिए। कलाकार बसुन्धरा भुसालले धेरै सम्झाइन् उनलाई। उनले आफ्नो नातेदार पर्ने रमिलाको कुरा ल्याएकी थिइन् त्यसबेला। रमिला १३ वर्षदेखि एकल जीवन बाँचिरहेकी थिइन्।
बसुन्धरामार्फत् रमिलासँग पहिलो भेट भयो हरिवंशको।
'उनको अनुहारमा सुरूमै सकारात्मक 'भाइब' देखेँ। छोरालाई अन्याय होला कि भनेर सोधेँ। उनले सबै कुरा मैले बुझेको छु। मबाट त्यस्तो अन्याय कहिल्यै हुुन्न भनिन्। म कन्भिन्स्ड भएँ,' उनी सम्झन्छन्।
जब यो कुरा छोराहरूले थाहा पाए, उनीहरू झस्किए।
'आमाको पीडा भोगिरहेको बेला अचानक त्यो कुरा थाहा पाउँदा कस्तो हुन्छ होला ? तर बसु दिदीले छोराहरूलाई सम्झाउनुभयो। मेरो ठूलो छोरा कन्भिन्स्ड भयो। सानो छोरा बोल्दैन थियो,' हरिवंश सम्झन्छन्।
संयोग त मोहित र रमिलाका छोरा स्कुलका सहपाठी रैछन्। जब मोहितले साथीको ममी भन्ने थाहा पाए, उनी छिट्टै कन्भिन्स्ड भए।
बिहेको दिन हरिवंश डर र तनावले भरिएका थिए।
'बिहेको दिन पाइला यस्तो गह्रौँ थियो, हात्तीको पाइला शरीरमा फिट गरेजस्तो। त्यो जस्तो जिन्दगीमा पाइला उठाउन गाह्रो कहिल्यै थिएन,'हरिवंश सम्झन्छन्।
छोराहरूको अनुहार देख्दा आफूले अपराध गरेजस्तो लाग्यो। तर, बिहेपछिका दिन सधैं तनावहरू हलुका भएर गए।
'जब सबै जना रमाए, रमिलाको व्यवहारले म रमाएँ, घर सम्हालियो, म सम्हालिएँ। छोराहरू मभन्दा बढी खुसी भए। अनि त सब ठीक हुँदै गयो,' हरिवंश सम्झन्छन्।
त्यतिबेला हरिवंशको साँच्चिकै खुसी फर्कियो, जतिबेला छोराहरूले पहिलो पटक रमिलालाई 'ममी' भनेर बोलाए।
'महापुरुष'को स्क्रिप्ट प्रदीपले हरिवंशकै घरमा पढेका थिए। श्रीमती रमिला र छोरा मोहितलाई सुनाएका थिए। आफ्नो जीवनको केही हिस्सा मिल्ने कथामा पात्र भएर बाँच्न हरिवंशलाई मन थियो। तर निर्णय रोहितको थियो।
'बाबा यो फिल्ममा तपाईंले खेल्नैपर्छ,' खुसी भएर मोहितले भने। छोराको चाहना र खुसीलाई त उनी अंगालिहाल्छन्। त्यसपछि राजी भए।
र यसरी रियल लाइफमा जस्तै 'रिल लाइ'फमा हरिवंशले दोस्रो बिहे गरे। र यो बिहेमा जन्ती बनेका दर्शकहरू फिल्मले अत्यधिक कमाइरहेको छ।