पाँच वर्षअघि संघीय चुनावको दिन म चार किलोमिटर हिँडेर आफू बस्ने घरबाट आफ्नो 'स्थायी ठेगाना' नजिकैको मतदान केन्द्र गएँ। मतदान केन्द्रमा पुगेर खल्ती छाम्दा थाहा पाएँ, मेरो नागरिकता र मतदाता परिचय पत्र छैन।
कागजात खोज्दै आफू आएकै बाटो घर फर्कँदै थिएँ, ठ्याक्कै आधा बाटो पुगेपछि मेरो फोनमा मेरो नागरिकता भेट्ने महिलाको मेसेज आयो र सजिलै गरी मेरो नागरिकता हात लाग्यो। अनि निर्णय गर्ने बेला भो, छ किलोमिटर हिँडेर थाकिसकेँ, घर जाँउ कि फेरि मतदान केन्द्रमा जाउँ?
मेरो क्षेत्रमा प्रत्यक्षतर्फ कसले जित्छ भनेर त पक्कापक्की नै थियो। एउटा पार्टीको बाहुल्य भएको ठाँउमा मेरो भोटले खासै फरक पार्दैन भनेर थाहा हुँदाहुँदै त्यस दिन म फेरि मतदान केन्द्र गएँ र जम्मा १२ किलोमिटर हिँडेँ।
सोचेँ, मेरै भोटले भर्खर एकता भएको विवेकशील साझाले समानुपातिकतर्फको सिट पो जित्छ कि। थाहा थियो, विवेकशील साझाले २-४ सिट जिते पनि सरकारको नेतृत्व गर्ने ठाँउमा पुग्दैन भनेर। तर संसदमा सत्तापक्षसित प्रश्न सोध्ने मान्छेहरू हुनु नै त्यति बेला काफी लागेको थियो। अहिले स्वतन्त्र पार्टीबाट हामीमध्ये धेरैलाई भएको आश पनि त्यही हो।
चुनावपछिका कत्ति दिन उठ्ने बित्तिकै र दिनभरि काठमाडौँ- १ को नतिजा हेरिरहने मान्छेहरूमा म पनि पर्थेँ। पछि 'अरू पार्टीहरूले बदमाशी गर्दा पनि सहने मान्छेहरूले रवीन्द्र र साझा पार्टीलाई साना कमजोरीका लागि पनि गाली गर्छन्' भनेर कसैले भन्यो भने मलाई भन्न मन लाग्छ, उनी(हरू)सित आशा लागेर नै म त्यस दिन १२ किलोमिटर हिँडेकी थिएँ। त्यसैले म धेरै निराश भएकी हुँ।
यस वर्षको स्थानीय सरकारको निर्वाचनपछि ललितपुरका भोटर हामी काठमाडौँ महानगरपालिकाको भोट काउन्ट हेरिरहन्थ्यौँ। आश गर्ने मौका बिरलै पाइने हाम्रो देशको राजनीतिमा बालेनको दृढताका हामी फ्यान भएका थियौँ।
नेपाली राजनीतिमा अनुभवको कमी नै उनको शक्ति जस्तो लाग्थ्यो, कम्तीमा राजनीति गर्नका लागि व्यापारीहरूसित लेनदेन नगर्ने बालेन त्यत्तिकै पनि हामीलाई सर्वसाधारणका हिरोजस्ता लाग्थे। बालेनले विद्युत प्राधिकरणलाई कर तिराउँदा थपडी मारेका हामी ठेलागाडामा व्यापार गर्ने साना व्यापारीका सामान महानगरको प्रहरीले फ्याकिदिएपछि निराश भयौँ।
खासमा हामीलाई चाहिएको राजनीतिकर्मी भनेको आम नागरिकको आवाज बोलिदिने मान्छे हो। सत्ता पक्ष भए पनि, विपक्ष भए पनि सरकारलाई 'यो के गरेको?' भनेर भन्न सक्ने मान्छ हो। संसदको हरेक बैठकमा गएर विकल्प दिन सक्ने भए पनि नसक्ने भए पनि, आम मान्छेको जीवन कसरी सहज पार्न सकिन्छ भनेर लागिपर्ने मान्छे हो। आफूलाई गलत लागेको कुरालाई गलत भन्न सक्ने मान्छे हो।
खासमा जालझेल नगरे र साना लाभको लोभमा नमात्तिए हामीले खोजेको मान्छे बन्न सजिलो छ। गगन थापाले जसरी गड्गडाएर भए पनि, झोवा विकले जसरी सुरूमा अप्ठ्यारो मान्दै भए पनि आम मानिसको समस्या बुझेर सरकारको ध्यान आकर्षण गराउने मान्छे हो।
एमालेका कतिपय महिला नेताहरूले आफ्नो पार्टी सत्तमा हुँदा नागरिकता विधेयकका लागि जसरी आवाज उठाएका थिए, वा गठबन्धनको सरकारका बेला गठबन्धनकै नेताहरूले जसरी अर्थमन्त्रीमाथि छानबिन माग गरेका थिए, हामीलाई त्यसरी संगठित रूपमा आवाज उठाइरहने प्रतिनिधि चाहिएको हो।
हामीले खोजेको नेता रुकुमकी देवी ओलीजस्ता हुन्, जसले प्रदेशसभाको सामाजिक विकास समितिको सभापति भएर सक्रिय सांसदको कर्तव्य गरिन्।
छ/सात वर्षअघि 'सिंह दरबार' नामको एउटा वेब सिरिज आएको थियो जसमा आशा सिंह नामक पात्र नेपालको पहिलो महिला प्रधानमन्त्री थिइन्। आशा सिंहको क्षमता, उनको आत्मविश्वास र देशप्रतिको चासो देखेर मेरो घाँटीमा गाँठो पर्थ्यो।
'सिंह दरबार'को एउटा एपिसोडमा सिंहको नेतृत्वमा नेपालले दक्षिण एसियाली मुलुकहरूको कन्फरेन्स गर्छ र खाडी मुलुकमा काम गर्न जाने मजदुरहरूको हितका लागि मिलेर कसरी काम गर्न सकिन्छ भनेर छलफल गर्छ। त्यो एपिसोड हेर्दा मेरा आँखाबाट आँसु आएका थिए। हामीलाई चाहिने त त्यस कथाकी पात्र आशा सिंहजस्ता नेता पो हुन् त!
प्रतिनिधि सभाको आँउदो चुनावमा धेरै मानिसले स्वर्णिम वाग्लेलाई आशाका प्रतीकका रूपमा देखेका थिए, त्यो आस चुनाव अगाडि नै तुहियो। तर अहिले पनि हाम्रो अगाडि निकै अब्बल मान्छेहरू छन्। उनीहरूले हामीसित भोट माग्दै छन्।
रामकुमारी झाँक्रीले सोचेको जति काम गर्न नपाउँदै मन्त्री पद छोड्नु पर्यो भनेर रुँदा धेरैले उनलाई उडाए। तर खासमा हामीले खोजेको नै सकेसम्म काम गर्ने र सोचेको जति काम गर्न नपाउँदा वा नसक्दा नलजाइकन रुने नेता होइन र?
हाम्रो छोरा तीन वर्षको हुन लागेको छ। ऊ गर्भमै हुँदा एक दिन नेपाली राजनीति देखेर मैले हरेस मान्दै मेरो श्रीमानलाई भनेकी थिएँ, 'हाम्रो बच्चाले पनि यिनै मान्छेहरूलाई आफ्नो नेता मान्नुपर्ने छ, है!'
कहिलेकाहीँ समाचार हेर्दै गर्दा छोराले 'यो को हो?' भनेर विभिन्न मान्छेहरूलाई देखाएर सोध्छ। यो मान्छे तिम्रो देशको नेता हो भन्न मलाई लाज लाग्छ। त्यसैले म भन्छु 'यो नचिनेको मान्छे हो, सानु।' ठूलो हुँदै गर्दा मेरो छोराले चिन्ने मान्छेहरू अरू नै हुन्छन् भन्ने विश्वास मलाई छ।
हामीले खोजेको मान्छेले बालकृष्ण ढुङ्गेल वा अफताब आलमलाई माफी दिँदैन, उनीहरूले मारेका र दुःख दिएका मान्छेहरूलाई न्याय दिन लागिपर्छ। हामीले छानेको मान्छेले हाँकेको पार्टीले बिन्दा पाण्डे, जयपुरी घर्ती, नविना लामा र शिवमाया तुम्बाहाम्फेजस्ता अब्बल जनप्रतिनिधिलाई सिट नदिने काम गर्दैन।
हामीले खोजेको मान्छेले आफ्नो इमान ठेकापट्टाको पैसाका लागि बेचको हुने छैन, न त उसले पटक-पटक जनमत पाइसकेको गणतन्त्र र संघीयतालाई सधैँ गाली गरिरहन्छ। हामीले खोजेको नेताले सडकका पोल-पोलमा जनतालाई नै लाज लाग्ने गरी आफ्नो फोटो टाँस्दैन, उसका लागि जनता आफ्नो फोटोभन्दा प्यारा हुन्छन्।
अब हामीले भोट दिने जनप्रतिनिधिले नेपाली उद्योग व्यापारीलाई जत्तिकै मिटर ब्याज पीडित र उखु किसानलाई माया गर्नुपर्छ, लिम्पियाधुराको नक्सालाई भन्दा बढी माया त्यहाँका जनतालाई गर्नुपर्छ।
एकजना भारतीय पूर्व प्रहरी अधिकृतको वक्तव्य सामाजिक सञ्जालमा हेरेकी थिएँ, 'एउटा १० हजार रुपैयाँको फोन किन्दा हामी जति रिसर्च गर्छौँ, त्यति पनि रिसर्च गर्दैनौँ आफ्ना लागि शासक छान्न।'
हाम्रो विडम्बना नै त्यही हो। नेता बूढापाका वा आपराधिक पृष्ठभूमिका वा अकर्मण्य भए भनेर गनगन गर्नुको कुनै अर्थ छैन, यदि हामी चुनावका दिन मन दह्रो पारेर उचित निर्णय गर्न डराउँछौँ भने।
यस पटक पढाइका सिलसिलामा देशबाहिर भएकाले हामी मतदानबाट वञ्चित भएका छौँ। तर चुनाव आएदेखि मन नेपालमै छ। अब निर्वाचित हुने सांसदहरूले बनाएको सरकारले यस्तो काम गरोस् कि हुर्कैँदै गरेको हाम्रो छोरोले समाचार हेरेर 'यो को हो?' भनेर सोध्दा हामी आफ्नो देशका नेताहरूलाई गर्वका साथ चिनाउन सकौँ। गर्व गर्न सकिने देश र राजनीति बनाउने मौका पर्सि हो।