टिरिङटिरिङ बज्दैथ्यो ल्याण्डलाइन फोनमा घन्टी।
माथिल्लो तल्लाको भान्सा कोठामा अष्टभूजा भएकी देवी जसरी बिहानीसँग युद्ध गर्दै थिएँ म। सबैलाई हतार भएकाले फोन मैले नउठाए उठ्न मान्दै त! कुरो गर्यो कुरैको दु:ख।
फुर्सदिला मान्छेहरू घरभरि भए पनि ल्याण्डलाइनको फोन मैले नउठाएसम्म बजिरहन्छ। शनिबारको दिन पनि मोबाइलमा टाँसिएका हातहरू लुला हुन्छन् हतपत उठ्दैनन्। हुन पनि हो हातमै फोन आउने जमाना आयो को उठिराखोस् गोडालाई कष्ट दिएर।
बिहानको समय एक गृहिणीलाई कति हतार हुन्छ भन्ने कुरा यो सहरलाई राम्रोसँग थाहा छ।
भातभान्सा र बालबच्चालाई स्कुल पठाउने चटारोले प्रायः बिहान घर-घरमा लक्ष्मीहरू रूप बदलेर उग्रचण्डी भएका हुन्छन्।
फोनको तीव्र घण्टीले मेरो मुटु पनि चिसो भयो केही अनिष्ट त सुन्नुपर्ने होइन। नत्र किन बिहानै ल्याण्डलाइन बज्यो त! प्रकाशको गतिभन्दा चाँडो यो नकारात्मक चिन्ता आइपो हाल्यो।
हतारहतार सकारात्मक सोचें केही काम विशेष भएर पनि सखारै फोन गरेका हुनसक्छन्।
नत्र हिजोआज मोबाइल, म्यासेन्जर, इमो, भाइबर, ह्वाट्सएप आदि नै लोकप्रिय छन्। फोन त हातैमा आउनु पर्ने हो। यस्तै सोच्दै हतपत कठ्याङ्गिएको पानीमा भाँडा माझिरहेका हात धोएर फोन उठाउन वायुवेगले तल्लो तल्लामा पुगें।
‘हेल्लो, को बोल्नु भएको होला?’
बच्चाहरूलाई स्कुल पठाउन ढिलो भइसकेको थियो। फोनमा बोल्ने मान्छेको आवाज स्पष्ट थिएन। अलमल्ल गर्दै यति लामो लेघ्रो तानेर उताबाट महोदय बोल्न थाल्नुभयो।
‘म क्या चिन्नु भएन। ए:::: नचिनेकै:: कति चाँडो भुलेको त, यो उमेरमा पनि के भाको त त्यस्तो, मलाई साँच्चै नचिने कै हो त, मेरो स्वर ठम्याउन सक्नु भएन ?’
हे प्रभु! स्वरसम्राट हो र भन्या उसको स्वर सुन्नेबित्तिकै चिनिहाल्नुपर्ने? म फलानो बोलेको, यो काम छ, यस्तो समाचार छ भने त टन्टै साफ हुन्छ नि! के कुरा चपाइरा होला एकाबिहानै।
‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर’ भनेको यही हो कि क्या हो। मलाई झनक्क रिस उठ्यो। बिहानको समय एकएक मिनेट किम्ती छ आफूलाई।
भान्सामा दूध बसालेको थिएँ। ग्यास ठूलो छ कि सानो भुसुक्कै बिर्सिएछु। एकातिर दूध उम्लेला भन्ने चिन्ता अर्कोतिर बच्चाको गाडी छुट्ला भन्ने खतरा, तनावको कमी थियो र? अनि फेरि ताइनतुइको फोनले अलिअलि भएको दिमाग पनि चाट्नु पर्ने। कति फुर्सद भएको होला यो मान्छेहरूलाई!
मेरो घैंटोमा अझ घाम लागेको छैन। को हो त्यो सुपरिचित कोकिलकण्ठे। गिद्दीमा एउटा मात्र कुरा भए पो मस्तिष्क ह्याङ नहोस् त। थाहै नपाइकन मेरो रक्तचाप त बिस्तारै बढेछ।
‘हेल्लो, मैले चिन्न सकिनँ को बोल्नु भएको हो? मलाई हतार छ, के काम छ, कसलाई खोज्नु भएको?’ मेरो आवाज अलि चर्को हुँदै गएछ।
आफ्नो नाम भन्न पनि मुस्किल पर्ने आजको मान्छे कस्तो होला ? बरू मेरी हजुरआमाले हजुरबाको नाम सोध्नु पर्दा योभन्दा चाँडै यसरी भनिदिनु हुन्थ्यो- बिहानबिहान आँगनमा जल चढाउने मठ अनि ईश्वरको नाम जप्ने त्यहीँ छ तेरो हजुरबुबाको नाम, लु पत्ता लगाएर देखा तेरो हजुरबाको नाम।
म भन्थें ‘तुलसीराम’
हजुरआमा मुर्छा परेर हाँस्नु हुन्थ्यो।
यी महोदय त मेरी हजुरी पनि होइनन्।
अनि किन आफ्नै नाम भन्न पनि यत्रो हिच्किचाहट।
हे परमात्मा! अझ जिब्रो चपाउँदै कुरा लम्ब्याउन खोज्दैछन्।
अनि फ्याट् भनें- ‘तपाईं को हो? किन फोन गर्नु भएको? बिर्सनु भएछ। पछि सम्झेर पुनः फोन गर्नु होला, मैले ठम्याउन सकिनँ अहिलेलाई राखें’ भन्दै फोन ढ्याक्क राखिदिएँ र आफ्नो काममा लागें।
कस्ती सन्काई रहिछे भने होलान् तर मलाई फोनमा जिस्किएर, मस्किएर बोलेको पटक्कै मन पर्दैन। म आफू पनि त्यस्तो कहिले गर्दिनँ अरूले गर्यो भने पनि साँच्चै रिस उठ्छ। यो त भयो ल्याण्डलाइन फोनको महात्म्य।
अब मोबाइल महात्म्यतिर लाग्छु।
अस्ति एउटा भाइको स्टाटस पढेर निकैबेर हाँसें। फोनसँग सम्बन्धित विषय नै थियो। कुराकानीको सिलसिलामा सबै कुरा सकिएपछि अन्तिम प्रश्न हुन्छ।
‘अरू के छ? अरू सुनान, सबै कुरा सकिएपछि के सुनाउनु ?’
यस्तो सोध्ने मान्छेहरूलाई त सत्यनारायणको कथा पूरै सुनाइदिऊँ जस्तो लाग्यो रे ती भाइलाई। यो स्टाटसले म निकैबेर हाँसें।
वास्तवमा फोन भनेको लम्मेतान गफ गर्ने साधन त पक्कै होइन नि। अत्यन्तै जरूरी कुरालाई अत्यन्तै छोटो र छिटो समयमा एक व्यक्तिबाट अर्को व्यक्तिमा, एक संस्थाबाट अर्को संस्थामा सूचना पठाउने सजिलो माध्यम होइन र भन्या?
हिजो कुनै खबर एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन महिनौँ लाग्थ्यो। तर आज एक सेकेन्ड पनि लाग्दैन। प्रविधिको युगमा छौं हामी। हिजोआज प्रविधि मानवको आधारभूत आवश्यकता भित्र परिसक्यो। यस्तो महत्त्वपूर्ण प्रविधिको सकारात्मक पाटो हुँदाहुँदै पनि गलत प्रयोगले गर्दा नकारात्मक प्रभावलाई रोक्न सकिएको छैन।
प्रविधिको गलत प्रयोगले आज हरेक क्षेत्रमा असर पारेको छ। अझ सामाजिक र पारिवारिक सम्बन्धमा त ठूलै हलचल ल्याएका घटनाहरू अनगिन्ती छन्।
बच्चादेखि वृद्धसम्म सबै जना प्रविधिको संजालमा जेलिएका छन्, यो आवश्यक पनि छ। अध्ययनदेखि अध्यापनसम्म, ज्ञानदेखि विज्ञानसम्म, उद्योगदेखि उपचारसम्म प्रविधि हावी छ। मानव समाजको लागि वरदान भएको प्रविधि किन कुनै परिवारको लागि अभिसाप बन्दै छ? गहिरिएर सोच्नै पर्ने बेला आएको छ।
प्रविधिको प्रयोग सचेत भएर गर्नैपर्छ। कसैको सानो गल्तीले कुनै सुन्दर परिवार खण्डित हुनसक्छ। कसैलाई फोन गर्नुभन्दा अगाडि फोन गर्नुको उद्देश्य र कारण के हो फोन गर्ने मान्छेलाई राम्रोसँग थाहा हुनुपर्छ।
अति नै निकटको सम्बन्धमा यो कुरा लागू हुँदैन तर यस्ता धैरै नाता र सम्बन्धहरू हुन्छ्न् जहाँ सम्बन्धलाई बचाइ राख्न सचेत र सजग हुनुपर्छ। विवेकको सही प्रयोग गर्नुपर्छ। संचारको गलत प्रयोगले सम्बन्धहरू भत्किएर धुलिसात् भएका समाचारहरू दिनानुदिन सुन्ने गरिन्छ।
प्रविधिको अव्यवस्थित प्रयोगले कतै शंका जन्मिएको छ, कतै शंकाले ठूलो रूप लिएर हत्या पनि भएको छ। बालबालिकामा मनोवैज्ञानिक असर परेर अस्वस्थ हुँदैछन्। परिवारमा महाभारत सुरू भएको कैयौं घटनाहरू आफ्नै आँखाले राम्रोसँग देखेको छु।
अशान्ति र असमझदारीले मान्छेहरूको मनोविज्ञानलाई निकै ठूलो प्रभाव पारेको छ। ठूलो कुरा केही चाहिँदैन सानासाना कुराले नै ठूलो असर पार्छ।
कोही मान्छेलाई अनलाइनमा देख्ने बित्तिकै खासै काम नहुँदा पनि कल गरौंगरौँ लाग्ने कस्तो मनस्थिति होला अझ त्यो पनि भिडिओ कल गर्ने। कुन अवस्थामा छ, के गर्दैछ त्यति त सोच्नु पर्ने हो नि! अनि उनीहरू नै रिसाउँदै भन्छन् -
‘अचेल त हामीले फोन गरेको बेलामा फलानीले त फोनै उठाउँदिन, निकै चढेकी छ।’
कस्तो नकारात्मक सोच होला? काम थियो होला, फुर्सद भएन होला भनेर पनि त सोच्न सकिन्छ नि बाबै!
आफ्नो मात्र फुर्सद भएर भएन नि!
अरूको फुर्सद होला नहोला एकचोटि विचार पुर्याउनु पर्छ नि ? स्मार्ट फोन चलाउने मान्छेहरू किन स्मार्ट तरिकाले सोच्न नसकेका होलान् ?
अस्ति मेरी साथी सुनाउँदै थिई।
परिवारमा सबै जना खाना खान लागेका थिए रे, म्यासेन्जरमा भिडिओ कलको घन्टी बजेछ। तीन चार घन्टी बजिरहँदा पनि ऊ खाना खाइरहिछ। सबैका आँखाहरू एकतमासले प्रश्नको पेटारी बोकेर उसैलाई हेरिरहेका थिए रे।
अझ श्रीमानले त खाउँलाझैँ गरेछन्।
ए नारान! फोनले मिस कल देखाइहाल्छ नि अनि किन अधैर्य हुनु। ऊ मस्तसँग कालो दाल, रायोको साग, टमाटरको अचारसँग स्वाद फेरीफेरी खाना खाइरहेकी थिई रे बिन्दास पारामा। पछि कल ब्याक गरौंला भन्दै विचलित नभई आरामसँग बसेकी मान्छेलाई अरूको अधैर्यताले झन्डै निलेको रे। फोन नउठेपछि पनि ती मूर्ख महोदयले तारन्तार पुनः घन्टी ठोकिरहेछन्।
ए बाबा! को रहेछ यस्तो फोनमै सेरो पर्न आँटेको मान्छे भनेर जुठै हातले श्रीमानले फोन हेरेछन्। परिवार भन्दा बाहिरको पुरूष सदस्यको फोन त्यो पनि रातिको खाना खाने बेलामा अब भएन त फसाद। बुद्धलाई त झनक्क रिस उठ्ने कुरा छ अझ बबुरो जोर्वाबुद्धलाई कस्तो भयो होला? अनुमान लगाउनुस् त। साथीको घरमा त्यो दिन ठूलै बैठक बसेछ। स्पष्टीकरण पनि दर्हो दिनु परेछ। त्यो डाइनिङ टेवलमा सासू, ससुरा, देवर देउरानी, जेठाजुजेठानी सबै थिए रे।
मैले सोधें- को थियो त त्यो साथी त्यति पनि होस् नभएको भन्दा ऊ मुर्छा परेर हाँस्न थाली।
‘मलाई नै थाहा छैन को थियो। धेरै साथीहरू साझा थिए। स्कुलको साथी हो या कलेजको छुट्याउन सकिनँ। माइती गाउँ छोडेको पनि वर्षौं भयो अब त बिर्सिन पनि थालेकी छु। हुन चाहिँ मेरै माइती गाउँको कोही हो, भाइ हो या दाइ त्यो पनि थाहा छैन। साथी बन्न अनुरोध उसैले पठाएको थियो। गाउँतिरको कोही होला भनेर साथीको संख्यामा सामेल गरेको थिएँ झन्डै फसाद परेको। पछि सबैका अगाडि फोन गरेर फोन गर्नुको कारण सोधें बहिनीको साथी रहेछ बहिनीको फोन नम्बर माग्नलाई फोन गरेको रे।’ त्यही कुरा पहिले नै म्यासेन्जरमा लेखेको भए मेरी साथीको परिवार लाई तनाव हुन्थ्यो त ?
यो त एउटा उदाहरण मात्र हो।
तर सबै साथीहरूले यस्तै बौलट्ठी कुराहरू मात्र गर्छन् भन्न खोजेको चाहिँ पक्कै होइन नि। अनलाइनबाट मात्र चिनजान भएर नजिक भएका कैयौं बौद्धिक साथीहरू अभिभावक जस्ता भएर ज्यादै सहृदयी, सहयोगी, इमान्दार र नैतिकवान छन्। बुद्धिजीवीको खडेरी पनि परिसकेको छैन नि सामाजिक संजालमा, सबैलाई चेतना भया।
आज चाहिँ प्रविधि प्रयोगकर्ताको नकारात्मक पाटोकै चर्चा गर्न यी कलम उद्दत भएका छन्। त्यसैले म त्यतैतिर मोडिएँ है त।
निकै जरूरी कुरा भए पनि म्यासेज गरेर भन्नुपर्छ। सभ्य मान्छेले अरूको स्वाभिमानलाई कदर गर्नु पर्छ। बोल्न मिल्छ कि मिल्दै सोधपुछ नै नगरी ट्याँट्याँ गरेर म्यासेन्जरको घण्टी बजाउनु बुद्धिजीवीको काम हो त? फोन गर्नुपूर्व अरूको अनुमति माग्नुपर्छ। विनम्रताले मान्छेलाई महान् बनाउँछ। कसैसँग अनुमति माग्नु झुक्नु कदापि होइन।
मेरी छोरी जर्मन हजुरआमासँग बोल्न एक हप्ता अगाडि समय लिएकी हुन्छे। कस्तो राम्रो चलन। आफन्तको घर जानु पर्दा होस् या फोन गर्दा योजना बनाएर मात्र जानुपर्छ रे।
आफ्नै छोराछोरीसँग होस् या आफ्नै आमाबासँग भेट गर्न जान पनि पूर्व सूचना दिनुपर्छ रे।
त्यहाँ समय व्यवस्थापन गर्नुपर्ने भएर त्यो संस्कृत हावी छ रे तर यहाँ समयको कसलाई कदर छ र ? पहिले मलाई अचम्म लाग्थ्यो तर बिस्तारै सोच्दा ठीकै त हो जस्तो लाग्यो।
अझ मुहार पुस्तिकाबाट साथी भएकाहरूको कथा छुट्टै छ। जो विभिन्न सन्दर्भ, समारोहमा भेट भएका एउटै मार्गमा हिँड्ने यात्रीहरूको कुरा गर्दैछु।
अझ महिला साथीहरूले पुरूष साथीहरूसँग होस् या पुरूष साथीहरूले, महिला साथीहरूसँग निकै संवेदनशील भएर बोल्नुपर्छ, लेख्नुपर्छ। सानो गल्तीले सम्बन्ध सजिलै सखाप हुन सक्छ। सामाजिक सञ्जाल पनि त सार्वजनिक स्थल हो। त्यसैले प्रयोगकर्ता होसियार हुनैपर्छ, संवेदनशील बनैपर्छ।
अर्को थरी साथीहरू पनि हुन्छन्।
म्यासेन्जरमा अनावश्यक म्यासेज गर्ने, अनावश्यक भिडिओहरू पठाउने, थरीथरीका फोटोहरू पठाएर दिक्क लगाउने। अझ आफूलाई मन परेका भिडिओहरू ट्याग गरेको गर्यै गर्ने। ए बाबा ठाकुरे! जसलाई ती सामग्री ट्याग गरिन्छ उसले पनि त हेर्दो हो नि ती भिडिओ र स्टाटसहरू, अनि सबै काम तपाईंले नै गर्दिने। ती समाचार राम्रो लागे व्यक्ति स्वयंले सेयर गरिहाल्छ्न नि,
किन तपाईंलाई खसखस लाग्नुपर्ने ट्याग गर्न!
अर्काथरि साथीहरू झन् अचम्मका हुन्छन्। आवरण भद्र भए पनि कोहीकोही साथीहरू महिला साथीहरूप्रति निकै चासो लिन्छन्। हरेक दिन म्यासेन्जमा खाना खानु भयो, के गर्दै हुनुहुन्छ ?
कुरो न कुरोको बाउ के सोधी राखेको होला? कुराकानीको सिलसिलामा सोधे त राम्रै हो। टुच्चटुच्च म्यासेन्जरमा अर्थहीन कुरा कोट्याइरहने मित्रहरूलाई कुन दर्जाको साथीमा राख्ने।
न बच्चा बेलाका यार हुन्, न पारिवारिक प्यार हुन्, न चुरो कुरो गर्ने हिम्मतवाला हुन्। अनि फगत विपरीत लिङ्गीप्रतिको आकर्षण नभएर के हो त यो? के महिला, के पुरूष नैतिक इमानदारिता भएन भने आचरण ध्वस्त हुन्छ। आफ्नो मर्यादा बिर्सिएर यस्ता अस्वाभाविक क्रियाकलाप गर्ने यस्ता साथीहरूलाई साथीको ताँतीबाट हुत्यादिनु नै बेस हुन्छ होला।
नजानेर त्यसो गरेको हो भने त बिचरा भन्नु तर जानाजान प्रविधिको गलत प्रयोग गर्ने परिपक्व उमेरका मान्छेलाई चाहिँ खै के भन्नू ? कुन वाद हावी भएको हो कुन्नि भेउ पाउन मुस्किल छ।
न हितैसी हुन्, न आफन्त, न कहिले नजिकबाट देखेको, न बोलेको कुनै सन्दर्भबाट साथी हुनु भएका कोहीकोही मित्रहरूले पनि मेसेन्जरमा दिनरात म्यासेज गर्नुलाई कुन रूपमा लिने यो पनि गम्भीर प्रश्न छ। यदि कुनै सन्देश भए हिच्किचाहट नगरी मेसेन्जरमा लेखे भयो नि बोल्नै पर्ने भए खुलस्त कारण लेखेर बोले भइहाल्छ नि। अनि किन शंकास्पद वार्तालाप गर्न खोज्नु सभ्य मान्छेहरूले?
‘के गर्दै हुनुहुन्छ, आरामै, खाना खानु भयो।’
बिसन्चो हुँदा न भेट्न आउँछन्, खान नपाउँदा न एकछाक खाना नै दिन्छन्। सामाजिक संजालमा अनावश्यक अपनत्व देखाउन फेरि किन मरिहत्ते गर्छन्? अझ गुड नाइट र गुड मर्निङ भन्न त कहिल्यै भुल्दैनन्। यसरी अरूलाई बिहान बेलुका ध्यान दिनुभन्दा त आ-आफ्ना इष्टदेवको भजन गरे त शान्ति मिल्ने थियो बरा! हुन त बिचराहरूले शिष्टाचार नै देखाएको होला नि तर के गर्नु त्यो गुड मर्निङ र गुड नाइट सुटुक्क आउँदै, बम बारूद पड्किए जसरी नोटिफिकेसनको घण्टीमा ट्वाङ्ग ट्वाङ्ग गरेर ठूलै आवाजले ध्यान नै भंग गर्ने गरी आउँछ।
अँ साच्चै घरका सदस्यहरूलाई पनि यस्तै सद्भाव देखाउँछन् कि सामाजिक संजालमा मात्र हो? यदि घरका सदस्य तथा आफन्तहरूलाई पनि यस्तै सद्भाव देखाउने मानवीय गुण भए त त्यो मनलाई हृदयदेखि नै सलाम छ। तर समय कटाउन वा विपरीत लिंगीप्रति आकर्षण या झुकाव भएर मात्र गरेका हुन् भने पक्कै यो निन्दनीय कार्य हो।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)