बिहानीको किरणसँगै, त्यो सुन्दर गाउँ हरियाली अनि बारीमा फलेका विभिन्न फलफूलहरूको बस्नाले मेरो मनलाई पूरै लोभ्याइसकेको थियो। कोठाबाट बाहिर निस्केपछिको त्यो सुन्दर दृश्य देख्दा मन खुसीले पूरै रमाइरहेको थियो।
एक किसिमले चिन्ता पनि लागिरहेको थियो। त्यो उकालो अनि ओरालो बाटो हुँदै गन्तब्यसम्म पुग्न कति कठिन होला! सँगै आज विभिन्न मान्छेहरूसँग भेट हुन्छ भन्ने कुराले अर्कै उर्जा उत्पादन पनि भैरहेको थियो।
गाउँको त्यो रमाइलो दृश्यहरूसँगै रमाउँदै म आफ्नो गन्तब्य अर्थात् विद्यालय पुगेँ। लाग्यो, मलाई त्यो विद्यालयले पर्खिरहेको थियो।
मूल गेटबाट भित्र छिर्ने बित्तिकै एकजना सानो बाबुलाई भेटेँ र सोधे, 'बाबु, प्रधानाध्यापकको अफिस कता छ?'
त्यो सानु बाबुले भनेको 'म पुर्याइदिन्छु नि है' शब्दले मलाई मेरो यात्रा धेरै राम्रो हुन्छ लाग्यो। यो ठाउँमा मानिसहरूको बोल्ने शैली अनि नयाँ मान्छेलाई गरिने व्यवहार एकदमै राम्रो रहेछ।
सानो बाबुको पछि-पछि लाग्दै जाँदा मनमा असहजता, अप्ठ्यारो अनि अथाह प्रश्नहरू उब्जिरहेका थिए। प्रधानाध्यापकको कक्षा बाहिर पुगेपछि त्यस बाबुले 'हजुर यही नै हो' भनेर उनी फर्किए।
करिब १० जना शिक्षकहरू सँगै बसिरहनु भएको थियो, मैले दुई हात जोडी नमस्कार गर्दै त्यस कक्षाभित्र प्रवेश गरेँ।
त्यति धेरै शिक्षकहरूको माझमा उभिएर कुर्दै गर्दा मन अलिकति डराइरहेको थियो तर त्यहाँका शिक्षकहरूले माहोललाई एकदमै सहज बनाइदिनु भयो। शिक्षकहरूले कताबाट आउनुभएको, कस्तो कार्यक्रम लिएर आउनुभएको भनेर प्रश्नहरू गर्नुभयो। त्यसपछि सबै सरहरूसँग परिचय गरेँ।
मलाई भित्रैबाट कति बेला त्यो कार्यकक्षबाट बाहिर निस्केर विद्यार्थीहरूसँग कुरा गरूँ जस्तो भएको थियो।
लगभग २० मिनेटपछि कक्षामा प्रधानाध्यापकले 'सर, ल हिँड्नुहोस् म कक्षा देखाइदिन्छु' भनेसँगै मेरो मन पनि एकदमै हलुका भयो। अनुहारमा विद्यार्थीलाई भेट्न पाउने खुसी शब्दमा बयान गर्न नसकिने थियो।
त्यस विद्यालयमा कक्षा १२ सम्म अध्ययन हुँदोरहेछ। मैले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई विभिन्न विषयमा अध्ययन गराउने मौका पाएँ।
गणित, विज्ञान र कम्प्युटरजस्ता विषयमा मैले जानेका कुराहरू विद्यार्थीसामु राखेँ र विद्यार्थीबाट पनि धेरै कुरा सिक्ने मौका पाएँ। आफूले सिकेको कुरा सिकाउन पाउनु नै मेरो भाग्यको कुरा थियो।
प्रधानाध्यापकको पछि लाग्दै कक्षा १० मा मेरो पहिलो परिचय भयो। प्रधानाध्यापकको मुखबाट 'विद्यार्थी हो, आजबाट नयाँ सर आउनुभएको छ। तिमीहरूले सरलाई कुनै किसिमको दुःख नदिने है त!' भनको सुन्दा एकदमै आनन्दको महसुस भयो। त्यति भनेपछि उहाँ बाहिर निस्किनुभयो।
मुसुक्क हाँसेर मैले सबैको अगाडि 'नमस्कार, म विनय रिजाल' भनेर आफ्नो परिचय दिएँ। पहिलो दिन विद्यार्थीहरूले सर आज परिचय गरौँ अनि भोलिबाट पढाइको सुरुआत गरौँला भनेर प्रस्ताव राखे।
मैले पनि विद्यार्थीले त्यति भनेपछि नाइँ भन्न सकिनँ अनि सबैको परिचय लिएँ। विद्यार्थीसँग कुरा गर्दाको त्यो समय कति छिटो बित्यो केही पत्तै भएन। घन्टीको आवाज सुनेसँगै विद्यार्थीहरूसँग बिदा मागेर अर्को कक्षातर्फ अघि बढेँ अनि त्यसै गरी मैले आफ्नो पहिलो दिन बिताएँ।
दोस्रो दिन अलिक छुटै अनुभूति भैरहेको थियो, सायद अगाडि नै समय बिताएर होला मलाई कुनै किसिमको डर लागेको थिएन। समयसँगै म सबैसँग यति छिटो घुलमिल हुन्छु जस्तो लागेको थिएन। दोस्रो दिनको पहिलो कक्षा ९ मा थियो।
कक्षाकोठामा प्रवेश गरिसकेपछि विद्यार्थीहरूको अनुहारमा जुन मुस्कान थियो त्यो देख्दा म झनै खुसी भएँ। विद्यार्थीहरूबाट पहिलो शब्द भने 'सर आज हामीलाई कम्प्युटर कक्षामा लानुहोस् न!' भन्ने थियो।
मैले पनि ठिकै छ भनेर जाऔँ भनेँ। उनीहरूको पछि लागेर म पनि गएँ। त्यहाँ धेरै सामग्रीहरू देखेँ र कम्प्युटरहरू पनि मजाले राखेको रहेछन्। त्यस्तो विकट ठाउँमा पनि त्यसरी कम्प्युटरहरूको व्यवस्थापन देखेर मलाई धेरै खुसी लाग्यो।
घरबाट त्यो सामाजिक सञ्जालमा देखेका ती फोटोहरूमा हेरेर मूल्याङ्कन गर्नु भनेको मूर्खता रहेछ भन्ने कुरा थाहा पाएँ।
विद्यार्थीहरू कम्प्युटर देख्दा मरिहत्ते गर्दा रहेछन् तर श्रोत हुँदाहुँदै पनि जनशक्तिको अभावकै कारणले गर्दा विद्यार्थीहरूले कम्प्युटरको शिक्षा भने त्यति पाएका रहेनछन्।
केही नयाँ कुरा सिकूँ, जानूँ भन्ने इच्छाशक्ति विद्यार्थीमा एकदमै धेरै रहेछ। त्यहाँ कम्प्युटरमा पूर्ण दक्षता भएको शिक्षक जम्मा एक जना हुनुहुँदो रहेछ र बाँकी कम्प्युटरमा त्यस्तो दक्षता भएको मैले देखिनँ।
विद्यालयमा दक्ष जनशक्ति ल्याउने जिम्मा भनेको विद्यालय तथा गाउँपालिकाको हुन्छ तर त्यस विद्यालयमा दक्ष जनशक्ति ल्याउने कुनै चहलपहल नै देखिनँ।
गाउँपलिकाको लापरबाही हो कि विद्यालयले पहल नगरेको भनूँ, अन्त्यमा पीडा र अन्यायमा पर्ने भनेका विद्यार्थी नै हुन्।
यो देख्दा चाहिँ मन साह्रै अमिलो भयो। हुन त प्रयास गर्दै मात्र कहाँ राम्रो जनशक्ति प्राप्त गर्न सकिन्छ र!
विद्यार्थी जीवन एउटा मगमगाउँदो हो। विद्यार्थी फूलमा भमराहरू बस्छन्। कतिलाई यसैमा मजा छ। थोरैलाई बेकार र अर्थहीन लाग्छ होला। हुन त विद्यार्थी जीवनमा सबैले कुनै न कुनै दु:ख त भोगेकै हुन्छन्, तर त्यहाँका विद्यार्थीहरूको दु:ख भने अलिक भिन्न रहेछ।
मैले केही विद्यार्थीहरूसँग कुराहरू गरेँ। उनीहरूका अनुसार- विद्यालय आउन धेरै समय लाग्छ, हामी बिहानै ४ बजेतिर उठ्छौं र घरको नित्य कामहरू सकेर करिब ६:४५ तिर विद्यालय हिँड्छौं भन्ने थियो।
करिब ३ घण्टाको उकालो बाटो, भारी किताब बोकेर आउनुको पीडा कस्तो होला हामी कल्पना पनि गर्न सक्देनौं।
त्यो थाकेको शरीर विद्यालयमा आएर पढेर फेरि ३ घण्टाकै बाटो फर्केर जानु पर्ने भनेको कति मुस्किल होला?
हामी सहरमा पढ्नेहरू, बिहानै उठ्न पनि कति अल्छी गर्छौं। अझ हामी धेरैजसोलाई ममीले नै कोठामा चिया र खाजा पुर्यादिनुहुन्छ।
हामी यति धेरै सुखी भयौँ कि हामीलाई दुःख के हो भन्ने कुरा नै थाहा छैन।
तर ती गाउँका विद्यार्थीलाई हेर्ने र हामीलाई हेर्ने हो भने, हामीले अहिलेसम्म जीवनमा परिश्रम भन्ने कुरा के हो बुझेकै छैनौँ। दुःख भन्ने चिज के हो भन्नलाई दुःख नै भोग्नु पर्ने रहेछ भन्ने कुरा मैले यहाँबाट बुझेँ।
अरुले सुनेको भरमा दुःख र सुखको भिन्नता नपाइने रहेछ। म त्यही ५ मिनट हिँडेर गाडी चढेर आउने मेरो साथीले 'यो बसमा मलाई आउने मन लाग्दैन' भनेको याद गर्छु अनि यहाँका विद्यार्थीहरूले ३ घण्टा हिँडेको त्यो उकालो सम्झन्छु। कति फरक छ यसमा! सोच्छु, जिन्दगीमा सङ्घर्ष के हो?
हामीलाई बिहान विद्यालय जानको लागि घरमै गाडी लिन आइपुग्छ, खाजा खानको लागि कुनै परिश्रम गर्नुपर्दैन।
स्कुलले त भनेको थियो तिमीहरू पनि सावर्जनिक गाडी चडेर आउँदा झनै राम्रो हुन्छ। सायद समाजको वास्तविकता बुझाउन स्कुलले त्यो भनेको हुनुपर्छ। अहिले म त्यो कुरा बुझ्दैछु।
विद्यालयमा उस्तै राम्रो शिक्षकहरूले पढाउनुहुन्छ तर पनि हामीले कहिलै यस्ता कुराहरूलाई ध्यान दिदैनौँ र मेहनत गर्देनौँ।
हाम्रा बुबाआमाले हामीमाथि देखेको सपना, मेरो छोरा/छोरीले राम्रो गरोस् भनेर पसिना बगाएर कमाएको पैसा, सबै हामीमाथि लगानी गर्नुहुन्छ। तर हामीले कहिलै पनि त्यो पसिनाको महत्त्व बुझ्न जानेनौँ अथवा बुझ्न नै प्रयत्न गरेनौँ। अब आफै सोच्नुहोला, त्यहाँ गाउँमा दुःख गरेर विद्यालयमा जाँदा पनि गुणस्तरीय शिक्षा उनीहरूले पाउँदैनन्।
त्यत्रो हिँडेर आएपछि, दिउँसो उनीहरूसँग खाजा खानको लागि केही हुँदैन, पठनपाठन गर्नका लागि सामग्रीको अभाव त्यस्तै छ साथै समयको पनि।
धेरै विद्यार्थीको विद्यालयबाट घर फर्किदा करिब ७ बज्दो रहेछ अनि घर पुगेर पनि सुरुमा काम सकाएर, खाना खाइसक्दा करिब ९ बज्दो रहेछ, त्यसपछि गृहकार्य गरिसक्दा करिब १२ रहेछ। १२ बजे सुतेर उनीहरू भोलिपल्ट बिहान ४ बजे नै उठ्दारहेछन्। तर हामीलाई त्यस्तो खालको दुःख भने कहिले गर्ने परेन किनभने हामीलाई सबै कुरा हाम्रा आमाबुबाले पुर्याइदिनुभएको छ। वास्तविक दुःख के हो भनेर अनुभव नै छैन।
विद्यालयमा शिक्षण गर्दा विद्यार्थीहरूले सर भनेर बोलाउँदाको अनुभव मेरा लागि निकै नै नौलो थियो। मलाई आजसम्म यो शिक्षक भन्ने शब्द कस्तो हो भन्ने थाहा नै रहेनछ।
म अधययनरत् विद्यालयले आयोजना गरेको यो कम्युनिटी आवर्सले गर्दा शिक्षकको महत्त्वबारे महसुस गर्ने मौका पाएँ।
जब कुनै विद्यार्थीले सर भनेर बोलाउँछन्, त्यो शब्द सुन्नेबित्तिकै आफ्नो जिम्मेवारी के हो भन्ने अनुभूति हुँदो रहेछ। यदि कुनै पनि विद्यार्थीले आफूले सिकाएको कुरालाई सही तरिकाले प्रयोग गर्छ, बुझ्दछ, अरुलाई बुझाउँछ अनि जीवनमा एक सफल व्यक्ति भएर निस्किन्छ भने सबैभन्दा बढी खुसी शिक्षकलाई हुँदोरहेछ।
हामी शिक्षकको काम जम्मा पढाउने हो भनेर बुझ्छौं तर त्यति मात्र नभएर शिक्षक भनेको जीवनमा कता जाँदा ठिक हुन्छ, के गर्दा राम्रो हुन्छ भनेर बाटो देखाउने देवता स्वरुप हुँदारहेछन्। यी कुराहरू कम्युनिटी आवर्स कार्यक्रमबाट शिक्षक हुँदाको अनुभब पनि लिने मौका पाएँ, बुझ्ने मौका पाएँ।
हामी जति विद्यार्थीहरूको रुपमा बसेर पढ्न कठिन हुन्छ त्यति नै कठिन शिक्षक भएर पढाउन छ। एक महिना त्यस विद्यालयमा समय बितेको पत्तै नपाई बित्यो।
विद्यालयमा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गराइँदो रहेछ। अनि त्यही शुक्रबार मेरो विद्यालयमा अन्तिम दिन थियो। विद्यालयले त्यस दिन नृत्य प्रतियोगिता आयोजना गरेको थियो र त्यही मौकामा मलाई बिदाइ गर्ने तयारी पनि गरेको रहेछ।
अतिरिक्त क्रियाकलापको लागि भने मैले कक्षा ९ र १० का विद्यार्थीलाई नाच पनि सिकाएको थिएँ। उनीहरूले त्यस कार्यक्रममा धेरै नै राम्रो प्रदर्शन गरे। कार्यक्रमको बिजेता पनि भए।
कार्यक्रममा एकदमै राम्रो प्रदर्शन गरेकोले धेरै खुसी थिएँ म तर उनीहरूको खुसी एकैछिनमा सकियो। विद्यालयले माइकमा सबैजनालाई 'आज विनय सरको विद्यालयमा अन्तिम दिन रहेको र आज सबै जना मिलेर सरलाई बिदाइ गर्नुपर्छ' भनेर भन्नुभयो।
त्यो कुरा सुनिसकेपछि धेरै विद्यार्थीहरूको आँखाबाट आँसु रसाइसकेको थियो र मलाई पनि उनीहरूको आँखामा आँसु देख्दा एकदमै रुन मन लागेको थियो।
त्यही सिलसिलामा मैले अध्ययन गरेको मेरो कक्षा १० र १२ को अन्तिममा गरिने विदाइ सम्झिएँ। विद्यालयले मेरो बिदाइको लागि धेरै तयारी गरेको रहे। फूलमाला अनि रङ्गले मेरो घाँटी र अनुहार पूरै भरिसकेको थियो।
विद्यार्थीहरूले आएर अनुहारमा रङ्ग दल्दा अनि उनीहरूको कुरा सुन्दा मलाई भित्रैबाट हाँसो पनि लाग्यो, साथै आँसु पनि । हुन त समय सधैँ एकैनास रहँदैन भन्ने कुरा मैले बुझेको थिएँ तर त्यस समयमा भने अझै केही दिन बस्न पाए हुन्थ्यो जस्तो महसुस भैरहेको थियो।
प्रधानाध्यापकको मुखबाट मिठो शब्दहरू सुन्न पाउँदा, सबैले माया गरेर सर नजानु अझै केही दिन बस्नु भन्ने आवाजहरू सुन्दा एकदमै खुसी लागेको थियो।
जीवनमा विद्यार्थीहरूको माया कस्तो हुँदोरहेछ भन्ने अनुभव गर्ने मौका पनि पाएँ। कार्यक्रम सकिएपछि केही विद्यार्थीहरूले भने मेरो लागि खाजाको तयारी गरेका रहेछन्।
एउटा पसलमा उनीहरूले पैसा उठाएर चटपटे अनि कोकको व्यवस्था गरेका रहेछन्। मलाई सँगै लगेर सबैको बीचमा राखेर त्यो एक महिनाको समयको कुराहरू उनीहरूले निकाले।
आफूले बाहिर देखाउन नसके पनि भित्रबाट भने मलाई उनीहरूलाई छोडेर जानु पर्दाको पीडा एकदमै धेरै थियो। मन रोइरहेको थियो। उनीहरूको आँखा सर नजानुहोस् भनेर बोलिरहेको थियो।
कुनै एक समयमा ज्यादै शक्तिशाली देखिएको व्यक्ति कुनै अर्को समयमा ज्यादै कमजोर पनि हुन्छ। समयसँगै अघि बढ्दै जनुपर्छ भन्ने कुरालाई सम्झिँदै मैले आफूलाई रुनबाट रोकेँ। खाजा खाइसकेपछि सम्पूर्ण शिक्षकहरू, विद्यार्थीहरू अनि अभिभावकहरूसँग बिदा मागेर म आफ्नो बाटो फर्किएँ।
जीवन संघर्षले भरिपूर्ण हुँदो रहेछ। त्यहाँका विद्यार्थीले गरेको दैनिक संघर्ष देखेर मैले आफूले अहिलेसम्म केही संघर्ष गरेको रहेनछु जस्तो महसुस भयो।
जीवनले जतिसुकै परीक्षा लिए पनि धैर्यताको बाँधले आफूलाई बाँधेर अघि बढ्नुपर्छ। जीवन सङ्घर्ष नै हो हिम्मत नहारी बाधाहरूलाई पन्छाउदै हिँड्नुपर्छ भन्ने पनि मैले सिक्ने मौका पाएँ।