मैले जागिरे जीवनमा छ वर्ष धादिङमा बिताएँ। त्यो समयमा धादिङका धेरै गाविसहरू घुमे पनि अधिक समय उत्तरी भेगका लापा, सेर्तुङ र तिप्लिङ गाविसहरूमा बिताएको छु।
दुर्गम क्षेत्र विकास समितिले दुर्गम गाविसका दुर्गम गाउँवस्तीहरूमा भौतिक पूर्वाधारका संरचना निर्माण गर्नुका साथै शीपमूलक र आयमूलक कार्यक्रम संचालन गरेको थियो। त्यो बेला बाटोघाटो, पुलपुलेसा, खानेपानी, लघुजलविद्युत, सोलार, स्कुल, गुम्बा बनाउने काम हुन्थ्यो।
त्यो बेला धादिङबेसीबाट ३-४ दिनको पैदल हिँडेर जानुपर्थ्यो। बाटो निकै कठिन र घुमाउरा थिए। खच्चड हिँड्ने बाटो बनेकै थिएन। जनजीवन कष्टकर थियो। त्यसमाथि सशस्त्र द्वन्द उत्कर्षमा पुगेको थियो। तथापि हाम्रा योजना र कार्यक्रमहरूलाई कसैले अवरोध गरेन।
विकास सूचांकमा सबभन्दा कम चरम गरिबीको सूचीमा परेका ती गाउँहरूमा दुर्गम क्षेत्र विकास समिति र कादूरी एग्रिकल्चरल एड एशोसिएसन (ब्रिटिश संस्था) का कार्यक्रमहरूले कायापलट गरिदियो।
पाविल हिमालको फेदमा रहेको लिङ्जो (साविक तिप्लिङ्-९) र गणेश हिमालको फेदमा रहेका हिन्दूङ (साविक सेर्तुङ -९) र नेवेर (साविक लापा-९) गाउँहरूमा अहिले बिजुली तथा सोलार सुबिधा पुगिसकेको छ।
धादिङमा विदेशी पर्यटक जाने ठाउँ सोम्दाङ हो जुन रसुवाको गत्लाङ र धादिङको तिप्लिङ गाविस जोडिएको ठाउँ हो। समुद्री सतहबाट ३२७० मिटर उचाइमा रहेको सोम्दाङमा रसुवाको स्याफ्रुबेसीबाट गाडी चढेर खुर्पुलेक काटेर ३ घण्टामा पुग्न सकिन्छ।
यहाँ अहिलले स्तरीय होटेलहरू खुलिसकेका छन्। गणेश हिमाल क्षेत्र पोखरापछि दोश्रो धेरै पानी पर्ने ठाउँ हो भने गणेश हिमाल र लाङटाङ हिमाल क्षेत्र नेपालको होचो हिमरेखा भएको स्थल हो। सामान्यत: हिमरेखा भन्नाले बाह्रै महिना हिउँ रहने ठाउँ (५००० मिटर) बुझिन्छ, तर यहाँ ४५०० मिटरमा हिमरेखा रहेको छ।
सोम्दाङबाट दक्षिण-पश्चिमतर्फ २ घण्टा पैदलयात्रामा पाङ्साङ् पुग्न सकिन्छ जहाँबाट रुवी भ्यालीलाई राम्ररी चियाउन सकिन्छ भने अतुलनीय हिमाली दृष्यहरू अवलोकन गर्न सकिन्छ। त्यस्तै पश्चिमतर्फ मार्सोङ र उत्तरतर्फ गोम्साङ, लारी आदि स्थानहरूमा हिमाली जीवजन्तुहरू अवलोकन गर्न सकिन्छ।
गोम्साङ्भन्दा केही माथि नेपाल मेटल कम्पनी गणेश हिमाल सीसाजस्ता परियोजनाको खानी रहेको छ भने सोम्दाङमा कार्यालय रहेको छ। यही खानी उत्खनन गर्ने उद्देश्यले नेपाली सेनाले पञ्चायतकालमा नै १०५ किमी लामो त्रिशुली-सोम्दाङ सडक खनेको थियो। उक्त समयदेखि नै पर्यटकहरू पाल्दोर पिक लगायतका हिमाल चढ्न र हिमश्रीङ्खलाहरूको अवलोकन गर्न आइरहेका छन्।
धादिङको रुवी भ्याली क्षेत्रमा तामाङ जातिको बाहुल्यता रहेको छ। केही गाउँहरूमा गुरुङहरू र दलितहरूको बसोबास रहेको छ। चालिस, तीर, रिचेत, लाप्चेत र खादिङ गुरुङ गाउँहरू हुन् भन्ने चालिस, सेर्तुङ, तिप्लिङ र लापा गाउँहरूमा दलितहरूको बस्ती रहेको छ।
सेर्तुङ घर भएका पत्रकार मानछिरिङ तमाङले 'आँखु क्षेत्रका तामाङ् जाति' भन्ने पुस्तकमा धेरै कुरा खुलाएका छन्। अमेरिकाबाट आएर हालसालै उनले लेकका भेडागोठालोको कथा समेटेर 'अ डे इन लाइफ अफ ए हिमालयन शेफर्ड' नामक छोटो डकुमेन्ट्री फिल्म बनाएर लागेका छन्।
धादिङका उत्तरी भेगका दुर्गम गाउँवस्तीहरूको विकासमा कादूरी एग्रिकल्चरल एड एशोसिएसन भन्ने बेलायती संस्थाको ठूलो भूमिका रहेको छ। झोलुङ्गे पुल, खच्चड हिँड्ने बाटो, लघुजलविद्युत, सोलर प्यानल आदि क्षेत्रमा सराहनीय काय गरेको कादूरीले लापाका त्याङ्चेत, चपाङ्चेत, तिन्चेत, छोम्रोङ आदि गाउँहरूमा छाना छाउने सिमेन्टको टायल बनाई वितरण गरेको थियो।
यी सबै काममा स्थानीय श्रम शीपको उपयोग गरिएको थियो। सम्पन्न योजनाहरूको निरीक्षण उद्घाटन गर्न कादूरी संस्थाकी अध्यक्ष हेलिकप्टरमा आएर पाविल हिमालको फेदमा रहेको लिङ्जो गाउँमा अवतरण गरेकी थिइन्। संस्थाले लिङ्जोमा झोलुङ्गे पुल बनाएको थियो भने सोझै चालिस गाउँ निस्कने छोटो बाटो तथा पुलहरू बनाएको थियो। गाउँ लेहरूको स्वागत र आथित्य पाएर उनी निकै खुसी भएकी थिइन्।
गणेश हिमाल पर्यटकीय क्षेत्र मात्र नभई खानी भएको क्षेत्र पनि हो। गणेश हिमाल फेदीका पहराहरूमा पहिले रातो ढुङ्गा (लालमणि) पाइन्थ्यो भनी हिन्दूङका बुढापाकाहरू बताउँछन्। त्यस्तै लारी क्षेत्रमा निलो ढुङ्गा (नीलमणि, कुरुन्द) पाइने विश्वास गरिन्छ। सेतो ढुङ्गा (क्वार्ज) भने धेरै ठाउँमा भेटिएको लिङ्जोका बासिन्दाहरू बताउँछन्।
आँखु क्षेत्रमा कहाँको के प्रसिद्ध छ भन्ने अर्थमा यसो भन्ने गरिएको पाइन्छ– झार्लाङको पहिरो, लापाको कुकुर, सेर्तुङको केटा, तिप्लिङको केटी अर्थात् झार्लङमा २०११ सालदेखि सुख्खा पहिरो जान थालेको र पहिरो बढ्दै गएर धेरैको घरबारी बगायो।
गाउँलेहरूले कतैबाट सहयोग नपाएपछि राजालाई निवेदन दिए। राजा वीरेन्द्र आफै हेलिकप्टरमा आएर पहिरो निरीक्षण गरे र विस्थापितहरूलाई कञ्चनपुरको पुनर्वास क्षेत्रमा लगेर राखियो। लापामा भोटे कुकुर राम्रो पाइन्छ। सेर्तुङका केटाहरू पढेका र देश विदेश पुगेका छन्। तिप्लिङका केटीहरू सुन्दरी हुन्छन् भनिन्छ।
कर्मचारीहरूलाई स्थानीय तथा दुर्गम भत्ता उपलब्ध गराउने हिसाबमा आँखु उत्तरको क्षेत्रलाई दुर्गम मानिएको छ। यस हिसाबले सल्यानटार, त्रिपुरेश्वर क्षेत्रका कर्मचारीले थप सुबिधा पाउँछन् भने आँखुवारि रहेका झार्लाङ, सेर्तुङ र तिप्लिङ क्षेत्रका कर्मचारीहरू दुर्गम ठाउँ भए पनि थप सुबिधाबाट वञ्चित रहेका छन्।
त्यस्तै दैनिक भ्रमण भत्तामा ५० प्रतिशत थप सुबिधा पाइने ठाउँ धादिङको सेतीबास उत्तरको क्षेत्र भनी आर्थिक प्रशासन नियमावलीमा उल्लेख भए तापनि धादिङमा हाल उक्त ठाउँ छैन। धेरै पहिले हाल गोरखा जिल्लामा रहेका मान्बु, केरौजा, काशिगाउँ सिर्दिबास, बिही, चुम्चेत र छेकम्पार गाविसहरू धादिङ जिल्लामा रहेका थिए।
गुरुङ जातिको बाहुल्य रहेका उक्त गाविसहरू गाभिए र सिर्दिवास गोरखामा पर्न गयो। यस विषयमा यो पङ्क्तिकारले गोरखापत्रमा पठाएको पत्र पुरस्कृत पनि भएको थियो।
अहिले आएर दुर्गम गाउँहरू पहुँचको हिसाबमा मात्र दुर्गम रहेका छन्। विद्यालय लगायतका सरकारी कार्यालयहरूमा स्थानीय जनशक्तिको उपयोग हुन थालेको छ। खेतीपातीको काममा पर्मवर्म नै चलिरहेको छ। यो नै हिमाली भेगको विशेषता हुन पुगेको छ।
चीन सरकारले धेरै पहिलेदेखि नै यससँग सिमाना जोडिएका गाउँपालिकाहरूलाई खाद्यान्न, जस्तापाता, कम्प्युटर आदि वस्तुगत अनुदान सहयोग दिँदै आए पनि धादिङकाका साविकका गाविसहरूले यो सुविधा पछि मात्र पाएका हुन्।
चीनसँग थोरै मात्र सिमाना जोडिएको धादिङ जिल्लालाई चीनियाँ अधिकारीहरूले हेलिकप्टरमा आएर अवलोकन गरेका थिए र लापा, तिप्लिङ र सेर्तुङले सुबिधा पाउने भएका थिए। अहिले आएर चीन सरकारले चीनको सीमावर्ती गाउँपालिकाहरूमा १-१ वटा परियोजना संचालन गर्ने भएको छ। सो कार्यको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुदान दिने भएको छ।
अहिले गणेश हिमालको फेदमा धादिङमा रुबीभ्याली गाउँपालिका छ भने रसुवातिर आमाछोदिङमो गाउँपालिका रहेको छ। स्याफ्रुबेसीबाट सोम्दाङ हुँदै गणेश हिमाल बेसक्याम्प गोम्साङसम्म सडक बनेको छ। त्यस्तै सोम्दाङबाट तिप्लिङसम्म मोटरबाटो खुलिसकेको छ।
धादिङ बेसीबाट पनि झार्लाङको माथिसम्म सडक पुगिसकेको छ। पर्वतारोहीको लागि मात्र होइन, साहित्यकार र पत्रकारको रोजाइमा समेत गणेश हिमाल पदयात्रा रोजाइमा पर्न थालेको छ। हजुर पनि पुग्ने होइन त एकपटक सोम्दाङसम्म?