मंसिर ४ गते बिहानैदेखि धेरैले सामाजिक सञ्जालमा निलो मसी अंकित बुढी औंलाको तस्वीर सेयर गर्दै लेखेँ– मैले त भोट खसालेँ, तपाईंले खसाल्नु भयो?
मैले पनि औँला रङ्गाएकै थिएँ। भोट पनि खसालेकै थिएँ तर सामाजिक सञ्जालमा सेयर गर्दा मलाई आचार संहिता लाग्थ्यो किनकी म स्वयम् निर्वाचन मतदान अधिकृतको रुपमा खटिएको थिएँ।
धनगढी उपमहानगरपालिकास्थित मतदान केन्द्र– विशालनगर। नामअनुसार मतदाता पनि विशाल। तथ्यांकअनुसार धनगढीको सबैभन्दा बढी मतदाता रहेको करिब साढे आठ हजार मतदाता संख्या।
निर्वाचन आयोगको कार्यालयले मतदान केन्द्र निर्धारण गर्ने वित्तिकै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख र म दुई जना कुदेरै मतदान केन्द्र पुग्यौं। मतदान स्थल छिर्ने वित्तिकै शिक्षाका हाकिमले भनिहाले– 'तराई क्षेत्रमा यति थोरै चउर भएको गरिब स्कुल पहिलो पटक देखें।'
चउरको आकारमा गरिब भएको स्कुल मतदान केन्द्रको आकारमा भने धनी थियो। यति सानो चउरमा ८/८ वटा मतदान तोकिएको थियो। कर्मचारी र प्रहरीले मात्रै भरिने त्यो चउरमा मतदाताको भिड कता राख्ने भन्ने विषय गाह्रो भइरहेको थियो। यो कुरा मतदान अधिकृतहरू मात्र होइन, निर्वाचन कार्यालयका हाकिमहरू पनि तनावको विषय थियो।
'जब एउटै मतदान केन्द्रमा चार–चार जना इन्जिनियरहरू मतदान अधिकृत खटिएका छन् भने नाप जाँचको के समस्या?,' एकजना इन्जिनियरले भने।
हामीलाई त्यस्तै भयो। संघीय आयोजनाका कार्यान्वयन इकाईका चार जना इन्जिनियरहरूले एक इन्च पनि थपघट नहुने गरी 'क' देखि 'ज' सम्म आठ वटा मतदान केन्द्र भाग लगाए। म्यादी प्रहरीले बाँसको खाँबो गाडे। कर्मचारीहरूले डोरी लगाए। निर्वाचन आयोग लेखेको गुलावी छेकबार राखे। टाँस्नु पर्ने सबै कागज टाँसिसकेपछि स्कुलको रुप रङ नै बदलियो। एकाएक मतदान केन्द्र तयार भयो।
मंसिर ४ गते ७ बजे निर्धारित समयमा मतदान कार्य शुभारम्भ गरियो। मतदाताहरूको भिडलाई पर्खाल बाहिर लाइन लगाएर प्रहरीले सहजता प्रदान गरे। मतदान कार्य सोचेभन्दा धेरै सजिलो भयो।
करिब ४ बजेतिर एकजना मतदाता आफ्नो नाम रुजु गरिसकेपछि औंलामा मसी लगाउने क्रममा बम्किएर मतदान स्थल बाहिर निस्के। रिसको आवेशलाई नियन्त्रण गर्न चउरमा दौडँदै कराउँदै थिए–
मलाई कालो मसी लाउने?
किरिया बसेको मान्छेको औंलामा रङ पोत्ने?
कर्मचारीलाई केही नसिकाउने?
बरु भोट हाल्दिनँ, मरिगए नङमा मसी लाउँदिनँ।
उनको आवाजले सबैको ध्यान खिच्यो। समस्या के रहेछ भनी नङमा मसी लगाउने जिम्मा पाएकी स्वास्थ्य स्वयमसेविका दिदीलाई सोधेँ। दिनभरि हँसिलो देखिने ती स्वयमसेविका अँध्यारो अनुहार लगाउँदै भनिन्– 'मसी लगाउन बुढी औंला के मागेको थिएँ, सातो जाने गरी गाली खाएँ।'
उनले गुनासो थपिन्– 'भिडभाडमा नङमा मसी लगाउने कि लगाएको लुगा हेर्ने?
मतदाता किरिया बसेको नबसेको कसरी थाहा पाउने?
किरिया बसेको अवस्थामा के गर्ने?
सरले पनि सिकाउनु भएन नि।'
उनले एकै स्वरमा भनिन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतदान निर्देशिका मैले यसरी पढेको थिएँ–
दफा– ४५: मतदाताको औंलामा चिनो लगाउनु पर्ने: (१) दफा ४४ बमोजिम तथ्याङ्क फाराममा महिला, पुरुष वा अन्य के हो जनाई सकेपछि मतदाताको तथ्यांक फाराम भर्न खटाइएको महिला स्वयंसेवकले नै मतदाताको बायाँ हातको बुढी औंलामा नङ र मासुको जोर्नीमा नमेटिने मसी भएको मार्करले चिनो लगाउनु पर्नेछ।
(२) उपदफा (१) बमाजिम मतदाताको बायाँ हातको बुढी औंला नभएमा दायाँ हातको बुढी औंलामा चिन्ह लगाउनु पर्नेछ। दायाँ हातको बुढी औंला नभएमा बायाँ हातको चोर, माझी, साइली र कान्छी औंलामध्ये जनु औंला ठिक छ क्रमशः ती मध्येको एक औंलामा चिन्ह लगाउनु पर्नेछ।
(३) उपदफा (२) बमोजिमको कुनै औंला नभएमा दायाँ हातको औंलामा सोही बमोजिम क्रमअनुसार चिन्ह लगाउनु पर्नेछ।
(४) कुनै मतदाताको दुवै हात रहेनछ भने मतदान अधिकृतले सो व्यहोरा मतदाता नामावलीमा जनाई मतदान गर्न दिनु पर्नेछ।
दफा सकियो तर किरिया पुत्रीको विषयमा (ङ) दफा उल्लेख थिएन। यो विषय उल्लेख गर्नुपर्ने आवश्यक भए नभएको कुरा निर्वाचन आयोगले जानोस् तर मेरा अगाडि सेतो वस्त्रधारी मतदाता अझै कराइरहेका थिए– 'तपाईंले मेरो भोट दिने अधिकारलाई वञ्चित गराउने?'
मतदान अधिकृतको रुपमा जिम्मेवारी लिइसकेपछि दलका प्रतिनिधिहरूको रोहवरमा मैले निर्णय गरें– तपाईं भोट हाल्नुस् तर प्रत्येक मतपत्रको अर्ध कट्टीमा 'किरिया पुत्री' भनी दस्तखत गर्नुस्।
त्यसपछि उहाँले नङमा मसी नलगाई भोट हाल्नुभयो।
के तपाईंहरू पनि नङमा मसी नलगाई भोट हाल्नुभयो?
(लेखक राष्ट्रिय विधिविज्ञान प्रयोगशाला कैलाली शाखाका कार्यालय प्रमुख हुन्।)