कसैले सुन्छ कि, देख्छ कि, चाल पाउँछ कि भनी आफ्नो चाललाई हावाको स्पर्शभन्दा पनि सूक्ष्म पारेर खुट्टाको पैतलालाई जमिनमाथि कपासको डल्लो राखे सरी, चुकुललाई एक नवजात शिशुको निधारमा सुत्केरी आमाको ममतामयी औँलाहरूले सुम्सुमाए झैँ सार्दै ढोकालाई निर्बलताका साथ उघारेँ।
मानौँ घडीमा घण्टाको सुई सरेको पत्तै नपाए सरी एकछिन आफ्नो श्वास प्रश्वासको गतिविधिलाई पनि ठप्प रोकेर खोलेँ र आफू बाहिर निस्केपछि पुनः ढोकालाई पूर्ण सावधानीका साथ ढपक्क ढाकिदिएँ।
अब एक मुठ्ठी लामो सास फेरेर शरीरमा जीवन भर्दै, खुट्टाका चालहरूलाई शून्य आभासमा अगाडि सार्दै, दायाँबायाँ हेर्दै त्यहाँबाट आफ्नो उपस्थितिलाई मैले शून्य बनाएँ।
जति-जति अगाडि बढिरहेको थिएँ, त्यति-त्यति मलाई पीडा बोध हुँदै थियो। मंसिर महिना बिहानीको सिरेटोले ज्यानलाई थुरथुर पारिरहेको थियो। जति पाइला अगाडि बढाउँदै गएँ, त्यति-त्यति नै आफैमाथि प्रश्नहरू तेर्साउँदै गएँ।
जति-जति टाढा जाँदै थिएँ, त्यति-त्यति आफ्नो हालतलाई देखेर आफैलाई दया लागिरहेको थियो।
पहिलो पटक मलाई आफ्नो मात्र माया लागिरहेको थियो। मानौँ आफूमाथि भएको अत्याचारको विरोध गर्न आफ्नै आत्माले कुनै नयाँ रुप लिई मेरो ढाडमा ढाडस दिएर 'अब भयो, तैँले धेरै सहिस् अब अरू नाई' भनेर मलाई हौसला दिएजस्तो।
अनेकौँ प्रश्न उत्तरको संवाद मभित्र चलिरहेको थियो। कहिले दिमाखले सुन्यो त कहिले मनले बुज्यो। तर म बाहिरबाट हेर्दा एकाराति खाली खुट्टा जीउमा एकसरो पातलो लुगा त्यही पनि ठाउँ-ठाउँबाट फाटेको (फटाइएको) न हातमा झोला, न सम्पर्कका लागि मोबाइल, न त पैसा नै। म पूर्ण रुपमा बेवारिस थिएँ।
एक घर भित्रको युद्धबाट हारेर संसार जितुँला जस्तो आँट लिएर निस्किएकी एक घाइते लडाकू थिएँ म। हिजोसम्म अर्काको घरलाई आफ्नो संसार ठानी मेहनत र पसिनाले फुलझैँ फुलाएको बगैँचाबाट उखलेर मिल्काएको झारको गुजुल्टो जस्तो बन्यो जीवन।
न त बगैँचा हुर्कन पायो, न कसैले उठाएर उसको मर्न लागेको जरामा मल, जल र संरक्षण गरी हुर्काउने चेस्टा गर्ने भयो। उखेलिएर फालेको झार विस्तारै ताप, राप, चाप र अभावबाट पहेंलिँदै सुक्छ। ठ्याक्कै मेरो जीवन पनि त्यस्तै हुँदैछ जस्तो आभास भयो।
करिब ४ किलोमिटरको हिँडाइपछि घामले पहिलो किरणका साथ आफ्नो उपस्थिति जनाएको थियो। मानिसहरू फाट्टफुट्ट आफ्नो बिहानको दैनिकी गर्न थालेका थिए। हुन त त्यहाँ मलाई कसैले चिन्ने कुरै थिएन।
तर पनि त्यो आफ्नो बेहाल अवस्था देख्दा कोही चिनेको मान्छेले देख्छन् कि, ओई के भयो?, कहाँ जान लागेको भनेर सोध्छन् कि? यदि कसैले चिनेर सोधिहाले भने मैले के भन्ने होला भनेर मनमा छुट्टै बेचैनी र त्रास थियो।
मानौँ मेरो आफ्नै देश र भेषमा पनि शरणार्थीको जस्तो पहिचान पलमै बदलिएको थियो। मसँग केही जवाफ थिएन। म कहाँ जादैछु? म को हुँ? म के गर्दैछु? मेरो जीवनको के उदेश्य हो? म केका लागि बाँच्ने? म आफ्नो बचाउको लागि कसको शरणमा जाने? मान्छेले मलाई के भन्लान्? समाजले मलाई के भन्ला? यदि हराए भने कसले खोज्ला? के साँच्चै मलाई खोज्ने पनि कोही होलान् र?
माइतीले भन्लान् छोरी आफ्नै घरमा छे। पराई घरले भन्लान् 'खै गैहोली नि आफ्नै माइतीघर। सायद दुवै पक्ष एकअर्काको जिम्मेवारी ठानी ढुक्क हुन्छन् होला।
सायद त्यति बेलासम्म त मलाई खोजी गरी, मेरो बहकिएको मनलाई शान्त पारी मेरो आलो घाउमा मलमपट्टी गरी, मलाई बाँकीको जीवन सुन्दर छ है, बाँच्नुपर्छ भन्ने इच्छाशक्ति बढाउन पनि ढिला भैसक्छ होला। सायद पराईकी बुहारी र पराईकी छोरीको भराभरमा मेरो जीवनको भर नभएको कसैले भर पाउँदैनन् होला।
यस्ता कयौँ प्रश्नका उत्तर फर्काउँदै म अगाडि बढिरहेँ र गहिरो सोचमा डुबेँ। माइतीघरमा माया छ तर सधैँ बस्न पाउने अधिकार छैन। पराई घरमा आजीवन पाहुना सरह बस्न पाउने अधिकार त छ तर भित्री माया छैन, अपनत्व छैन।
पराईको घरमा आफ्नो हरेक गाँस र बाँसको मूल्य चुकाउनु पर्छ, श्रम र सीप खर्चिनु पर्छ। दमन, हिंसा, अपमानलाई सहनशीलताले निभाउनु पर्छ। जसबापत एक नारीले खोज्ने भनेको आत्मसम्मान, माया र सुरक्षा मात्र हो।
बिहानीको कलिलो मधुर घाम दिउँसको दोपहरमा पोल्ने भैसकेको थियो। मेरा बिना गन्तव्यले हिँडेका पाइलाहरूले गाउँ, बस्ती, बजार, जंगल, घुम्ती, उकाली, ओराली सबै थुम्काहरू पार गरी थकित शरीरलाई विश्राम दिन थुचुक्क एक फराकिलो ढुङ्गामाथि बसे।
टोलाएर हेरिरहँदा पारिपट्टि सानो झुलुङ्गे पुल देखिन्थ्यो। ठूला-ठूला, काला फुस्रा डाँडाकाँडा र केही घना जङ्गलका पहाडहरू टाढा-टाढाबाट मलाई नै चिहाएर हेरेजस्तो देखिन्थ्यो।
सरल बगेको नदी सफा र शान्त देखिन्थ्यो। म एकटकले यी नै निर्जीव वस्तुहरू भित्रको जीवनलाई निहालिरहेको थिएँ। मैले पहिलो पटक यो धर्ती, प्रकृतिलाई महसुस गरेकी थिएँ। मानिसको सजीव जीवन, निर्जीव वस्तुको मोहले कत्ति पत्थर मन बनाइदिन्छ भनेर कल्पना गरिरहेको थिएँ।
घण्टौँघण्टा सम्मको बसाइपछि ढाड पनि पाट्टिएको महसुस गरेपछि एकछिन अढेस लगाएर हरियो दुबो माथिको पखेरोमा पल्टिएँ। सायद ३ बजिसकेको थियो होला। त्यतिबेला घाम पश्चिम दिशातिर लम्कँदै थियो र उसको ताप पनि विस्तारै मन्द हुँदै थियो।
खुला आँखाले खुला आकाशलाई एकटकले हेरिरहँदा आफू स्वतन्त्र भएको आभास भयो। आफू पनि माथि-माथि उडिरहेको चराजस्तै उडिरहेको आभास भयो। सायद पहिलो पटक यो जीवनलाई यो जगतसँग जोडेर हेरिरहेकी थिएँ।
मलाई मेरा आँखाले हेरिरहेको पहाड, पुल, आकाश, बादल, वन सबै प्यारो लागिरहेको थियो। मेरो कानले सुनिरहेको त्यो नदीको आवाज पनि प्यारो लागिरहेको थियो। कानमा गुन्जिने चराचुरुङ्गीको आवाज पनि आफ्नो नजिकका कोही जस्तो लागिरहेको थियो। तर त्यसरी भुइँमा पल्टिँदा सधैँ मेरो छेउमा पल्टिने मेरी नाबालक छोरीलाई झल्यास्स सम्झिएँ।
मन अमिलो भयो। आकाश कालै भएर मडारिए झैँ भयो। त्यो घनघोर सुनसान जंगलको डाँडामा आफूलाई पीडामा व्याकुल अवस्थामा पाएँ। छाती भित्रको मुटु नै निचोरिने झैँ गरी घुडा टेकी, टाउको जमिनमुनि दोबार्दै डाँको छाडेर रुन थालेँ। आफ्नो टाउको र छाती पिट्दै चिच्याएँ।
त्यहाँ मलाई देख्ने र सुन्ने कोही थिएनन्। त्यसैले पनि म निसंकोच आफ्नो मनमा दबिएका सबै पीडालाई बाहिर फाल्दै थिएँ।
आफ्नो शरीरमा लागेका निला डामहरूलाई सुमसुमाउँदै आफूमाथि अन्याय बोध गरेँ तर सँगसँगै आफ्नो काखको डेढ वर्षे छारीमाथि के घटिरहेको होला भन्ने पीडाले पोलिरहेको थियो। छोरी कत्ति रोइरहेकी होली, कसैले खान दिए होलान् कि दिएको छैनन् होला?
मबिना छोरीलाई कसले सम्हाल्ला? राम्रोसँग बोल्न नसक्ने छोरीले मलाई 'मम्मी खै?' भनी कसरी सोध्ली? यी प्रश्नहरूले छिनभरमै मलाई नै अपराधी जस्तो, मानवता नभएको निर्दयी आमाको घोषणा मनले गरिदियो।
तर दिमाख पनि हार नमानी मनसँग लड्न थाल्यो। दिमाखले मनलाई प्रस्टाउँदै भन्यो- म त्यसै रहरले घरदेखि निस्किएको हो त?
के म आमा हो भन्दैमा मैले सधैँको घरेलु हिंसा चुपचाप सहनु?
बिना कारण ममाथि गर्ने हातपात, कुटपिट र पशुजन्य व्यवहार हाँसेरै स्वीकार्ने?
मलगायत मेरो माइती, बुवा, आमाप्रति बोलिने निच शब्द र छुद्र व्यवहारको कुनै प्रतिकार नगर्ने?
अब म त्यस्तो व्यक्तिसँग बाँकीको जीवन कसरी बिताउन सक्छु? म हरेक दिन हिंसाको शिकार हुनुभन्दा त आफैले केही गरेर देखाउँछु। म आफ्नो पाखुरामा आफ्नो र आफ्नो छोरीको पेट पाल्न सक्छु। भोलि मरेर अशान्त मन लिई भट्किएको आत्मा बन्नुभन्दा त २/४ दिन भोकभोकै पनि संघर्ष गर्न सक्छु।
जिउँदो मान्छे हुँ, म अन्यायविरुद्ध बोल्न सक्छु, यो सासले साथ दिउन्जेल। शरीरमा तातो रगतको गति दौडिन सकुन्जेल म मेहनत र कर्मले आफ्नो पहिचान कोर्न सक्छु। चुलोचौको र चार दिवार भित्रको मानसिक, शारीरिक यातनालाई पन्छाएर म खुला आँखाले संसार हेर्न सक्छु। म एक्लै जन्मिएर म एक्लै मर्नेछु भने मैले मेरो जीवनयापनको जीम्मेवारी किन एक्लै लिन सक्दिनँ।
'हरेक दिनको कुटाइ, गालीगलोच र हातपातबाट मेरो बच्चीले के सिक्ने? उसको हुर्कँदै गरेको बाल मस्तिष्कमा कति असर पारिरहेको छ होला? तँलाई थाहा छ?' दिमाखले दिएको ठोस कारणहरूबाट मन स्तब्ध भयो।
अब के गर्ने? म अब कहाँ जाने? साँझ पर्न थालिसक्यो, म कहाँ गएर बस्ने? यी प्रश्नहरूलाई मनमा केलाउँदै म जुरुक्क उठेँ र छिटोछिटो बजारतिरको बाटो लागेँ। मसँग सुनको औँठी थियो, त्यही बेचेर केही दिन गुजारा गर्ने निर्णय गरेँ।
करिब ५/६ बजेतिर औँठी बेचेर जम्माजम्मी २० हजार मेरो हातमा थियो।
म अब के गर्ने भन्ने दोधारमा परेँ। मनमनै हिसाब गर्न थालेँ। एक महिनाको भाडा ५ हजार, खाना खर्च ५/६ हजार, छोरीलाई ल्याउँछु र कुनै सस्तो मन्टेश्वरीमा हाल्दा लगभग २५००/३००० लाग्ला। छोरीको लागि खाना खर्च २००० जतिमा व्यवस्था गरेँ भने एक महिनाको लागि ढुक्क हुन्छ। एक महिना मैले कसो जागिर भेट्दिनँ होला र?
एक चौतारामुनि भर्खरै किनेको १२० रुपैयाँको चप्पलमाथि बसेर, ५०० को पछ्यौराले आफूलाई बेर्दै आफ्नो भविष्यवाणी र भावी योजना बनाउँदै थिएँ। तर त्यति साँझमा मैले कोठा भाडाको बन्दोबस्त गर्न सक्ने कुरै थिएन। म कहाँ जाने भन्नेमा मसँग २/३ वटा विकल्प थियो।
१. कुनै आफन्त वा साथीभाइकोमा एक बास बस्ने र अर्को दिन कोठा भाडाको प्रबन्ध मिलाउने।
२. माइत जाने र सारा बेलिवृत्तान्त खोल्ने। सायद सबै सुनेपछि डिभोर्सको सम्भावना, आमा बुवाको मनमा ठेस लाग्ने, समाजबाट अपहेलित हुनुपर्ने, नाबालक छोरी बुवाको मायाबाट बन्चित हुने।
त्यो म अहिले तत्काल निर्णय लिन सक्ने अवस्थामा थिइनँ।
३. नजिकैको सामान्य सस्तो होटलमा बस्ने र भोलि आफ्नै बस्ने ठाउँको तयारी।
४. या त बिहान जहाँबाट भागेर आएँ, चुपचाप त्यही फर्कने। दुई/चार लात र गालीगलौच खाने, दिनभरि कहाँ गइस्? के गरिस्? कोसँग बसिस्? भन्ने शंकाका प्रश्नहरूको जवाफ दिन नसक्दा अर्धचेतमा पुग्ने गरी कुटाइ सहँदै, तिनै निला डामहरू र पीडाले कुँडिएको मनसँगै नयाँ दिनको सुरुआत गर्ने।
तर जुन जुनुनले म केही गरेर देखाउँछु, म आफ्नो खुट्टामा उभिएर स्वाभिमानका साथ बाँच्न सक्छु भनी पैनका साथ उचालेको खुट्टा भाँच्नु सरह थियो। अन्ततः मैले एक बाँस होटेलमा नै बस्ने निर्णय गरेँ।
म मनमा अनेकौँ बेचैनीको बोझ बोक्दै सामान्य देखिने, पारिवारिक वातावरणको होटेल खोज्दै हिँडें। तर भित्रभित्रै आफूले लिएको निर्णयले भोलि आफूलाई थप अप्ठ्यारो पार्ला जस्तो लाग्यो।
गाउँमा प्रायः सुनिन्छ- फलानी त होटेलमा जान्छे अरे, फलानी त घरबाट भागेर होटलमा प्रेमीसँग बसी अरे।
खै किन महिलालाई घरभन्दा बाहिर जाने वित्तिकै नराम्रो संज्ञा दिइन्छ। घरमा झैँ-झगडा परी निस्किएको पुरुष एक हप्ता, महिना, वर्ष बाहिर बसेर गए पनि कसैले प्रश्न उठाउँदैनन्। न त उसको चरित्रमा कुनै शंका नै गरिन्छ। तर एक महिला हिंसाबाट आत्तिएर, मानसिक तनावमा मर्छु कि बाँच्छु भन्ने बेहोसीमा निस्किएर एक रात कतै शान्तिसँग, सुरक्षितसँग बसेर भोलि घर फर्कदा किन उसमा अनेक प्रश्न तेर्साइन्छ? किन त्यति शंका गरिन्छ?
एक महिला कुनै विपदको घडीमा सडकको असुरक्षाभन्दा होटलको बसाइ सुरक्षित होला भन्ने उसको निर्णयलाई घरपरिवार र समाजले ऊ त होटल बास बसेर आई, कसको अंगालोमा बेरीएर आई, अब त्यस्तालाई घरभित्र पस्न दिनुहुन्न, यस्ता रात बिताउनेलाई स्वीकार्नु हुन्न भन्ने मानसिकता समाजको अझै हटेको छैन।
म लाचार भएर त्यहाँ उभिएँ। होटेलको गेट नाघेर भित्र पस्न पाइला काँपे। मनमा त्रासको पहाड चुलियो र सोचेँ, म घरेलु हिंसाबाट बच्न अझ थप सामाजिक तिरस्कार र आफ्नो चरित्रहत्या गराउन तयार थिइनँ।
मनमनै सोचिरहेँ, मजस्ता हिंसाबाट विचलित भएर हिँडेका अवला महिला दिदी बहिनीलाई बाँस, गाँस र आत्मसम्मान सहितको सुरक्षित घर सरकारले हरेक टोल, सहरमा व्यवस्था गरिदिएको भए सायद धेरै दिदीबहिनीले गर्ने आत्महत्या कम हुन्थ्यो होला।
अन्ततः म पुनः त्यही घर पुग्ने निर्णय गरेँ। अटो चढेँ र चुपचाप एक निर्जीव पत्थर समान मौनतामा म फर्किएँ। मलाई छोरीको माया र जिम्मेवारीले जिउँदै फर्कायो। मलाई समाजको डरले लाचार पारी फर्किएँ।
हरेक ४ जना महिलामा १ जना महिला घरेलु तथा यौन दुर्व्यवहारको शिकार हुन्छन्। शिक्षित हुन् या अशिक्षत महिला, समाजमा आफ्नो हुने बेइज्जत, माइतीको इज्जत जाने डरले घर भित्रको हिंसालाई चुपचाप सहन्छन्। साथीभाइ र माइतीको आत्मसन्तुष्टि र खुसीको लागि आफू खुसी र सुखी भएको झुटो नाटक गर्दछन्।
हामीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सचेतनाका लागि एक सडक नाटक प्रस्तत गर्न समूहमा काल्पनिक कथाको छलफल गर्दागर्दै उनले आफ्नो वास्तविक कथा सुनाएकी थिइन्। उनको कुरा सुन्दा हामी सबैका आँखा रसाए, भाव विह्वल भयौँ।
अन्तमा उनले लामो श्वास फेर्दै टुङ्गाइन्- 'आत्मसम्मानको लडाइँमा निस्केका मेरो पाइला आधा बाटो हिँडेर फर्किए।'