पेसाले म एक बैंकर हुँ। बिहान १० बजे अफिस छिर्ने समय निश्चित हुन्छ तर घर फर्किने समय कहिल्यै निश्चित हुँदैन। कहिले ७ त कहिले ८ बजे फर्किने बानी परिसक्यो।
५ बजे बैंकबाट निस्केर घर पुग्दा कस्तो हुन्छ, त्यो अनुभूति गर्न केही काम विशेष छ भने मात्र मौका पाइन्छ। नत्र उही अँध्यारोमा 'यस्तै हो' भन्दै घर छिर्ने बानी परिसक्यो।
असोज ५, २०७९ को दिन अलिक फरक थियो। ३/४ दिन अगाडि नै हाम्रो युनिट विवेक सरलाई मैले 'छुट्टी मिलाइदिनू होला है' भन्दै आग्रह गर्दै आएको थिएँ।
दसैंको चापका कारणले काम थुप्रै नै थियो अफिसमा। हामी सबै कर्मचारी नै व्यस्त हुन्थ्यौँ बिहानदेखि बेलुका ७/८ बजेसम्म।
यस्तो गाह्रो अवस्थामा बिदा दिन उहाँलाई पनि कठिन नै थियो। मलाई पनि अलिक अशंकोच नै लागिरहेको थियो। त्यही पनि बेलुकी ५ बज्न साथ छिट्टै नै घर जानको लागि रोक्नु भएन सरले। म फटाफट पठाओ बुक गरेर घर हिँडिहालें।
घर आउनसाथ बैठक कोठा छिर्दा कोठाभरि 'मायाको चिनो' लेखिएका डब्बाहरू थिए र २/३ वटा फूलका मालाहरू पनि। मेरो ध्यान ती उपहारहरूभन्दा पनि बढी छेउपट्टि मलिन अनुहार बनाएर सोफामा बसिराख्नु भएको मेरो बाबा र आमापट्टि गयो।
जानेबित्तिकै बाबालाई अंकमाल गरेँ। बाबा खासै बोल्ने मूडमा हुनुहुन्थेन। सधैँ हाँसिराख्ने अनि मलाई अफिसबाट घर पुगेपश्चात 'चिया खाम छोरी' भन्ने बाबा त्यो दिन मौन हुनुहुन्थ्यो।
न चिया थियो न बाबाको मुस्कान, सब विलीन थिए त्यस दिन। हो, त्यो दिन मेरो बाबाको ३३ वर्षको जागिरपश्चातको अवकाशको दिन थियो।
पेसाले मेरो बाबा एक सरकारी जागिरे। उहाँको पाइला पछ्याउँदै म आज यो स्थानमा आइपुगेँ। बाबाले डोर्याउँदै यहाँसम्म ल्याउनुभयो भन्दा फरक नहोला। आफ्नो कामलाई पूज्ने अनि एउटा इमान्दार कर्मचारी हुनुहुन्थ्यो बाबा।
अफिसमा पनि उहाँ सबैको प्यारो पात्र हुनुहुन्थ्यो। कसैलाई भनी बिझ्ने गरी नबोल्ने साथै सहयोगी भावनाका मेरो बाबाको अफिसमा बिदाइले धेरै जनाको मन पक्कै पनि खल्लो बनायो।
बैंकमा बिदा मिलेको भए मलाई पनि बाबाको बिदाइ कार्यक्रममा सहभागी हुने ठूलो रहर थियो तर हुन सकिनँ। सोचेजस्तो सबै मिलाउन गाह्रै हुनेरहेछ।
मेरो भाइ उत्सुक हुँदै बाबाको उपहारहरू एक-एक गरी खोल्दै थियो। बाँकी हामी ममी, बाबा र मलाई ती उपहारप्रति कुनै चासो थिएन। खासै बोल्न सकिनँ म पनि।
यति चाहिँ भनेँ- 'केही छैन बाबा, यो जिन्दगीको एउटा पाटो सकियो, अब बाँकीको पाटोलाई खुब मज्जाले जिउनु पर्छ। घुम्न जाने हामी अनि खुब टिकटक बनाउँला बाबा र छोरी मिलेर। चिन्ता नगर्नुस् म छु, अब पालो मेरो।'
बाबा र ममी दुवै मुसुक्क हाँस्नुभयो।
'आमा सत्य हुन् भने बाबा विश्वास, आमा धर्ती हुन् भने बाबा आकाश' यो भनाइप्रति मेरो पटक्कै बिमत छैन। दुःखको पोका मनभित्र लुकाएर सन्तानका अघि मुस्कुराइरहने मेरा प्यारा आमाबाबाको उपस्थितिले ममा छुट्टै जोश भरिदिन्छ, केही गर्ने आँट थपिदिन्छ।
मलाई अझै पनि याद छ, त्यो दिन बिहानैदेखि बाबा पटक्कै खुसी हुनुहुन्थेन। बाबाको अनुहारको रङ्ग फिक्का थियो भन्दा फरक नपर्ला। प्रायः हामी दुवै जना १० बजेको अफिस भ्याउने गरी सँगै घरबाट निस्किन्थ्यिौं। आधा बाटोसम्म बाबाले मलाई सधैँ छोडिदिनुहुन्थ्यो।
त्यस दिन पनि छोडिदिनुभयो र मौन मेरा बाबाले एक्कासी भन्नुभयो- 'आजसम्म त छोरी तिमीलाई मैले डोर्याउँदै हिँडें, भोलिबाट तिमी एक्लै हिँड्न सिक्नुपर्छ। म पनि बुढो भइसकेँ, लाइसेन्स निकाल। यसरी सधैँ म पनि तिमीलाई अफिस छोड्न नसकुँला। अब मलाई छेउमा राखेर हिँड्ने पालो तिम्रो।'
बाबाका यी तर्कहरू सुनेर एकछिन मौन भएँ। कता-कता खल्लो पनि लाग्यो। कारण, केही समय अवधिसम्म डोर्याउँदै हिँड्ने बाबा पनि थाक्नु भएको पाएँ। सधैँ हात समाउँदै डोर्याउन सम्भव पनि हुँदैन। त्यसैले त जिन्दगीको एकल यात्री स्वयम आफू भनिएको होला।
मैले मेरो बाबाको आँखामा आँसु ठ्याक्कै भन्नु पर्दा २४ वर्षअगाडि मेरा हजुरबाबा स्वर्गीय हुँदाको क्षणमा देखेको थिएँ। त्यसपश्चात कहिलै बाबाको अनुहार मलिन देखिनँ। तर त्यस दिन बाबाको गाडी चलाई अलिक स्थिर थिएन।
उहाँको आँखा रसिला थिए, नढाँटी भन्नुपर्दा आँसु पनि झरे उहाँको आँखाबाट। मैले नदेखे जस्तो गरेँ, उहाँले पनि थाहा नपाए जसरी पुछ्नुभयो।
कहिलेकाहीँ आँसुहरूलाई खुलेआम बग्न दिएको राम्रो रे। म एकछिन स्तब्ध भएँ। हो, कहिले नरूने मेरा बाबा आफ्नो अवकाशका दिन रुनु भयो।
दुःख लाग्छ नि आफूलाई यो स्थानसम्म हात समाउँदै ल्याइदिने बाबा दुखी भएर रुँदा। यद्यपि उहाँका आँसु मेरा लागि अदृश्य थिए।
सुरूआतसँगै अन्त्य जीवनको कटु यथार्थ हो, यसलाई स्वीकार गर्नुपर्छ।
यो कुरा सिकाउने मेरो बाबालाई त्यस बखत मैले केही भन्न जरूरी सोचिनँ। कहिलेकाहीँ मौनताले धेरै कुराहरू बयान गरेको हुन्छ, कानबाट भन्दा बढी मनबाट सुन्नुपर्छ अरे अनि बल्ल ती मौनतालाई बुझिन्छ।
दिनभर काममा खासै ध्यान पनि थिएन, कहिले छुट्टी हुन्छ भन्दै घडी हेर्दै कटाएँ त्यो दिन। विभागका साथीहरू सबै मिलनसार र सहयोगी भावनाका छन्। त्यसैले काममा कहिलेकाहीँ मूडअफ भएको दिन आफै बुझ्छन् र काममा हात पनि बढाइहाल्छन्।
यसो सोचेँ, यतिका साथीहरूलाई सम्झिँदा म त भावुक हुन्छु भने ३३ वर्ष सँगै काम गरेर साथीभाइ, कार्यालय छोड्दा मेरा बाबा रूनु पक्कै पनि स्वभाविक हो।
घर फर्केपश्चात असंकोच मान्दै सोधेँ बाबालाई- 'बिदाइ कस्तो रह्यो त अफिसमा?'
बाबाले भन्नुभयो, 'जिन्दगीमा पैसा मात्रै ठूलो होइन रहेछ छोरी, मान्छे पनि कमाउनुपर्छ। काम पर्दा ५ लाखको बिटोभन्दा ५ जना मान्छे धेरै काम आउँछ। बिदाइमा सबै साथीहरूको मप्रतिको माया देखेर यो अनुभव भयो कि मैले मान्छे चाहिँ कमाएको रहेछु।'
बाबा बल्ल मुस्कुराउनुभयो। मेरा लागि मेरा मातापिताको हर्षभन्दा ठूलो उपलब्धी अरू छैन। सधैँ हाँसेको देख्न चाहान्छु। मन होस या कपडा, थोत्रो भएर केही हुँदैन सफा भए पुग्छ। हो, त्यस्तै सफा मेरा बाबाको मन। मैले धेरै सिक्नुछ उहाँबाट।
अचेल बाबा घरमै बसेर आफ्नो अवकाश जीवन खुसी-खुसी बगैँचाको काम र टिकटक चलाएर बिताउनुहुन्छ। ममी हाल नेपालमा नभए पनि ममीका हरेक नयाँ फोटोलाई टिकटकमा कैद गर्दै बाबा रमाउनुहुन्छ।
बाबा भन्नुहुन्छ, 'खाली खल्तीभन्दा पनि खाली मस्तिष्क र मन त्यो ठूलो समस्या हो, कहिलै रित्तो राख्नुहुन्न। व्यस्त हुनुपर्छ।'
म हर्षित छु यति बुझकी बाबाको साथ पाएको छु। धेरै सिक्नुछ उहाँबाट मैले। उहाँको छोरी हुनु भाग्यमानीको पात्र महसुस गर्छु। त्यस दिन जति मौन भएर रोए पनि बाबालाई सधैँ म 'कहिल्यै नरूने मेरो बाबा' नै भन्न रूचाउँछु।
मेरा लागि एक सँच्चा सल्लाहाकारको भूमिका निर्वाह गर्दै आउनु भएको मेरो बाबालाई अचेल म पनि सल्लाह दिने भएको छु, चाहे त्यो आर्थिक होस या अरू नै व्यक्तिगत। हाम्रो उज्याले भविष्यको लागि घामपानी नभनी अनवरत रूपमा खटिएर आजको यो सुनौलो दिनको सहज जिन्दगी मेरो बाबाले नै दिएको उपहार हो।
अब बाबाको बाँकीका दिनलाई सहज बनाउँदै सुखका चमक ल्याउने जिम्मा पक्कै मेरो हो, र म त्यसका लागि पूर्ण तयार पनि छु। एउटै इच्छा छ कुनै दिन मौका मिले बाबा/आमालाई लिएर डोटी घुम्न जाने।
काठमाडौंका रैथाने हामी तर पनि हाम्रो मूल जरो चाहिँ डोटीबाट आएको रे। तसर्थ एकदिन बाआमाका साथ डोटीको सेरोफेरो पक्कै घुमिएला। मात्र यति हो उहाँहरूको साथ र आशीर्वाद सधैँ रहिरहोस्।
बाबाले दिएको हरेक सिकाइलाई वास्तविक जीवनमा उतार्न सकुँ। 'नम्रताको बाबा' भन्दा उहाँको शिर गर्वले उच्च रहिरहोस्। यो अनवरत साथ र हातको लागि मेरा बाबालाई धन्यवाद।
मेरा लागि सृष्टिको मूल आधार मेरा बाबा, जिन्दगीको अर्को आकार मेरा बाबा, आकाशभन्दा फराकिलो सपनाहरू आँखामा अटाउन सिकाउने मेरा बाबा, स्नेहको अर्को नाम मेरा बाबा।
यो सुन्दर जीवनका लागि तपाईंलाई मुरीमुरी धन्यबाद बाबा!
(लेखक नेपाल बैंक लिमिटेड, अपरेशन विभागकी सहायक प्रबन्धक हुन्।)