मेरो छिमेकीको घरमा रमाइलो महोल छ। आज दही-चिउरा खुवाउने दिन अरे। छिमेकी दिदी गर्भवती हुनुभएको लगभग साढे छ महिना जति भयो होला। उहाँलाई चाहिने जति पोषणयुक्त खाना स्याहारसुसार गरिएको छ।
दिदी पनि आफ्नो मातृत्वको यात्रालाई रमाइलोसँग अंगालिरहनुभएको देख्छु। नेपाली संस्कृतिको प्रचलन धेरै वैज्ञानिक मानिन्छ। दही चिउरा ख्वाउने दिन यहीमध्ये एक सभ्यताको परिचय हो। तर यो माहोलमा मलाई झट्ट एक प्रश्न जगायो।
आखिर किन महिलालाई खाना, पोषण, समयसमयमा खानपानको ख्याल केवल गर्भवती र सुत्केरी भएको बेलामा मात्र चासोको विषय बनाइन्छ?
छेउको भान्साकोठामा मेरो नजर पुग्यो। महिलाहरू धमाधम खाना बनाइरहनु भएको थियो। भर्खर आएका महिलाहरू पनि नमस्कार गर्दै सिधैँ भन्सामा नै प्रवेश गरिरहनु भएको थियो। कोही पनि पुरुष भान्सामा पस्नुभएन, तर उहाँहरूलाई खाना आइरहन्थ्यो।
समयले धेरै चालचलन, बाँच्ने चलन, खाने, खेल्ने, सबै कुरामा परिवर्तन ल्याएकै छ। तर जति नै शिक्षित, दिनभर काम गरेर जति नै आफूभन्दा आदरका पात्र होस् कहिले पनि महिलालाई खानेबेला खासै प्राथमिकता दिइँदैन। केवल सुत्केरी र गर्भवती भएको बेलामा मात्र ध्यान दिइन्छ।
के एक नयाँ सदस्यको आगमन भएको बेलामा मात्र महिलालाई प्राथमिकता दिनपर्ने हो र? नत्र के उसको जीवनमा मिठो मसिनो पोषणयुक्त खाना खुवाउन हुन्न?
यदि पुरुष कमाएर थाकेर आउथे भन्ने हो भने के एक रोजगार भएकी महिलालाई यसैगरी पहिले खाना दिइन्छ र? त्यसो भए किन छोराले आफ्नो आमा, बुवा, दिदीलाई पहिला खाना दिएर कुरेर बस्ने चलन रहेन?
पुरुषले खाना अघाएँ भनेर नसकिन्जेलसम्म भोकै पेटमा खाना बनाएर पनि बस्नुपर्ने एक सभ्यताको संज्ञा दिइएको छ। एक पुरुषको जन्म भएकै नाममा एक नारीको भन्दा विशेषधिकारको भागेदार हुन्छ।
महिलाभन्दा पुरुषको शरीरको खान्की पक्कै बढी हुन्छ तर भोक भन्ने कुरा सबैलाई लाग्छ। मुद्दा खान्कीको मात्राको नभई प्राथमिकता र खानपिनको व्यवहारको हो, भेदभावको हो।
धनकी देवी, विद्याकी देवी, अन्नपूर्ण देवी भनेर नारी शक्तिलाई नै पूजा गरिन्छ तर दुर्भाग्यवश मानिसको स्वरुपमा जन्मिएका नारी अझै पनि देश विदेशमा पढ्ने अधिकार, कमाउन पाउनुपर्ने अधिकार र खानामा समान व्यवहारको लागि आज पनि लड्नुपर्छ।
फेरि पनि महिलालाई केवल मातृत्वको यात्रामा मात्र ध्यान दिँदा मुख्य विषयलाई नकारिरहेको हुन्छौँ। के महिलाको शरीर नौ महिनाको समयमा मात्र बच्चा पाउन तयार हुने हो र?
शारीरिक विकास त उसको जन्मबाटै सुरु हुन्छ र उसको बच्चाको लागि योग्य शरीर पनि। तर मिठोमसिनो केवल छोरालाई खुवाउने प्रवृत्ति तथा छोरीलाई अर्काको घर जाने भनेर खानपिनमा वास्ता नगर्ने कारण पनि धेरै आमाले ज्यान गुमाउनु परेको छ।
अझ महिनावारीको बेला धेरै खानपिनमा रोक लगाइन्छ। महिनावारी भनेको प्रजनन स्वस्थ्य कायम गर्न एक संवेदनशील समय हो। साधारणतया महिनावारीको बेला काँक्रो, अमिलो, दुग्ध पदार्थ आदि खानपिनमा प्रतिबन्ध गरिन्छ।
महिलालाई त आफूले खानेकुरामा पनि स्वतन्त्रता छैन। शरीरलाई चहिने भिटामिन, खनिज पदार्थ, क्याल्सियमबाट बन्चित गराइन्छ। अधिकतम महिलालाई तीस पछाडि हड्डीको घनत्वमा कमी हुने भएर ढाड दुख्ने समस्या देखापर्छ तर दुग्ध पदार्थ दिने बेलामा निरोगी भए पनि छोरा, श्रीमान्, बुवा वा समग्रमा पुरुष पात्र नै हुन्छ।
महिनावारीको बेला रक्तअल्पता हुने प्रबल सम्भावना हुन्छ। महिनावारी रोकिएपछि पनि अनेकन स्वास्थ्य समस्या आउँछ। यस बाहेक महिलालाई नारी शरीरले निम्त्याउने समस्यामाथि आफ्नो ख्याल राख्नु महिलाको धर्म नकार्नु भनेर गलत अर्थ लाग्दछ।
नेपालमा कुपोषण अन्तरपुस्तेनी चक्र हो। यो चक्र लैंगिक भेदभावसँग निकटतम सम्बन्ध राख्दछ। कतिपय महिलाले त बचेको खाना मात्र खान पाउने, बिहानको खाजा खान नभ्याएर भोकै बस्नुपर्ने अनि पुरुषमा निर्भर भएकै कारण आफ्नो स्वस्थ्यलाई दोश्रो स्थानमा राकेर लुकाउनु पर्ने बाध्यता छ।
अझ नेपालको सन्दर्भमा त वायुपरिवर्तनका कारण हुने प्राकृतिक प्रकोपमा पर्ने जोखिम छ। त्यसबेला पनि महिलालाई खाने विषयमा प्रथमिकता खासै दिएको पाइँदैन।
महिलालाई देवीको दर्जाले नमन गरेर परलौकिक बनाउनु अगाडि मानिस जसरी उसको नैसर्गिक अधिकारलाई हनन नगरौँ। परिवर्तन आफ्नै घरबाट, आफ्नै भन्साबाट सम्भव छ। पुस्तेनी भेदभाव र कुपोषणको चक्र भत्काउन सक्छौँ।
गर्भवती र सुत्केरीमा मात्र नभई हरेक जीवनको चरणमा उसलाई उत्तिकै मान्यता र प्राथमिकता दिनपर्छ। कहिले महिलालाई यतिसम्म पनि सामाजिक कानुन बनाइनु हुँदैन कि त्यसले निःसन्देह बनाओस्।