विश्वव्यापी रुपमा साना किसानहरूले सबै खाद्यान्नको ७५ प्रतिशतभन्दा बढी उत्पादन गर्छन् तर तिनै किसानहरू धेरैजसो गरिब छन्।
नेपालमा ८७ प्रतिशतभन्दा बढी किसानसँग दुई हेक्टरभन्दा कम जमिन छ। ती मध्ये ७० प्रतिशत किसानहरूसँग सिँचाइ सुविधा छैन। त्यसैले उनीहरू वर्षायामको पानीमा निर्भर छन्। खेतीको उत्पादकत्व एकदमै कम छ, त्यसैले आम्दानी पनि कम छ।
त्यसकारण प्रविधिहरू यी परिस्थितिहरूसँग मिल्दो हुनुपर्छ र ठूलो मात्रामा लागु हुन आवश्यक छ। दृश्यात्मक र महत्त्वपूर्ण प्रभाव पार्नको लागि कृषि क्षेत्रमा नगद प्रवाह एक महत्वपूर्ण औजार हो र यो ठूलो क्षेत्रमा कार्यान्वयन हुनु धेरै महत्त्वपूर्ण छ।
किन निजी क्षेत्रले कृषि क्षेत्रमा नगद प्रवाह गरिरहेका छैनन् वा कृषिमा लगानी गर्न सकिरहेका छैनन् वा किन असफल हुन्छन् भन्ने कुराको राम्रो लेखाजोखा र अनुसन्धान हुन जरुरी छ।
नेपालको संविधानले बजारद्वारा निर्देशित मिश्रित आर्थिक प्रणाली अर्थात् सरकारी, निजी क्षेत्र र सहकारीको भूमिका रहने गरी तीन खम्बे अर्थनीतिको मोडेललाई अंगिकार गरेको छ। यही तीन खम्बे अर्थ नीतिको मोडेलबाट अर्थतन्त्रलाई समाजवाद उन्मुख बनाउँदै समाजवादको आधार निर्माण गर्ने उल्लेख गरिएको छ।
आर्थिक वृद्धि र विकासलाई अघि बढाउन अहिले मुलुकले अवलम्बन गरेको अर्थतन्त्रको मोडेलमा खुला बजारमुखी अर्थतन्त्र अवलम्बन गरी निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्ने धारणा अघि सारिएको छ।
अहिलेको परिस्थितिमा मुलुकमा केही हदसम्म औद्योगिक, व्यापारिक र सेवा क्षेत्रमा निजी लगानी प्रवर्द्धन त भएको छ तर कृषि क्षेत्रमा भने निजी क्षेत्रको लगानी अपेक्षित रुपमा हुन सकेको छैन।
व्यवसायमा नगद र यसको सही प्रवाह अपरिहार्य कुरा हो। त्यसैले व्यवसायमा ‘नगद राजा हो’ भनिन्छ। व्यवसायको निरन्तरताको लागि नगद प्रवाह स्थिति राम्रो हुनु आवश्यक छ। वित्तिय संघसंस्थाहरूले पनि व्यवसाय ऋण लायक छ वा छैन भनेर व्यवसायको नगद प्रवाह स्थिति निर्धारण गर्न मूल्याङ्कन गर्छन्।
मैले धेरै ठाउँमा केही साना कृषि व्यवसायीहरूसँग कुरा गरेको छु। तिनीहरूमध्ये धेरैले निरन्तर नगद प्रवाह हुने तरिकाको रुपमा सडक छेउमा वा खुला स्थानमा आफ्ना उत्पादनहरू बेच्छन्।
पूर्वाधारको अभावका कारणले तिनीहरू सडक छेउमा वा खुला स्थानमा आफ्ना उत्पादनहरू बेच्न बाध्य हुन्छन्। तिनीहरूका उत्पादनहरूको गुणस्तर बिग्रिंदै जान्छ र मूल्य घट्दै जान्छ अनि सस्तो मूल्यमा बेच्छन्। तिनीहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउँदैनन्।
उत्पादनहरू बजारहरूको माग अनुरुप छ वा छैन? साना किसानहरूको उत्पादनलाई बजारको माग अनुरुप कसले बजारमा पुर्याउँछ? उत्पादकहरूलाई कुन बिन्दुमा के उत्पादन गर्ने भनेर बजार सुनिश्चित गर्ने काम कसले गर्छ?
उत्पादित वस्तुहरू किनबेच गर्ने पूर्वाधारहरू छन्? उत्पादनहरूको गुणस्तर चाँडै बिग्रन नदिने तरिकाहरूमा ध्यान दिइएको छ?
यी प्रश्नहरूको उत्तरले मात्र साना कृषकहरूलाई र तिनीहरूको उत्पादनलाई बजारमा पुर्याउने साना व्यवसायीहरूलाई उनीहरूको नगद प्रवाह व्यवस्थापन गर्न मद्दत गर्दछ भनेर बुझ्न जरुरी छ। नगद प्रवाह व्यवस्थापनका लागि साना व्यवसायीहरूसँग सहकार्य गर्न सम्भव छ।
कृषि व्यवसायमा नगद र यसको सही प्रवाहका लागि धेरै राम्रा पहलहरू भएका छन्। तर समस्या कहाँ छ भने जब त्यस्ता सहयोगहरू दातृ निकायको सहयोगमा सञ्चालित परियोजनाको नेतृत्वमा हुन्छन्, तिनीहरू केवल परियोजना अवधिमा मात्र राम्रोसँग सञ्चालित हुन्छन्।
त्यसैले दातृ निकायको सहयोगमा सञ्चालित परियोजनाको सट्टा निजी क्षेत्रले नेतृत्व लिन आवश्यक छ। साना किसानहरूको उन्नतिको लागि सरकारले त्यस्ता प्लेटफर्महरू सहज बनाउन सक्छ।
नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी जनसंख्या आश्रित रहेको क्षेत्र कृषि हो। कृषि क्षेत्रको विकासमा निजी क्षेत्रको संलग्नता र नगद प्रवाह बढाउने हो भने मात्र यस क्षेत्रको विकास सम्भव छ।
(लेखक कृषि तथा वन विज्ञान विश्वविद्यालयको एडजङ्ट प्रोफेसर हुन्।)