नेपालको सांगीतिक दुनियाँमा महिलाको तुलनामा पुरुषकै वर्चश्व देखिन्छ। दशकौंसम्ममा महिलाहरूले विशेष संघर्ष गर्नु परेको एउटा यस्तो भूमिका हो, सांगीतिक ब्याण्ड म्यानेजर।
ब्याण्ड म्यानेजरले विशेष गरी ब्याण्ड या कलाकारको व्यवस्थापन पक्ष, संगठन पक्ष र टुर कन्सर्ट भएमा सोको व्यवस्थापन हेर्ने गर्छ। यो काम पक्कै सजिलो छैन र चुनौतीको धेरै सामना गर्नपर्ने हुन्छ जसमा अडिओ, भिडिओ, साउन्ड टेक, स्टेज, बजेट, शुल्क सबै पर्छ।
कन्सर्ट टुर हुँदा एक ठाउँबाट अर्को ठाउँमा जान मिलाउनेदेखि सबै कलाकारहरूलाई उनीहरूको बस्ने, खाने मिलाउँदै, सामूहिक भावनाको सम्मान गर्दै चित्त बुझाउने खुबी पनि त्यत्तिकै हुन पर्छ।
पर्दा पछाडि काम धेरै हुने भएकोले पर्दा अगाडिका कलाकारले जस्तो लाइम लाइट र प्रचार उनीहरूले पाउँदैनन्। तर ब्याण्ड म्यानजेरको अहम् भूमिका ब्याण्ड लोकप्रिय हुनुमा एकदमै हुने गर्छ।
यो सजिलो पेसा पक्कै होइन, तर रोमाञ्चक भने अति नै हुन्छ। उतारचढाव यति धेरै आउँछन् कि सजिलै सामना गर्न २४ घण्टा तयार हुनपर्ने हुन्छ।
विश्व चर्चित ब्याण्डहरू बीटल्सदेखि द रोलिङ स्टोन्स, पिङ्क फ्लोइडलगायत सबै ब्याण्ड म्यानेजरहरू एकदम कुशल व्यवस्थापक भएर विश्व प्रसिद्ध भएका हुन् भन्दा फरक नपर्ला। विदेशमा हुने हरेक सानोठूलो कन्सर्टमा ब्याण्ड या टुर म्यानजेर हुने गर्दछ जुन नयाँ कुरा होइन तर महिलाहरू चाहिँ एकदम कम छन्।
सानोतिनो कार्यक्रम त म सधैं गरिरहेकै हुन्थेँ। कुनै दिन ठूलो कार्यक्रम आयोजना गर्ने सपना म धेरै देख्थेँ र नभन्दै जुर्यो पनि।
नेपालको चिरपरिचित क्लासिकल ब्याण्ड सुरसुधाका संस्थापक सुरेन्द्रजी सित मेरो चिनजान पहिलेदेखि (१५ वर्षभन्दा बढी) नै थियो। सानैदेखि मैले उहाँहरूको मंगल धुन घरमा बजेको सुनेको थिएँ। त्यो धुन नसुन्ने अनि मन नपराउने नेपालमा को होला र!
अहिले पनि हरेक नेपालीको घर-घरमा दसैं-तिहारमा भए पनि एकफेर त्यो धुन बजेकै हुन्छ। फेरि मलाई यस्तो कलाकारसँग काम गर्न मन थियो जसलाई सबैले सम्मान गरोस्, गम्भीरतापूर्वक लियोस् र जसको कुराभन्दा काम बोलोस्।
नेपालमा पनि विशिष्ट अतिथि कोही देशमा भ्रमण हुँदा मैले सुरसुधाकै प्रस्तुति बढी देखेकी थिएँ। बेलाबेलामा म नेपाल हुँदा र यहाँ अमेरिका हुँदा कार्यक्रम गर्ने अनगिन्ती मिटिङ पार गर्दै हामीले एक वर्ष जतिको अन्तरालमा अमेरिका टुर कन्सर्ट गर्ने चाँजोपाँजो मिलायौं।
त्यसभन्दा अघि सुरसुधासँग अभिनेत्री मनिषा कोइरालाको महा-मृत्युन्जय मन्त्र भजन व्यवस्थापन गर्ने जिम्मा पनि मैले पाएको थिएँ। पाटन संग्रहालयमा भव्यसँग हामीले कार्यक्रम गरेका थियौं। त्यसपछिको अमेरिकाको कार्यक्रम तय गर्ने क्रममा यहाँको ८ सहरमा कार्यक्रम तय भयो।
स्मरण रहोस्, यहाँ ८ वटा सहर भनेको ८ वटा देशजस्तै नै हुन्छ, भौगोलिक दूरीको हिसाबले। मैले आफै अधिकांश आयोजकसँग कुरा गरेकोले धेरै जनासँग म परिचित थिएँ।
अनेक आरोहअवारोह पार गर्दै म बसेको सहर डेनभर हुँदै वशिङटन डिसी, फ्रेडरिच्क्सबर्ग, नर्थ क्यारोलिनाको राली हुँदै न्यूयोर्क, न्यूजर्सी, पोर्टल्याण्ड हुँदै लस एन्जल्समा यात्रा टुंगियो।
धेरैले सुरसुधाको संगीत मन पराए। नेपालीहरूभन्दा पनि विशेष अमेरिकनहरूको सिङ्गै जमातले नेपाली मौलिक संगीत अनि फ्युजन म्युजिक र मन्त्रहरू एकदमै मन पराए। धेरै अमेरिकन आयोजकले मसँग फेरि काम गर्ने र अर्को वर्षको कार्यक्रम पनि तय गर्नलाई अनुरोध गरे।
अमेरिकी फिल्म मेकरहरूले सुरसुधाको संगीत आफ्नो फिल्ममा राख्ने रुचि देखाए। मैले स्वीकार नगर्ने कुरै भएन, मिति मिलाउन सहर्ष कुरा मिलाएर म फर्किएँ। यसैबीच म एउटा नेपाली नै भएर नेपालीकै बारेमा केही कुरा किन राख्न चाहेँ?
किनभने केही दिन अगाडि न्यूयोर्कमा 'मह' जोडी उपस्थित कार्यक्रममा होहल्ला बढी र कुटाकुटको खबर पनि हामीले सुनेकै हौँ। समयमा कार्यक्रम नगरिने पनि धेरै साथीहरूबाट सुनेकै हौँ। नेपालकै शैलीमा आशन, भाषण बढी भएर दर्शक उठेर हिँड्ने पनि सुनेकै हौँ।
फेरि एउटै कार्यक्रममा नृत्य हुनैपर्ने, दर्शक अनावश्यक रुपमा हँसाउन पर्ने, राजनैतिक गफ हुनै पर्ने, रक्सी खाएर कार्यक्रममा नाच्नै पर्ने, आयोजकको लामो फेहरिस्त पढ्नै पर्ने, शान देखाउनै पर्ने देखेकै हौँ। सबै त होइन तर केही ठाउँमा देखियो पनि।
मैले यहाँ यति लेखिरहँदा नेपाली आयोजकहरू मसँग चिँढिनु पनि होला। यद्यपि मैले सोचेजस्तो नराम्रो आयोजक भेटेको छैन यो टुरमा। योभन्दा कयौं गुणा झुर कार्यक्रममा म गएकी छु। होहल्ला बढी भएर तथा कार्यक्रम स्थल राम्रोसँग सफा नछोडेर भविष्यमा नेपाली आयोजकलाई ठाउँ नदिनेसम्म निर्णय गरिएको पनि देखेकी छु।
कतिपयलाई म ब्याण्ड म्यानेजर भनेर परिचय दिन्थेँ र कतिलाई सुरेन्द्रजीले भन्नुभयो तर उहाँहरू म महिला भएकोले हो कि या टुर म्यानेजर भनेको थाहा नभएकोले हो या नेपाली कलाकारहरू अधिकांश आफै-आफै नै आफ्नो प्रमोसन गर्ने भएर हो, अकमक्क परेको पनि देखेकी छु।
हाम्रा गितार वादक विकास, बाँसुरी वादक रमण अनि गायिका सरस्वति सुपर कुल, जे-जस्तो भए पनि एकदम मनोरन्जनात्मक र बुझ्झकी! मनमनै आफैलाई यति साह्रो नो-ननसेन्स म्यानर हुँदा त यस्तो छ भने झन् यसै सबै चिजलाई यसै उडाउने भएको भए कस्तो हुन्थ्यो होला भन्ने लागेको पनि थियो।
यो अनुभवको नितान्त अलग विदेशी आयोजक। सबै कुराको पूर्व-जानकारी, समयमै साउन्ड चेक, भरिभराउ दर्शक तर 'पिन ड्रप साइलेन्स', अत्यन्त शालीन थिएटर या विश्वविद्यालय, एकदम ठिक समयमा कार्यक्रम सुरु अनि अन्त्य। त्यसपछिको भद्र भलाद्मी स्टाइल प्रोफेसनल फ्यान मिटिङ अनि फोटो सेसन!
फरक छुट्याउने ठाउँ कत्ति-कत्ति! यति भन्दै गर्दा धेरै सहरमा हाम्रो (नेपाली) आयोजक साथीहरूको आतित्थ्य बडो यादगार रह्यो। सुरेन्द्रजी भन्नुहुन्थ्यो टुरभरि- 'लेट योर ट्यालेन्ट स्पिक।'
वास्तवमा हो पनि रहेछ। खैर, कार्यक्रम एकदम राम्रो नोटमा सम्पन्न भयो।
ब्यान्डको समग्र व्यावसायिक आवश्यकताहरूसँग कलात्मक अखण्डतालाई सन्तुलनमा राख्नु भनेको कलाकार र प्रबन्धकबीचको सफल सम्बन्ध डोर्याउनु हो भन्ने मेरो बुझाइ छ।
नेपालको परिप्रेक्ष्यमा यति लेखिरहँदा अझै हामीले आयोजकको हिसाबले गर्नपर्ने धेरै छ, बुझ्न पर्ने धेरै छ, समयको मागको ख्याल गर्नपर्ने धेरै छ। पुग्न पर्ने गन्तब्य टाढा छ। विदेशमै बसेर विदेशीहरूसँग सिक्न पर्ने धेरै छ, तरिका जान्न पर्ने धेरै छ। विन-विन सिचुयेसन आउँदा जुन मज्जा छ त्यो अरुमा कहाँ?