उमेरले जब म बीस वर्षको कटेको थिएँ, त्यसबेलादेखि नै मलाई बिहेको लागि कुरा आउन थालेको थियो। पल्लोघरको दाइ, तल्लोघरको ठूलीआमा, मामा, काका, फुपू यस्तै यस्तै आफ्ना आफन्तबाट।
त्यति बेला बिहेको कुरा आउँदा म केही बोल्नै पर्दैनथ्यो। आमाबाले आफैं जवाफ दिनुहुन्थ्यो कि, कान्छी सानै छ, अहिले नगर्ने कान्छीको बिहे। उहाँहरूको यो जवाफ सुन्दा मनमा खुसीले लड्डु फुलिरहेको हुन्थ्यो। सँगैका दौंतरी साथीहरूको बिहे भने भैसकेको थियो। कलिलै उमेरमा घर परिवार सम्हाल्न थालिसकेका थिए।
तर अहिले भने घरमा बिहेको कुरा कोही लिएर आउँदा मन डराउन थालेको छ। बिहे गर्ने बेला भएको छैन भन्ने बा आमाको लागि म ठूली भए जस्तो छ अहिले त उहाँहरूले नै खाना खान बसेको बेला बिहेको कुरा गर्न थाल्नुभएको छ।
अरू बेला हामी घरका सदस्य घरमै भए पनि आ-आफ्नै धुनमा हुन्छौं। सबै जनासँगै हुने भनेको त खाना खाने बेला डाइनिङ टेबलमा हुँदा मात्र हो। आज भोलि म किचेन मै जान छोडेको छु। हिजो आज भोलि पर्सी भन्दाभन्दै दिन बितेको पनि पत्तै भएन। रहर होस् वा बाध्यता जे भए पनि विवाह गर्नैपर्ने। खै यो कस्तो संस्कार हो?
बा-आमालाई बिहे गर्दिनँ अहिले भनेर बुझाउन सक्ने त आँटै आउँदैन, आओस् पनि कसरी, सँगै स्कुल जाने आउने साथीहरूका छोराछोरी नै स्कुल जाने बेला भैसके।
मंसिर लागेसँगै झन् साथीहरूको म्यासेजले पनि हैरान नै बनाएको छ। यो वर्ष नि बिहे भोज न खुवाउने? बा-आमालाई ज्वाइँ चाहिएको छ, साथीहरूलाई भोज खानुपरेको छ, पार्लरवाली मेरी दिदीलाई बहिनी दुलही हुँदा ब्राइडल मेकअप गर्न हतार भएको छ, मलाई भने जीवनसाथी भनेर चिनिने श्रीमान अहिले नै चाहिएको छैन।
यसको मतलब यो होइन कि, मलाई बिहे गर्न नै मन छैन, मलाई बिहे गर्न भरपुर मन छ तर बा-आमाले ज्वाइँ चाहियो, साथीले भोज खानुपर्यो भनेर होइन।
एउटा असल व्यवहारिक मान्छे, काले, गोरे, होचो, अग्लोले फरक परेन। ऊसँग बस्दा सहजता महसुस गर्न सकियोस्। बा-आमा दिदी-बहिनी, दाजुभाइ, इष्टमित्र सबैलाई मिलाएर राख्न जानोस्। मेरो भावनाको कदर गरोस, मलाई माया, प्रेम भन्दा धेरै इज्जत देओस्। मलाई पीडा हुँदा मेरो पीडा महसुस गर्न सकोस्। सबै मेरैमात्रै रहर पूरा गरोस् पनि भन्दिनँ उसले मलाई गरेको व्यवहारले म पनि उसलाई भरपुर प्रेम, सम्मान गर्नेछु।
हो, यस्तो जीवन साथीको खोजीमा बसेकी म अनि अब अझै दुई वर्षजति बिहे गर्ने सोच बनाएकी पनि छैन।
बिहे गरिसकेको जिम्मेवारी सम्झेर मलाई यति छिट्टै बिहे गर्न पनि मन लागेको छैन।
अहिलेदेखि मलाई घर, परिवार सम्हालेर बस्न मन छैन। विवाह यस्तो सम्बन्ध हो, जसले दुई व्यक्तिमात्रै नभएर हरेक परिवारसँग साइनो गाँस्छ। यो साइनोलाई जिम्मेवारीपूर्ण निभाउन सक्ने भएपछि बिहे गर्ने सोच बनाएर बसेको छु।
धैर्य गरिदिनुस् है साथीहरू भोज खान। नभए एक दिन घरमै आउनुस् न मीठो पुलाउ मासु खुवाउँछु।
‘अस्ट्रेलिया वाला पिआर वाला केटा छ। मेरो फुपूको छोरा त इन्जिनियर हो नि, राम्रो छ। घर काठमाडौं मै हो, एक्लै बस्छ घरमा, फुपू, फुपाजु अमेरिका छन्। सरकारी जागिरे छन् मेरा एक साथी बिहे गर्ने हो ?’ आजभोलि यस्ता कुराले निकै हैरानी बनाएको छ।
मौनता आफैंमा एउटा ठूलो जवाफ हो भनेर कसैले सोधे पनि मौन बस्ने गरेको छु। सबैलाई आफ्नो बारेमा बताइराख्न आवश्यक पनि ठान्दिनँ।
गाउँघरतिर आफूसँगैका भाइ बहिनीहरूले बिहे गरिसके यो देखेर फेरि त्यही छिमेकीहरू खासखुस गर्न थाल्छन्।
हैन के खराबी रहेछ कुन्नी, फलाना छोरीको? बिहे पनि गर्न खोज्दिन त! कि आफैं खोजिसकेकी छे र हो जस्तो राम्रो घरबाट कुरा आएनी बिहे गर्न मान्दिन त?
हरे शिव कत्ति फुर्सदिला भएका मेरा छिमेकीहरू पनि मेरो कुरा नगरी त खाको पनि नपच्ने। जे होस् म आफैंमा खुसी अनि सुखी मान्छे भएर होला जसले जे भने पनि केही वास्ता लाग्दैन।
खुसी लाग्छ, मेरो यत्तिका धेरै चिन्दा लिनुहुन्छ। मैले भन्दा धेरै मेरो बारेमा सोचिदिनु भएको छ। ममा त्यस्तो खराबी पनि केही छैन म जन्मजात नै छोरी हुँ, छोरीमै हुनुपर्ने गुणले भरिएकी छु। केटा खोजेकी छैन है।
अब खोज्ने सोचमा छु, मेरो रोजाइ अनि तपाईंहरूको रहर। जब भेट्ने छु सबैभन्दा पहिला त मेरो छ्मेकी आन्टीलाई नै देखाउने छु। यी यस्तो केटो खोजेँ भनेर...
मेरो प्रिय राजकुमार,
खै, कता छौ तिमी अहिलेसम्म मैले भेट्न सकेकी छैन, जहाँ छौ खुसी छौ, सुखी छौ ,मस्त अनि व्यस्त छौ भन्ने विश्वास गरेकी छु। जब तिम्रो र मेरो मिलन हुनेछ, अनि भरपूर प्रेम गरौंला, बिहे गरौंला।
बिहे भने सामान्य नै गर्नुपर्छ है राजा हाम्रो क्षमताले भेट्ने। बाइपन्खी घोडा, एक हुल जन्ती, फोटोग्राफर, भिडिओ ग्राफर मेकअप आर्टिस, महङ्गो गरगहना, उचाल्नै नसकिने साडी, लेहेङ्गा केही पनि ल्याउनु पर्दैन है बिहेमा। अहिलेको देखासिखी केही पनि नगर्नु है। हाम्रो संस्कार न भुल्ने गरि अनि तिम्रो क्षमताले भेट्ने गर्नु है, बिहे चाहिँ मलाई त्यो तडकभडक गरेको मनै पर्दैन। तिमी मलाई बुझ्ने हुनु, अनि म तिमीलाई बुझ्ने हुन्छु।