घरभित्र होस् या बाहिर, युवा उमेरमा खाली बस्न हुन्न, केही न केही काम त गर्नैपर्छ। यो हाम्रो मनले भन्छ, समाजले भन्छ, संस्कारले भन्छ।
हिजो महिलाहरू शिक्षाबाट बन्चित थिए। त्यसैले पूरा जीवन घरखेत, चुलोचौको, वस्तुभाउ, बालबच्चा, सासू-ससुरा, इस्टमित्र, आउनापाहुना आदिमै व्यस्त हुन्थे। यद्यपि उनीहरूलाई अर्थको सधैँ अभाव हुन्थ्यो।
पुरुषहरू धेरथोर पढेलेखेका हुन्थे, कमाउँथे। उनीहरूको स्तर केही माथि थियो। उनीहरू चाहँदैनथे कि महिलाहरू पनि शिक्षित हुन्, २/४ पैसा कमाउन्, आफू सरह स्वतन्त्र हुन्।
तर आज समय बदलिएको छ। हरेक घरका महिला पुरुष सरह शिक्षित, साहसी, स्वतन्त्र छन् र चुलोचौकामा मात्र सीमित छैनन्। जागिर होस्, व्यापार होस् वा पढ्न, एउटा-एउटा बहानामा बाहिर निस्किएका हुन्छन्।
पढेलेखेका महिलाहरूको बाध्यता परेर (बुढाबुढी स्याहारसुसार गर्न परे, बालबच्चा हेरिदिने मान्छे नभए) घर बसेका बाहेक प्रायः सबै आर्थिकोपार्जनका लागि केही न केही गरेकै हुन्छन् र गर्नु पनि पर्छ। किनकी जबसम्म महिला स्वयं आर्थिक रुपमा बलियो हुँदैनन्, पैसा कमाउन सक्दैनन्, महिला सशक्तीकरण भन्ने कुरै हराएर जान्छ।
सामान्यतया १८/२० वर्षदेखि प्रायः युवा पिँढीले काम गर्न सुरु गरेका हुन्छन् र सकिन्जेल खाली बस्न हुन्न है भन्ने भावना एकादुई बाहेक धेरैमा हुन्छ। यद्यपि यो बीचमा महिलाहरूले चाहिँ केही समय ब्रेक लिनै पर्ने हुन्छ किनकी उनीहरूलाई सन्तान जन्माउने, हुर्काउने जिम्मेवारी पनि हुन्छ।
महिलाहरूले बच्चा ४/६ महिनाको भएपछि फेरि काममा जानुपर्ने हुन्छ। हुन त भर्खर-भर्खर आमा बनेकाहरूलाई किन रहर हुन्न र आफ्ना सन्तानलाई दिनभर च्यापेर बसौँ, उनीहरूको हरेक पल हरेक क्षण तोतेबोली सुनौँ, उनीहरूको हरेक व्यवहारको भागिदार बनौँ?
तर यसरी पनि त जिन्दगी चल्दैन। समयअनुसार हिँड्नै पर्यो। आफ्ना कलिला सन्तानलाई हजुरबुबा/हजुरआमा वा आफ्नै अन्य कोही जो बच्चाको राम्रो हेरविचार गर्न सक्छ उनीहरूको हातमा सुम्पिएर अचेलका युवा पिँढीहरू एकादुई बाहेक जागिर नखाने को छ र!
हुन त हाम्रा हजुरआमाहरूको पालामा उहाँहरूले घरभन्दा बाहिर गएर जागिर खाने, व्यवसाय गर्ने काम पो गर्नु हुँदैन थियो त, यद्यपि उहाँहरू घरै बच्चा च्यापेर बस्न सम्भव पनि थिएन। उहाँहरूले घाँस, दाउरा, वस्तुभाउ, मेलापात गएरै हुर्काएका हुन् आफ्ना सन्तानहरू।
समय बदलियो, सोच बदलियो, काम गर्ने शैली बदलियो, पेसा बदलियो तर घर व्यवहार टार्न गर्नुपर्ने दौडधूप, व्यस्तता त हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ। यति सबै बुझ्दाबुझ्दै पनि कहिलेकाहीँ यी कलिला मुनाहरूले यसरी भुलाउँछन् कि मानौँ म काहीँ नजाउँ, केही नगरूँ, बस यिनैलाई च्यापेर बसौँ।
पढेलेखेका छौँ, दिनभरि कापी, कलम, कम्प्युटरसँग खेल्छौ। महिना मरेपछि तलब ल्याउछौँ। यिनैलाई भनेजस्तो लगाउन, खुवाउन सक्छौँ। यहाँ लोभले जित्यो मायालाई।
हिजो हाम्रा हजुरआमाहरू पनि त ढिँकी, जातो, मेलापात गर्नुहुन्थ्यो। आखिर काम गर्ने शैली पो फेरियो, व्यस्तता त उस्तै हो। फेरि यो उमेरमै घर बस्ने बानी लागेपछि मान्छे अल्छी हुन्छ।
यो सहरमा बिहान आँखा खोलेदेखि राति नसुतुन्जेल पैसा अघि सार्नु पर्यो। फेरि आफूले कमाएपछि इच्छाअनुसारको लाउन, खान कसैको हात थाप्नु परेन, आश गर्नु परेन। परिवारलाई पनि त सहयोग हुने भयो।
त्यसैले मैले पनि छोरी एक वर्ष पूरा भएपछि काम सुचारू गरेँ। छोरी तिमी स्वस्थ हुँदा, खुसी हुँदा मलाई सामान्य लाग्छ अफिस जान। तर तिमी बिरामी हुँदा, कहिलेकाहीँ म अफिस हिँड्ने बेला रोइदियौ भने मलाई त्यो दिन नै खल्लो लाग्छ। ती अबोध आँखाबाट आँसु झरेको देख्दा एकदमै छाती पोल्छ। मन कुँडाएर म हिंड्छु, यो कुरा तिमीले ठूली भएपछि बुझ्नेछौ।
कतिपय त यस्तो समय पनि छ- तिमीलाई सन्चो नभएको, तिमी धेरै रोएर अत्याएको, खबर अफिसमै आएपछि थाहा भएको, यो सहरका मान्छेको प्रवाह नगरी म कुदेको, आत्तिएको, छटपटिएको। तर तिम्रो मामुको अफिसको साथीहरू बुझ्ने हुनुहुन्छ। म उहाँहरूप्रति धन्य छु।
सामान्यतया हाम्रो संस्कारमा विशेष दिन परिवारसँग बिताउने चलन छ। मलाई पनि आज तिमीसँग नै पूरै दिन बिताउने इच्छा थियो र पनि म अफिस आएको छु। किनकी काम गर्नु मेरो कर्म हो र कर्मको इज्जत गर्नु मेरो धर्म हो।
नढाँटी भन्नुपर्दा आज मेरो मनमा कामभन्दा बाहेक अरु धेरै कुरा खेलिरहेका छन्। अरुभन्दा विशेष दिन आज मेरो लागि।
आज म आमा बनेको दिन। त्यो पल, त्यो दुखाइ, त्यो पीडापछि मिलेको खुसी। मैले मेरो सास निकालेर तिम्रो सास भरेको दिन। कति छिटो बितेको जस्तो लाग्छ समय पनि। २०७७ साल मंसिर १९ गते, ठ्याक्कै २ वर्ष अगाडि आजकै दिन तिमीलाई मैले जन्म दिएको।
म आजभोलि बुझ्दैछु आमा हुनु भनेको सन्तानलाई जन्म दिनु मात्र होइन पो रहेछ। तिम्रो सिङ्गो जीवनको सुखद् र सफल भोगाइका निम्ति मैले धेरै परिकल्पना गरेको छु। अब मेरा चाहना त तिम्रा अगाडि फिका पो भएछन्, मेरा सपना त तिमी पो रहेछौ।
यतिबेला यदि कसैले मलाई मेरो जीवनको सबैभन्दा ठूलो सपना के हो भनेर सोध्छ भने मेरो उत्तर हुन्छ- तिम्रो जीवन सार्थक र सुखद् बनाउन मैले गर्ने हर प्रयास।
मैले तिमीमा म देख्छु र मभित्र तिमीलाई पाउँछु। तिमी यस धर्तीको एउटा यस्तो सुन्दर सृष्टि हौ जसको वर्णन म कुनै शब्दमा गर्न सक्दिनँ या भनौँ मसँग कुनै शब्द छैन तिम्रो बयान गर्न।
आत्मियाताको परिभाषा मैले तिम्रो आँखाबाट बुझेको छु। प्रेमको अनुभूति मैले तिम्रो स्पर्शबाट भोगेको छु। कोमलता र सरलता हुन मैले तिम्रो व्यवहारबाट सिकेको छु। सानोभन्दा सानो खुसीमा खुसी हुन मैले तिमीबाट सिकेको छु।
अझ भनौँ, तिम्रा हर हर्कतबाट मैले केही न केही पाठ सिकेको छु। यसर्थ तिमी त मेरो सन्तान मात्र नभएर गुरु पनि भएछौ। म चाहन्छु मैले हरेक जन्म सन्तानको रूपमा तिमीलाई नै पाउँ वा भनौँ मेरो कोख हर जनम तिमीबाट नै भरियोस्। म चाहन्छु तिम्रो आगमन यो धर्तीकै लागि असाध्यै अर्थपूर्ण होस्, सुखद् होस्।
ह्यापी बर्थडे मेरी छोरी!
भरे हामी सँगै मनाउँला है आजको विशेष दिन!