नेपाल सरकार र नेकपा माओवादी बीचको बृहत शान्ति सम्झौतापछि २०६४ साल चैत २८ गते संविधान सभा सदस्य निर्वाचन भयो। त्यस समयमा म रामेछापमा जिल्ला शिक्षा अधिकारी थिएँ।
देशमा आम निर्वाचनको रन्को थियो। माओवादीको किल्लाको रुपमा रहेको रामेछापमा चहलपहल नहुने कुरै भएन। दुर्गम पहाडी जिल्ला, सदरमुकाम मन्थलीबाट प्रत्येक गाउँमा हिडेर जानुपर्ने भएकोले सबै गाउँमा तुरुन्तै अनुगमन र निरीक्षणको लागि कर्मचारी र प्रहरी पठाउन गाह्रो थियो।
तर पनि प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद श्रेष्ठको कुशल नेतृत्वमा हामी सबै कर्मचारी खासगरी कार्यलय प्रमुखहरू २४ सै घण्टा जसो निर्वाचनको व्यवस्थापनमा खटिएका थियौँ।
जिल्ला निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र म प्रायः सँगै हुन्थ्यौँ। जिल्ला निर्वाचन अनुगमन तथा व्यवस्थापन समितिले मलाई निर्वाचन क्षेत्र नम्बर १ को पूरा प्रशासनिक अधिकारसहित अनुगमनको नेतृत्व सुम्पेको थियो।
मेरो टोलीमा निरीक्षकको नेतृत्वमा प्रहरी टोली थियो। मन्थलीबाट चैत्र २४ गते बिहान एक नम्बर क्षेत्र जाने तयारीमा हाम्रो टोली थियो।
त्यो दिन चैत्र २४ गते, साँझ पर्न लागेको थियो, मलाई घरबाट फोन आयो। फोन प्रेम दाइको थियो। अलि अत्तालिएको र हतासजस्तो स्वरमा दाइले भाइ कता छौ भनेर सोध्नुभयो।
प्रायः फोन नगर्ने दाइले एक्कासी फोन गरेपछि मलाई भने विभिन्न कुराको शंका भयो। किन यसबेला फोन, कसैलाई केही भयो कि वा चुनावमा कसैलाई सम्झाउन पर्ने भयो कि आदि इत्यादि।
मैले दाइलाई भनेँ, 'दाइ, म चुनावको अनुगमनमा खटिएको छु। सदरमुकाममा सबै तयारी सकियो, अब भोलि बिहान प्रहरीसहित एक नम्बर क्षेत्र जाँदैछु।'
मैले यति के भनेको थिएँ दाइले भन्नुभयो- 'बाबु, घर आउनु पर्ने भयो, सक्छौ भने अहिले नै हिँड।'
मैले कारण सोधेपछि दाइले भन्नुभयो- 'आमा बिरामी हुनुहुन्छ, ठूलोबाबुलाई बोलाओ भन्नुहुन्छ, तिमी हिँडिहाल।'
मैले के भएको हो भनेर सोधेँ।
'ज्वरो आएको थियो, ज्यादै कमजोर हुनु भएको छ, तिमी चाँडै हिँड।'
मैले म आमासँग कुरा गर्छु, फोन दिनुहोस् त भनेँ तर दाइले 'अहिले आमालाई अलि गाह्रो छ, बोल्न सक्नु हुन्न, रुनुहुन्छ हुन्देऊ' भन्नुभयो।
मैले अस्पताल किन नलगेको त, किन घरमा राखेको भनेर सोधेँ। हामी सल्लाह गर्दैछौँ, अवस्था नाजुक छ, त्यसैले के गर्ने निर्णय गरेका छैनौँ भन्नुभयो।
त्यसपछि मैले अलि कडा भावमा सायद निर्देशनात्मक स्वर थियो त्यो, भनेँ- 'दाइ, म अब तुरुन्तै हिँड्छु तर आमालाई मैले अस्पतालमा भेट्नु पर्छ, घरमा हैन चाहे जुनसुकै अवस्थामा होस्। बुबा र भाइलाई पनि यही भन्नु होला र अस्पताल तुरुन्तै लिएर जानुहोला।'
म भने प्रमुख जिल्ला अधिकारीलाई भेट्न निक्लेँ। उहाँको निवास मेरो निवासबाट अलि माथि थियो। अघिपछि त्यहाँ पुग्न १०/१५ मिनेट लाग्ने बाटो त्यो दिन म ३/४ मिनेटमै पुगेँ।
म अलि अत्तालिएको र सायद अनुहारको भाव समेत फेरिएकोले होला सूर्य सरले भन्नुभयो, 'के भयो जिशिअ साब? किन दौडेको?'
उहाँले मलाई कहिल्यै नामले बोलाउनु भएन। सधैं जिशिअ साब भन्नुहुन्थ्यो। मैले सबै कहानी एकै स्वरमा सुनाएँ र घर जान अनुमति मागेँ।
उहाँ एकै पटक छाँगाबाट खसेजस्तो हुनुभयो र भन्नुभयो- 'ओहो! बिताइहाल्यो नि। एकातिर आमाको त्यो हाल, अर्कोतिर मेरो दाहिने हात तपाईं। अब १ नम्बरको जिम्मा कसलाई दिने मलाई त समस्या पो पर्यो। यहाँ जे भए पनि तपाईंको पहिलो प्राथमिकता घर जाने हो तर मन्थलीबाट गाडी छुटिसके, कसरी जाने?'
त्यो बेला जिल्ला शिक्षा कार्यालयमा गाडी थिएन। प्रजिअ कार्यलयमा पनि एउटा मात्रै गाडी थियो। त्यसपछि उहाँले त्यहीँबाट तुरुन्तै एम्बुलेन्सलाई खबर गरिदिनु भयो। मैले बिर्सेँ, त्यो एम्बुलेन्स तामाकोसी सेवा समितिको थियो कि जिल्ला जनस्वास्थ्य कार्यालयको थियो।
एम्बुलेन्स १५ मिनेटपछि आउने कुरा भयो। उहाँले मलाई भन्नुभयो, 'आमाको अवस्था र तपाईं फर्कन सक्ने/नसक्ने भोलि साँझसम्म खबर गर्नुस् ल! तपाईं फर्कने अवस्था भएमा म केही ढिला भए पनि अर्को व्यक्ति खटाउदिनँ।'
म प्रजिअसँग बिदा लिएर आफ्नो निवासतिर लागेँ। बाटोमा आउँदा नै कार्यालयका साथीहरूलाई म काठमाडौँ जानु पर्ने कुरा बताएँ र भाइ शिवलाई फोन गरें। फोन गर्दा आमालाई पाटन अस्पताल पुर्याइएको र हाल आकस्मिक कक्षमा ३/४ जना चिकित्सकहरूले हेर्दै गरेको थाहा पाएँ।
म करिब ६ बजेतिर एम्बुलेन्समा काठमाडौँ तिर लागेँ। म एम्बुलेन्स चढेपछि चालकले 'पहिले बिरामी राखौँ न सर' भन्नुभयो।
मैले 'म नै हो बिरामी, ल हिडौँ' भनें।
चालक भाइ अकमक्क परे। अनि म काठमाडौँ जानु परेको, अन्य सवारी साधन नभएकोले प्रमुख जिल्ला अधिकारी र तपाईंको हाकिमको सल्लाहमा यो व्यवस्था गरिएको हो, हिँड भनेपछि ऊ ढुक्क भएर अगाडि बढ्यो।
रामेछापदेखि दोलखासम्मको कच्ची बाटो, रातिको बेला, सुनसान सडक, एम्बुलेन्सको तुफानी हुइकाइ, म कहिलेकाँही आतिन्थें। मेरो अत्यास दुई कारणले थियो- एक त आमाको हालत, अर्को यस्तो बाटोमा कतै यो हुइकाइले केही भैहाल्ने त होइन!
सायद मेरो हाउभाउ थाहा पाएर होला 'सर डराउनु पर्दैन, यस्तो घुम्ती बाटोमा दिनमा भन्दा रातमा हाक्न सजिलो हुन्छ। घुम्तीमा आएको गाडीको उज्यालोले परैबाट देखिन्छ' भनेर मलाई आश्वस्त पार्दै चालक भाइले भने।
मैले उनलाई धन्यवाद दिँदै 'अनुभवी छौ, किन डराउनु पर्यो र' भनेँ।
मलाई भने एम्बुलेन्सको हुइकाइको चिन्ताभन्दा पनि आमाको अवस्थाले बढी चिन्तित बनाएको थियो। मेरो मनमा अनेकौं कुरा खेलिरहेका थिए। आमाका हामी तीन जना सन्तान- एक दिदी, म र भाइ। सबैको विवाह भई सन्तान भैसकेका थिए तर पनि हामी आमाको मायामा यति भुलेका थियौँ कि कहिलेकाहीँ आफ्नो सबै कार्य भुल्थ्यौं।
हुन त आमाको माया कसका छोराछोरीलाई हुँदैन र। भनिन्छ नि, आमा शब्दै काफी। केही व्यख्या विश्लेषण गर्नै नपर्ने। आमाले हामीलाई कहिल्यै कडा शब्दले बोलाउनु भएन, छोराछोरीलाई तँसम्म भन्नुहुन्नथ्यो। बाबु, तिमी भन्नुहुन्थ्यो। आज पर्यन्त त्यही लवज छ आमाको।
म अनेक दुःस्वप्नहरू पनि देख्न थालेँ। हामीले ३५/४० वर्षको उमेरमा नै आमा गुमाउन पर्ने हो? के हामी आमाबिना टुहुरा यति चाडै हुन्छौँ? कथंकदाचित आमालाई केही भैहाल्यो भने त्यो घर कति उजाड होला, आमा बिनाको घरमा म कसरी बस्न सक्छु आदि इत्यादि मेरो मानसपटलमा आइरहे।
एक्कासी किन हो कुन्नी चालकले ब्रेक लगाउँदा म झसङ्ग भएँ। कहाँ आइपुगियो भनेर सोध्दा मुडेबाट तल झर्दै रहेछौं। भाइलाई फोन गर्न खोज्छु लाग्दैन।
के भयो होला, चिकित्सकले के भने होलान्, आमा बोल्न थाल्नु भयो कि भएन होला? यस्तै कुराले दिमाग मथलिन्थ्यो। मैले फोन थिच्न भने छोडेको थिइनँ। एक पटक फोन लाग्यो, मैले चालकलाई त्यहीँ गाडी रोक्न भनेँ, फेरि पर गएपछि फोन नलाग्ला भन्ने डरले।
भाइले फोन उठायो र सोध्यो- 'तपाईं कहाँ आइपुग्नु भयो दाइ?'
मैले भाइको उत्तर दिनुभन्दा पनि आमालाई कस्तो छ भनेर सोधेँ। भाइले अलि भावुक स्वरमा भन्यो- 'दाइ, आमा केही फिर्नु भएको छ, बोल्न त सक्नु हुन्न तर इसाराले कुरा गर्न लाग्नु भएको छ। अब अलि सुविस्था होला।'
मेरो मनमा भने अनेक तर्कना चलि नै रहेका थिए।
मैले इश्वरसँग प्रार्थना गरें। भगवान मलाई आमाले ९ महिना पेटमा राख्नुभयो। दश धारा दूध पिलाउनु भयो। ढाडमा, काँधमा, काखमा बोकेर घाँस, दाउरा, मेलापात, पानी, पँधेरो, गाईगोठ, भान्सा सम्हाल्नु भयो।
मलाई बलियो बनाउन तातो तेल लगाएर जिउ माडी दिनुभयो। असल, नैतिकवान र परिश्रमी नागरिक बनोस् भनेर सधैँ भगवानसँग प्रार्थना गर्नुभयो। मलाई यत्तिको गर्ने आमालाई मैले भनेँ- केही सेवा गर्न नपाई हामीबाट आमालाई चुँडेर नलैजाऊ भगवान। हामीलाई कृपा गरेर आमा दान दिनुहोस्। हामी जिन्दगीभर तपाईंको ऋणी हुनेछौं।
हो, मानव भएर जन्मेपछि एक पटक देह त्याग गर्नै पर्छ। मेरी आमाले पनि त्यो नियम मान्नै पर्छ। तर मेरो गुनासो यति मात्र हो, भगवान मैले आमाको सेवा गर्न पाएको छैन। कक्षा ८ पढ्दादेखि आमालाई छोडेर घर बाहिर हिँडेको म आज पर्यन्त बाहिरै छु। कहिलेकाहीँ घर जान्छु, त्यो समयमा पनि आमाको सेवा गर्नुभन्दा आमाले नै मेरो सेवा सुसार बढी गर्नुहुन्छ। बाहिर एक्लै बस्छौ, माया गर्ने मान्छे को होला र भनेर?
यस्तै तर्कना, प्रार्थना आदि इत्यादि गर्दागर्दै धुलिखेल आइपुगेको पत्तै भएन। मैले भाइलाई फेरि फोन गरेँ। भाइले मलाई केही नसोधी एकै सासमा सुनायो- 'दाइ आमा पूरा फिर्नु भयो। अब त दोहोरो कुरा गर्नुहुन्छ, चिकित्सकले भर्ना गर्नु पर्दैन भन्छन्। हेरौं हामी १/२ दिन राख्ने कि भनेर छलफल गर्दैछौँ। तपाईं के भन्नु हुन्छ?'
म हर्षले गद्गद् भएँ। ईश्वरलाई प्रमाण गर्दै धन्यवाद दिएँ। मैले भाइलाई चिकित्सकले जे भन्छन् त्यही गर्ने हो, हामीले दबाब दिनु हुँदैन भनेर भनेँ।
म कोटेश्वर आइपुग्न लागेको थिएँ, भाइको फोन आयो। भाइको फोन आउँदा म भने आतिन्थेँ, कतै भाइले अन्यथा त सुनाउने होइन भनेर। भाइले अलि खुसीको स्वरमा भन्यो- 'दाइ आमालाई घर ल्याइयो, सोझै घर आउनुहोस्। अस्पताल जान पर्दैन।'
यति कुरा गर्दा नगर्दा हामी तीनकुने आइपुगी सकेका थियौँ। चालक अहिले नै फर्कने योजनामा थिए। त्यसैले म तीनकुनेमै झरेँ र चालकलाई विस्तार जान भनेँ। सायद त्यो दिन चालक भाइ भोकै रहे होलान् जस्तो लाग्छ मलाई। किनकी हामीले बाटोमा खानको लागि कतै नरोकी आएका थियौँ। गाडीको भाडा दिएँ र म फटाफट घर तर्फ लागेँ। करिब ५ मिनेटमा घर पुगेँ।
घरमा कोही पनि सुतेका रहेनछन्। सबैको अनुहार हँसिलो थियो। आमा बैठक कोठामा नै सुत्नु भएको थियो। मलाई देख्ने बित्तिकै उठ्न खोज्नु भयो, मैले पर्दैन आमा सुत्नुहोस् भनेर आमाको गोडामुनि गएर बसेँ।
आमाले बरर आँसु खसाल्नु भयो र भन्नुभयो- 'भाग्यमानी रहेछु बाबु, मैले तिम्रो मुख देख्न पाएँ। अब दैवले लगे पनि म स्वर्ग जान्छु।'
आमाको यो भनाइले मलाई भने भावुक बनायो, केही बोल्न सकिनँ। सोचेँ म झन् भाग्यमानी आमाको मुख देख्न पाएँ, आमाको काखमा बस्न पाएँ, आमाको आशीर्वाद थाप्न पाएँ।
आमाले 'छोरो भोकै छ, के छ, खान दे' भनेर देवकीलाई भन्नुभयो। अरु पनि सुत्न जाओ, मलाई ठिक भयो भनेर भन्नुभयो।
भाइ त्यो दिन पर घर गएन। हामी सँगै बस्यौँ। मैले भाइसँग आमालाई के भएको थियो, मलाई किन खबर नगरेको बारे सोधेँ र अलिअलि आक्रोश पनि पोखेँ।
भाइले आमा बिरामी भएको सबै वृत्तान्त सुनायो।
'तपाईं चुनावमा खटिनु हुन्छ, त्यसैले बुबाले अहिले खबर नगर निको भैहाल्छ भनेर भन्नुभयो। आमाले पनि पर्दैन भन्नुभयो अनि फोन गरेनौँ। तर हिजो रातिदेखि आमालाई ज्यादै च्याप्यो र बिहान ११/१२ बजेदेखि त बोल्नै छोड्नु भयो। अनि तपाईंलाई खबर गरेको।'
मैले अस्पताल किन नलगेको त भन्दा 'हिजोसम्म ठिक होला भन्ने लाग्यो। आज बिहान अब अस्पताल लैजाने भन्दा छिमेकीहरूले अब टिक्नु हुन्न किन लाने भन्न थाले, बुबाले पनि आश मार्नु भयो। बाहिर ठाउँ सार्ने व्यवस्था गर अब आमाले हामीलाई छोड्छे भन्नुभयो बुबाले। आमाको हालत पनि त्यस्तै भैसकेको थियो।'
यसो भनिरहँदा भाइ पटक-पटक भकानिएको थियो।
उसले अझ थप्यो- 'तर जब तपाईंले आमालाई जिउँदो वा मृत म अस्पतालमा मात्र भेट्छु भनेपछि हजुरको वचन राख्नको लागि अस्पताल लगियो। हाम्रो तग्दिर बलियो रहेछ दाइ, आमा बाँच्नुभयो।'
मलाई पनि लाग्यो, साँच्चै आमा त यमराजको मुखैमा पुगेर पो फर्कनु भएछ। चिकित्सक तथा उपचारमा संलग्न अस्पतालका सम्पूर्ण स्टाफहरूप्रति हाम्रो परिवार हृदयदेखि आभार व्यक्त गर्दछ। त्यो दिन हामी करिब २ बजे तिर सुत्यौँ।
बिहान उठेर पहिला आमाकोमा गएँ र स्वास्थ्य अवस्था सोधेँ, आमाले ठिक छ बाबु भन्नुभयो। अब त डाक्टरले औषधि दिएको छ, पूरा निको भैहाल्छ नि भनेर आमालाई ढाडस दिएँ मैले।
आमालाई म चुनावमा खटिएको छु, जाउँ कि के गरौं भनेर सोधेँ।
'बाबु, मलाई अब विस्तारै निको हुन्छ। सरकारले खटाएको ठाउँमा जानुपर्छ, जाऊ,' भनेर भन्नुभयो।
त्यसपछि मैले त्यहीँबाट प्रजिअ सूर्य सरलाई फोन गरें र म आजै आउँदै छु भनेर खबर गरें। उहाँले आमाको अवस्था सोध्नुभयो। मैले सबै बताएँ। उहाँले असाध्यै खुसी व्यक्त गर्नुभयो।
'सकेसम्म चाँडो आइपुग्नुस् है, मलाई यहाँ एक्लो महसुस भएको छ,' भन्नुभयो।
करिब ८ बजेतिर बिहानको खाजा खाएर केहीबेर बुबासँग सामान्य घरायसी गफ गरेपछि भर्खर मात्र बग्रिनु भएको आमालाई छोडेर म कर्म क्षेत्रमा हिँडेँ।
आज करिब १५ वर्ष बित्यो आमा यसरी यमराजको मुखबाट फर्किनु भएको। अहिले आमा ८५ वर्षको हुनुभयो। कहिले नाच्नुहुन्छ। कहिले भजन गाउनु हुन्छ। कहिले हामीसँग जिस्कनु हुन्छ। दिनको दुई पटक यसो बाहिर घुम्नु हुन्छ।
प्रत्येक दिन दिदी, भाइबुहारी शारदा, नातिनीहरू र गाउँका काकीहरूसँग फोनमा गफ गर्नुहुन्छ। बिहान बेलुका दुवै समय धूपबत्ती बालेर भगवानको आरती उठाउनु हुन्छ। म भने आमाका यी सबै क्रियाकलाप हेरेर फुरुङ्ग हुन्छु। मनमनै लाग्छ करिब १० वर्ष अगाडि नै हामीबाट इश्वरले बुबालाई छिनेर लगे पनि आमाले बुबाको समेत माया, प्रेम दिइरहनु भएको छ।
औषधि त एक झोला छन् आमाका। दशौं थरी औषधि खानु पर्छ। कहिलेकाहीँ त औषधि खान दिक्क पनि मान्नुहुन्छ तर पनि चिकित्सक र हामीले भनेअनुसार अत्यन्तै अनुशासित तवरले औषधिको प्रयोग गर्नुहुन्छ।
अहिलेसम्म हामीले आमाको सेवा गर्न पाएका छौँ। अनि पाएका छौँ आमाको त्यो न्यानो काख, दरिलो साथ र इश्वरीय आशीर्वाद। हामी कति भाग्मानी!