वन व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले वन नियमावली २०७९ ल्याएको छ। नियमावली आइसकेपछि त्यसमा परिवर्तन भएका विषयहरूमा छलफल हुनु स्वभाविक छ।
परिवर्तनसँगै विरोधका स्वरहरू उठ्ने र विषयगत कारणहरू खोज्ने विषय सामान्य नै हो। अझ प्राकृतिक श्रोतहरूमा गैह्रसरकारी संघसस्थाहरू हाबी भएका देशहरूमा सरकारले ल्याएका नीति नियममा बढी सवालजवाफ हुने गर्दछ।
अस्थिर सरकार, प्राविधिक ज्ञानको कमि, सस्तो लोकप्रियताका लागि राजनीतिकर्मी सरकारीभन्दा दाता केन्द्रित गैह्रसरकारी संघ-संस्थासँग नजिकिनु र तिनको अनुकूल निर्णय गर्नु विकासन्मुख देशको रोग हो।
वनको वैज्ञानिक व्यवस्थापनप्रति गैह्रसरकारी संघसस्थाहरूको दृष्टिकोण र तत्कालका सरकार समद्ध केही व्यक्ति तथा राजनीतिकर्मीहरूको भूमिकाले सो विषयलाई प्रष्ट पारिसकेको छ।
यसो भन्दै गर्दा सदा सरकारले ल्याएका विषय सही हुन्छन् त?
कदापि हुँदैन। त्यसको गहन छलफल र विश्लेषण हुनु आवश्यक हुन्छ।
अब मूल विषयमा केन्द्रित हौँ। यस नियमावलीमा धेरै विषय छन्। हरेक विषयमा सबैको चासो हुँदैन। प्राविधिक विषय, वन विज्ञानको विद्यार्थी हुनुको नाताले हाल तातिरहेको प्राविधिक पक्ष उजागर गर्न आवश्यक लाग्यो।
पछिल्लो नियमावलीमा गोलाइको आयतन मापन गर्न नयाँ विधि अर्थात् सूत्रको उल्लेख भएको छ। ठ्याक्कै भन्नुपर्दा नियमावलीले साविकमा प्रयोग हुँदै आएको 'क्वाटर गर्थ' सूत्रलाई 'ह्यूवर' को सूत्रले प्रतिस्थापन गरेको छ।
यो विचारणीय विषय हो। नयाँ सूत्र ल्याउँदै गर्दा, नयाँ सूत्रका सबल पक्ष र साविकमा प्रयोग भएको सूत्रको दुर्बल पक्ष प्रष्टयाउनु वा नयाँ सूत्र आवश्यकताको कारण उल्लेख गर्नुपर्दछ। अन्यथा हचुवाको भरमा ल्याइएको भन्ने सन्देश आमरूपमा जाने मात्र होइन, यसले वन व्यवस्थापन, बजार, उपभोक्ता तथा सम्बद्ध सरोकारवालामा असर पार्दछ।
रुखको काण्ड तथा गोलाइ आफैमा वेलना होइन अर्थात् वेलनाकार हुँदैन। वेलनाको सूत्र काठको गोलाइ मापनको लागि प्रयोग गरिँदैन, यसले बढी मूल्यांकन गर्दछ। गोलाइको दुवै छेउ समान व्यासको नहुने हुँदा बेलनाको आयतनभन्दा गोलाइको आयतन कम हुन्छ। व्यवस्थापनको लागि सकभर प्रमुख प्रयोगलाई विचार गरेर आयतन तथा परिमाण निकाल्ने गरिन्छ।
गोलाइको आयतन मापन त्यसको प्रकृतिमा भर पर्दछ। जस्तै गोलाइको लम्बाइ, गोलोपन (परिधि), व्यास, प्रजाति। गोलाइको लम्बाइ छोटो हुँदा गोलाइ बेलना आकारको करिबमा रहन्छ। जब ६ फीटको गोलाइलाई स्टयाण्डर्ड मानिन्छ र ह्यूवर सूत्र लगाइन्छ भने, त्यो साइजको गोलाइमध्ये भाग (३ फीट) को नापअनुसार बेलनाकार छ भन्ने आशय हुन्छ।
गोलाइको बीचमा नापिने हुँदा सालाखाला बेलना नै मान्नुपर्छ भन्ने तर्क हुनसक्छ। तर त्यसरी लिनु हुँदैन। सडक निमार्णमा त 'कट एण्ड फिल' को सिद्धान्त (पहाड तर्फको काटेर खाल्डो तर्फ पूर्ने र बाटो समथर पार्ने) ले काम गर्दैन भने झन् काठको गोलाइ तथा उत्पादनसँग मिल्ने कुरै भएन।
यदि गोलाइलाई मूल्य अभिवृद्धि गर्दा परिवर्तित हर वस्तुहरूको मूल्य समान हुने भए, बेलना मान्न नसकिने होइन। तर गोलाइ आफैमा पर्फेक्ट गोलाकार नहुन सक्छ र आशातित परिमाण नआउने हुन्छ। फलस्वरुप बढी मापन गर्ने सूत्रको प्रयोगले बजारमा तथा वन व्यवस्थापनमा प्रत्यक्ष असर पार्छ।
तसर्थ गोलाइको मापन गर्दा सम्भाव्य प्रयोग तथा उपयोग सिद्धान्तको आधारमा गर्नु सान्दर्भिक हुन्छ। सम्भाव्य प्रयोग बारेमा स्पष्ट पार्न आवश्यक पर्छ तर नियमावलीले त्यो विषयमा बोलेको देखिँदैन।
राजश्व बढाउने उद्देश्य
रमाइलो पक्ष के छ भने सूत्र परिवर्तनकै कारण हिजोको मात्रा (परिणाम) मा मात्रै काठ उत्पादन भए पनि काठ उत्पादन परिमाण बढ्दछ, सोहीअनुरुप राजस्वमा पनि वृद्धि हुन्छ। केबल ह्यूवरको सूत्रको प्रयोगले मात्र पनि हिजोको परिणाममा मात्र काठ उत्पादन भएमा पनि २१.५ प्रतिशत परिमाण बढी उत्पादन हुन आउँछ किनकी हिजो र आज पनि गोलाइ नाप्ने स्थान (मध्य) भाग औँल्याइएको छ।
अर्थात् हिजो ७८.५ क्युबिक फीट भनेर किनिने काठको परिमाणलाई आज १०० क्युबिक फीटको रुपमा कारोबार हुन्छ। अर्थात् सामान्य हिसाबमा हिजो ७८ रुपैयाँ पचास पैसाको १ क्युबिक फीट परिणाम अब १०० रुपैयाँमा उठ्छ।
जब त्यही परिमाणको गोलाइलाई बढी पैसा तिर्नुपर्ने भएपछि यसले बजार मूल्यमा प्रत्यक्ष असर पार्छ-पार्छ। त्यो भनेको आम उपभोक्तासम्म पुग्दा सोही अनुपातमा मूल्य वृद्धि हुने हो, अर्थात् बजारभाउ बढ्नु हो।
हुन त खुला टेन्डर प्रक्रियामा जाँदा घट्न सक्ने सम्भावना त रहन्छ, जसले बजार नियमन गर्छ भन्न सकिएला तर त्यसको सम्भावना ज्यादै न्यून रहन्छ। त्यो विश्वासनीय तर्क भने होइन। यसरी सूत्र परिवर्तन गर्नुको उद्देश्य राजश्वको संकलन बढाउनु भन्ने भान धेरैमा परेको छ, केही पक्षले खुलेरै पनि भनेको पाइन्छ।
यदि वन क्षेत्रको योगदान कुल ग्राहस्थ उत्पादनमा बढाउनु वा राजश्व संकलन बढाउनु हो भने सूत्र परिवर्तनभन्दा राजश्वको दर बढाउनु बढी सान्दर्भिक हुन्छ, हुने थियो। अथवा बदलिँदो परिस्थितिका कारण प्रयोगमा विविधता आएको र सम्भावित प्रयोग पनि बृहत भएकोले नयाँ सूत्र आएको भन्ने हो भने त्यो प्रष्ट पार्नुपर्छ।
यस्ता-यस्ता प्रयोगको सम्भावना रहन सक्छन्, हुन्छन्, त्यसैको आधारमा सूत्र परिवर्तन भएको हो भन्न सक्नु पर्दछ। तर त्यो नियमावलीमा भेटिँदैन। नियमावलीले नबोले पनि वा लेख्न नमिल्ने भए पनि सम्वद्ध पक्षले यो विषय प्रष्ट्याउनु पर्दछ।
प्राविधिकहरूमा अस्पष्टता
पछिल्लो समय केही वन प्राविधिकहरू यस विषयमा अस्पष्ट रहेको पाइन्छ। उनीहरूका अनुसार गोलाइबाट कहिले शतप्रतिशत त कहिलेकाहीँ त्योभन्दा बढी पनि चिरान काठ प्राप्त हुन्छ। चिरेर बाँकी रहेका सबै वस्तु बिक्री हुन्छ भनेको सुनिन्छ। त्यसैले बेलनाकार सूत्रको प्रयोग गर्नु उपयुक्त हुन्छ पनि भन्ने गरेको पाइन्छ। यसलाई सतही तर्क मान्दा सही होला।
त्यो बढी हुने कुन सूत्रको आधारमा हो? बेलनाको सूत्र हो या क्वाटर गर्थको सूत्रबाट निकालिएको परिमाणको हो? त्यो खुलाउन सकेको भने पाइँदैन। हाम्रो बुझाइमा त्यो शतप्रतिसत भनेको क्वाटर गर्थ सूत्रबाट निकालिएको गोलाइको आयतनको परिणामको आधारमा हुन सक्छ। बेलनाकार सूत्रको आधारमा निकालिएको आयतनबाट होइन किनकी त्यो सम्भव नै हुँदैन।
यस विषयमा प्राविधिक स्पष्ट हुन जरुरी देखिन्छ। पहिलो गोलाइ पर्पेक्ट रुपमा बेलनाकार हुँदैन, दोस्रो यदि भैहाले पनि मूल्य अभिवृद्धिको सिलसिलामा स्वतः केही प्रतिशत क्षति हुन्छ। सय प्रतिशत वा त्योभन्दा बढी हुन्छ भन्नेमा विश्वासिलो आधार छैन। यदि शतप्रतिशत वा बढी भएमा त्यो क्वाटर गर्थको निकट (आधारमा) हुनसक्छ।
मुख्य विषय क्वाटर गर्थ सूत्र प्रयोग भएको स्क्वार्ड आकारको काठ उत्पादनलाई आधार मानेर हो। यदि ह्यूवर वा बेलनाको सूत्र प्रयोग गर्ने हो भने, त्यसको उत्पादन (मूल्य अभिवृद्धि सामग्री) के हो? त्यो भन्नु पर्छ, चिरानबाट निस्कने कम मूल्यको वस्तुलाई बढी औँल्याएर हुँदैन।
न क्याल्कुलेटरको हिसावले हुन्छ, न त अन्दाज गरेको भरमा हुन्छ। सम्भावित प्रयोग बृहत र खेरा जाने भनिएको वस्तु थप मूल्यवान छ। त्यही आधारमा बेलनाकार वा ह्यूवर सूत्र सही हो भन्ने लागेको हो भने पनि वर्तमान प्रयोगको अवस्थालाई विश्लेशण गर्दा त्यो तर्क गलत छ। त्यस्तो अवस्था देखिँदैन।
ह्यूवर सूत्रले गोलाइको बीचमा मापन गर्ने विषय र विश्वास
पक्कै पनि ह्यूवरको सूत्रले गोलाइको बीचमा नापिएको व्यासको आधारमा आयतन मूल्यांकन गर्दछ। ठूलो भागपट्टिको व्यास (बीचभन्दा बढी व्यास) भएको भागले सानो पट्टिको व्यास (बीचभन्दा कम व्यास) हुने भागको कमिलाई पूर्ति गर्ने भएकोले गोलाइ समग्रमा बेलनाकार मान्नुपर्छ भन्ने गरेको पनि पाइन्छ।
पृष्ठभूमिमा भने झैँ काठको गोलाइ सडक निमार्णमा जस्तो 'कट एण्ड फिल' को सिद्धान्त (पहाड तर्फको काटेर खाल्डो तर्फ पुर्ने र बाटो समथर पार्ने) ले काम गर्दैन। त्यसरी काम नगर्ने भए ह्यूवर सूत्र किन प्रतिपादन भयो त भन्ने प्रश्न उब्जिन सक्छ? त्यसको लागि ह्यूवर सूत्र कतिबेला प्रयोग गरिन्छ र हिजो क्वाटर गर्थ सूत्र किन प्रयोग भयो र त्यसका सबल र दुर्बल पक्षका बारेमा प्रष्ट पार्नु आवश्यक हुन्छ।
यी सूत्रहरूको प्रयोग गोलाइको आकार प्रकार र उपयोगलाई आधार मानेर गरिन्छ भन्ने बुझ्नु पर्दछ। यदि कुनै प्रजातिको बाक्कल वा बाहिरी भाग (साधरण भाषामा मुख्य उत्पादन निकालेर उब्रेको वस्तु वा खेराजाने भाग) पनि काठ बराबरकै हैसियतमा प्रयोग हुनसक्छ भने ह्यूवर सूत्र सान्दर्भिक हुन्छ, क्वाटर गर्थको दाँजोमा।
अन्यथा मुख्य उत्पादन निकालेर उब्रेको वस्तु खेर जाने वस्तु हो, मुख्य उत्पादन बराबरको मूल्य नहुने र अन्य रुपको प्रयोगमा पनि नआउने हो भने ह्यूवर सूत्र प्रयोगमा नल्याउनु नै राम्रो हुन्छ। यस विषयले व्यापारीमा केही समय अन्यौल बनाउला, तर तिनलाई घाटा भने गर्दैन किनकी घाटाको व्यापार गर्नुभन्दा मूल्य बढाएर परिपूर्ति गर्दछ। तर आम उपभोक्तालाई भने असर पार्दछ।
नेपालमा गोलाइको प्रयोग (चिरान काठ उत्पादन)
नेपालमा गोलाइलाई सामान्य तया स्क्वार्ड टिम्बर (चतुरर्भुज आकार) उत्पादनको स्रोतको रुपमा लिइन्छ। धेरै अघिदेखि नेपाली जनजीवनमा स्क्वार्ड काठको प्रयोग मुख्य त झ्याल ढोकाको चौकोस बनाउने, थाम, दलिनहरूमा प्रयोग हुँदै आएको पाइन्छ।
व्यवसायिक रूपमा रेलको लिक अड्याउने आधार तथा पुल निमार्णमा प्रयोग भएको पाइन्छ। त्यसलाई नै मूल्यांकन आधार मानेर गोलाइको आयतन मापनको लागि क्वाटर गर्थ सूत्र प्रचलन आएको हुनुपर्दछ। यद्यपि योबाहेक अन्य प्रयोगको सम्भावना नभएको भने होइन।
पछिल्लो समय स-साना उपयोगका सामग्री निमार्णमा पनि प्रयोग गरिएको पाइन्छ। जति-जति स-साना र पातला काठको रुपमा प्रयोगका सम्भावना रहन्छन्, त्यति नै ह्यूवर सूत्रको सान्दर्भिकता हुन्छ।
यो विषय गोलाइको आकारप्रकारले पनि तय गर्दछ। कत्रा साइजका चिरान काठ, कति मात्रामा र केमा प्रयोग हुन्छ भन्ने आधारमा कुन सूत्र सही हुन्छ भन्न सकिन्छ। पछिल्लो समय उपभोगमा विविधता आएसँगै दाउराको रुपमा कारोबार हुने उत्पादन काठको रुपमा प्रयोग आएको पनि पाइन्छ। जस्तै लो-बेड (भुइँ-खाट) तथा अन्य फर्निचर सामग्री (प्लाइउडसँगै) बनाइन्छन्।
तर समग्रता तथा मुख्य रुपमा लिने हो भने हाल पनि गोलाइ काठ चिरान मार्फत् मुख्य त झ्याल ढोकाको चौकोस बनाउन प्रयोग भएको पाइन्छ। त्यसैले स्क्वार्ड आकार चिरान काठ उत्पादनलाई आधार मानेर मूल्यांकन गर्नु राम्रो हुन्छ। साइज-साइज अनुसारको गोलाइबाट यो यो सम्भावित प्रयोग हुन्छ भनेर लेखाजोखा गर्न कठिन छ।
सबै प्रयोजनलाई आधार मानेर छुट्टाछुट्टै सूत्रको प्रयोग गरिनु सम्भव र यथोचित हुँदैन, मुख्य तथा सम्भावित उत्पादनलाई आधार मान्नु पर्दछ। ३ इन्च चौडाइ, ४ इन्च उचाइ र ७ फीट लम्बाइ (सामान्यतया हालको घरको ढोकालाई आधार मान्दा) का कति चिरान काठ निस्कन सक्छन्।
त्यसलाई आधार मानेर कत्रो गोलाइलाई तत्-तत् सामग्री बनाउने (बढी लाभ लिने) प्रयोग गर्दा सही हुन्छ भनेर विश्लेषण गर्न सकियो भने ह्यूवर सूत्र बढी प्रभावकारी हुन सक्ला। त्यसरी निक्यौल गर्दा सही हुने भए पनि त्यति सान्दर्भिक र व्यवाहारिक भने हुँदैन।
गोलाइको लम्बाइले पनि आयतन मापनमा फरक पार्दछ। गोलाइको स्टयाण्डर्ड लम्बाइ ७ फीट राख्नु उचित हुन्छ किनकी घरमा ढोका अवश्य हुन्छ, जसको स्टयाण्डर्ड लम्बाइ (उचाइ) भनेको ७ फीट हो। तथापि एक ढोका भएको कोठामा एक वा त्योभन्दा बढी झ्याल हुन्छन्।
सामान्यतया झ्याल चौकोसको स्टयाण्डर्ड साइज ३ इन्च चौडाइ, ४ इन्च उचाइ र ६ फीट लम्बाइ (अर्थात् ५ फीट उचाइ र ६ फीट लम्बाइको चौकोस) बढी प्रचलनमा रहेकोले ६ फीटको लम्बाइ रहेको गोलाइ स्टयाण्डर्ड मानिएकोमा अन्यथा लिनु मिल्दैन। गोलाइको लम्बाइमा फरक पर्दा आयतनमा फरक पर्दछ, अनुपातमा कम हुन्छ। किनभने व्यासबीच भागमा नाप्ने भनिएको छ।
क्वाटर गर्थ सूत्र
क्वाटर गर्थ सूत्रको प्रयोग गर्दा स्क्वार्ड आकारको काठ उत्पादन वा त्यसको प्रयोगलाई आधार मानेर गरिएको हुनुपर्छ। स्क्वार्ड आकारको काठ निकाल्दा वेलनाको दाजोमा ६३.६६% मात्र चिरान काठ निस्कन्छ।
यस्ता आकारका काठ उत्पादन गोलाइको सानो व्यास भएको भागमा निर्भर गर्दछ। त्यसैले गोलाइको बीचमा नापिएको व्यासको आधारमा, क्वाटर गर्थ सूत्रले ७८.५% मात्र गणना गर्छ, २१.५% घाटा हुन्छ भनेर रटान लगाउनु हुँदैन।
हो, स्क्वार्ड आकारको काठबाहेक चिरान गर्दा स–साना काठ पनि निस्कन सक्छन्। तिनको सम्भावित प्रयोग पनि धेरै र मूल्यवान हुन सक्छ। अन्य देशहरूमा उब्रेको वस्तुहरू पनि मूल्य अभिवृद्धिको अवधारणामा लगिन्छन्। सोही अवधारणाअनुसार विविध रुपमा प्रयोग हुन्छन्, गरिन्छन् र आय पनि राम्रो हुन्छ।
साथै अन्य देशमा विविधि वस्तु (सामग्री) उत्पादनमा आधारित वन व्यवस्थापन हुने भएकाले क्वाटर गर्थ सूत्र प्रचलनबाट हटेको अथवा अवलम्बन नभएको हुन सक्छ। जस्तै सलाई काँटी, प्लाइउड र पेपर उत्पादन र चिरान काठ उत्पादनमा एउटै सूत्र लागु नहुन सक्छ। त्यसका लागि अन्य सूत्र प्रयोग हुन सक्छन्।
जस्तै खयरको गोलाइ केजीको हिसाबमा कारोबार हुनसक्छ। यदि खयरको गोलाइबाट चिरान काठ निकाल्ने हो भने एउटा र कथ्था कच्च निकाल्न हो भने अर्को सूत्रको प्रयोग हुन्छ। त्यसैले सम्भावित प्रयोग बारेमा प्रकाश पारेर मात्र नया सूत्र प्रचलनमा ल्याउनु सान्दर्भिक तथा औचित्यपूर्ण हुन्छ।
अन्यथा कुनै आधारबिना नया सूत्र ल्याइएको भन्ने मान्यतालाई पुष्टि गर्दछ। अन्य देशमा निजी कारोबार बढी हुन्छ, क्रेता र बिक्रेताका बीचमा समझदारीको आधारमा कारोबार हुन्छ। त्यस्तो परिवेश नेपालको हकमा लागु हुँदैन किनकी प्रत्यक्ष वा परोक्ष रुपमा वन पैदावार सरकारी स्वामित्वमा रहेको छ।
मापन गर्ने स्थान फरक पर्दा
यो लेख लेख्दा एउटा उदाहरणलाई ध्यानमा राखेर विश्लेषण गरिएको छ। एउटा ६ फीट (१८२.८८ सेमी) को गोलाइ जसको ठूलो, बीच र सानो भागको व्यास क्रमशः ६३, ६२ र ६१ सेमी छ। यदि बीचको व्यासको आधारमा ह्यूवर सूत्र प्रयोग (नियमावली अनुसार) गर्दा जम्मा ६१.६३ % मात्र स्क्वार्ड आकारको काठ उत्पादन हुन्छ।
त्यसैगरी ठूलो र सानो व्यासको आधारमा ह्यूवर सूत्र प्रयोग गर्दा क्रमशः ५९.६९ र ६३.६६ % मात्र स्क्वार्ड आकारको काठ उत्पादन हुन्छ। बीचको व्यासको आधारमा क्वाटर गर्थ सूत्र प्रयोग गर्दा ७८.४७ % स्क्वार्ड आकारको काठ उत्पादन हुन्छ। त्यसैगरि ठूलो र सानो व्यास को आधारमा क्वाटर गर्थ सूत्र प्रयोग गर्दा क्रमशः ७६ र ८१.०६ % मात्र स्क्वार्ड आकारको काठ उत्पादन हुन्छ।
यी तथ्याँकहरूलाई हेर्दा र गोलाइको प्रमुख प्रयोग काठ र चिरानपश्चातका निस्कने अन्य वस्तुको प्रयोग हाम्रो परिप्रेक्षमा कम हुने, प्रयोग भएको अवस्थामा काठको मूल्य बराबर हुँदैन। चिरान पश्चातका निस्कने अन्य वस्तुको प्रयोग (कारोबार) ले केही घाटा पूर्ति गर्न सक्दछ। त्यसैले त्यो घाटा सक्दो कम हुनुपर्छ भन्ने मान्यता राखिन्छ।
यसलाई विश्लेषण गर्दा ह्यूवर सूत्रले बढी घाटा तथा क्वाटर गर्थले कम घाटा गर्ने देखिन्छ। तसर्थ लेखले आधारमा मानेको विषय 'स्क्वार्ड आकारको काठ उत्पादन' आम पक्षको मान्यता पनि यही हो भने ह्यूवर सूत्रभन्दा तथा क्वाटर गर्थ सान्दर्भिक हुन आउँछ।
होइन, चिरान स्क्वार्ड आकारमा भएको पाइँदैन। प्रमुख उत्पादन स–साना काठ हुन र चिरानपश्चात उब्रेको वस्तुहरू काठकै मूल्य बराबरमा कारोबार हुन्छ भन्ने हो भने ह्यूवर सूत्र सान्दर्भिक रहन्छ। तर यो पुष्टि गर्न ज्यादै सकस हुनेछ वा बजार नबुझे (ग्राउन्ड टू अर्थ नभएको) को मानिने छ।
अन्त्यमा, हाल सरकार र विभिन्न सरोकारवालाहरू बीचमा नियमावलीमा ल्याइएको सूत्र प्रयोग गर्ने कि साविकमा नै फर्किने बहस राष्ट्रिय रुपमा छेडिएको छ। काठ व्यवसायी तथा सामुदायिक वनका कथित तालुकदारहरू साविकको सूत्रको पक्ष र सरकार पक्ष नियमावलीलाई नै निरन्तरता दिने अवस्थामा रहको छ भन्दा फरक नपर्ला।
विगतमा सामुदायिक वनका कथित तालुकदारको असहिष्णु भूमिकालाई हेर्दा यो विषयमा कतिपय प्राविधिकले बोल्नुपर्छ भन्ने मान्यता राख्दैनन्। सरकारको हरेक निर्णयलाई विवादित बनाउने गरेकाले सही विषय उठानमा समेत तिनले साथ पाएको देखिँदैन।
दातृ निकायमा आधारित संस्था तथा द्रुत गतिमा आर्जन गर्ने व्यापारीहरूले सरकार कमजोर बनाउने दाउ रच्छन् भन्ने आम विश्वासको कारण आज यो विषयमा वन क्षेत्रका मानिसहरू नखुलेका हुन सक्छन्। तर सरकारले नै ल्याएको भए पनि केही सरकारी कर्मचारी तथा प्राविधिकहरू नियमावलीमा उल्लेख भएको सूत्रलाई सही मानिरहेका छैनन्।
त्यसैगरी प्राविधिक विषयमा ज्ञानको कमिले हुनसक्छ, केही गैह्रसरकारी सरोकारवालाहरू साविककै सूत्र प्रयोगमा जानुपर्छ भन्ने आफ्ना संघ-संगठनको पक्ष बोलेको पाइँदैन। खुला तथा प्रतिस्पर्धात्मक बजार रहेको अवस्थामा सूत्रले फरक पार्दैन भन्नेको मत पनि राम्रै छ।
यस लेखको निकर्ष, जे-जस्तोसुकै सवालजवाफ वा अवस्था भए पनि नियमावलीमा सूत्र फेरिएर आउनुको औचित्य सम्बद्ध पक्षले पुष्टि गर्नुपर्दछ। अन्यथा साविकको सूत्रलाई निरन्तरता दिनु नै सान्दर्भिक हुनेछ।
(लेखक वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप-प्राध्यापक हुन्।)