विश्व इतिहासलाई अध्ययन गर्दा महिला विरूद्धको हिंसा लैंगिक हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोबल लिडरशीप (सिडब्लुजिएल) को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो।
त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म १६ दिने अभियानस्वरूप अन्तर्राष्ट्रिय रूपमा विश्वव्यापी रूपमा मनाउन थालेको छ।
लैंगिकताको आधारमा हुने हिंसा मानवअधिकार हननको सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरूप काम गर्न सबै राष्ट्र तथा संयुत्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो।
यसको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिराबेल परिवारका तीन साहसी दिदी बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ मा गरेको हत्यासँग जोडिएको छ।
यसरी यी तीन दिदी बहिनीहरूको हत्यालाई महिला विरुद्धको हिंसाको रूपमा लिई महिलावादीहरू द्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुआत गरिएको हो।
नेपालको लिखित इतिहासलाई नियाल्दा महिलाविरूद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन्।
उनले तत्कालीन नेपाली समाजमा महिलामाथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकार स्थापनाका लागि सशक्त रुपमा आवाज उठाएकी थिइन्। विभिन्न किसिमका लैंगिक विभेदविरूद्ध अभियान संचालन गरेकी थिइन्।
१६ दिने अभियानको सुरुआत नेपालमा विसं २०५४ सालदेखि भएको पाइन्छ। सोही समयदेखि लैंगिक हिंसाविरूद्ध विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने गरिएको थियो।
तथापि नेपाल सरकार मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतनासहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो।
नेपालको संविधानको प्रस्तावना नै लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुत अन्त्य गरी समानुपातिक, समावेशी, सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ।
संविधानमा नै व्यवस्था भएको समानताको हकमा कुनै पनि नागरिकलाई जाति, धर्म, वर्ण र लिङ्गको आधारमा भेदभाव गरिने छैन भन्ने व्यवस्था भए पनि व्यवहारमा लागु भएको पाइँदैन।
शारीरिक, मानसिक तथा महिला विरुद्ध हुने कुनै पनि प्रकारको हिंसाजन्य कार्यलाई नेपालको संविधान २०७२ ले निषेध गरेको छ। जुन कानुनद्वारा दण्डनीय हुनेछ भनि धारा ३८ को उपधारा ३ मा उल्लेख गरेको छ। यस्तै महिला विरुद्ध सामाजिक, सांस्कृतिक, शारीरिक, यौनजन्य हिंसा, नगरिने उल्लेख छ।
लैंगिकताकै आधारमा गरिने विभेद, शारीरिक, मानसिक, आर्थिक तथा यौनजन्य रूपबाट दिइने पीडा, प्रतिबन्ध लगायतका जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पुर्याउने सबै किसिमका आघातलाई हिंसाका रूपमा बुझ्नुपर्छ।
लैंगिक हिंसा अहिलेका समयमा मात्र आएको हिंसा होइन, यो परम्परादेखि नेपाली समाजमा हस्तान्तरित हुँदै आएको नकरात्मक विकृति हो। महिलालाई दोस्रो दर्जाको नागरिक ठान्नु र त्यही किसिमको व्यवहार गर्नु तथा जन्मउत्सवदेखि मृत्यु संस्कारसम्म पनि भेदभावको शिकार बनाइन्छ। महिला माथिको हिंसा मानवअधिकारको चरम उल्लङ्घन भएको कुरा विश्वले स्वीकार्दै आएको छ।
नेपाल प्रहरीको तीन वर्षको तथ्याङ्कलाई अध्ययन गर्दा आर्थिक वर्ष २०७७/०७८ मा १८ हजार ८४३, २०७८/०७९ मा २१ हजार ३४२ र २०७९/८० को कात्तिक महिनासम्म ६ हजार ७५३ लैंगिक हिंसाका उजुरी दर्ता भएका छन्।
नेपाली समाजमा लैंगिक हिंसा बढ्दो क्रममा थियो तर पहिले पहिले ती हिंसाका उजुरी प्रहरी कार्यालयसम्म आइपुग्दैन थिए। हिंसालाई सहन हुन्न भन्ने चेतनामा वृद्धि भएको कारणले लैंगिक हिंसाका उजुरी प्रहरी कार्यालयमा दर्ता हुन थालेका छन्।
नेपाली समाजमा व्याप्त जुवातास र मदिरा बिक्रीवितरण तथा सेवनजस्ता सामाजिक विकृतिहरू पनि लैंगिक हिंसामा वृद्धि गर्नको लागि ठूलो भूमिका खेलेका छन्। विभिन्न संचार माध्यममा आउने समाचारका अनुसार नेपालमा जघन्य प्रकृतिका हिंसा र बलात्कारका घट्नाहरू मदिरा सेवनको कारणले हुने गरेका छन्।
नेपालमा प्रत्येक वर्ष हिंसाविरुद्ध सोह्र दिने अभियान चल्छ। हामीले महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्नेसम्बन्धी महासन्धी, १९७९ लाई अनुमोदन गरी स्वीकार गरेका छौं।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय महिला आयोग, प्रहरी कार्यालयमा महिलाका समस्या समाधान गर्नको लागि महिला सेल, स्थानीय निकायमा न्यायीक समिति छ। जतिसुकै कानुनको व्यवस्था भए पनि लैंगिक हिंसा दिन प्रतिदिन बढ्दै गएको छ।
कुनै पनि नारीमाथि हिंसाको सुरुआत उसको घर-परिवार तथा उसले बसोबास गरेको समाजबाट हुने गरेको छ। त्यसैले अहिलेको लैंगिक हिंसाको नारा 'सभ्य समाजको पहिचान: लैंगिक हिंसा विरूद्धको अभियान' भन्ने राष्ट्रिय नाराकासाथ लैंगिक हिंसा अन्त्य गरौँ भन्दै १६ दिने अभियानको सुरुआत भएको छ।
यसरी हामीले लैंगिक हिंसाविरूद्ध १६ दिने अभियान मनाउँदै गर्दा धरानमा आमा समूहले कुटपिट गरी उशा राईको हत्या गरेका छन्। त्यसैगरी बैतडीमा २१ वर्षिया माया लुहारको घाँटी रेटर आफ्नै प्रेमीबाट विभत्स रूपमा हत्या गरेको जलन्त उदाहरण छ।
लैंगिक हिंसाको अर्को आधार विवाह पनि हो। विवाहपछि महिला आफ्नो मानवीय जीवनबाट साँघुरिँदै आफ्नो स्वतन्त्रताबाट बन्चित हुँदै जानुपर्ने हुन्छ। परिवारमा महिलाको भूमिका पनि भेदभावपूर्ण रहेको छ, उनीहरूको भूमिकालाई होच्याइएको छ।
जति बेला हाम्रो समाजमा स्वास्थ्य चौकीको व्यवस्था नहुँदा कति महिलाले बच्चा पाउने बेला गाउँघरमा सुडेनीलाई प्रयोग गरेर बच्चा पाउने चलन थियो, तर त्यो काम गर्ने महिलालाई गाउँघरमा सुडेनी बुढी भनेर हेप्ने गरेको पाइन्थ्यो।
हामीले यसरी महिलालाई शोषण र दमनबाट मुक्त गर्न महिलाप्रति भएका अवहेलना, अपमान, अत्याचार र शोषणलाई बढवा दिन लेखिएका दार्शनिक, विचारक र लेखकका लेखहरूलाई संशोधन गर्न आजको आवश्यकता हो।
नारीलाई नै अपमान गरेको, होच्याउने गरेको हाम्रा नेपाली उखान-टुक्का छ। यस्ता उखान टुक्कालाई हामीले समाजबाट हटाउनु पर्ने हुन्छ।
पुरूषलाई गाली गर्दा, अपमान गर्नुपर्दा पनि कतिपय मानिसले चुरा, पोते र साडी लगाएर हिँडदा हुन्छ भनेर नारीको सुन्दर पहिरन/श्रृंगारलाई हेपेर गालीगलोज गर्ने गरेको पाइन्छ। यो पनि नारीमाथि भएको सामाजिक हिंसा हो।
जहाँ नारीको सम्मान हुन्छ त्यहाँ भगवानको बास हुन्छ। नारी कसैको आमा हो, कसैको छोरी हो, त्यही नारी कसैको श्रीमती हो। त्यसैले नारीका अनेक रूप छन्। नारी बिनाको कुनै पनि घर हरेक कुरामा अपूर्ण हुन्छ।
पुरुष जातिले के कुरामा ध्यान दिनुपर्छ भने हामी पुरूष पनि त्यही नारीको गर्भबाट जन्मेको हो, त्यही नारीको दूध खाएको हो, त्यही नारीको कोखमा हुर्केको हो। त्यसैले नारीलाई हिंसा होइन, सम्मान गर्न सिकौँ।
लैंगिक हिंसाको बढ्नुको मुख्य कारण पितृसत्तात्मक हाम्रो सामाजिक संरचना हो। यो सोच विश्वभरिका नारीमाथि हाबी भएर बसेको छ। पुरूषसमान वा बढी योग्यता भए पनि नारीहरूलाई अझ पनि समाजले पत्याउन सकेको छैन।
राज्यले लैंगिक हिंसामा न्यूनीकरण गर्न ठूलो मात्रामा बजेट छुट्याएको छ तर पनि गाउँघरमा हुने लैंगिक हिंसामा कमि ल्याउन सकेको छैन। यति मात्र नभई हिंसाको रूप परिवर्तन भई नयाँ प्रकृतिका हिंस्रक घटना देखिन थालेका छन्।
बालविवाह, बहुविवाह, यौनजन्य दुरव्यवहार, बलात्कार, महिलाको हत्या, इच्छाविरुद्धको विवाह, जातीय भेदभाव, गाउँघरमा जबरजस्ती मेलमिलाप गराउने, प्रशासन माथिको अविश्वास, फितलो कानुन कार्यान्वन, वैदेशिक रोजगार,गरिबी, अशिक्षा, हलिउड, बलिउड, इन्टरनेट, साइबर, फेसबुक, मोबाइल फोनको विकास, त्यसप्रति बढ्दै गइरहेको नेपाली समाजको पहुँच, यी विभिन्न कारणले पनि लैंगिक हिंसामा वृद्धि भएको छ।
समाजमा छोरा र छोरी दुवै बराबरी भन्ने सोचलाई आत्मसात गर्दै लैंगिक हिंसाविरुद्ध व्यापक जनचेतना जगाउनु सक्नुपर्दछ। पहिचान नभएका अमूर्त हिंसाको खोजी गरी यसको निर्मूलीकरण गर्नु आजको आवश्यकता हो।
त्यसैले लैंगिक हिंसा अन्त्यका लागि सबैको मानसिकतामा परिवर्तन ल्याउनु र कानुनको कार्यान्वयनमा अग्रसर भएर सबै सरोकार निकायहरू र राजनीतिक दलका नेताहरूले महिलामैत्री नीति बनाउनका साथै आफ्नो सोच र शैलीमा परिवर्तन गर्न आजको आवश्यकता हो।
यसैअनुरूप विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, सन्धी, महासन्धीहरू, विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमार्फत घोषणपत्र जारी गरिएको भए तापनि प्रभावकारी कार्यान्वयन नहुनुले लैंगिकतामा आधारित हिंसा अन्त्य हुन सकेको छैन। त्यसैले यी कानुनहरू कार्यान्वयन हुनुपर्छ।
नेपाली समाजमा भएको सामाजीक विकृति, कुसंस्कार जरैबाट उखाल्नको लागि हामी सबैको ध्यान जाओस्। यसमा १६ दिने अभियानले मात्र सम्भव हुँदैन। स्थानीय सरकार, प्रहरी, संचारकर्मी र यसमा आवद्ध विभिन्न संघ-संस्थाको सामूहिक प्रयास आवश्यक छ।
हामी सबैको उद्देश्य एउटै हुनुपर्छ। अतः हामी सबैले हातमा हात, काँधमा काँध मिलाएर कठोर प्रतिबद्धताका साथ अगाडि बढेमा समाजमा हुने विभिन्न किसिमका लैंगिक हिंसाहरूलाई निर्मूल पार्न सक्छौँ।
(लेखक नेपाल प्रहरीका प्रहरी निरीक्षक हुन्।)