शनिबारको दिन बिहानै घाम तापिरहेकी थिएँ जब सामाजिक संजालमा कसैले बाजुराका बालबालिकाका लागि प्रोटिन पाउडर दान गरेको पोस्ट देखेँ। त्यसपछि मैले यो विषयलाई थप जान्नको लागि यस सम्बन्धी अरु समाचारहरू खोज्न थालेँ।
यसै सन्दर्भमा कान्तिपुरमा एउटा लेख पढेँ जसमा भनिएको थियो- मुक्तिकोटमा सन्तान नगुमाएका आमा छैनन्।
बच्चा गुमाउनुको कारण कुपोषण थियो। त्यो समाचारले मलाई निकै भावुक र दुखी बनायो। समाचार पढिसकेपछि मैले बाजुरालाई कुनै न कुनै रूपमा मद्धत गर्न खोजिरहेका मानिसहरूसँग सम्पर्क गर्ने निर्णय गरेँ।
बाजुरामा विशेषगरी महिला र बालबालिकाको पोषण स्थिति र खाद्य असुरक्षा एक प्रमुख समस्या रहेको भन्ने बारे केही तथ्यहरू स्थानीय सरकार र सम्बन्धित सरोकारवालाहरूबाट जान्ने मौका पाएँ।
त्यसपछि पोषणविद, डाक्टरहरू र सामाजिक अभियान्ता समावेश भएको एउटा टोली गठन भयो। हाम्रो एउटै उद्देश्य महिला र बालबालिकाको कुपोषणको गहिरो कारणहरू पत्ता लगाउने र उनीहरूका लागि स्वास्थ्य र पोषण शिविर सञ्चालन गर्ने ।
हामी आफै बाजुरा जाँदै गर्दा हामीले जम्मा भएको कोषबाट केही आधारभूत खाद्यान्न, सातु, सुत्केरी सुप र केही औषधिहरू उपलब्ध गराउने निर्णय गर्यौं।
हाम्रो टोलीको बसपार्कबाट सुर्खेतको यात्रा सुरु भयो। नारायणगढदेखि बुटवलसम्मको सडक राम्रो नहुँदा सुर्खेत पुग्न २४ घण्टा लाग्यो। हाम्रो टोली सुर्खेतबाट दैलेख गएर बस्यो। भोलिपल्ट बिहान दैलेखबाट बेर्मा बजार पुग्यौ र त्यहीँ बस्यौँ।
चौथो दिन हामी मुक्तिकोट गाउँ जान आँतुर थियौं। मुक्तिकोट जाने मोटर बाटो नहुँदा बेर्मादेखि मुक्तिकोटसम्म पैदलै हिँड्नुपर्ने भयो। राहत प्याकेज जसमा आधारभूत खाद्यान्नका साथै औषधिहरू खच्च्डले बोक्नुपर्ने भयो।
खच्च्डले बनाएका साना गोरेटो बाटो पछ्याउँदै बेर्माबाट उकालो लाग्यौँ। करिब-करिब ३ घण्टा उकालो हिँडेपछि मेला पुगियो। मेलाबाट मुक्तिकोट गाउँ जाने निर्णय गर्यौं र त्यहाँबाट केही स्थानीयहरूसँग मुक्तिकोट गाउँ लाग्यौँ। त्यहाँबाट करिब-करिब १० मिनेट लाग्ने रहेछ।
मुक्तिकोट गाउँ सुक्खा पहाडको टुप्पोमा भएको गाउँ रहेछ। त्यस गाउँको छेउछाउको डाँडा भने अलि हरियाली नै देखिन्थ्यो। जलवायु परिवर्तनले ल्याएको प्रभाव प्रष्टै देखिन्थ्यो मुक्तिकोटमा। पहिले १२ घरधुरी भएको त्यो गाउँ अहिले जनसंख्या बढेर ३०८ घरधुरी भएको रहेछ।
स्थानीयका अनुसार मान्छेहरू रुख काट्दै घर बनाउँदै बस्न थालेकाले अहिले गाउँ नै उजाड भएको रहेछ। एउटा/दुइटा रुख फाट्टफुट्ट देख्न पाइने रहेछ। ६० वर्षीय एक महिलाको अनुसार पहिले मुक्तिकोटमा मज्जाले उब्जनी हुने गरेको तर अहिले केही अन्न फलाउन पनि मुस्किल हुने गरेको रहेछ।
सिँचाइको व्यवस्था नभएका कारण वर्षभरि आकाशे पानीको भर पर्ने मुक्तिकोटमा पाक्नै लागेको गहुँ पनि सुकेको देखिन्थ्यो बारीमा। भिरालो जमिनमा लगाएका बाली धेरै पानी पर्यो भने पानीले माटो बगाएर लैजाने रहेछ। यदि अन्न फलिहाल्यो भने पनि त्यहाँका बासिन्दालाई एक महिना पनि नपुग्ने रहेछ।
गाउँमा पुरुषहरू कम नै देखिन्थे, सबै काम गर्न सक्ने पुरुषहरू रोजगारको लागि भारत जाने रहेछन्। एउटा परिवार कम्तीमा पनि सात जनाको हुने रहेछ। हरेक परिवारमा एउटा पुरुषले कमाउन भारत जानुपर्ने रहेछ।
गाउँमा हुने पुरुषमध्ये स्कुले विद्यार्थी र वृद्धहरू थिए। स्थानीयका अनुसार अझै ३/४ सय पुरुष भारतमै रहेछन्। पुरुषमा भने कुपोषण देखिदैन रहेछ मुक्तिकोटमा। किनकी अधिकांश पुरुषहरू रोजगारीका लागि बाहिर बस्ने क्रममा खानाको पहुँच हुने र घरमा आउँदा पनि खानाको प्राथमिकतामा पहिला पुरुष नै पर्ने भएकाले उनीहरूलाई स्वास्थ्य समस्या नहुने रहेछ।
जलवायु परिवर्तनले निम्त्याएको खडेरीले गाउँका मान्छेमा परेको प्रत्यक्ष प्रभाव उनीहरूको स्वास्थ्य अवस्थाबाट प्रष्टै देखिन्थ्यो। उब्जनी कम हुन थालेपछि भोकमरीको समस्या आउन थाल्यो जसले गर्दा विभिन्न खाले स्वास्थ्य समस्या देखापर्यो।
तीमध्ये एकदम गम्भीर समस्या हो कुपोषण। यसको सबैभन्दा बढी जोखिममा महिला र बच्चा रहेका छन्। खडेरीले निम्त्याएको भोकमरीले आत्तिएका बच्चा र आमाको संख्या निकै देखिन्छ मुक्तिकोटमा।
अधिकांश गाउँमा १/२ महिनाको मात्रै खाद्यान्न उत्पादन हुने भएकाले वर्षको बाँकी समय किनेर खानुपर्छ। त्यसैले यस क्षेत्रका गर्भवती महिला र सुत्केरी महिलाले पोषणयुक्त आहार पाउन सकेका रहेनछन्। यसले गर्दा बालबालिका जन्मिनु अगाडि नै वा जन्मिएपछि कुपोषणको शिकार हुने रहेछन्।
प्रजनन वर्षहरूमा महिलाको जीवनको सबैभन्दा महत्त्वपूर्ण चरणहरू महिनावारी, गर्भावस्था र सुत्केरी अवस्था हुन् जतिबेला समयमा आहार र पोषणको ठूलो भूमिका हुन्छ। महिलाले पर्याप्त खाना र पोषण नपाएमा गर्भमा रहेको बच्चासँगै आफू पनि कुपोषणको चक्रमा प्रवेश गर्ने सम्भावना हुन्छ।
गर्भावस्थामा चाहिने पौष्टिक आहारको नै कमी भएपछि ती महिलाले जन्माउने बच्चा यसै पनि कुपोषित हुने सम्भावना बढी हुने नै भयो। सुत्केरी आमालाई चाहिने पोषिलो खानाको कमीले गर्दा आमाको दूध नआउने र बच्चाले पौष्टिक तत्व धेरै हुने आमाको दूध नै नपाएपछि फेरि कुपोषणको शिकार हुने गरेको पाइएको छ।
कुपोषणको अन्तरपुस्ताको चक्रमा छिरिसकेको मुक्तिकोट गाउँमा धेरैजसो आमा र बच्चाले ज्यान गुमाएका रहेछन्। गाउँ डुल्दै गर्दा ८ दिनकी सुत्केरी आमासँग पनि भेट भयो। उहाँले रातिको १२ बजे एक्लै घरमै बच्चा जन्माउनु भएको रहेछ।
स्वास्थ्यचौकी किन नजानुभएको नि भनेर प्रश्न सोध्दा उहाँको उत्तर पनि पहिला सुनेको जस्तै थियो।
'मलाई कमजोरी भएर चक्कर लगिरहन्थ्यो। स्वास्थ्यचौकीसम्म टाढा भएर जान पनि सकिनँ।'
आठ दिनकी सुत्केरी आमाको दूध पाँच दिनमै सुकेको रहेछ। बच्चाले आमाको दूध खान नपाएको ३ दिन भइसकेको रहेछ। बच्चा कति तौलको जन्मियो भन्ने कुराको पनि एकिन नहुने रहेछ। टन्न माछामासु, दाल, घिउ खान पाए पो दूध आउँछ त बहिनी,' भन्दै निन्याउरो अनुहार लगाउनु भयो ती दिदिले।
सुदूरपश्चिमको पहाडी क्षेत्रमा पर्ने बाजुरा जिल्लामा पाइने पौष्टिक उत्पादनहरू गहुँ, कोदो, रातो र कालो सिमी, जौ आदी रहेछन। यी उत्पादानहरूको पोषक तत्वहरूको आधारमा मूल्य र फाइदाका बारेमा ज्ञान भने अलिक कम नै रहेछ।
आफूसँग भएको खानाको महत्व नबुझेको र बजारबाट किन्न पाइने सेतो चामललाई मात्र विशेष जोड दिने प्रवृत्ति झल्किएको देखियो।
हामी बास बसेको घरमा हामीलाई पाहुना भनेर चामलको भात दिनुभयो तर अरु परिवारका सदस्यले भने कोदोको रोटी र गहुँको रोटी खानुभयो। पाहुनालाई चामलको भातको सट्टा रोटी खुवाउन हुँदैन भन्दै हुनुहुन्थ्यो घरका सदस्यहरू।
उहाँहरूको लागि चामलको भात भनेको ठूलो कुरा थियो भने मेरो लागि त्यो कोदोको रोटा। आफूसँग भएको कोदो र गहुँको पौष्टिक मूल्य थाहा नभएको जस्तो पनि लाग्यो मलाई कता-कता।
सेतो चामललाई मात्र प्राथमिकता दिने बानीको विकास वर्षौंदेखि चलिआएको खाद्य सम्भ्रान्तताको प्रभाव हो। धेरैजसो व्यापारिक कम्पनीहरूले अन्य उत्पादनहरूलाई ओझेलमा पारेर केही खाद्य पदार्थहरूलाई गलत जानकारी दिएर वा बढाइचढाइ गरेर उत्पादनको बिक्रीमा केन्द्रित हुन्छन्।
आधुनिकीकरणसँगै मानिसहरूले नयाँ खानेकुराहरू रोज्न थालेका छन्। फलस्वरूप स्थानीय रूपमा उब्जाइएको खाद्यान्नको बजारले उपभोक्ता गुमाएको पाइन्छ। स्थानीय रूपमा उब्जाएको खानेकुरा खाँदा उपभोक्ता, उत्पादक र समुदायका लागि धेरै फाइदाहरू छन्।
टाढाबाट आयात गरिएको खाना प्रायः पुरानो हुन्छ, यात्रा गरेको हुन्छ र तपाईंको घरमा पुग्नु अघि वितरण केन्द्रहरूमा बस्छ। बजारमा पाइने प्रशोधित खानालाई भण्डारमा राख्दा र ढुवानी गर्दा खानाको पोषक तत्व घट्न सक्छ।
स्थानीय खानामा कुनै पनि माध्यमबाट पोषणहरू जाँदैन, यस्ता खानाहरूले गैर-स्थानीय खानाभन्दा धेरै स्वस्थ बनाउँछ। साथै अन्य पसलबाट खरिद गरिएको खानाको तुलनामा स्थानीय खानाहरू अप्रशोधित वा कम प्रशोधित र अपरिष्कृत हुन्छन्। यी दुवैले खानाको पोषण मूल्यलाई वृद्धि गर्छ।
तसर्थ, स्थानीय खाना सबैभन्दा शुद्ध र सबैभन्दा स्वस्थकर खाना हो। अर्को स्थानीय रूपमा उब्जाएको खाना खरिद गर्दाको फाइदा के हो भने यसले समुदायमा खेतबारी र हरियो र/वा खुला ठाउँ कायम राख्न मद्दत गर्छ।
स्थानीय किसान र उत्पादकहरूलाई खाना खरिद गर्ने क्रममा खर्च गरिएको पैसा सबै घर नजिकै रहन्छ र आफ्नो समुदायमा व्यवसाय र सेवाहरूमा पुन: लगानी गर्न पनि सकिन्छ भन्ने कुरा को ज्ञान हुनु पनि अति नै आवश्यक देखिन्छ।
मुक्तिकोटका महिलाको र बालबालिकाका समस्यालाई मध्यनजर गर्दै स्थानीय उत्पादन र आत्मनिर्भर कार्यक्रमका लागि वैकल्पिक कार्यक्रमहरू थप कार्यान्वयन गर्न आवश्यक छ। सुदूरपश्चिममा खाद्यान्न पुर्याउन करोडौं खर्च गर्नुभन्दा सरकारले पहाडी बालीको अनुसन्धान र खेती, सिँचाइ र बजार निर्माणमा लगानी गर्नुपर्छ।
जलवायु परिवर्तनको प्रभाव, स्रोतसाधनको अभाव, सिँचाइ सुविधाको अभावका बाबजुद थोरै मात्रामा भएपनि पौष्टिक रूपमा घना खाद्यान्न उत्पादन गर्ने हातहरू अन्तरपुस्ताको कुपोषणको चक्रमा परेका छन् र वर्षभरि खाद्य असुरक्षाको सामना गरेको पाइन्छ।
जसका हातले उब्जाएका खाद्यन्न (कोदो, फापर, गहुँ, चिनु आदि) सहर-बजारमा महँगोमा बिक्री हुन्छन्, उनैका बालबच्चा कुपोषित छन्। यसलाई रोक्नको एक मात्र दिगो उपाय भनेको यस ठाउँलाई कृषि अनुसन्धान केन्द्र बनाउने, इन्टर्नशीप र अनुसन्धानको लागि विश्वविद्यालयका विद्यार्थीहरू लैजाने र वातावरण सुधार गर्न वैकल्पिक उपायहरू खोजी स्थानीय उत्पादनमा प्रोत्साहन गर्नु हो।
मुक्तिकोटमा स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाई स्थानीय खानालाई प्रवर्द्धन गर्न सकियो भने बल्ल मुक्तिकोटले भोकमरी र कुपोषणबाट मुक्ति पाउन सक्छ।
फर्कने क्रममा छुद्दरी नाम गरेको गाउँकी एउटी वृद्ध आमाले 'नानीलाई यो मेरो उपहार' भन्दै मलाई सिस्नोको पातको सुकाएर बनाइएको धुलो दिनुभयो। हो, त्यही सिस्नो जसको पातमा फाइबर, मिनरल्स, भिटामिन र एन्टिअक्सिडेन्टजस्तै पोलिफेनोल र क्यारोटिनोइड्स प्रशस्त हुन्छन्।