जीवनको अभिन्न बाटो बन्न पुगेको सार्वजनिक यातायातको यात्रालाई हिजोआज छुट्टै ढंगले हेर्न थालेको छु। यात्रामा भोग्नु परेका अनगिन्ती असुविधाहरूका बाबजुद धेरै पाठ पनि त सिकाएको छ सार्वजनिक यातायातले। दिनप्रतिदिन परिपक्व, सचेत र जागरूक बनाउँदै जीवन जिउने कला सिकाएको छ।
सार्वजनिक यातायातको यात्रा जहिले पनि मेरो लागि ‘एक पन्थ दो काज’ हुनेगर्छ। कतै हिँड्नु पर्यो भने सार्वजनिक यातायात भित्रको समयलाई सदुपयोग गर्दै सिट पाउँदा आनन्दले पुस्तकहरू पढ्न थाल्छु भने उभिँदा समाज र सम्बन्धहरूको अध्ययन गर्न थाल्छु।
समाजशास्त्रको विद्यार्थीका नाताले सार्वजनिक यातायात भित्र पनि म समाजलाई नियाल्छु।
त्यहाँ भिन्न-भिन्न समाज बोकेर हिँडेका भिन्न-भिन्न मान्छेहरूको जमघट देख्छु। अनि गाडीको कुनै कुनाबाट समाजशास्त्रको कक्षा कोठामा बसेको ठान्दै चुपचाप अध्ययन र मनन गर्न थाल्छु। केही सिक्न लालायित मेरा आँखा र कानहरू चनाखा हुन्छन्। समाज, सम्बन्ध, संस्कार, संस्कृति र मनोविज्ञानलाई बुझ्न सार्वजनिक यातायात खुला विश्वविद्यालय बनिदिन्छ।
अनि जति सास्ती भए पनि आफूलाई विद्यार्थी मानेर संघर्षलाई सहर्ष स्वीकार्दै प्रफुल्ल हुन्छु।
साँच्चै केही सिक्ने, केही जान्ने अभिलाषा बोकेर हिँड्यो भने सम्पूर्ण वातावरणले गुरू बनेर शिक्षा प्रदान गरिरहेको हुनेरहेछ।
कहिले आनन्दले सिटमा बसेर त कहिले कोच्चिएर, कहिले पेलिएर भए पनि केही न केही बुझ्ने, सिक्ने कोसिस गर्दै यात्रामा रमाउने गर्छु।
त्यो दिन ब्रम्हमूर्तमा उठेर एक घन्टा नित्य ध्यानको अभ्यास गरेपछि। नित्यकर्म सकेर श्रुतिमधुर भजन सुन्दै अर्को दुई घन्टा प्रणायाम गरेर प्रफुल्ल, प्रशन्न र प्रज्ञावान भएको मन लिएर म सार्वजनिक यातायातमा उक्लिएको थिएँ। गाडी खचाखच भरिएको थियो। बस्ने सिट नपाए पनि आरामले उभिन पाएकोमा धन्य भएँ।
सतुंगल नपुग्दै तीव्र गीतको कर्कश आवाज घन्किन थाल्यो। गीत त सुमधुर हुनुपर्ने, हृदयलाई छुनु पर्ने, आनन्द आउनु पर्ने मलाई त हुनसम्म पीडा पो महसुस भयो। असभ्य र गतिछाडा गीतका शब्दहरू विषतुल्य थिए। संगीत थियो कि साङ्घातिक हमला थियो। मेरो शान्त मस्तिष्क छियाछिया भयो।
सार्वजनिक यातायातभित्र त्यस्तो गीत सुन्नु पर्दा पनि आफूलाई लाचार ठान्दै बहिरो र लाटो बन्न पुगेको थिएँ। कान हुँदाहुँदै बहिरो र बोली हुँदाहुँदै लाटो बन्नु जस्तो पीडा अरू के होला?
एक घण्टाको यात्रा एक युग जतिकै लामो भयो।
त्यो गीतको बोलमा न मायाप्रेम थियो र न देशप्रेम। न कुनै सन्देश नै दिएको थियो न शान्ति नै थियो। गीतमा अश्लीलता मात्र थिएन त्यहाँ त मान्छेलाई उग्र पार्ने, चिढ्चिढ् बनाउने कोलाहल थियो। संगीतको परिभाषा भन्दा ठीकविपरीत।
हरेक प्रकारको प्रदूषणमा बाँच्न अभ्यस्त नेपालीहरू संगीतजस्तो पवित्र साधनामा भएको मिसावट र प्रदूषणलाई पनि सजिलै पचाउन सक्ने बहादुर भएका रहेछौं। असभ्य तीव्र संगीतको दूरगामी असर जे भए पनि ध्वनी प्रदूषणलाई सजिलै स्वीकार्दै आएका रहेछौं।
त्यो दिन गाडीभित्र घन्किएको गीतको शब्द, भाका, स्वर र संगीत सुन्नुपर्दा मलाई यातना गृहमा राखेर ठूलै सजाय दिएको अनुभूति हुँदैथियो।
त्यति शान्त मन लिएर हिँडेको मान्छे विस्तारै विस्तारै म त अशान्त पो हुँदै गएछु। बानेश्वर पुग्दानपुग्दै मेरो टाउको भारी भयो। तालु फुट्लाजस्तो थियो। बाफ्रेबाफ बिहान सुगमसंगीत सुनेर शान्त भएकी म, दिउँसो असभ्य तीव्र संगीत भित्रको अमर्यादित शब्द र अनियन्त्रित सुरताल सुनेर अशान्त भएँ, तनावमा गएँ र बिरामी नै परें। अनि झट्ट हाम्रा युवापुस्तालाई सम्झिन पुगें जो रातदिन यस्ता गीत सुन्छ्न् तिनीहरूको हालत के हुन्छ होला? कस्तो मानसिक अवस्थामा हिँडिरहेका छन् हाम्रा सन्तानहरू?
नकारात्मक ऊर्जाले भरिपूर्ण, असभ्य र वास्नामय सङ्गीतले मानवलाई मात्र होइन चराचर जगतलाई अज्ञानको दलदलमा जाक्छ।
अनुसन्धानले पनि भन्छ जसले तीव्र संगीत बारम्बार सुन्छ उसलाई ढाडको रोग, तनाव, अनिन्द्रा, एन्जाइटी, डिप्रेसन, छट्पटी हुनुका साथै हिंसात्मक प्रवृत्ति विकास गराउँछ। ठीक यसको विपरीत गाईभैंसीलाई दूध दुहुने बेला सुमधुर संगीत सुनायो भने दूध पनि बढी नै दिन्छ रे।
तर हामी हाम्रा युवाको क्षमतालाई ध्वस्त पार्ने। सृजनशीलता सखाप पार्ने यस्ता विनाशकारी संगीतले कसरी युवाहरू शीतल, शान्त, धीर, गम्भीर, धर्यवान र ध्यानी हुन सक्छन्? यो सबै सम्झेर मलाई पर्नु पिर पर्यो।
प्लेटोले त्यो जमानामा भनेको कुरा मलाई झट्ट याद आयो - 'तीव्र संगीतले जीवनलाई बिस्तारै बिस्तारै नष्ट गर्छ, त्यसैले यस्तो विनाशकारी संगीतलाई त खतम नै गर्नुपर्छ।'
हिजोसम्म त नियमनकारी निकाय थियो। तर आज त जसलाई जे मन लाग्छ त्यो गाए गीत हुने, होहल्लामा वाहवाही हुने जमाना आयो। जे बजायो त्यो संगीत हुने युग आयो। अनि यस्तो अश्लील र आक्रमक गीतसंगीत सुनेर हाम्रा युवापुस्ता तनाव र डिप्रेसनमा नगएर कसरी जाऊन् बरा अनुसन्धान र खोज गर्न मंगलमा!
आज हरेक डाक्टरले हरेक बिरामीको पर्चामा शान्तिको अभ्यास गर्न सुझाएका हुन्छन्।
तनावको कारण आज हरेक रोगले साम्राज्य खडा गरेको छ। अशान्त हुन केही गर्नु पर्दैन आजका पुस्तालाई चुट्की बजाएको भरमा ऊ आफ्नो रौद्र रूप देखाउन पछि पर्दैनन्।
प्लेटोलाई त्यो समयमा सोधिएको थियो रे त्यसो भए संगीत कस्तो हुनुपर्छ त भनेर?
प्लेटोले नै भनेका थिए, ‘संगीत एक नैतिक कानुन हो, यसले विश्वब्रह्माण्डका हरेक वस्तुमा प्राण भर्छ, संगीतले सोचहरूमा पखेटा भरेर कल्पनाशीलताको उडान भर्छ। संगीतले मानव र मानव जीवनका हरेक कुरामा आकर्षण ल्याउँछ संगीत त एउटा यस्तो यन्त्र हो, जुन कुनै पनि शिक्षा वा त्यसको प्रकार भन्दा शक्तिशाली हुन्छ।’
हे प्रभु! यति शक्तिशाली संगीतलाई आजका पुस्ताहरूले कति हलुकासँग लिएको होला। सङ्गीत त वर्षौंको साधना हो। सङ्गीत दुई पैसाको व्यापार होइन। सङ्गीत त त्यो सञ्जीवनी बुटी हो जसले मृत आत्मामा प्राण भर्छ। तानसेनको सङ्गीतको बारेमा सुनेकै छौं। सङ्गीतको रागले पानी बर्सन्थ्यो। सङ्गीत त त्यो जादू हो जसमा सात सुर सामेल हुन्छ। तर गाडीभित्र बजिरहेको त्यो सङ्गीतले त मेरो पेट बटारेर ह्वाल्ह्वाल्ती बान्ता आउला जस्तो पो भएको थियो अनि यस्तो पनि सङ्गीत हुन्छ छ्या! भन्न मन लाग्यो।
हिजो स्वर परीक्षण गर्नुपर्थ्यो गायक हुन। गीत रेकर्ड गर्न ठूलै परिश्रम र परीक्षा दिनुपर्थ्यो तर आज हामी स्वतन्त्रताको हिमायती भएका छौं।
महात्मा गान्धीले भनेका छन् नैतिकता बिनाको व्यापार महापाप हो। यो नैतिकता बिनाको सङ्गीतको व्यापारले हाम्रा कैयौँ युवालाई कैयौँ वर्षसम्म मानसिक रोगी पार्ने निश्चित छ।
हामी लोकतन्त्रका पक्षधर हामीलाई बाटो देखाउने अभिभावक चाहिँदैन। हामी त बिना रोकटोक दगुरेका छौं। कसले रोक्ने यो दुर्गतिलाई।
प्रश्न गम्भीर छ?
प्लेटोको विचारलाई सम्झिँदै गाडीभित्र बजिरहेको त्यो हल्लालाई सङ्गीत भन्न पट्टक्कै मन लागेन। तनावको स्रोतभन्दा बढी त्यहाँ केही थिएन।
म जुन कामको लागि गएको थिएँ त्यो काम गर्न पनि निकै कठिनाइ भयो। मेरो मन स्थिर हुन सकेन। घरबाट शान्त भएर हिँडेकी म जम्माजम्मी एक घण्टामात्र सुनेको त्यो कर्कश आवाजले नकारात्मक प्रभाव पार्यो। हो विष धेरै चाहिँदैन। यस्ता सङ्गीत हाम्रा सन्तानको लागि विष बराबर हो। अवसाद र तनावको जननी हो यो अराजक सङ्गीत।
कति असर गर्ने रहेछ नकारात्मक ऊर्जा भरिएको गीतले हामीले सोच्न पनि सकेका छैनौं।
आज ठाउँ-ठाउँमा मनोपरामर्श केन्द्र खोल्नु परेको छ। किन यस्तो अवस्था आयो? कुन-कुन पक्ष जिम्मेवार छन् युवाहरूलाई तनावमय बनाउन ?
शान्त र परिपक्व मस्तिष्कले सोचौं।
घर फर्कने बेलामा पुनः सार्वजनिक यातायातको छातीमा घुस्रिन पुगें। सिट पनि पाएँ। टाउको भारी थियो। आँखा चिम्म गर्दैथिएँ। कानमा श्रुतिमधुर सङ्गीत बज्न थाल्यो। कोटेश्वरदेखि बज्न सुरू भएको नारायण गोपालका गीतहरू थापाथलीसम्म आउँदा विभिन्न रागमा आधारित हिन्दी सिनेमाका कर्णप्रिय गीतहरूले मलाई निकै आनन्द पो दिन थाल्यो। बिस्तारै मेरो टाउको हलुको भयो।
मलाई त सुगम सङ्गीतले पेन किलरको काम गरेछ। जुन शाश्वत सङ्गीत थियो। सामवेदको अङ्ग थियो। म बिस्तारै सुमधुर सङ्गीतको सुर, ताल र शब्दमा हराउन थालेको थिएँ।
बिहान गाडीमा सुनेको उग्र सङ्गीतले दिएको नकारात्मक ऊर्जा बिस्तारै बिस्तारै पाइतालाबाट बाहिरतिर जाँदै थियो। म आफैंलाई हेर्दै थिएँ। अनि सङ्गीत गुरूले भनेको सम्झना भयो राग चिकित्साको बारेमा। हो राग चिकित्सा एक उपचार विधि हो। जहाँ राग अनुसार रोगको उपचार गरिन्छ।
ब्लड प्रेसर उच्च भए राग अहीर भैरवी या तोडी सुन्दा उत्तम हुन्छ।
नशासम्बन्धी रोगमा राग पहाडी सुन्दा बेस हुन्छ।
तनाव र डिप्रेसनमा राग दरवारी सुन्दा अतिउत्तम। अनिद्रा भएमा दरवारी, क्षयरोगमा मेघमलार राग, टाउको दुख्दा जयजयवन्ती राग लाभकारी हुन्छ भन्ने ज्ञान पाएको थिएँ।
सङ्गीत त त्यो शब्दब्रम्ह हो जो उत्पत्ति कालभन्दा पहिले नै अस्तित्वमा थियो। अनहदको झन्कारले सारा ब्रह्माण्डलाई जकडेको छ। यस्तो महत्त्वपूर्ण सङ्गीतको साधना मजाक होइन। सङ्गीत होहल्ला होइन।
यो कस्तो स्वतन्त्रता, यो कस्तो लोककल्याण जसको प्रयोगले आफ्नै सन्तान दरसन्तानलाई मानसिक रोगी बनाउँदै छ? सङ्गीत त त्यो दिव्य आनन्द हो जो निर्जीव वस्तुमा पनि समाहित छ। सङ्गीत ईश्वर हो, सङ्गीत प्रेम हो, सङ्गीत सम्मान हो र सङ्गीत जीवन हो। त्यसैले सङ्गीतलाई सस्तो नबनाऊ!
(अनिता कोइरालाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)