घर अगाडि अन्नपूर्ण र लमजुङ हिमाल ठिङ्ग उभिएका छन्। आफ्नो गन्तव्यमा पुग्नलाई गाउँ मुन्तिर मादी खोला सलल बगिरहेको छ। गाउँ नजिकै उत्तरपूर्वमा तेउरी खोला र तुउरुक्यु खोला आफ्नै वेगमा छङछङ बगिरहेका छन्। गाउँ नजिकै वनपाखा र खेतबारीमा मृग कराइरहेका छन्। चराचुरुङ्गीको चिरबिर अनि गाउँमा बज्ने मादलको घिन्ताङघिन्ताङले गाउँलाई झन् रमाइलो बनाइरहेको छ।
गाउँको पूर्वतिर पलाची डाँडा र फुलोप्रोडाँडाले गर्दा बिहान घाम अलि ढिलो लाग्छ। मादी खोलाको तिरैतिर ज्याम्दु, चाँसु, सौधा हुँदै बहने चिसो वायु अन्नपूर्ण र लमजुङ हिमालमा ठोक्किएर जलवायु फर्किदा ताङतिङ गाउँलाई चिसो र राम्य बनाउँछ।
सदियौँदेखि प्रकृति र मानवबीचको सुमधुर अन्तरसम्बन्ध रहेको यस अन्नपूर्ण सेरोफेरोमा उत्तर दिशातिर फर्केर रहेको बस्ती कास्कीको ताङतिङ गाउँ मादी खोलाको बाँयातिर पूर्वी पाखामा छ। यसै गाउँलाई गुरुङ भाषामा ‘तोनि नासा’(रमाइलो गाउँ) र नेपाली भाषामा ‘ताङतिङ’ गाउँ भनिन्छ। यो गाउँ मादी गाउँपालिका वडा नं. २, कास्कीमा पर्दछ।
गुरुङहरूको उद्गम तथा आदिम थलो क्होंलासोथरबाट चोरो, क्रपुडाँडा, नौचु, पुरान, तोनीस्वाँरा हुँदै गुरुङहरू करिब तीन सय वर्ष पहिले ताङतिङमा आएका हुन् भन्ने विश्वास गरिन्छ। सधैँ आँखै सामुन्ने नजिकै हिमाल हेर्न पाइने हाम्रो ताङतिङ गाउँमा तमु गुरुङहरूको बाहुल्यता छ। प्रायः तमुहरूको बस्ती जहाँ पनि डाँडाकाँडा, पहाड अलि अग्लो भागमा नै रहेको पाइन्छ।
पहिले ताङतिङ गाउँको माथि एक घण्टाको उकालो चढेर पुगिने नौचु (२,०४७ मिटर)मा गुरुङ बस्ती हुँदा तल रोही फाँट र मया फाँट तल्लो बेशीमा नामार्जुङ गाउँका बाहुनहरूले असारमा रोपाइँ गर्थे। माथि नौचुबाट तल हेरेर हाम्रो पुर्खाहरूले ‘हेर त यी बाहुनहरू, काम नपाएर हिलो खेलेर बसेको छ’ भनेर खिसी गर्थे रे ! ताङतिङमा बुढापाकाहरूले हामीलाई सुनाएर हाँस्थे। अनि हिजो हाम्रो पालामा कस्तो जमाना थियो ! अहिले कस्तो भयो ! भनेर हाम्रो बुढापाका अग्रजहरू हिजो र आजको घटना, समाज, विकास र परिवर्तनका कुराहरू हामीलाई सुनाउँथे।
मानवको पहिलो विद्यालय भनेको नै आफ्नो घर अनि आफू रहेको ठाउँ तथा गाउँ हो। आफ्ना बाबाआमा र गाउँका अग्रज, बुद्धिजीवीहरू र किसानहरू बालबालिकाहरूनै वास्तविक शिक्षक हुन्। हरेक मानिसको मानसिक, शारीरिक, शैक्षिक, पेसागत विकासमा आफू बसेको गाउँ र समाजले असर पार्दछ।
हामी सानो छदाँ हाम्रो ताङतिङ गाउँ धेरै कुरामा आत्मनिर्भर थियो। गाउँमा कृषि, पशुपालन राम्रो फस्टाएको थियो। घरको आँगनआँगनमा मकैको सुली धेरै लामालामा र ठुलाठुला हुन्थे। घरमा धान, मकै, जौ, कोदो मुरीका मुरी रामै्रसँग भित्रिन्थ्यो। थुपै्र गाउँलेहरूको भैँसी गोठ, गाई गोठ र भेडा गोठ थियो।
समग्रमा तत्कालीन समयमा गाउँको सामाजिक अर्थ व्यवस्था मजबुत थियो। गाउँलेले नुन र सुन मात्र पोखराबाट आयात गर्दथे। गाउँको खेतबारीमा सबैले खेतीपाती गर्दथे। त्यसको अलवा खोरिया खनेर घैया खेती, पिँडालु खेती गर्दथे। गाउँका घरहरू कुनै पनि खाली थिएनन्। भारतीय सेना र बेलायती सेनामा कार्यरत लाहुरे बुबा तथा दाजुहरूले पनि आफूले कमाएको पैसाले गाउँमा तथा बेसीमा आफ्ना सन्तानहरूका लागि धान खेत किन्थे। आफ्ना सन्तानहरूलाई गाउँकै विद्यालयमा पढाउने गर्दथे। आफूले लाहोरमा कमाएको धनसम्पत्ति पूरै गाउँकै खेतबारी तथा घर निर्माणमा खर्च गर्ने गर्दथे। यसैले त्यति बेला गाउँमा सुख, समृद्धि, शान्ति र खुसी थियो। गाउँको टोलटोलमा ठेटर नाच, घाँटु नाच, सोरठी नाच बेला बेलामा प्रदर्शन गर्ने गर्दथे।
अहिले जस्तो गाउँबाट पोखरा बसाइँ सर्ने प्रचलन थिएन। गाउँको एकदुई घर बाहेक पोखरामा खासै ताङतिङ्गे कोही थिएनन्। तत्कालीन समयमा गाउँबाट पोखरा र मधेसमा बसाइँ सर्नेहरू र आफ्नो वर्षभरिको उत्पादनले नपुगी धान, मकै, कोदो जस्ता अनाज किन्ने त्यस बेलाको भाषामा भन्नु पर्दा बेसाहा भर्नेलाई गाउँलेहरूले नराम्रो दृष्टिकोणले हेर्ने गर्दथे।
कृषि तथा पशुपालन पेसाको अलावा चार दशक पहिले लाहोर जाने भारतीय सेना र बेलायती सेनाको जागिर खानेहरू हाम्रो गाउँमा घरैपिच्छे भेटिन्थे। गाउँमा सरकारी कार्यालयको नाममा ‘हिमालय मिलन माध्यमिक विद्यालय’ (तत्कालीन अवस्थामा प्राथमिक विद्यालय) मात्र थियो। पल्टनबाट गाउँमा छुट्टीमा आएका लाहुरे काकाहरू, मामाहरू, बुबाहरू पोखराबाट टिनको बाकस र हेभिकेट बोकाएर भरियासहित गाउँमा आउँदा लाहुेर आएको घरको चहलपहल नै अर्कै हुन्थ्यो। लाहुरे आउने घरमा नाचगान गरेर टोलका आमाहरू तथा गाउँका आमाहरूले चन्दा सङ्कलन गरेर गाउँको बाटोघाटो चौतारो तथा आवश्यक परेको ठाउँमा खानेपानीको धारा बनाउने गर्दथे।
लाहुरे दाजुभाइहरूले पैसा सङ्कलन गरेर गाउँमै भलिबल र बास्केटबलको खेलमैदान बनाउँथे। कतिपयले आफ्नै निजी खर्चले मठमन्दिर, पाटीपौवा, धर्मशाला र प्याराफिट बनाउने गर्दथे। त्यस बेला अहिलेको जस्तो सरकारी तथा गैरसरकारी सङ्घसंस्थाबाट गाउँको विकासका लागि अनुदान उपलब्ध हुने चलनै थिएन। गाउँमा विदेशबाट छुट्टीमा आउने लाहुरेहरूको समय र सहयोगले गाउँको विकासमा अति महत्वपूर्ण भूमिका खेल्ने गर्दथ्यो। तत्कालीन समयमा युवाहरू आफ्नो उज्ज्वल भविष्य तथा जीविकोपार्जनका निम्ति भारतीय र ब्रिटिस सेनामा भर्ती हुने सपना देख्ने गर्दथे।
भारतीय सेनामा भर्ती हुनका लागि भारतमै पल्टनका सा’बहरूको घरर भर्ती खुल्ने ठाउँहरूमा जान्थे। ती स्थानहरूमा गोरखपुर, सिलाङ, बनारस, सपाथु आदि सहरहरू थिए। उनीहरू त्यहाँका स्थानीय होटल तथा अन्य ठाउँमा पेट पालेर गुजारा गरेर बस्थे। लाहोरमा धेरै दुःखकष्ट सहेर भर्ती भएपछि गाउँमा पहिलो छुट्टी आउँदा उनीहरूको दुःखको सागरको कथा हामीलाई सुनाउँदा सबैको आँखाबाट खुसीको आँसु बग्दथ्यो।
हामीलाई सानो छँदा जागिर भनेको नै भारतीय सेना र ब्रिटिस सेनामा तथा गाउँमा मास्टरी पेसा मात्र हो जस्तो लाग्ने गथ्र्यो। हामीलाई बाहिरको अन्य जागिरको अवसर केही थाहा थिएन। तत्कालीन अवस्थामा कोही कोही छिटफुट रूपमा अरबी मुलुकमा जाने गर्दथे। हाम्रो बाल मस्तिष्कमा जसरी पनि ब्रिटिस आर्मीमा भर्ती हुनुपर्दछ, त्यहाँ सफल भएन भने भारतीय सेनामा जानुपर्दछ भन्ने थियो। मेरो घरमा बाजे पनि लाहुरे अनि बुबा पनि मलायको लाहुरे। म घरको जेठो छोरो; भाइबहिनीहरू धेरै हुनाले बाबा र आमाको चाहना छोरालाई जसरी पनि लाहुरे बनाउने थियो।
मेरो लक्ष्य पनि जसरी पनि लाहुरे बन्नु थियो। गाउँको विद्यालयबाट जब सात कक्षा उतिर्ण गरे तब गाउँदेखि पश्चिममा तल मादी खोलाको बगरमा माध्यमिक विद्यालयसम्म अध्ययन गर्दा दिनहुँ उकालो ओरालो हिँड्नु पथ्र्याे। त्यहाँबाट एसएलसी उत्तीर्ण गरेपछि पोखरास्थित सेती नदीको छेउमा रहेको पृथ्वीनारायण क्याम्पसमा उच्च शिक्षा अध्ययन गरेँ। तत्पश्चात् आफ्नै गाउँमा फर्केर गाउँको सेवा गर्ने रहर जागेर आयो। गाउँमा माध्यमिक तहसम्म पढाइ हुन्थेन। मैले माध्यमिक तहसम्म पढाइ हुने विद्यालय स्थापना गरेर गाउँका भाइबहिनीहरूलाई पढाइको सुविधा दिने मनमा हुटहुटी चल्यो।
यता छातीमा फिताले नाप्ने उमेर पनि पुगिसकेको थियो। ब्रिटिस सेनामा भर्ती हुनलाई ब्रिटिस क्याम्पमा पनि पसियो तर अन्तर्रात्माबाट एकदमै तयारी थिएन, यसो भनूँ–पूरा पूरा प्रयास गरिनँ, त्यसैले सफल पनि भइनँ। अर्काेतिर भारतीय सेनामा तथा वैदेशिक रोजगारमा नजाने कुरालाई मनबाट डिलेट गरेँ। उच्च शिक्षा अध्ययन गरेर गाउँकै सेवा गर्ने र त्यसका निम्ति माध्यमिक विद्यालय स्थापना गर्ने रोडम्याप मनमनमा तयार पारेको थिएँ। आफ्नो जीवनको पाठ्यक्रम आफैले बनाउनु राम्रो हो। जीवनको पाठ्यक्रमको उद्देश्य यसलाई परिपूर्ति गर्ने योजना र कार्यान्वयन गर्ने पनि व्यक्ति स्वयं नै हो। त्यसैले म राजीखुसीले आफ्नै गाउँको ‘हिमालय मिलन माध्यमिक विद्यालय’मा प्रधानाध्यापकका रूपमा रही गाउँको शैक्षिक विकासमा सकेको सहयोग गरिरहेको छु।
बुवाले बनाउनु भएको गाउँको घरमा एक दशक यतादेखि ‘ताङतिङ होलिडे एण्ड गुरुङ होमस्टे संचालन गरिरहेको छु। फुर्सदको समयमा पाहुनाहरूसँग रमाउँछु। ताङतिङ गाउँको पर्यटन विकासमा सक्दो सहयोग गरिरहेको छु।
मेरो बुबाको सपना थियो–जेठो छोरालाई जसरी हुन्छ मलाया वा इन्डियन लाहुरे बनाउने। त्यो पनि भएन भने वैदेशिक रोजगारमा अरब भएपनि पठाएर छोरालाई आफ्नो खुट्टामा उभिने आर्थिक रूपले सम्पन्न गराउने। उहाँको पवित्र उद्देश्य आफ्नो सन्तानका लागि नराम्रो पनि त होइन आखिर। बुवा–आमाले सदा हामीलाई अनुशासन र संस्कारको बारेमा सधै सिकाउनुहुन्थ्यो। सधैँ पढाइलेखाइमा लाग्न प्रेरित गर्नुहुन्थ्यो।
उहाँकै मार्गदर्शनले जीवनमा कहिले बाटो बिराउने काम गरिनँ। तर बाबाको लाहुरे बनाउने वा वैदेशिक रोजगारमा पठाउने सपना पूरा गर्न सकिनँ। बाजे र बुवा हिँडिरहनु भएको लाहुरे परम्परालाई पन्छाएर म फरक बाटामा हिँडेपछि बुवा मसँग धेरै दुःखी हुनुभएको थियो। तर गाउँको शिक्षा, खानेपानी, पर्यटनजस्ता विकासप्रति मेरो समर्पण देखेर उहाँ पछि धेरै खुसी हुनुभयो।
समयको अन्तरालमा मादीमा धेरै पानी बगिसकेको छ। मादी खोलाको सहायक नदीहरू तुंरुक्यु खोला, तेउरी खोलासहित सबै सहायक नदीहरू मादीमा समाहित भएर समुद्रमा समाहित हुनलाई कैलाशलाई छाडेर बगिरहेकोछ। समय बलवान् छ, समयअनुसार हामी सबै चल्नु पनि पर्छ। धेरै बाध्यता, थोरै रहर, संस्कृति र अन्य कारणले गर्दा मेरा बुबाआमा, भाइबहिनी बेलायत बस्दै आइरहनु भएको थियो। बुबासँग भेटघाट नभएको पनि धेरै साल भइसकेको थियो। विश्वलाई कोरोनाले आक्रान्त बनाएको थियो। विपनाहरूभन्दा सपनाहरू धेरै प्यारो रप्रिय हुन्छन्। विपनाहरू यथार्थ तिता हुन्छन्। सपनाहरू क्षणिक रूपमा मिठो र डरलाग्दा हुन्छन्।
बुवा–आमा सात समुद्रपारि रहे पनि मैले उहाँहरूलाई सपनामा देखिरहन्थेँ। मुग्लानमा रहनुभएका मेरा आमा–बाबाको एकदमै याद आइरहन्थ्यो। उहाँ कहिले रोहीफाँटको खेतमा त कहिले घरमा मसँगै हुनुहुन्थ्यो। मेरी जीवनसङ्गिनी नेत्रकुमारी छोराछोरीको निमन्त्रणामा बेलायत गइन्। त्यो दिन म यता नेपालको ताङतिङस्थित आफ्नै घरमा बेलुकीपख सुत्ने तरखरमा थिएँ। कान्छो भाइ केशले भन्यो, “दाइ, बुबालाई अलि सञ्चो छैन।”
मलाई त्यो रातभरि निन्द्रा लागेन। बिहान ३ बजेतिर कान्छा भाइले बाबाले हामी सबैलाई सदाको लागि छाडेर जानुभयो भनेर ज्यादै दुःखको खबर सुनाउनु भयो। मन गह्रौँ भयो, आँखा रसायो। परदेशमा भएको बाबाको स्वर्गारोहण प्रति मलाई विश्वास नै लागेन, सपना जस्तो लाग्यो। उफ् ! त्यो निष्ठुरी बिहान, २०७८ साल जेष्ठ ६ गते बिहान बुबाले हामीलाई सदाका लागि छाडेर जानुभयो। विश्व नै कोरोना महामारीले आक्रान्त भइरहेको अवस्थामा नेपालमा पनि कोरोना महामारीले आर्थिक, शैक्षिक, सामाजिक सबै क्षेत्रमा अस्तव्यस्त भएको थियो।
बुबाको अन्त्येष्टी उतै बेलायतमा भयो। उहाँलाई गाउँ धेरै मन पर्ने भएको हुनाले ४५ दिनमा बौद्ध परम्पराअनुसार उहाँको अर्घाैँ ताङतिङकै गुम्बामा गरियो। बुबाले हामीलाई सदाका लागि छाडेर जानुभयो तर पराइको भूमिमा उहाँको स्वर्गारोहण भएको हुनाले मलाई सधैँ ‘बुबा यतै कतै हुनुहुन्छ’ जस्तो लागिरहन्छ। हुन त मृत्यु प्रकृतिको शाश्वत नियम हो यद्यपि त्यो निष्ठुरी बिहानीले मलाई सधैँ झस्काइरहन्छ।
हार्दिक श्रद्धाञ्जली बाबा ! हामी हजुरलाई ताङतिङ गाउँको वन, पाखा, पखेरु, चौतारी, लेक र बेसीमा सधैँ देखिरहन्छौँ।
(हिमालय मिलन मा.वि. कास्कीका प्रधानाध्यापक गुरुङ ‘ताङतिङ मेरो गाउँ’का लेखक हुन्।)