पारिवारपछि सबैभन्दा नजिकको सम्बन्ध साथीभाइसँगको हुन्छ। समय बित्दै जाँदा सानैदेखि सँगै हाँस्ने, खेल्ने, कुद्ने अनि पीडा साटासाट गर्ने साथीहरू दोबाटोमै छुट्टिने गर्दछन्।
आखिर फरक बाटोसँगै फरक गन्तव्य त हुने नै भयो। यसमा नौलो के नै छ र?
त्यस्तै म अनि मेरा कयौं साथीहरूका गन्तव्य फरक छन्, पेसा फरक छन्। तर पनि माया अनि सद्भाव कहिले नघट्ने रहेछ। सम्झिने मन एकातिर छ त आफ्ना भविष्यका चुनौतीहरू अर्कोतिर।
लगभग सम्बन्धहरू त आजकल विद्युतीय प्रणालीहरूको विकासले जोगाइदिएको छ। सम्झिनलाई एक कल फोन गर्यो अनि सम्बन्ध जोडिराख्नका लागि विभिन्न सामाजिक संजालहरू भैहाले। तर पनि मेरो एउटा खराब बानी नै भनौं न छ, मोबाइल साइलेन्टमा राख्ने।
कसको कतिबेला कल आयो पत्तो नै नहुने। लाग्छ कुनै दिन यो बानीले डुबाउँछ। यति भन्दै मोबाइल के हेरेको, एउटा प्राइभेट नम्बरबाट कल आएको रहेछ। फोन लगाएँ, उताबाट बोलेको आवाज नौलो लागेन।
झ्याप्पै भनेँ, 'आइसा! तिमी होइन? वर्षौंपछि सम्झियौ त।'
कलमा उनी नै रहिछन्।
'ठ्याक्कै चिन्यौ त,' उनले भनिन्।
'हा हा, तिमीलाई कसरी बिर्सिन सक्छु र म? अझै भएन भनेर सानैदेखिकी मिल्ने साथी,' मैले भनेँ।
कुरा हुँदै जाँदा थाहा भयो उनको विवाहको मिति टुङ्गो लागिसकेको रहेछ। उनलाई बधाई दिँदै गर्दा भनिन्, 'विवाहको २/४ दिनअघि नै आउनुपर्छ है तिमी। हल्दी, संगीत अनि मेहन्दी छुटाउने हैन नि त्याँ।'
मैले पनि 'ल ल, पक्का' भन्दै फोन राखिदिएँ।
सोचेँ, जे होस्, हाम्रो संस्कृतिले गर्दा वर्षौंपछि भए पनि साथीसँग भेट हुनेभयो।
विवाहकै लागि भनेर म काठमाडौंबाट हेटौडा आइपुगेँ। साझ हुन लागिसकेको थियो, 'समयमै आइपुगेँ है म' भन्दै घरभित्र गएँ।
आइसा र उसको परिवार मलाई देखेर निकै खुसी हुनुभयो। विवाहको तयारीमा सबै जुटेका थिए। धेरै रमाइलो थियो।
'आइसा, के नयाँ चलन हो फेरि यो? हल्दी, मेहेन्दी समारोह पो? सानी छँदा हिन्दी सिरियल धेरै हेरेको प्रभाव तिमीलाई पनि परेछ त,' अलि गम्भीर हुँदै उसलाई भनेँ।
तर मेरो प्रश्न उसलाई त्यति गम्भीर लागेन। यत्तिकैमा आइसाले थपिन्, 'तिमी कुन युगमा बाँच्दैछौ यार? आजकाल त यो सब कमन भैसक्यो। जिन्दगीमा एकपटक गर्ने विवाहमा यो सब रमाइलो त गर्नै पर्यो नि। हैन र?'
हल्दी समारोहमा दुबोले हल्दीमा चोबेर उसको गालामा लगाइदिँदै गर्दा मलाई किन-किन अलिक रमाइलो भने लागेन।
दूध, पानी, जौं, तिल, रातो गुलाबका कोमल पत्रहरू अनि रङ्गिचङ्गी फूलहरूले सजिएको तामाको ताउलीबाट आइसामाथि जल खन्याइरहँदा मलाई आफ्नो मनमा भने चिसो पसेको महसुस भयो।
विवाहको दिन जोडसँग बजेको ब्यान्ड बाजाको धुन मलाई पन्चेबाजाको जस्तो मिठो पटक्कै लागेन। लाग्यो, आमाहरूले बटार्ने कसार भित्रको खुसी १० पाउन्डको केकभित्र पक्कै मिसिएको छैन।
रत्यौलीको गीतसँग, संगीत र मेहेन्दी समारोह भन्दै बजाइएका हिन्दी गीतको तुलना गर्न पनि मनले मानेन। बिहेमा सबैले रमाइलो गरे। धुमधामसँग विवाह सकियो।
म पनि काठमाडौ फर्किएँ तर पनि मेरो मन यी यावत सोचहरूबाट फर्किएन। मन प्रश्नहरूको कसिलो जालोले जेलियो, नफुस्किने गरी।
बिहेमा साथीहरूसँग भेट हुनुको आनन्द बेग्लै थियो, तापनि त्यो आनन्दभित्र म मज्जाले आनन्दित हुन भने सकिनँ। लाग्यो, हाम्रो वैवाहिक संस्कृति पनि विदेशी संस्कृतिले विस्थापित गरिसकेछ।
दुलहीलाई बिहेको जग्गेसम्म ल्याउन भनि दुलहीको शिरमाथि ओढाएर दाजुभाइले चार टुप्पोमा समाउँदै ल्याएको चुनरीले अझै पनि हाम्रो संस्कृतिलाई ढ्याप्पै ढाकिदिएको आभास भइरह्यो।
नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक राष्ट्र हो। २०६० सालपश्चात् नेपालमा ऐतिहासिक परिवर्तनहरू भए। राजतन्त्र फालेर गणतन्त्र ल्याइयो। नेपाल हिन्दु राज्यबाट धर्मनिरपेक्ष राज्यमा परिणत हुन पुग्यो।
यहाँ वैदिक सनातन धर्मबाहेक पनि आ-आफ्नै धर्मसंस्कृतिहरू मान्दै आएका मानिसहरू धेरै छन्। त्यसैले नेपाललाई सांस्कृतिक विविधताको सङ्गम मानिन्छ। विविधतामा एकता नै नेपाली संस्कृतिको मुख्य विशेषता हो।
इन्द्रेणीसँग तुलना गरिने हाम्रो संस्कृतिले हामीलाई नैतिकता, उदारता, परोपकारितासँगै एकताको पाठ सिकाउँछ। तर वर्तमान अवस्थालाई नियाल्दा, नेपालमा आयातीत संस्कृतिमा रमाउने प्रचलन चारैतर्फ छरिँदै गएको छ।
हामीलाई के आफ्नो, के पराइको फरक छुट्ट्याउन गाह्रो किन भइरहेको छ? अरुलाई नेपाली संस्कृतिप्रति सम्मान भावले शिर निहुँराउने वातावरण सृजना गर्नुको साटो हामीले हाम्रो धर्म अनि संस्कृतिलाई पहिल्याउन सकिरहेका छैनौं।
हाम्रा पूर्खाहरूले सम्हाल्दै यहाँसम्म ल्याइपुर्याइदिएको हाम्रो अनुकरणीय संस्कृतिलाई हामीले अनुशरण गर्न सक्नुपर्छ। पहिला हामी के गर्थ्यौं? आज हामी के गर्दैछौं, कसैलाई हेक्का छैन। सम्पूर्ण जगतलाई गौरवान्वित बनाउने हाम्रो संस्कृति आखिर कसरी बिर्सन सक्छौं हामी?
आफ्नो संस्कृतिको संरक्षण अनि सम्वर्द्धन गर्नु सबै नेपालीको दायित्व मात्र होइन, अधिकार पनि हो। यस कुरालाई नेपालको संविधानको धारा ३२ को उपधारा ३ म प्रत्याभूत गरेको अवस्था विद्यमान छ।
तर संस्कृतिको सम्वर्द्धनभन्दा पनि पश्चिमि संस्कृतिको सुरक्षा आखिर किन?
नेपाली संस्कृतिमा बाह्य संस्कृतिको प्रभाव परिरहँदा यसको मौलिक स्वरुपलाई जोगाउनु चुनौती बनिसकेको छ। तसर्थ राज्यलगायत विभिन्न सांस्कृतिक संस्थानहरू र हामी स्वयम् सम्पूर्ण नेपाली नागरिकहरू आफ्नो संस्कृति जोगाउन अग्रसर हुनुपर्छ।