हिजो लगभग सात वर्षपछि सँगै विद्यालय पढेकी साथीसँग भेट भयो। हालखबरको औपचारिकतापछि उसले मलाई नजिकबाट नियाल्दै सोधी- 'जिन्दगी गज्जब चलिराछ हैन त?'
मैले फिस्स हाँसोसहित सोधेँ- 'के गज्जब देखिस्?'
'पढिरहेकी छेस्, जागिर छ, घुमघाम देखिरहन्छु। के नपुग छ त?'
मैले 'हो हो' को शैलीमा उसलाई जवाफ दिएँ।
त्यो दिन मस्तिष्कमा उसले देखेको मेरो गज्जब जिन्दगी खेलिरह्यो। आफैसँग प्रश्न गरिरहेँ- अरु मलाई जे देख्छन्, म आफैले किन देख्न सक्दिनँ? अरुले सबैकुरा पूर्ण देख्दा मलाई सबै अपूर्ण, छरिएको र खाली-खाली किन लाग्छ?
बेलुका घर फर्कदा झ्यालपट्टिको सिटमा बसेर धेरैबेर घोत्लिएँ र सोचेँ, विद्यालयमा दाइ र दिदीजस्तो कहिले बनिएला भन्ने सोच्दै गर्दा एसएलसी पास गरियो। हुर्किएछु जस्तो लाग्दै थियो, कक्षा बाह्रको पढाइ सकियो।
नयाँ साथी, कलेज जीवन र बिहानी कक्षाको अनुभव संगाल्दै थिएँ, म त २० वर्ष लागिसकेछु। बल्ल अनुभव भयो, म त हुर्किसकेको रहेछु। शारीरिक रुपले, मानसिक रुपले, अझ भनौँ समाजले 'छोरी त हुर्किसकिछ' भन्दै व्याख्या गर्ने हरेक दृष्टिकोणले।
२० वर्ष लागेको दिन म निकै उत्साहित थिएँ, भव्यसँग जन्मदिन मनाएँ। नजिक भएका सबै साथीलाई बोलाएँ, केक काटेँ। साथीहरूले २० लागेको उपलक्ष्मा खुब बधाई पनि दिए।
म आफैलाई पनि कता-कता काउकुती लागेको महसुस नभएको होइन। मेरो कल्पनामा हुर्किएपछि पाउने स्वतन्त्रताहरूले घेरा लगाउन थालिसकेको थियो।
२० मा टेकेको पहिलो वर्ष मज्जैले काटियो। साथीभाइ, होहल्ला, प्रेम सम्बन्ध सबैको मिठै स्वाद चाखियो। जिन्दगी अरुले उदाहरण दिएजस्तो कठिन नहुने रहेछ भन्ने आभास भयो। बलिउड फिल्म 'न्यूयोर्क' को गीत 'यारो.. जि भरके जिले पल, लगता हे आजकल' मेरो प्ले-लिस्टको फेभरेटबाट रिङटोनसम्म बन्न पुग्यो।
घरभन्दा साथीको घर प्यारो लाग्ने, आमाबाबाका कुरा बकमफुसे लाग्ने त कक्षा बाह्र पुग्दादेखि नै चलिरहेकै थियो। 'म' र 'मेरो' सँगको तँछाड मछाडमा २० टेकेको पहिलो वर्ष कट्यो।
दोस्रो खुड्किलो पनि पहिलेझैँ काटिएला भन्नेमा मनले दोमन गरेको थिएन। सुरुआतका दिनहरू सोचेजस्तै बित्यो। विस्तारै सँगै ह्याङआउट गर्ने साथीहरू आफ्नो करिअर र पढाइमा बढी व्यस्त भए। त्यसपछि मेरो बाहिर निस्किने र होहल्लाको पछि लाग्ने काममा कमी भयो।
आफूले पनि जागिर खाइयो। पहिलेका ती साथीहरू हरेक पटक भेट्न बोलाउँदा केही न केही बहानामा म भेट्न गइनँ। मलाई कोहीसँग भेटौँ जस्तो लाग्दा उनीहरूले पनि उस्तै बहाना नबनाएका होइनन्।
एसएलसीपछि एउटै कलेज पढ्ने अठोट लिएका हामी छ जनाको समूहमा म एक्लैले मानविकी पढेकी थिएँ। अरुले विज्ञानमा रुची देखाए। कक्षा १२ पछि कोही विदेशिए भने कोहीले नर्सिङ पढेँ। मैले पत्रकारिता र अंग्रेजीमा स्नातक पढेँ।
आफ्नो कक्षाका मिल्ने साथीहरू कोही 'ल' पढ्नतर्फ लागे, केही मसँगै थिए तर अब त्यो पहिलाको जाँगर रहेन। २० वर्षको रौनक २१ सम्म आउनै मानेन। आफ्नो उमेरकाहरूको उन्नति र प्रगति अरुले सुनाइदिँदा मनमा कता-कता चिसो पस्थ्यो।
न त नदी न बगरका, मेरा दिनहरू आज अचानक कसैले मोजको देख्दा म झस्किएँ। मलाई आफूबाहेक अरु तमाम व्यक्तिहरूको जिन्दगी आहा लाग्थ्यो। तर कसैले मलाई खण्डन गर्ला अहँ! त्यो मेरो सोचमा कहिल्यै परेन।
म मैले भोगिरहेको भनौँ या कटाइरहेको दिनसँग विल्कुलै सन्तुष्ट छैन। देख्नेलाई यही 'आहा!' लाग्ने रहेछ। त्यस दिन यस्तै अनेकौं रुमलिएका सोचेले दिन अनि रात बित्यो।
मलाई सोचहरूले पिरोली नै रहेको थियो। के यस्तो सोच मलगायत मेरा उमेरका सबैलाई आउँदो हो? भोलिपल्ट अफिसपछि साथीसँग बसेर चिया खाने विचार गरेँ र भेटेँ पनि।
तीन जना भेट्यौँ। प्रायः चियामै रमाउने हामीले यो भेटमा भने कफी अर्डर गर्यौँ। कफीको चुस्किसँगै मैले आफ्नो मस्तिष्कमा घुमिरहेको विचारहरूबारे कुरा गर्नै आँटेको थिएँ।
मसँगै बसेकी साथीले आफूलाई एकदमै निराश भएको बताई। सधैं हाँस्ने र अरुलाई पनि जिन्दगीमा रमाउनुपर्छ भन्ने स्वभावकी ऊ नैराश्यताको कारण बताउन थाली।
ऊ स्कुल पढाउछेँ। स्कूलमा तिम्रो लक्ष्य के हो भन्ने प्रश्नमा अरुको पाइलट र डाक्टर बन्ने लक्ष्य हुने उमरदेखि नै उसको शिक्षिका बन्ने सपना थियो रे! ऊ शिक्षिकासँगै स्नातकोत्तर पनि गर्दैछे। पढाइ, आफूले चाहेको करियर, रिलेशनशिप, बोलीचाली रुप रङ 'परफेक्ट' शब्द सायद उसलाई जति अरुलाई 'सुट' गर्दैन।
तर मैले सोचेको उसको जिन्दगी र उसले भोगेका जिन्दगीका पाटाहरू विल्कुलै फरक रहेछन्। जागिर र पढाइ बीचको तालमेल मिलाउन नसकेर कयौँ रात अनिन्द्रामा बितेको, आफूले कतै गलत कदम उठाएँ कि भन्दै दिनरात आत्मग्लानी भएको उसको कथा सुन्दा मैले आफूले स्नात्तकोत्तर भर्ना नगरेकोमा पछुताएर कयौँ रात भविष्य बिगारेँ, पढाइ छाडेँ भन्ने वितृष्णा पालेको कुरा सम्झिएँ।
मलाई जस्तै भएको हुँदो हो उसलाई पनि। अरुको जिन्दगी पूर्ण देखेर आफूलाई अपूर्ण महसुस गर्दी हो।
उसले आफ्ना कुरा सक्काउन नपाई अर्को साथीले पनि अहिले बिताइरहेको समयदेखि ऊ विल्कुलै हर्षित नभएको बतायो। उसको जागिर छ। उसको वरपर उसलाई नचिन्ने कमै होलान्।
ऊ कयौँका लागि आँट गरे लक्ष्यमा अवश्य पुगिन्छ भन्ने उदाहरण हो। मेरो कक्षामा कलेजपछि प्रगतिको उच्च विन्दुमा पुगेको ऊ मात्र एउटा साथी हो, जसलाई पछाडि फर्केर अहिलेसम्म हेर्नु परेको छैन। कम्तीमा मेरो साथी समूहमा।
तर उसको कथा सुनिसकेपछि आफूले देखेजस्तो र सोचेझैँ कसैका जीवन नहुने रहेछ भन्ने लाग्यो। उनीहरूको कुरा सुनेपछि एकैछिन अघिसम्म मनमा गुम्सिएका ती तमाम भावना मलाई व्यक्त गर्न मन लागेन। अझ भनौँ लाज लाग्यो।
म चुप उनीहरूलाई सुनिरहेँ। उनीहरूलाई सुनेर र हेरेर म चकित हुँदै थिएँ। लाग्यो यो २० वर्ष टेकेपछिका सबैका जीवनका भोगाइ उस्तै हुने रहेछन्। साथीको प्रगतिमा जति नै खुसी भएझैँ गरे पनि आफ्नो परिस्थितिभन्दा माथि ऊ हुँदा मन खुसी हुन नसक्ने।
उसले गरी मैले किन सकिनँ भन्ने मनोभावले मन अनि मस्तिष्क कब्जा गरी नै रहने। आफूसँग भइरहेको कुरासँग जति नै सन्तुष्ट हुन खोज्दा पनि नसकिने। कता जाउँ? के गरुँ? कसलाई सुनाउँ? कसरी राम्रो बनौँ/गरौँ? को भिडमा दौडिरहन मन लाग्ने।
हिजो गरेको कुरा, हिजो खाएको खाना, हिजो भेटेको साथी, हिजो लगाएका लुगा या भनौँ ती तमाम हिजोहरू सकेसम्म आजसम्म ल्याउन मन नलाग्ने रहेछ। राम्रो र नराम्रो बीचको फरक थाहा हुने, अरुभन्दा जेसुकै कुरा भए पनि आफै राम्रो, आफै सही, सबैकुराको ज्ञान लिन मन लाग्ने तर झुक्न नचाहने, सबै थाहा भए पनि नभएजस्तो, पुगे पनि नपुगेजस्तो भए पनि नभएजस्तो यो कस्तो २० का खुड्किलाहरू?
म आफैसँग प्रश्न अनि प्रतिप्रश्न गर्छु। हिजोको 'म' र आजको 'म' मा नै फरक पर्ने यो कस्तो उमेर हो? सायद, म ३० सम्म लाग्दा यी सबै प्रश्नका उत्तर पाउनेछु। करियर, सम्बन्ध, साथीभाइ सबैकुरामा अस्थिरता छोडर स्थिर हुनेछु।
मलाई आशा छ म र मलगायतका २० मा हिँडिरहेका मेरा साथीहरूले ३० मा आफ्नो जीवनको तुलना अरुसँग गर्ने छैनन्। हामीलाई थाहा छ जीवन सोचे र देखेजस्तो पक्कै हुँदैन। तर यो '२०' को दोधारपनले हामीलाई भविष्यमा परिपक्व अवश्य बनाउनेछ।