सुनसान सहर। ओछ्यानभरि छरिएका किताब। निदाउन नसकेर छुटपटिएको शरीर। टिक-टिक बजिरहेको घडी हेर्छु, रातको १२ बजेछ।
आँखा पोलिरहेको छ, शरीर उस्तै थाकेको। तर निद्रा छैन, नयन भिजेका हुन्छन्। दिमाख सोच्दासोच्दै थकित। यता पल्टिन्छु, उता पटिल्छ निदाउन सक्दिनँ।
उठेर पुस्तक पल्टाउछु, फेरि ज्यान स्थिर छ। मन तिनै प्रश्नको उत्तर खोज्न विवश हुन्छ। अनि जति सोचे, खोजे नि उत्तर नभेटी फर्किन्छ।
सायद मंसिर महिना भएर पनि होला अहिले प्रायःजसो आफन्तहरूले सोध्ने रेडिमेड प्रश्न र उत्तर दिन नसकेको मबीच कहिलेकाहीँ मनैमनमा तेस्रो युद्ध नै चल्छ। मौनताबाहेक केही छैन, हुँदैन।
लोक सेवाले दिएका चार विकल्पमा त सधैं अलमल हुने म, अहिले बिना विकल्पको प्रश्नबाट कसरी उत्तर दिन सकुँला र आफन्तहरूले सोधेका प्रश्नको?
आजभोलि मलाई लोक सेवाका प्रश्नभन्दा गाह्रो लाग्दैछ यी प्रश्नका उत्तर दिन। आफ्नो लक्ष्य, सपना एकातिर अनि जता गए पनि जो भेटे पनि मैतिर आइलागे प्रश्न- 'अनि विवाह कहिले गर्ने?'
यी प्रश्नहरू बारम्बार सोधिरहँदा आजकल त लाग्ने गर्छ मंसिर, माघ, फागुन, वैशाखजस्ता धेरै विवाहका लगन हुने महिना नआए पनि हुने, भित्तेपात्रोबाटै हटाए नि हुने।
'अब त उमेर भयो, बुढी हुन थालिस्, विवाह कहिले गर्छेस् त? बुढीकन्या बस्लिस् है,' हालखबर नसोधी हिजो भेटिएकी एक आफन्तले सोधिन्।
भन्न मन थियो, 'विवाह गरेपछि चाहिँ म बुढी हुन्न र? मेरो उमेर बढ्दैन र? कि उमेर घट्छ वा स्थिर नै रहन्छ?'
मनभरि जवाफ भए पनि फिस्स मुस्कान छोडेर मौन बसेँ।
'केटा जागिरे छ, काठमाडौँमा घर छ, यतिका सम्पत्तिको मालिक छ। घर-जग्गा, गाडी सबै छ, फेरीफेरी मौका नआउला विचार गरेस्,' ती आफन्तले भन्दै थिइन्।
प्रिय आफन्त, चाहिएन मलाई धन सम्पत्ति। जति जे भए नि खाने भातै हो, जाने घाटै हो।
चाहियो त बस् मलाई उसको माया, हेरचाह र मेरा सपना पूरा गर्न उसले दिने साथ। बस् यति भए पुग्यो। जीवन रहे कमाइएला सम्पत्ति, खाइएला जागिर। तर जति नै भए पनि हामी संसारबाट बिदा हुनैपर्छ, सबै लिएर जान मिल्दैन।
सबै छोडेरै जाने हो, आखिर केका लागि चाहियो धेरै धन सम्पत्ति? मलाई मेरो मको, मेरो नामको अस्तित्व सफल बनाउनु छ।
मनले कहिलेकाहीँ सोच्छ- के साँच्चै विवाहित दिदीबहिनीहरू आफ्नो वैवाहिक जीवनपछि खुसी र सुखी होलान् र? उनीहरू कहिल्यै चिन्तामा नहोलान् र?
अहँ! छैनन्। भए पनि १०% जति खुसी होलान्। तर ९०% अझै पनि विवाह पछिको जीवनमा खुसी देखिदैनन्। किनकी उनीहरूको सपना नि कतै टुट्यो होला! नयाँ जीवनको सुरुआत र घर व्यवहारको जिम्मेवारीले मन थकित होला।
विवाहबारे सोधिने अन्तगिन्ती प्रश्नहरूले सोच्ने गर्छु, विवाह नै जीवनको अन्तिम गन्तव्य हो र? पक्कै होइन।
म आफूमा आत्मनिर्भर हुनुछ, म पूर्ण रूपमा अर्को व्यक्तिमा निर्भर भएर कमजोर आत्मबलका साथ नयाँ सम्बन्ध जोड्न चाहन्नँ। म आफै खुसी नभएसम्म अरुलाई खुसी दिन सक्दिनँ।
यो मलाई उमेरले अनि भोगाइले सिकाएको छ।
म हुर्केको समाज अनि परिवार, आफन्तलाई यो भन्न चाहान्छु कि- उमेर बढ्ने कुरा हो, बढ्छ। छोराजस्तै छोरीको उमेर पनि बढ्यो। छोरीको उमेर विवाह गर्नका लागि मात्रै होइन, समाजका कुरा बुझ्न तथा जिम्मेवारी र व्यवहारिक हुन पनि हो।
अझ मान्छेहरू भन्छन्- 'अब त विवाह गर्ने उमेर भयो। पहिले १०/११ वर्षमा पनि विवाह गर्ने उमेर भनिन्थ्यो। अहिले २०/२१ वर्षमा नि खै केको आधारमा भनिन्छ!'
यो विवाह गर्ने उमेर भयोलाई अब बुझ्ने उमेर भयोमा परिणत गर्ने पो हो कि?
समयसँगै परिवर्तन हुने हो कि प्रिय आफन्तहरू? सोचाइको क्षमता बढाउने हो कि? बाटो देखाउनु राम्रो हो तर 'तैँले नि यही बाटो हिँड्नुपर्छ, हामी यही बाटो हिँडेको' भन्नु कतिको सार्थकता होला?
आफ्नो छोरीको बढ्दो उमेरको चिन्ताभन्दा पनि उनीहरूको भविष्यको र आफ्नो खुट्टामा उभ्याउने कोसिसमा लाग्नुस्।
डियर शुभचिन्तक, परिवार अनि आफन्तहरू, धैर्यता राख्नुहोस्। तपाईंहरूको प्रश्नको जवाफ मैलेभन्दा पनि समयले एकदिन दिनेछ पक्कै।