यो संसारमा दुई किसिमका मानिसहरू हुन्छन्- राम्रा र नराम्रा। फेरि सोच्नुहोला मैले रूपको कुरा गरें र मानिसहरूलाई केवल उनीहरूको बाहिरी आवरणबाट विभाजन गरें। तर मैले रूपको भन्दा पनि मान्छेहरूको कर्म र बानीको कुरा गरेकी हुँ।
राम्रो काम गर्ने, अरूको भलो गर्न चाहने र अरूलाई इज्जत गर्नेलाई म राम्रो मान्छु भने अरूलाई हेप्ने, चोरी बदमासी गर्ने र ठग्ने जस्ता कुकर्म गर्नेहरूलाई भने म नराम्रो मान्छु। यस्तो नजरमा मानिसहरूलाई हेर्ने मेरो बानी भने भर्खरै बसेको हो।
सानो हुँदा मेरो संसार सानो थियो-घरदेखि विद्यालय र विद्यालदेखि घरसम्म मात्र सीमित थिएँ। घरमा आमाबुवासँग पर्ने सानो ठाकठुक र कहिलेकाहीँ बदमासी गर्दा खाने कुटाइ नै मेरा केही परेशानीहरू थिए।
भगवानको कृपाले गर्दा मसँग केही जिन्दगी नै उल्टिने किसिमको अप्रिय घटना घटेको थिएन। कहिले टिभी त कहिले पत्रपत्रिकामा भने महिलाहरूमाथि हुने हिंसा जस्तैः बलात्कार, यौन दुर्वव्यहार, घरेलुु हिंसाजस्ता काण्डहरूको बारेमा जानकारी पाइरहेकै हुन्थे।
त्यो बेला भने मलाई यो सबको बारेमा सुन्दा अचम्म लाग्थ्यो। अविश्वसनीय लाग्थ्यो। यस्तो नि हुन्छ र! भनेर अचम्म लाग्थ्यो। अझ साँच्चै भन्नुपर्दा त, म ती महिलाहरूमाथि रत्ति पनि विश्वास गर्दिनँ थिए। बरू म ती लाचार र निर्दोष महिलाहरूलाई नै घृणाको नजरले हेर्थें। उनीहरूको बारेमा नानाथरी सोच्थें र उनीहरूलाई नै दोष लगाउँदै हिँड्थें।
जिन्दगी नचिनेका मानिसहरूको चरित्रको खिल्ली उडाउँदै कुरा काट्दै हिँड्थें।
कहाँबाट यतिसम्मको घृणा मेरो बालक मनमा आयो होला? कहाँबाट म आफू जुन लिङ्ग लिएर जन्मिएकी थिएँ, त्यही लिङ्ग भएका अरू मान्छेहरूलाई भने मान्छे नै गन्दिन? किन म उनीहरूमै सबै खोट भेट्छु?
यी सब प्रश्नहरूको उत्तर भने सजिलैसँग आउँदैन रहेछ। यसको जवाफ पाउन भने जुन निर्दोष महिलाहरूलाई घृणा गरे तिनीहरूकै असजिलो मार्गमा हिँड्न पर्दोरहेछ। आफूले भोग्न पर्ने समयमा नै ती घटनाहरूको सत्यताको चाल पाइँदो रहेछ।
ठूलो हुँदै जाँदा जब मैले आफ्नो भर्खरै जन्मेको कुकुरको पिल्लाहरूजस्तो आँखा उघारेर खोलें तब बल्ल सानो छँदा हेरेको र सुनेको घटनाहरूको बारेमा चेत पाए। ती अप्रिय प्रसंगहरूको गहराइ बुझ्ने अवसर पाएँ।
‘कर्मा इज अ बिच्,’ भन्ने भनाइको भान मेरो मनमस्तिष्कमा बल्ल टुसायो।
जब दिउँसोको १२ बजे कलेजको घाँटीदेखि पैतलासम्म पुग्ने ड्रेस लगाई - कतै छाती ठूलो देखिएलाकी भन्ने डरले कोट लगाई - छजना साथीहरूको हुलमा म हिँडिरहेकी थिएँ तब मलाई यो मेरो जिन्दगीको सबैभन्दा ठूलो भूल हुनेछ भनेर कदापि लागेको थिएन।
मेरै आँखा अगाडि रातो पल्सर बाइकमा रातै रङको ज्याकेट भिरेर टेका लगाएको मान्छेले केही कुराको मतलबै नगरी मेरो आँखासगँ आँखा जुधाएर अनैतिक गतिविधि गरेको समय म कहिले भुल्न सक्दिनँ।
म त्यो पल नि भुल्न सक्दिनँ जहाँ त्यो लोग्ने मान्छेले हाम्रो हुल अगाडि बढेपछि हामीलाई हेर्ने अवसर पाइराखोस् भनेर हाम्रै अगाडि बेलाबेलामा बाइक रोकी आफ्नो दुष्कार्यलाई निरन्तरता दिइराख्यो।
तर सबभन्दा दु:खको कुरा यो घटना नभई हाम्रो निशब्दता थियोे। हाम्रो डर थियो। हामी त्यत्रो भिडमा हिँडेता पनि त्यो नराम्रो मान्छेमा भएजस्तो साहस भने कसैमाथि थिएन।
हो हामीले त्यो बेला कुदेरै गएर कसैको मद्दत मागेका थियौं र हामीले प्रहरी देख्नसाथ खबर नि गरेका थियौं तर हाम्रो मुटुमा परेको चोट हामीले के गर्ने?
अविश्वसनीय लाग्ने यो घटनाको यादले अझ पनि सताँउछ। अझ पनि त्यो बाटो काट्दा मन सिरिङ हुन्छ।
यो घटना घटेको निकै समय बितिसक्यो तर मेरो मनमा अहिले पनि एउटा मात्र प्रश्न घुमिरहन्छ- गल्ती जब हाम्रो थिएन भने त्यो घटनाको भार किन हामीमाथि मात्र?
जसले हामीसगँ दुर्व्यवहार गर्यो उसलाई त पक्कै पनि यो कुकर्मको बारेमा याद पनि छैन होला तर हामीलाई त त्यो कालो दिनको छायाले अझ पनि पछ्याउँछ नि।
हाम्रो मनमा अहिले पनि त्यो घटना भोग्ने हामी नभई कोही सानो बच्चा वा बूढो मान्छे भएको भए र उसले बलात्कारजस्तो अमानवीय कार्य गरेको भए के हुन्थ्यो होला भनेर सोच्दा मनमा अहिले पनि चिसो पस्छ।
***
समय थियो साँझको छ बजे। म लुरुलुरु आफ्नो कामसँग काम राखी घर फर्किंदै थिएँ। म एक्लै यताउता हेर्दै हिँड्दै थिएँ कि अचानक अगाडिबाट पाँच सात वर्ष उमेर भएका दुई बच्चाहरू मतिर हाँस्दै दौडिदै आए।
एउटा बच्चाले मलाई हेर्दै भन्यो, ‘दिदी हजुरको कपडा खोल्नु न।’ यो सुनेपछि म छक्क परें र एकैछिन त्यहीँ रोकिएँ।
मलाई आफ्नो कानमाथि विश्वास नै भएन। मेरो मुखबाट, ‘आम्मा के भनिस् मलाई?’ मात्र निस्कन सक्यो।
यति भन्दै ती दुवैजना बालकहरूले मेरो पछाडि पालैपालो हिर्काएर भागे।
म त हेरेको हेरै मात्र भएँ। यिनीहरूलाई कसले पठाएको होला भनेर यसो खोज्दा त दुई किशोरहरू चुरोटको धुँवालाई छल्दै मतिर हेर्दै मुसुमुसु हाँस्दै गएको देखें।
यो देखेर, यिनीहरू त ठूलो ग्याङकै पो हुन् कि सोची म आफ्नो घर तेज रफ्तारमा गएँ।
यो घटनाले मेरो मन भारी बनायो। म अति नै क्रोधित हुँदै घर पुग्नासाथ ती बच्चाहरूलाई सराप्न थालें तर एकछिन पछि अलिकति अझ गहिरिएर सोच्दा मलाई ती बच्चाहरूमाथि भन्दा नि, ती भर्खरै किशोर अवस्थामा टेकेका केटाहरूमाथि अझ बढी रिस उठ्यो।
आखिर मैले उनीहरूको के नै बिगारेकी थिएँ र?
त्यसपछि मलाई केही कुराहरूले अति नै सतायो - बच्चालाई यस्तो दुर्व्यवहार सिकाउनु कदापि सही हैन भन्ने कुरा मनमा लाग्यो।
भर्खरै दिमाग विकास भइराखेको बालक काँचो माटो सरह हुन्छ। एकछिनको हाँसोको लागि यस्तो बदमासी सिकाउनु अलिकति पनि सही हैन। बच्चालाई त के थाहा? उसलाई त जे गर भन्यो त्यही गर्छ नि, हैन र? एउटा सानो बच्चाले जे सुन्यो, बोल्यो र देख्यो त्यही आफ्नो मनमा छाप्छ।
अब प्रश्न आउला, ‘किन मैले बच्चालाई समाएर गाला फुट्ने गरि चड्काइन? किन मैले यो कुकर्मको पछाडि को छ भन्ने थाहा हुँदाहुँदै आवाज उठाइनँ?’
यो सबको उत्तर सरल छ। बच्चाहरू अबोध हुन्छन् र त्यो बेलामा म पूरै मूर्तिसरह भएकी थिए। चड्काउने त परै जाओस् मेरो मुखबाट गालीरूपी ती बच्चाहरूलाई सम्झाउनका लागि दुई शब्द पनि निस्केन र यसै पनि म १८ वर्षभन्दा कम मान्छेहरूको मुखामुख लाग्दिनँ।
मेरो सोच अरूको बच्चालाई के कुट्नु, मलाई त के नै थाहा छ र भन्ने कुरासम्म मात्र सीमित रहन्छ। म त कसैकी आमा बनेकी छैन मलाई एउटा बालकलाई वयस्क बनाउनुको पीडा के थाहा? के यो कुरा नै मेरो भूल थियो? के मैले त्यो बच्चालाई त्यही चड्काएको भएको उसले गरेको नराम्रो कामको सुधार गर्थ्यो? कि नभए अझ नचिनेको मान्छेले हात लगाएको दु:खले अझ बढी रिस र आवेगमा आई यो घटनाभन्दा पनि ठूलो अझ कुनै काण्डै गर्थ्यो?
अन्तिममा भने मनमा प्रश्न एउटै छ। आखिर यो सब कहिलेसम्म सहने?
जहिले पनि बाटोमा, घरमा, विद्यालयमा वा जहीँकहीँ हामी कहिले सुरक्षाको अनुभूति पाउने? मानिस भएर निष्फिक्री भएर बाँच्ने के हाम्रो नैसर्गिक अधिकार हैन र? जन्मेदेखि मरुञ्जेलसम्म केवल आफ्नो र आफूले चिनेका दिदीबहिनीहरूलाई केही भइहाल्छ कि भन्ने डर लागिरहन्छ।
उनीहरू र आफैंलाई बचाउनुका निमित्त बाँधेर राख्न मन लाग्छ - खुलेर श्वास फेर्ने घाँटी घोटिदिन मन लाग्छ।
यो कुरा भने साँचो हो, पहिलाभन्दा महिलाहरूले पाउने अधिकारहरू बढेका छन्। तर संविधानमा लेखिएका विधानहरू त केवल शब्दको संगालो भएर बसेका छन्।
हामीसँग हुने दुर्व्यवहार त कुनै पनि किसिमले कम भएको छैन अझ नयाँ/नयाँ तरिकाले झनै बढ्दैछ।
यसका लागि के गर्न जरूरी छ त?
सानैदेखिबाट नै सानासानी नानीहरूलाई एकअर्काको इज्जत गर्न सिकाउनु एकदमै जरूरी छ।
कसैले आफूमाथि भएको अन्यायाबारे बोल्दा उसलाई साथ र सहानुभूति दिनुपर्छ। कुनै पनि अन्याय आफ्नो आँखा अगाडि भइराखेको छ भने त्यसको विरूद्ध सक्दो गर्न पनि जरूरी छ।
लिङ्ग, जात, छालाको रङ्गको अनुसार भेदभाव गर्ने, उनीहरूलाई निचा देखाउने जस्ता घृणित कामहरू दण्डनीय हुन् र सरकारले पनि पक्षपात नगरी सजाय सुनाउनु पर्छ।
अबको समय भने सहने शक्ति घटाई आफूमाथि भएको अन्यायको विरूद्ध आवाज उठाउने बेला हो। आगोमा हात राख्दा पोल्छ भन्ने कुरा अरूलाई हेरेर सिकिन्छ भने कसैसँग नराम्रो घटना घटेको छ भने उसको पीडा बुझ्नको लागि आफूमाथि पनि सोही घटना घटोस् भन्ने कुरा जरूरी छैन। कसैको पीडा बुझ्न केवल मानवीय दृष्टिकोणले हेर्ने जान्नपर्छ। उसको भाव बुझ्ने सक्दो प्रयास गर्नुपर्छ।
अबको बेला क्रान्तिको बेला हो। सबैको हातसँग हात राखी अन्यायविरूद्ध आवाज उठाउने बेला हो।
अब महिलाहरूलाई एउटा खोक्रो वस्तुको रूपमा लिने समय गइसकेको छ। हामीहरूलाई केवल खुट्टाको धुलो ठान्ने समय हैन, अहिले त हाम्रो मनमा भएको प्रश्नको उत्तर दिने बेला हो। आखिर हामी अब अझ कति नै सहन सक्छौं र?