कार्यालय समय सकेर लैनचौर नजिकको बस बिसौनीमा हामी दुवै बस कुरिरहेका थियौं।
सधैं त्यहीँबाट बस चढ्ने भएकोले उसको र मेरो चिनजान भएको थियो।
मंसिर महिना लागिसकेकोले साढे पाँचमै झिसमिस अँध्यारो भइसकेको थियो। त्यसमाथि हावाको सिरेटोले कानमा छुँदा चिसो बढिसकेको आभाष गराउँथ्यो।
बालुवाटार नजिकैको एउटा प्राइभेट कम्पनीमा गंगा रिसेप्सनिष्टको काम गर्थी। अन्य दिनभन्दा आज गंगाको अनुहार मलिन थियो।
हामीले चढ्ने २३ नम्बर रूटको बस हाम्रो नजिक पुग्दै गर्दा मान्छेले भरिभराउ भएको बाहिरबाटै प्रस्टै देखिन्थ्यो। गंगालाई आज अरू दिनभन्दा केही असजिलो देखेपछि मैले उसलाई अर्को बस कुरौं न भनें।
'अर्को पनि यस्तै त हो नि', उसले भनी।
अनि दुबै जना सकिनसकी त्यही बसमा चढ्यौं।
बस्ने सिट पाउनु त कहाँ हो कहाँ खुट्टा टेक्न पनि धौधौ थियो। त्यही भएर बस बिसौनमा कुर्नेहरू जसरी पनि बसमा छिर्न धकेलाधकेल गर्दैथिए।
दिनभरी कामको थकान, त्यसैमाथि महिनावारीको पहिलो दिनको पेट दुखाइले गर्दा गंगा पूरै गलिसकेकी थिई।
बसमा बस्न पाएको भए उसलाई केही सजिलो हुने थियो। तर असजिलो हुँदाहुँदै पनि उसले यो बस छुटाउन चाहिन। बस छुटे घर पुग्न कम्तीमा ३० मिनेट ढिलो हुन्थ्यो। ३ वर्षको बच्चा घरमा छोडेर काममा हिँडेकीले उसलाई छिटो घर पुग्ने हतार थियो। त्यसैले दु:ख सहेरै भए पनि गंगा बसमा चढेकी हुन्।
बसको यो सास्ती सार्वजनिक यातायातमा चढ्ने कामकाजी महिलाको लागि दैनिकी जस्तै हो।
कामकाजी महिला मात्र होइन, स्कुल-कलेज जाने केटीहरुले पनि सार्वजनिक यातायातमा यस्तै सास्ती भोग्नु परेको छ।
सिन्धुलीबाट उच्च शिक्षाको लागि काठमाडौं आएकी कविताले सार्वजनिक यातायातमा हुने 'ब्याड टच' र दुर्व्यवहारका कारण बस नै चढ्न छोडेकी छन्।
सामाखुसीबाट बागबजारसम्म यात्रा गर्दा पटक/पटक 'ब्याड टच' र दुर्व्यहार हुँदा कविताले कसैलाई भन्न सकिनन्।
एक दुई पटक उसले प्रतिवाद गर्दा उल्टै अरूको अगाडि लज्जित भएको महसुस भएपछि उनी कहिले पठाओमा आउजाउ गर्छिन् भने कहिल्यै हिँडेरै।
बसका यात्रुमात्र नभई चालक र सहचालकको व्यवहार पनि उस्तै, बेला-बेला छाडा शब्द बोल्ने, चढ्ने र झर्ने बेला भिडको फाइदा उठाउँदै शरीरमा छुने जस्ता दुर्व्यवहार उनीहरूले गरिरहेका हुन्छन्।
यी सबै दुर्व्यवहार कतिपय महिलाले प्रतिवाद गर्छन् भने कतिपयले आफ्नै बेइज्जती हुने डरले मनमा लुकाएका हुन्छन्।
सार्वजनिक यातायातमा हुने यस्ता दुर्व्यवहारको प्रतिवाद गर्दा परिवारबाट पनि सहयोग पाउने नपाउने दुविधा धेरैमा हुने गर्छ। कलेजको हतारो, कार्यालयमा समयमा पुग्ने चटारो, साँझ छिटो घर पुग्ने हतारका बीच सार्वजनिक यातायातमा हुने दुर्व्यवहारलाई धेरै महिलाले चुप लागेर सहेका हुन्छन्।
आफूले प्रतिवाद वा कुरा उठाइहाले पनि तत्काल समस्या समाधान नहुने उल्टै थप सास्ती भोग्नुपर्ने भएकाले कतिपयले यस्तो कुरामा समय खर्चिन ब्यर्थ पनि ठान्छन्।
अझ पितृसत्तात्मक हाम्रो समाजमा महिलालाई सहेर बस्नु पर्छ, लाज महिलाको हुन्छ जस्ता कुरा सानैदेखि सिकाइने भएकाले पनि आफूमाथि भएको दुर्व्यवहारलाई धेरै चुप लागेर सहन्छन्।
अर्कोतर्फ महिलाहरूले केही गर्न सक्दैनन्, कसैले प्रतिवाद गरिहाले नानाथरी कुरा बोलेर जितिन्छ भन्ने मानसिकता पीडकहरूको हुन्छ।
महिलाहरूले चुप लागेर सहेर बसे पनि यसले यस्ता घटनाका कारण उनीहरूमा विभिन्न मानसिक तथा भावनात्मक समस्याहरू भने नजानिँदो तरिकाले देखिन्छ।
सार्वजनिक यातायातको प्रयोग गर्नु अहिलेको समयमा अनिवार्य आवश्यकता जस्तै भइसकेको छ। तर सार्वजनिक यातायातमा महिलामाथि हुने दुर्व्यवहारले उनीहरूले निर्वाध वा ढुक्क भएर आफ्नो काममा हिँड्न सक्ने वातावरण छैन।
पठाओ, इन-ड्राइभरजस्ता राइड सेयरिङ सिस्टमले सजिलो बनाएको छ। तर राइड सेयरिङमा पनि अनधिकृत ड्राइभरहरू छ्यापछ्याप्ती देखिन थालेपछि जोखिम बढेको छ।
केही दिन पनि पहिला मात्र यस्तै राइड सेयरिङबाट भएको बलात्कारको घटना यसको उदाहरण हो।
राइड सेयरिङको नाममा पनि महिला यात्रुमाथि विभिन्न किसिमको दुर्व्यवहार भएको पाइन्छ। यात्रुको हतारलाई हेर्दै बढी पैसा लिने, यात्राको अवधिमा अनावश्यक कुरा गर्ने, सधैं हिड्ने बाटोमा ढुकेर बस्ने, सित्तैमा लगिदिन्छु भन्ने वा रातिको समयमा फोन गरेर अनावश्यक कुरा गरी महिलाहरूलाई दुर्व्यवहार भएका प्रसस्तै उदाहरण हाम्रो माझमा छन्।
तर पनि माइक्रो, मिनिबस, ट्याम्पु जस्ता सार्वजनिक सवारी साधनको विकल्पको रूपमा केही महिलाहरूले राइड सेयरिङलाई दिनहुँ प्रयोग गरिरहेका देखिन्छन्।
गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुँदा मेयर बालेन शाहले काठमाडौंलाई बस्न लायक सहर बनाउँछु भन्नु भएको थियो।
कुनै पनि सहर अझ देशको राजधानी नै बस्न लायक बनाउन त्यहाँका सार्वजनिक यातायात सुरक्षित, सभ्य र भरपर्दो हुनैपर्छ। बालेन शाहले काठमाडौंको राजकीय जिम्मेवारी पाएको ८ महिना हुनै लागेको छ।
मेयर साप सार्वजनिक यातायातको यो बेथिति र यसमा महिलाहरूले भोगेको सास्तीले तपाईंको सहरलाई बस्न लायक भन्न मिल्ला र?
वैकल्पिक राजनीतिक शक्तिको रूपमा भारतको राजधानी दिल्लीमा केजरीवालको उदयसँगै उनले पनि तपाईंले जस्तै सहरलाई आममानिसको लागि पनि सहज र बस्न लायक बनाउने अभियान सुरू गरेका थिए र सफल पनि हुँदै गइरहेका छन्।
केजरीवालले पनि सार्वजनिक यातायात र अझ त्यसमा महिलाको संवेनदशीलतालाई ध्यानमा राखी दिल्लीमा विशेष व्यवस्था सुरू गरेका छन्।
भारतमा त सार्वजनिक यातायातको ठूलो हिस्सा सरकारी संस्थानले धानेका छन्। त्यसैले पनि उनले सहजै महिलाहरूलाई दिल्लीभरि नि:शुल्क सार्वजनिक यातायातको व्यवस्था गरेका छन्।
नि:शुल्क मात्र होइन दिल्लीका सार्वजनिक यातायात प्रविधिको प्रयोगले पहिले तुलनामा महिलाहरूको लागि सुरक्षित समेत बनेका छन्।
मेयर बालेनले काठमाडौंको फोहोर सफा गर्न त सुरूआत गर्नु भएको छ तर सार्वजनिक यातायातमा हिँड्ने फोहोर मानसिकता भएकाहरूको सफाइ गर्न अझै कुनै कदम चालेको देखिएको छैन।
देशको राजधानीलाई सभ्य बनाउने अभियानमा यहाँका सार्वजनिक यातायातलाई पनि सभ्य बनाउनु त्यतिकै आवश्यक होइन र?
महिलाहरूले सास्ती र दुर्व्यवहार भोग्ने सहरलाई सभ्य र बस्न लायक भन्न मिल्ला र?
महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूको तथ्यांकले पनि सार्वजनिक स्थान र त्यसमा पनि सबभन्दा बढी सार्वजनिक यातायातमा महिलामाथि यौनजन्य हिंसा र दुर्व्यवहारका धेरै घटना भएको देखाउँछ।
लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै आइरहेको छ।
देशभरि नै यस्ता कार्यक्रम भए होलान् तर त्यही कार्यक्रममा सहभागी भएर घर फर्किने कति महिलाले सार्वजनिक यातायातमा पुरानै नियति भोगेको हुनसक्छन्।
सार्वजनिक यातायातमा महिलाहरूले दिनदिनै भोगिरहेको सास्ती र दुर्व्यवहार लैगिंक हिंसा होइन र?
यदि हो भने खोई त सार्वजनिक यातायातलाई महिलामैत्री, सुरक्षित र सहज बनाउने बहस सुरू भएको?
लैगिंक हिंसाको क्षेत्रमा काम गरिरहेका सबै सरोकारवाला, राज्य र आम नागरिकले यो संवेदनशील विषयमा अब त सोच्ने बेला भइसक्यो।
अन्तिममा पुनः एकपटक काठमाडौंका मेयर सापलाई आग्रह काठमाडौंलाई बस्न लायक बनाउने भनी तपाईंले सुरू गरेको अभियान, सार्वजनिक यातायातको बेथिती नहटाई पूरा हुन्छ जस्तो मलाई लाग्दैन।
फुटपाथ पेटी मिच्नेहरूमाथि बालेनले डोजर चलाएजस्तै, काठमाडौंमा सार्वजनिक यातायातमा महिलालाई कमजोर र निरिह ठानी मिच्नेहरूमाथि ( दुर्व्यवहार गर्ने) कुनै 'एक्सन' लिएमात्र काठमाडौं बस्न लायक सहर हुनेछ।