२०४० साल माघमा एसएलसी परीक्षा दिएपछि परिणाम प्रकाशित नहुँदै चैतदेखि म ललितपुर जिल्लास्थित श्री कालेश्वर मावि बतासेमा पढाउन थालेँ। एसएलसीको परिणाम प्रकाशित भएपछि पनि म नियमित शिक्षकको रुपमा कालेश्वर माविमा अध्यापनरत थिएँ।
२०४१ साल भदौ महिनाको एउटा शुक्रबार म कालेश्वरबाट पढाएर साँझमा घर फर्किएँ। त्यही हप्ता त्रिविले प्रविणता प्रमाण पत्र तहमा भर्नाको लागि आवेदन माग गरेको थियो, त्यस बेला ११/१२ कक्षा थिएन। एसएलसी पास गरेपछि कलेज भर्ना गरेर आइए, आइएड, आइएस्सी आदि पढिन्थ्यो। भर्ना खोलेको कुरा मैले कालेश्वरमै थाहा पाएको थिएँ।
म घर आउँदा बुबा हुनुहुन्नथ्यो। चिया, चिनी सकिएर किन्न बजार जानु भएको रहेछ। आउने बित्तिकै भन्नुयो- 'कालेश्वर जाने होइन अब, क्याम्पसमा भर्ना खुल्यो रे, कहाँ पढ्ने हो? विष्णु र केदारसँग सल्लाह गरेर भर्ना हुन जाने।'
मेरो क्याम्पस पढ्ने उत्कट अभिलासा थियो। त्यस समयमा ढुंखर्कबाट एसएलसी पास गर्ने प्रायः सबै प्राविको शिक्षक हुँदै प्राइभेट परीक्षा दिने चलनजस्तै भएको थियो।
त्यसबेला हरि काका, क्षेत्र दाइ र गोपाल दाइ मात्र नियमित क्याम्पस पढेको थाहा थियो। मलाई पनि नियमित क्याम्पस पढ्ने हुटहुटी नै थियो।
कालेश्वरमा भर्ना खुलेको थाहा पाउँदा नै मेरो हुटहुटी विष्णु दाइलाई बताएको थिएँ र दाइले भन्नुभएको थियो- 'धन्दा मान्नु पर्दैन, मैले त नियमित पढ्न पाइनँ, म तिमीलाई पढाउँछु। काकाले मान्नु भएन भने म मनाउँछु, खर्च देखा जाएगा।'
घरमा बुबाले आफै तँ अब पढ्न जाने हो, जागिर खाने होइन भनेपछि त मेरो खुसीको सीमा रहेन। सम्झेँ मेरो बुबा मेरो इश्वर हुनुहुँदो रहेछ। अनि भोलिपल्ट नै कुशादेवी गएँ।
दीपकजी र म दुवै आवेदन दिन काठमाडौं गयौं र पाटन क्याम्पसमा मानविकी सङ्कायमा आवेदन दियौं। पहिलो सूचीमा नै नाम निक्लियो र दुवैले भर्ना गरेर पढ्न थाल्यौं।
बुबापछि मलाई क्याम्पस पढ्न प्रेरणा दिनेमा बिष्णु दाइ, इन्द्रबहादुर काका र बाबुराम ठूलोबुबा प्रमुख हुनुहुन्छ। बाबुराम ठूलोबुबाले म १० कक्षामा पढ्दा नै मलाई भनेको आज पनि सम्झना छ-
'बाबु, एसएलसी पास गरेपछि माध्यामिक तहको प्रधानाध्यापक बन्ने योग्यता हासिल गर ल। अहिले हेर त हामी पार्वती निमाविलाई मावि बनाउने भनेर लागेका छौँ तर भाइ केदार प्रधानाध्यापक नहुने रे, सहायक भएर बस्नुपर्ने रे, उसको योग्यता पुग्दैन रे।'
मैले खासै प्रतिकृया दिन सकिनँ तर यो भनाइले एसएलसी पास गरेपछि क्याम्पस पढ्ने मेरो इच्छामा थप बल पुगेको कुरामा दुई मत छैन। विष्णु दाइ र इन्द्रबहादुर काकाले त प्रेरणा मात्र होइन, पढाइका क्रममा मलाई पर्ने यावत समस्या हल गर्न सहयोग गर्नु भएको छ।
२०४१ को दसैँ पछाडिदेखि म नियमित क्याम्पस जान थालेँ। मलाई अहिले पनि सम्झना छ, क्याम्पस भर्ना गर्न आउँदा बुबा पनि आउनुभएको थियो। हामी तिखेदेवल गोपाल दाइको घरमा बस्थ्यौं। भर्ना गर्न म मात्र गएँ। १ बजेतिर भर्ना सकेर फर्कंदा बुबा कोठामा नै हुनुहुन्थ्यो।
'ल हिँड्, बैंकमा एउटा खाता खोलिदिन्छु तँलाई' भनेर मलाई लिएर मङ्गलबजार आउनुभयो।
मङ्गलबजारमा राष्द्रिय वाणिज्य बैंक छ भनेर कसले भन्यो कुन्नी बिर्सेँ। हामी सरासर मङ्गलबजारमा रहेको राष्द्रिय वाणिज्य बैंकमा आयौं। बुबाले मेरो नाममा खाता खोलेर ५ हजार रुपैयाँ राखिदिनुभयो।
मेरो जीवनको पहिलो बैंक खाता थियो त्यो र मैले जीवनमा पहिलो पटक त्यति धेरै रुपैयाँ देखेको थिएँ। २०४१ सालको ५ हजार साँच्चै धेरै थियो। बुबाले भन्नुभयो- 'एकै पटक धेरै नझिक्नू, आवश्यक पर्दा १/२ सय झिक्दै खर्च गर्नू ल।'
सायद त्यो ५ हजारले म पाटनमा १ वर्ष टिकेँ होला जस्तो लाग्छ।
कोठाभाडा ६० रुपैयाँ थियो, त्यो पनि २ जना (केदार घिमिरे दाइ र म) बस्थ्यौं। ३ रुपैयाँ केजी मनसुली चामल थियो। स्टोभ बाल्न ३ रुपैयाँ लिटर मट्टितेल थियो। खाजा सकेसम्म गाउँबाट मकै, भटमास ल्याउनी गर्दथ्यौँ। घरबाट आउँदा साग, आलु, लसुन, गुन्द्रुक तरकारी पनि ल्याउने गरिएको थियो।
२०४२ सालको सुरु तिरदेखि म सरस्वती मावि लेले ललितपुरमा पढाउन थालेँ। अनि पढाइको खर्च आफैँ धान्न सक्ने भएँ। कतिपय बेला खर्च नहुँदा विष्णु दाइले दिएको साध्य छैन। त्यो ऋण मैले कसरी तिर्ने हो थाहा छैन। संयोग पनि कस्तो, विष्णु दाइ पनि लेले चन्दनपुर मोटरबाटो योजनामा काम गर्नुहुन्थ्यो। हामी दाजुभाइ प्रायः सँगै लेले आउजाउ गर्दथ्यौँ।
मेरो पढाइ चलि नै रहेका थियो। यही बीचमा गाउँमा माध्यामिक तह सञ्चालन गर्ने निर्णय भएछ। कक्षा ८ पढाउनलाई केही थप शिक्षक चाहियो। त्यही सन्दर्भमा मलाई क्याम्पसबाट बोलाउने सबैले सहमति गर्नु भएछ।
मलाई घरबाट खबर आयो। बिर्सेँ कसले खबर ल्याए। म शुक्रबार सधैँ घर जान्थेँ, त्यहीअनुसार त्यो हप्ता पनि घर गएँ। घर जाँदा सधैँ पहिले इन्द्रबहादुर काकाको पसलमा बस्ने, गफ गर्ने अनि घर जाने गर्थेँ। त्यो दिन पनि त्यसै गरें।
इन्द्रबहादुर काकाले मलाई शिक्षक राख्न भएको सहमति सुनाउनु भयो। सँगै काकाले के पनि भन्नुभयो भने- 'बाबु, तैँले कम्तीमा स्नातक पास नगरी गाउँ फर्कनु हुन्न। मैले यत्रो वर्ष सेवा गरेँ, अहिले योग्यता नपुगेका कारण नै प्रअ पद छोड्नु परेको छ। त्यसैले बुबालाई केही नभन्नू, तल इन्द्रबहादुर सरले भेट्न जानु भन्नूभएको छ भन्नू र म हजुरहरूले भनेअनुसार गर्छु भन्नू।'
साँझमा घर पुगेँ, बुबाले सबै कुरा सुनाउनु भयो। मैले उत्सुक्ताका साथ सुनिरहेँ र अन्तमा भनेँ, 'तपाईंहरूले भनेको कुरा म मानिहाल्छु नि। पढ् भने पढ्छु। गाउँ आइज भने आउँछु। तर केदार काकाले यो सबै निर्णय गर्न भोलि हजुरलाई पठाइदिनु भन्नु भएको छ, हजुर तल जानु रे।'
बुबा भोलिपल्ट दिउँसो (शनिबार) तल झर्नु भयो। दाजुभाइको के गफ भयो त्यो सबै बुबाले नै भन्नु भएन र ममा सोध्ने हिम्मत पनि थिएन। बेलुका फर्केर आएर बुबाले 'मैले केदार भाइसँग छलफल गरेँ, तैले क्याम्पस नछोड्ने, यहाँ अरु नै शिक्षक आउँछन् तँ पढ्न सक्छस् पढ्दै जा' भनेर हँसिलो अनुहार लगाएर भन्नुभयो।
भोलिपल्ट बिहानै म घाँस लिन बन जान्छु, तँ पाटन जानु भनेर दुई हजार रुपैयाँ झिकेर दिनुभयो। यसरी करिब-करिब टुङ्गिन लागेको मेरो क्याम्पसको पढाइ बुबा र काकाको सल्लाहबाट फेरि नियमित भयो।
यसरी मेरो अध्ययन चल्दै गयो। २०४६ सालमा स्नातक पास गरेँ। २०४६ सालको आन्दोलन चल्दै थियो, म पनि त्यो आन्दोलनको हिस्सा बनिसकेको थिएँ। पाटनमा मलाई प्रहरीले निगरानी गरिरहेको थाहा पाएपछि लेले गएर बस्न लागेको थिएँ। विद्यालय हड्ताल थियो तर पनि मेरो बसाइ लेलेमै थियो।
त्यही समयमा मेरो गाउँको पार्वती माविमा नेतृत्वको सङ्कट आएछ। घर गएका तत्कालीन प्रधानाध्यापक नफर्केपछि विद्यार्थीहरू खोपासी पढ्न जाने भनेर विद्यालय छोड्न थालेछन्।
त्यो सङ्कटलाई टार्नको लागि पूर्वप्रधानपञ्च स्व. विजुलीप्रसाद घिमिरे, त्यसबेलाका प्रधानपञ्च प्रेमबहादुर तिमल्सिना, उपप्रधानपञ्च जगतवहादुर वाइवा, गेणप्रसाद तिमल्सिना, स्व. विष्णु दहाल, इन्द्रबहादुर तिमल्सिना, स्व. भोलानाथ शर्मा लगायतको सल्लाहमा मलाई बोलाउने सहमति भएछ।
त्यही सहमतिअनुसार विष्णु दहाल सर, जगत दाइ र भोला सर मलाई लिन पाटन आउनुभयो। गाउँको सङ्कटलाई मेरो उपस्थितिले टार्छ भने मैले नाईं भन्नु हुन्न भनेर निमाविको स्थायी जागिर राजिनामा दिएर २०४६ चैत १२ गते म पार्वती माविको प्रधानाध्यापक बन्ने निर्णय गरेर ढुंखर्क गएँ।
त्यो दिन घर नगएर गोपाल दाइकोमा बसेँ। साँझ ढुंखर्कका माथि उल्लेखित सबैजसो अग्रज भेला हुनुभयो र मलाई पार्वती मावि जिम्मा दिएको निर्णय सुनाउनु भयो। मैले सबैको सहयोगको अपेक्षा गर्दै त्यो जिम्मेवारी स्वीकार्ने कुरा सुनाएँ र करिव रातको १२ बजे तिर मात्र हामी सुत्यौँ।
म आएको बुबाले थाहा पाउनु भएछ। बिहानै तल झर्नु भयो। खासै कुरा भएन। म बुबासँग खुलेर कुरा गर्न सक्दिन थिएँ। मेरो यो कमजोरी बुबाको मृत्युपर्यन्त रह्यो। बुबासँग कहिल्यै आँखा जुधाएर कुरा गर्न सकिएन, प्रश्न सोध्न त परै जाओस्। साँझ घर गएँ। घरमा सबै खुसी रहेछन्। छोरी सानी थिई। ऊ मेरो काखमा कहिल्यै बस्न पाएकी थिइन होला। त्यही आशमा हुनसक्छ छोरी पनि खुसी।
घरमा पुग्ने बित्तिकै बुबाले लेलेको स्थायी जागिर, प्रअ आदि नसोधी मेरो पढाइ बारे सोध्नुभयो- 'अब पढाइ सकिएको हो र? पढाइ छोडेर गाउँ फर्किछस् त।'
मैले मसिनो स्वरमा भनेँ- 'माविको प्रअ बन्न स्नातक गरे पुग्छ, त्यो पास गरेँ, सकिएको त छैन। अब प्राइभेट दिएर डिग्री गर्छु।'
बुबाले हाँस्दै भनेको आज पनि सम्झन्छु, 'डिग्री मात्र हैन, भएदेखि लिग्री पनि गर्नू।'
२०४६ सालदेखि २०५० सालसम्म मैले पार्वती माविको प्रअको रुपमा काम गरेँ। कति राम्रो गर्न सकेँ, कति सकिनँ त्यो ढुंखर्क बासीका सामु छर्लङ्ग छ। म त्यसको व्याख्या विश्लेषण तिर लाग्दिनँ। यही बीचमा पनि बेलाबेला बुबा मलाई पढ्नको लागि झक्झक्याइरहनु हुन्थ्यो।
२०४७ सालको एक दिनको कुरा हो कसले भन्यो कुन्नी थाहा छैन बुबाले मलाई 'बिएड नगरी प्रअ भैरहन पाइँदैन रे नि हो?' भनेर सोध्नुभयो।
'हो बुबा' भनेर मैले जवाफ दिएँ अनि बुबाले सोध्नुभयो- 'तैँले गरिस त्?'
मैले छैन भनेँ।
'त्यसो भए तुरुन्त गर्, अरुको भनाइ सुन्न हुँदैन। आफ्नो तर्फबाट पूरा तयारी हुनु पदर्छ।'
त्यसपछि मैले काठमाडौं शिक्षा क्याम्पसबाट एक वर्षे बिएड गरेँ।
यही बिएड योग्यताले गर्दा म निजामति सेवामा प्रवेश गरेँ र पछि बेलायत पढ्न जान पनि त्यसैले सहयोग गर्यो। सायद बुबाले त्यहीबेला छिटो गर् नभनेको भए म १/२ वर्षपछि मात्र बिएड गर्थेँ होला।
जसका कारण २०५० सालको विद्यालय निरीक्षकको परीक्षामा सामेल नै हुन पाउन्न थिएँ र मेरो जिन्दगीको यात्रा नै फरक हुने थियो। मलाई आज लाग्छ बुबाको बेला बेलाको पढ्नको लागि गरेको आग्रहले मेरो जीवनको मोड नै फरक भएको छ।
२०५० सालमा लोक सेवा पास गरेर शिक्षा सेवाको विद्यालय निरीक्षक पदबाट निजामति क्षेत्रमा प्रवेश गरेँ। जागिरको दौरानमा आरोह अवरोह धेरै भए। २०५३ सालमा सरकारले मलगायत दीपक शर्मा, हरिप्रसाद लम्साल, दिनेश श्रेष्ठलाई शिक्षा विषयमा स्नातकोत्तर अध्ययन गर्न बेलायतको लिड्स विश्वविद्यालयमा छात्रवृत्तिमा पठाउने निर्णय गर्यो।
छात्रवृत्तिमा पढ्न पाउने, त्यो पनि विश्वको विकसित र उत्कृष्ट शिक्षा पद्धति भएको देश बेलायतमा। यो कुरा सुनाउन म शिक्षा मन्त्रालयबाट मनोनयन भएको पत्र पाएकै हप्ता घर गऐँ। सबै कुरा बुबाआमा लगायत परिवारलाई सुनाएँ। सबै परिवार खुसी नहुने कुरै भएन।
बुबाले बरर आँसु झारेर भन्नुभयो- 'आफ्नो देशमा मात्र होइन, विदेशमा पनि पढ्न पाउने भइस्, त्यो पनि सरकारी खर्चमा। कति वर्ष बस्नु पर्ने हो? त्यहाँ पनि नेपालमा पढे जसैगरी मेहनतका साथ पढ्नू र तोकिएको समयमा सबै पढाइ सकेर स्वदेश फर्कनू नि।'
निर्णय भएको करिब ५ महिनापछि मलगायत तीन साथीहरू बेलायत उड्यौं र सरकारले तोकेको समयमा नै स्नातकोत्तर तह उतीर्ण गरी नेपाल फर्किएर पुनः सेवामा हाजिर भएँ। मेरो जीवनको यो वैदेशिक डिग्री एउटा कोशे ढुङ्गा थियो।
म जागिरको सन्दर्भमा काठमाडौंमा बस्ने, बुबाआमा गाउँमा। मैले बुबालाई पटक-पटक गाउँमा दुःख नगर्नुस्, अब काठमाडौं गएर बसौं भन्दा उहाँले सधै दोहोर्याउने वाक्य थियो- 'म पराईको घरमा मर्दिनँ।'
बुबाको, भाइको र परिवारको साथ र सहयोगमा २०५६ सालमा काठमाडौंमा घर बनाइयो तर पनि बुबा आउन मान्नु भएन।
जब माओवादी सङ्घर्ष उत्कर्षमा पुग्यो २०५९/०६० साल तिर अनि बुबा काठमाडौं आउन राजी हुनुभयो। बुबालाई काठमाडौं आउन मनाउन मेरा भान्जा दाइ ध्रुव कोइरालाको पनि ठूलो भूमिका छ। बुबा भन्नुहुन्थ्यो- 'माओवादीले दुःख त दिएका छैनन्, आउने, बस्ने, खाने, चन्दा माग्ने धम्क्याउने केही गरेका छैनन्।'
तर राति-राति हुने उनीहरूको सभामा बोलाउने र बुबालाई सभाको सभापती बनाउने आदि गर्थे रे। उनीहरू भन्थे रे- 'तपाईं सभामा उपस्थित हुँदा अरु पनि सहजै आउँछन्।'
त्यसपछि हामी बुबा-आमासहित सम्पूर्ण परिवार २०६० साल वैशाखमा काठमाडौं आयौँ। मैले आफ्नो पढाइलाई निरन्तरता दिइरहेको थिएँ।
२०५९ सालमा काठमाडौं विश्वविद्यालयमा एमफिल अध्ययन गर्न सुरु गरेँ। एमफिलमा पनि मैले शुल्क तिर्न परेन। जापानका पूर्व प्रधानमन्त्री रिओतारो हासीमोतोको नाममा स्थापना भएको छात्रावृति प्रतिस्पर्धाबाट प्राप्त गर्न सफल भएँ र एमफिल पूरा निःशुल्क अध्ययन गरेँ।
म बिहान ५:३० बजे लोक स्मृति मावि ग्वार्कोमा पढाउन जान्थेँ, त्यहाँ ८:३० सम्म पढाउथेँ र त्यतैबाट फुल्चोकी शिक्षक तालिम केन्द्र लगनखेलमा एउटा कक्षा लिन जान्थेँ। त्यसपछि सोझै शिक्षा मन्त्रालयमा जागिर गर्न जान्थेँ। साँझ ५:३० बजे काठमाडौं विश्वविद्यालयमा एमफिल पढ्न मानभवन जान्थेँ र करिब ९:३० बजे तिर मात्र घर फर्किन्थेँ।
पहिलो दिनमा नै बुबाले सोध्नुभयो- 'बिहान त्यसबेला हिँडेको मान्छे यस बेलासम्म के गर्छस् बाबु तँ? शरीर र स्वास्थ्यको ख्याल गरेको छस्?'
मैले बिहानदेखि बेलुकीसम्मको मेरो व्यस्तता र संलग्नता सबै बुबालाई बताएँ। बुबाले फेरि सोध्नुभयो- 'बेलायत जाने बेलामा डिग्री गर्छु अब पुग्छ भन्थिस्, अझ पढ्दैछु भन्छस् त! कति पढ्न पर्छ अब सकिएन र?'
मैले भनेँ, 'यो पछि अझ एउटा तह हुन्छ, त्यो पनि पढ्ने विचार छ, हेरौं कत्तिको सफल भइन्छ।'
बुबाले त्यसबेला भनेको म अझ पनि सम्झन्छु कि, 'तँ सक्छस् पढ् है बाबु। पढाइलेखाइ आफूलाई भन्छन् तर यसले व्यक्ति र परिवारको मात्र होइन, कुलको नै इज्जत र मान बढ्छ।'
मैले एमफिल सकेर दीक्षान्त समारोहमा भाग लिएर आएको दिन बुबा ज्यादै खुसी हुनु भएको थियो। टिभिमा दीक्षान्त समारोहको समाचार आउँदा खुब ध्यान दिएर हेर्दै भन्नुभयो- 'तँलाई देखिन्छ कि भनेर हेरेको तर देखिनँ।'
बुबाको २०७० जेठमा स्वर्गारोहण भयो। बुबा जीवितै हुँदा मैले काठमाडौं विश्वविद्यालयमा विद्यावारिधिको पढाइ सुरु गरेर उत्कृष्ट ग्रेड हासिल गर्दै नियमित कक्षा सकेको थिएँ। तर बुबा बिरामी परेपछि मेरो थेसिस लेखाइ केही समय रोकियो।
बुबाको निधनपछि मैले काठमाडौं विश्व विद्यालयमा विद्यावारिधिको पढाइलाई नियमितता दिने प्रयास गरेँ तर काठमाडौं विश्वविद्यालयले मेरो परिस्थिति र समस्या बुझेन वा भनौँ मेरो लागि सहयोगी बन्न सकेन वा विश्व विद्यालयको नियमले दिएन।
अनि त्यही वर्ष माघमा त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधिमा भर्ना भएँ र २०७७ को कात्तिकमा पूरा गरेँ। बुबाले बारम्बार भन्ने गरेको 'तँ सक्छस् पढ् है' र ठट्टामा बेलायतमा पढ्न जाने बेलामा डिग्री पढ्न जाने भन्दा 'लिग्री पनि पढ् है' भनेको बुबाको वचन सिरोधार्य गर्दै विधावारिधि उपाधि लिएँ र गएको २०७८ पुस ५ गते प्रधानमन्त्रीबाट औपचारिक रुपमा प्रमाण पत्र पनि ग्रहण गरेँ।
तर मैले यो उपाधि प्राप्त गरेको कुरा बुबालाई सुनाउन भने पाइनँ। त्यसैले विद्यावारिधिको यो शैक्षिक उपाधि, बुबाप्रति समर्पण।