विश्वकप फुटबल फुटबलको सबैभन्दा ठूलो आयोजन मात्र नभएर एउटा गहिरो सांस्कृतिक र राजनीतिक महत्व बोकेको खेल प्रतियोगिता हो।
मंसिर ४ बाट एक महिनासम्म चलेको विश्वकप फुटबल प्रतियोगिता दौरान फुटबलसँगै प्याराफिटमा भएका विधिन्न हर्कतले खेलाडी र समर्थक राजनीतिक प्राणी हुन् भन्ने दृश्य देखियो।
रंगशालामा छाएका ‘महिला, जीवन र स्वतन्त्रता’ लेखिएको बिशाल ब्यानरले ईरानका महिलामाथिको दमनका बारेमा विश्वको ध्यान खिचिरहेको थियो। यौंनिक तथा अल्पसंख्यकको पक्षमामा इन्द्रेणी ब्यान्ड पनि मैदानमा देखियो।
कतारमा सम्पन्न २२ औं संस्करणको विश्वकपलाई लिएर आयोजना सुरू हुनु अगाडिनै प्रसस्तै असन्तुष्टि देखिएका थिए। विश्वकपका लागि निर्माण गरिएका रंगशाला बनाउने क्रममा थुप्रै आप्रवासी मजदुरले ज्यान गुमाएको र त्यसको कतारले उचित क्षतिपूर्ति र सम्मान नदिएको भन्दै विश्वभर विरोध भएको थियो।
तर नेपालसहित अन्य देशका मजदुरको ज्यान गएको विषयलाई लिएर त्यहाँ विश्वकपभर कुनै त्यस्तो प्रदर्शन देखिएन। फाट्टफुट्ट विरोधका स्वर सुनिएपिन मैदान भित्र प्याराफिटमा बसेका दर्शकले कुनै अभद्र स्वभाव देखाएनन्।
फुटबल राजनीतिको अन्त्यहिन बहसमा नफसोस भन्नका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले खेलाडीलाई कुनै पनि वक्तब्यबाजी र प्रदर्शन नगर्न आदेश दिएको थियो।
विश्वको कुनै पनि देश समस्या र तनावमुक्त छैनन्। तसर्थ यहाँ राजनीतिक अभियानबाजीले फुटबललाईनै ओझेल पार्ने देखेर होला फिफाले यस्तो निर्देशन दिएको थियो। हुन त यो गलत पनि होइन। खेलाडीले पनि बुझेका छन्।
फलस्वरूप एक महिना लामो फुटबलको कुम्भमेला अत्यन्त सफल भयो।
संसार आप्रवासी मजदुर मृत्युको पीडा भुल्न चाहथ्यो। खेलाडीहरू स्वदेश र विदेशका घट्नाप्रति अनविज्ञ थिएनन्। तर उनीहरू आफ्नो धर्म निभाउन चाहन्थे। खेलाडीको धर्म खेल्नु हो जुन उनीहरूले निभाए।
एक महिनासम्म जताततै फुटबलनै फुटबल भयो। आफ्ना प्रिय खेलाडीका फोटा, टी-शर्ट र झन्डा प्रायःका घरमा रहन थाले।
कुनै पनि साईनो र दोहोरो चिनजान नभएका खेलाडीका बारेमा परिवारका सदस्यझैं चर्चा भए। कहीँ कतै जितका कामनासहित पूजा र हवनसमेत गरिएका तस्बिर सामाजिक सञ्जालमा छाए।
आखिर किन यस्तो क्रेज त फुटबलमा?
फुटबल खेल मानवीय जीवनझैं हुन्छ। मानिस आफ्नो जीवनको पुरा दृश्य फुटबल मैदानमा पाउँछ। फुटबलको खेलझैं जीवन छोटो हुन्छ। हस्याङफस्याङ्, दौडधुप, संघर्ष, उतारचढाव, लड्नु-उठ्नु, उठेर फेरि दौड्नु, सफलतामा रमाउनु अनि असफलतामा निराश नहुँदै निरन्तर लक्ष्यतर्फ उन्मुख हुनुनै फुटबल र जीवन हो।
फुटबल साधारणतया ९० मिनेटमा सकिन्छ तर जीवन कहिले सकिने हो कुनै निश्चित हुन्न, जीवन र फुटबलमा फरक यति हुन्छ। तर जीवन कुनै एक दिन अवश्य सकिन्छ, त्यो निश्चित छ।
जीवनसँग जोडिएको भएर होला फुटबल मात्र यस्तो खेल होला जो विश्वभर बाल बच्चादेखि बुढा बा आमासँग पनि चर्चित छ।
मोजा भित्र प्लास्टिक डल्लो पारेर खेलेको, आमाले मिलमा गहुँ पिसाउन छोडेको बेला पिठो लिएर आउनू भनि अह्राउँदा फुटबल हेर्दाहेर्दै खाली हात घर फर्कदाँ खाएको पिटाइ अझै मेरो मानसपटलमा ताजै छ।
आफू अंग्रेजीमा कमजोर हुँदा मेरा अंग्रेजी गुरूले पेलेको भनाइलाई उद्धृत गरेर सम्झाएको अझै याद छ- एभ्री थिङ् इज प्राक्टिस्।
फुटबल शिक्षाको एक अभिन्न अंग थियो। फुटबल सधैं मेरो प्रिय खेल रह्यो। क्रिकेटलेझैं यसले मेरो आर्थिक हैसियत याद दिलाउँदैन थियो। यो म जस्ता थुप्रै गरिबको खेल थियो।
त्यसैले कतारको फुटबल रंगशाला बनाउँदा २३ सय नेपालीले ज्यान गुमाएको खबरले मलाई त्यहाँ आयोजित विश्वकप बहिष्कार गर्ने छुट दिएन। फुटबलले मान्छेलाई जोड्छ, एक अर्काका भिन्नता भन्दा साझा धरातल खोज्न प्रेरणा दिन्छ।
यो दिमाग भन्दा मनको खेल हो। कालो हिराको नामले परिचित पेलेका बारेमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले भनेका थिए, ‘मेरो नाम रोनाल्ड रेगन हो, म अमेरिकाको राष्ट्रपति हुँ, तिमी पेले हौ, तिमीलाई कुनै परिचयको आवश्यकता छैन।’ पेलेले विश्वको मन जितेका थिए। फुटबलको अर्का जादुगर म्यारोडोना जसले हातले गोल गरेर फुटबलमा चमत्कार हुने सन्देशसमेत दिएका थिए।
यस्तै महान फुटबल खेलाडीहरू मेरो जीवन यात्राका गुरू थिए। मेरो सिक्षाका अभिन्न अंग थिए, जो कक्षा कोठाभन्दा बाहिर पनि मेरो साथमा रहन्थे, मेरो सपनामा अनि कल्पनामा।
क्रिकेटले मेरो जीवनमा धेरै पछि मात्र प्रवेश पायो। क्रिकेट त्यतिखेर सम्भ्रान्तको खेल थियो। एक त यसलाई जेन्टल्मेन्ट गेम भनिन्थ्यो, जुन म कहिलै भइनँ।
फुटबल मेरो प्रिय खेल रहिरह्यो। त्यसैले मैले कतारमा आयोजित फुटबलको विरोध गर्न सकिनँ। यो विश्वकप मेरा लागि विशेष यस् अर्थमा थियो कि, म मेरा प्रिय खेलाडी मेसीको खेल मिस गर्न चाहँदैन थिएँ।
उनको खेल कौशललाई आँखाले हेर्न चाहन्थेँ। आशा अनुरूप मेसीले आफ्नो गोल गर्ने अद्भूत शैली र रणनीतिले अर्जेन्टिनाको नाममा जितको कथा लेखिदिए। यसलाई टेलिभिजनमै भए पनि आफ्नै आँखाले हेर्न पाउँदा इतिहासको साक्षी भएको महसुस गरेको छु।
मेसी अब विश्वकपमा देखिने छैनन्। यो उनको विश्वकपमा अन्तिम सहभागिता थियो। जुन सफलता हात पारेर उनले विश्वकपबाट बिदा लिए त्यो फुटबलको इतिहासमा अविस्मरणीय रहनेछ। मेरा लागि पेले, म्यारोडोना र मेसी फुटबलका त्रिदेव भएका छन्।
कतार विश्वकपले मेरो बालापन, मैले पाएको शिक्षा र संघर्षलाई पुनः याद दिलाएको छ।
फुटबल मेरा लागि खेल मात्र होइन। जीवनकै एक हिस्सा हो। फुटबल मेरा लागि जीवनझैं गतिशिल छ। आफ्नो जीवनको सम्पादित अंश हेर्न चाहे फुटबलको खेल हेरे पुग्छ। मैले त्यहीँ भएर विश्वकप फुटबल हेर्ने गरेको छु।