केही दिनअगाडि एक नवविवाहित जोडीलाई बीचमा राखेर मेरी श्रीमती र म समेतको फोटो सामाजिक संजालमा पोष्ट गरेँ। त्यसमा एउटा कमेन्ट आयो- 'छिटो बाउ बन है भाइ।'
उक्त कमेन्टप्रति मलाई कुनै मतलब छैन। तर सो प्रतिक्रियाले मेरी श्रीमतीले मलाई राम्रै करकर गरिरहेकी छिन्।
'त्यसलाई के मतलब, हाम्रो छोराछोरी भए नभएको विषयमा त्यसले यसरी लेख्ने?,' उनको भनाइ छ।
हो, यो विषय हाम्रो निजी विषय हो। सन्तान जन्माउने, नजन्माउने विषय भनेको रहरको विषय मात्रै होइन, यो प्राकृतिक कुरा पनि हो। प्राकृतिक कुरालाई स्वीकार गरेर नै सजीव प्राणीहरूको उत्पत्ति र विकास निरन्तर भइरहेको छ। मानव समाज यसबाट अछुतो छैन।
मैले विवाह गरेको आउँदो माघ अन्तिममा ठ्याक्कै चार वर्ष पूरा गरेर पाँचौं वर्षमा लाग्छ। सन्तान प्राप्तिका लागि हामीले विवाह गरेको दुई वर्ष पछिदेखि हालसम्म विशेषज्ञ डाक्टरहरूको सल्लाह र उपचारका अनेक उपाय अवलम्बन गरेका छौं। तर सफल भएको छैन।
अझै उपचारकै प्रक्रियामा छौं। तर समाजका जान्ने सुन्ने भई टोपल्ने आफन्त, साथीभाइ, नर-नाताको डिमाण्ड पूरा गरिसक्नु छैन। परिवारका सदस्यहरू (बुबा, आमा, दिदी-बहिनी)को इच्छा र सदासयता पनि छ 'यसको छिटो सन्तान होस्।'
सन्तान होस् भन्ने इच्छा र मनोकांक्षाले मेरोभन्दा मेरो श्रीमतीको मन मस्तिष्कमा परिरहेको असरले म पनि विक्षिप्त बनिरहेको छु।
'समाजका छिमेकीसँगैका साथीको यति वर्षको छोरा, उती वर्षकी छोरी भए। तिमीहरू के गर्छौं? जान्दैनौं कि क्या हो?' यस्ता प्रश्नको जवाफ बारम्बार दिनुपर्ने हाम्रो समाज हेर्दा लाग्छ उपाय नभएका र नजान्नेहरू कोही छैनन्।
'अझै माथिल्लो घरका काकाको छोरीको यति वर्ष सन्तान भएको थिएन। फलानो ज्योतिषीले ठ्याक्कै पूरा गर्छ। फलानो मन्दिरमा भाकल गर्दा पूरा नहुने केही छैन। देवालीमा बोको चढाउनु पर्छ। कालो परेवाको काँचो रगत खानुपर्छ। यस्तैयस्तै गरेर फलानाको छोराछोरी भए..,' यी उक्ति र जुक्तिहरू मेरै कानले सुन्नुपर्ने कहिलेसम्म हो? कुनै टुंगो छैन।
एक दिन श्रीमतीले साँझ कामबाट घर पुगेर खाना खाएर विस्तारामा पल्टिने बित्तिकै कानमा आएर भनिन्, 'एउटा कुरा गर्नु थियो।'
मैले भनेँ, 'के कुरा भनन।'
'मैले पाथीभरा मन्दिर जाने भाकल गरेको छु, त्यहाँ गएपछि सन्तान हुन्छ रे...।'
उनले युट्युबमा एउटा भिडिओ हेरेकी रहिछिन्। त्यहाँ पाथीभरा मन्दिर छेउको कुनै ठाउँमा सन्तान माग गरेर कुनै कपडा वा धागो बाँधेमा सन्तान हुन्छ भन्ने उल्लेख रहेछ। मैले उनको कुरा स्वीकार गरेको छु तर गएको छैन। जानु मेरो बाध्यता हो।
त्योभन्दा अगाडि उनले भनेकी थिइन्, 'फलानीको पनि सन्तान भएको थिएन, फलानो धामीलाई जोखाना हेराएपछि उनले सन्तान हुने नहुने सबै कुरा भन्छन् रे, उसले भनेपछि फलानीको पनि सन्तान भएको रे, हामी पनि उसकोमा जाउँ न!'
उनको अर्को दिन अर्को प्रस्ताव आयो, 'फलानो दाजुले हरिद्वारमा गएर उपचार गराउँदा सन्तान हुन्छ भन्नुभएको छ, आउँदो फागुनमा जानुपर्छ।'
अर्को दिन घरबाट आमाको फोन आयो, 'हाम्रो कूल वंशमा पितृको दोष छ अरे, त्रिपिण्डी श्राद्ध गर्नुपर्छ अरे, के गर्ने?'
केही दिन पहिले मेरा मामाले भनेका थिए, 'म सन्तान हुने गरी पूजा अर्चना गरिदिन्छु, भान्जे बुहारीलाई लिएर आउनु कालो परेवाको काँचो खुन खुवाउनु पर्छ।'
मेरा काकाले भर्खरै मात्र भनेँ, 'मेरो घरमा एक दिन बस्ने गरी आइज तँलाई राम्रो सल्लाह दिनुछ।'
म निरीह अहिलेसम्मको निःसन्तान बबुरोले सबैलाई 'हुन्छ' भन्ने शिवाय अरू विकल्प छैन।
विवाह गर्नु र सन्तान जन्माउनु फरक कुरा हो। के विवाह गरेपछि सन्तान जन्माउनै पर्छ भन्ने छ र? छैन। यो दम्पतीबीचको आपसी सल्लाहमा हुने कुरा हो। फेरि सन्तान नजन्मिँदैमा यो समाजमा हामीले पाप गरेको हुन्छ र? हामीले हाम्रो जीवन कालमा यो समाजलाई गर्ने अन्य योगदान गर्न सकिँदैन र?
सन्तान सुखको कुरा धेरै ठूलो कुरा हो। तर यो दम्पतीबीचको विषय हो। मानिस मरेको ठाउँमा गएर अनेक कुरा गरेर पीडितलाई पीडा दिने र पीडा सम्झाउनेहरू मलाई मन पर्दैन। घाउ-चोट र पीडामा मल्हम लगाउनुको सट्टा सल्लाह सुझावको नाममा ममाथि भइरहेको अत्याचारको अन्त्य यो समाजमा सम्भव छ? कि छैन?
मलाई लाग्छ सन्तान हुने मेरा अघिल्ला धेरै पूर्खालाई म चिन्दिनँ। तर म नेपालका मात्रै होइन, विश्वका धेरै महान् विद्वान र समाजसेवीहरूको नाम पटक-पटक लिन्छु। सन्तान नहुनेहरूले युगौं युग महान् हुने र हजारौं मानिसले अभिभावक ठान्ने काम गर्न सक्छौं कि सक्दैनौं?
'तेरो बच्चाबच्ची किन भएन?' भन्नेहरूलाई अहिले म यही प्रश्न गरिरहेको छु।