दिनहरू त यसरी बित्दै जान्छन् मानौं गर्मी महिनामा उड्ने लामखुट्टे हो- तिखो आवाज, टाउकै दुखाउने।
लामखुट्टेको नाम सुन्ने बित्तिकै अति नै तापक्रम बढेका गर्मी महिनाका अप्ठ्यारा दिनहरू याद आउँछ। अहिले त हिउँद लागिसक्यो तर मन बहलाउन जब गर्मीका दिनहरूको परिकल्पना गर्छु तब यो दिन झलझल्ती मेरो मनमस्तिष्कमा आउँछ।
कलंकीदेखि कोटेश्वरसम्मको यात्रा, अजीव किसिमका र आफ्नै दुनियाँमा भुलेका मानवहरू धान्ने एउटा ठूलो रातो बस। कतै खोकी त कतै दोहोरी गीतको घन्काई कानसम्म आइपुग्ने आवाजको कमी थिएन।
यस्तै प्रसंगमा टोलाउँदै गरेको मेरो मनको साथी बनेको थियो- मेरो धेरै सोच्ने दिमाग। मेरो दिमाग, यो लामो समय कटाउन निमित्त नानाथरी प्रश्न मनतिर फाल्दै थियो। मन पनि दिमागको हरेक प्रश्नको परस्पर तर्क दिन लागिपरेको थियो।
त्यसैगरी मनले जवाफ दिने क्रममा अचानक आँखा ठोकियो त्यही बसमा बसेको कालो नक्कले चस्मा लगाउने नव आगन्तुकसँग। त्यतिबेला बिहानको करिब छ बजेको थियो। त्यो युवक भने मतिर हेरिरहेको थिएन, ऊ त आफ्नै धुनमा ‘चरी जेलैमा...’ गीतसँग हात र गोडा हल्लाउँदै गीतका तालसँग ताल मिलाउनमा मग्न थियो।
तर पनि किन हो किन, म त्यही आगन्तुकको बारेमा उसलाई हेर्दै सोच्न थालेँ। अरुको सरोकारमा खुब रुचि राख्ने म, यो अरुको बारेमा अनावश्यक सोच्ने बानी मेरो लागि केही नौलो कुरा थिएन। त्यसपछि त के थियो र, मनमा उठेका हरेक प्रश्नहरू टिपी त्यो झिल्के युवकको लागि एउटा राम्रो प्रश्नमाला बुन्न थालेँ।
किन लगाएको होला त्यो मान्छेले कालो चस्मा? के उसको आँखामा केही रोग लागेको छ?
के ऊ देख्न सक्दैन? यदि सक्दैन भने म अवश्य पनि उसको मद्दत गर्नेछु।
कि नभए त्यो मानिस नशामा धुत्त छ र आफ्नो डुब्न लागेको सुरजजस्तो रातो आँखा कालो पर्दा पछाडि लुकाउन खोज्दै छ?
अलि समयपछि यस्तै प्रश्नहरूको भूलभुलैयामा अल्झिएको मेरो सचेतना बसले घ्याच्च ब्रेक लगाउँदा उजागर भयो। जब म होसमा आए तब बल्ल थाहा पाएँ कि बस त निकै बेरसम्म बल्खुवारि रोकिएको रहेछ।
सुमो गाडीहरूको नगरी बल्खु, यहाँ आवाजहरूको के कमी छ र? अघि गाडीबाट आइरहेको विभिन्न ध्वनिको ओझेलमा अब त झन् हेटौंडा, कलैया र विरगञ्ज चिच्याउँदै गरेका मानिसहरूको आह्वान पनि मिसियो।
काठमाडौं बाहिर जानै नखोज्ने मानवहरूलाई पनि कलैया घुम्न जान मनलाग्ने गरी कानमा कराइरहेको अवस्थामा मेरै सिटको पछाडिबाट भने एक अनौठो उल्लासको आवाज आइरहेको थियो।
म बाहिर एउटा भुस्याहा ल्याब्राडोर कुकुर बाटो काट्दै गरेको रोमाञ्चक दृश्य हेर्न छोडेर पछाडि मुन्टो घुमाएँ। पछाडिको दृश्य भने कुनै साउथ इन्डियन चलचित्रभन्दा कम थिएन।
बसको ढोका र त्यही ढोकाको छेउ नै बसिरहेकी एक नेपाली युवतीलाई त त्यही बसको ढोकाबाट हामफाल्लान् जस्तै गरी बसेका, झोक्राएका मुख भएका, लोग्ने मान्छेहरूले घेरेका रहेछन्। अझ त्यसमाथि युवति कराउँदै थिइन्।
‘यो दाइले अघिभर्खरै बसबाट झरेका दाइको फोन चोरी गरेका छन्। ऊ यही दाइ त हो नि,’ भन्दै आफ्नो देब्रे हातको चोर औंलाले एउटा सर्लक परेको ठिटोतिर देखाइन्। तर त्यो केटो एक्लो थिएन, उसलाई घेर्दै गरेका अरु मानिसहरू नि थिए।
कुरा त यो नौलो नै छ तर त्यो मानिसबाट निस्केको, अब आउन लागेको प्रस्फुटनले कुनै पनि नारी वा मानव जातिको अलिकति पनि सम्मान गर्ने व्यक्तिको भने मगज घुमाइदिन सक्छ।
‘*** चुपचाप आफ्नो सिटमा बस्, बसिनस् भने तेरो कान फुट्ने गरी चड्काउँछु।’
अझ यो अति नै मिठो वाक्यम गुलियो थप्न उसकै बगलमै उभिएको कालो ज्याकेट लगाएको केटो अझ बढी चड्कियो- ‘तँ *** चुप लाग्छेस् कि लाग्दिनस्? नत्र तँलाई यही बसबाट तल फ्याक्दिन्छु।’
‘एइ.. तँ नबोल् त,’ भन्दै अरु नौजवान युवाहरू लागिपरे।
‘हैन तपाईंले नै हो त्यो मान्छेको पाइन्टको पछाडिको पकेटबाट फोन निकाल्ने मान्छे? मैले यही आँखाबाट देखेकी छु। खुरुक्क उहाँको फोन फिर्ता दिनू त। कति मेहनतले किनेको कसैको सम्पत्ति त्यसरी लिन पाइन्छ?’ युवतिको मुखबाट एउटा अन्जान बटुवाको सम्मानको लागि वाक्यको झरना बगि नै रहेको थियो।
चोरीको आरोप लागेको मान्छे भने ती युवतीतिर फर्किदै उसलाई मात्र हैन ऊसँग जोडिएका उसकी आमा, बुवा र हजुरबुबासम्म पुग्नेलाई गाली गर्दै थियो।
म भने फोन चोरी भएको मान्छेलाई आफ्नो आँखाअगाडि खोज्दै थिएँ। ऊ त उहिले झरेर कता-कता पुगिसकेको रहेछ।
उसलाई उसको फोन चोरी भएको थाहा छ कि छैन म पुष्टि गर्न सक्दिनँ तर थाहा भए पनि मलाई लाग्दैन कि उसले आफूमाथि भएको अन्यायविरुद्ध आवाज उठाउने थियो। चोरी गरेको मान्छेको हात च्याप्प पक्रेर ‘मेरो फोन फिर्ता दे’ भनेर कराउने थियो।
युवतीको आवाजमा आवाज थपी पूरै बसको अगाडि चोर र उसको गिरोहलाई समातेर ट्राफिक पुलिसतिर लग्ने थियो। यस्तो वीरता देखेर बसका अरु मानिसहरू पनि भविष्यमा आफूमाथि हुने अन्यायप्रति आवाज उठाउथे।
तर यस्तो केही भएन।
उल्टै सबै मानिसहरू निःशब्द मूर्तिझैँ एकअर्कालाई नै घुरिरहे। बरु त्यो युवती चुप लागे हुन्थ्यो नि किन बेकारमा चोरहरूलाई चुनौती दिन पर्यो भन्दै आफैमा कानेखुसी गर्न थाले।
हुन पनि चोरहरूको सङ्ख्या धेरै थियो, झन् उनीहरूसँग हातहतियार पनि थियो कि भन्ने डर पनि उस्तै।
अर्कोतिर बसको गुरुजी र सहचालकलाई अलिकति नि वास्ता थिएन। उनीहरू झगडा छुट्टाउनुसट्टा आफ्नै धुनमा मस्त थिए। बसमा काम गर्ने मान्छेहरूको के मान्छेलाई झार्ने र चढाउने काम मात्र हो र? के आफ्नो गाडीमा बसेका ग्राहकहरूको सुरक्षा गर्नु पनि उनीहरूको ठूलो जिम्मेवारी होइन?
अब झगडा भने चरम सीमामा पुगिसकेको थियो। पहिलै अभद्र भाषाको प्रयोग गर्नेले आवाज उठाउने युवतिमाथि झन्डै हात उठाउन लागिसकेको थियो कि मैले पहिलेदेखि नै याद गरिरहेको कालो चस्मा लाउनेले- ‘यस्तो के गरेको दाइ, महिलामाथि हात उठाउन हुन्छ?’ भन्दै हात च्याप्प समात्यो।
बल्ल कोहीले त हिम्मत देखायो भनेर खुसी मात्र के भएकी थिएँ, त्यति भन्नासाथ हत्तपत्त गरी त्यो चोरको हुल गाडीलाई रोक्न लगाई आफ्नो रफ्तारमा हिँड्न थाल्यो र हेर्दाहेर्दै गाडीबाट ओर्लियो।
त्यो कालो चस्मा लाउनेले त आफ्नो साथीहरूलाई संकेत पो दिएको रहेछ। अब धेरै भयो, यो बसबाट निस्किने समय भयो भनेर आह्वान गरेको रहेछ। मैले पहिलेबाट जसको बारे सोच्दै थिएँ, ऊ चोरहरूको गिरोहको नाइके रहेछ।
उनीहरू उत्रिएपछि कसैले त्यो घटानाको बारेमा चुइय पनि आवाज निकालेन। म भने कसैले जिब्रो चोरी भएको जस्तै आफ्नो झोलालाई च्याप्प समाई फोनलाई झोलाबाट एकचोटि पनि ननिकाली चुपचाप बसेँ।
मेरो मनमा एउटा अनौठो किसिमको डर थियो। मैले किन त्यो महिलालाई मद्दत गरिनँ? किन एक नारी भएर नै उसमाथि भएको अन्यायलाई सुनेर पनि नसुनेझैं गरेँ भन्ने प्रश्न मेरो मनमा फनफनी घुम्न थाल्यो।
केही समयपश्चात् आफूलाई धिक्कार्नु धिक्कारेपछि मैले अब आफ्नो आँखाअगाडि यस्तो केही घटना घट्यो भने चुप लाग्दिनँ र जतिसक्दो पीडितलाई मद्दत गर्छु भनी एउटा नयाँ अठोट लिएँ। यो नयाँ आत्मसम्मानको साथ म, फोन र आफूलाई जोगाउँदै गाडीको सिटमा थपक्क बसेँ।
केही महिनापछि...
जीवनले खेल्ने अनेकौं खेलजस्तै फेरि पनि एउटा नयाँ घटना घट्यो। मेरै छेउ बसेका भर्खरै तराईबाट झरेका एक पुरुषको फोन चोरी भएछ। विचरा उहाँलाई भने नेपाली बोल्न नि नआउने र काठमाडौंमा आफ्नो एजेन्टबाहेक अरु कसैलाई नचिन्ने खालका आगन्तुक रहेछन्। आफ्नो फोन हराएको पनि अरु कसैले भनेपछि मात्र थाहा पाएका थिए।
त्यसपछि के नै थियो र? सबैजना त्यो मान्छेलाई सक्दो मद्दत गर्न तम्सिए।
‘हजुरको फोन नम्बर दिनू त म अहिले नै फोन गरिहाल्छु,’ एउटाले भन्यो।
‘हजुरले यहाँ कसैलाई चिन्नुहुन्छ?’ अर्कीले सोधी।
‘उहाँ त नेपाली नै बोल्नु हुन्न नि,’ अर्कोले चिच्यायो।
सबैबाट अचानक प्रश्नहरूको भुइँचालो आउँदा ती मानिस अझ डराएछन्। उनी आफ्नो मलिन अनुहार लिएर थपक्क एउटा खाली सिटमा गएर बसे। मैले पनि सक्दो मद्दत गर्न खोजेँ र टेकू प्रहरी विभाग लगिदिने अवसर पनि प्रदान गरेँ। तर उनी केही बोल्न सक्ने अवस्थामा थिएनन्।
यसै पनि न हामी उनको भाषा बुझ्न सक्थ्यौँ, न उनी हाम्रो। यस्तै हल्लामा नै उनको झर्ने समय नि आएछ, उनी झरे।
त्यसपछि त के नै थियो र? पहिले आवेगमा आएकाहरू अचानक चुप लागिहाले र बस आफ्नै गतीमा फेरि अगाडि बढ्न लाग्यो।
पहिलाको घटना र अहिलेको घटनालाई तुलना गर्दा मैले खासै केही फरक पाइनँ। बरु पहिले भएको चोरीको विरुद्ध कसैले त आवाज उठाएको थियो। यसपालि त मान्छेहरू चोरलाई पक्डनुसट्टा त्यहीँ फोन हराएको मान्छेमाथि नै जाइलागे।
हुन पनि हो, अहिलेको कलियुगमा चोरी हुनु र चोरी गर्नेलाई सामान्य तरिकाले हेरिन्छ। यसै पनि चोरी त जहाँ पनि हुन्छ नि। मानिसहरूले आफ्नै घरपरिवारमा लाखौंको चोरी हुँदा त कसैले केही भन्दैन भने एउटा जाबो बसमा भएको चोरी त के नै ठूलो कुरो हो र, हैन त?
तर चोरी आखिर जेसुकैको होस् त्यसमा वस्तुको मात्र नाश नभई त्यो मानिसले खर्चेको पैसा, रगत र पसिनाको पनि नाश हुन्छ। उसले देखेको सपना र सपना पूरा गर्ने माध्यमको पनि नाश हुन्छ। पीडित लाचार हुन्छ भने उसले आफूमाथि गर्ने भरोसा पनि लोप हुन्छ, लुटिन्छ।
‘ए, एउटा फोन नजोगाउन सक्ने म अरु त के नै गर्न सक्छु र,’ भनेर सोच्न ऊ बाध्य हुनसक्छ।
आजकाल यसो वरिपरि हेर्दा आम जनताले सानोतिनो देखिने तर नजिकबाट हेर्दा दण्डनीय कार्यहरूलाई सजिलैसँग पचाउँदै हिँडेको छ। जथाभावी थुक्ने, बाटोमा फोहोर गर्ने, अनावश्यक धकेल्दै हिड्ने, जिस्काउने आदि क्रियाकलापलाई आजकाल सामान्य मानिन्छ। हुन पनि हरेक सानो कुराको प्रतिवाद गर्नु नराम्रो नभए तापनि नराम्रो नजरले भने पक्कै पनि हेरिन्छ।
यसै पनि मान्छेहरू बाँच्नुको उदेश्य अरुलाई खुसी राख्नु हो नि, हैन र?
हेर्नुस्, म यो मान्दछु कुनै कुरा पनि गलत नहुने ठाउँ त स्वर्ग पनि छैन होला- कृष्ण भगवान पनि त मख्खन र गोपीहरूको मन चोर्न सिपालु थिए।
तर यदि कुनै पनि देशको गम्भीर खोटको अध्यन गरेर विश्लेषण गर्ने हो भने, त्यस खोट पछाडि लुकेका अनेकौं पत्रहरू बाहिर निस्किन थाल्छन्।
कोही मान्छे पनि जन्मेदेखि चोर भएर जन्मिँदैन। उसको परिस्थितिले गर्दा ऊ चोरी गर्न बाध्य हुन्छ। अहिले देशमा बेरोजगारीको ओइरो लागेको छ। एउटा तथ्यांकअनुसार सन् २०२१ मा नेपालको बेरोजगारी दर ५.०५ प्रतिशत थियो, जुन २०२० को तुलनामा ०.३३ प्रतिशतले बढेको हो।
काम नपाएका र विदेश जाने मन नभएका वा पैसाका कारण जान नसकेकाहरूले आखिर गरून् त के गरून्? आम्दानी कमाउनका लागि मरुन्जेल दुःख गर्नैपर्छ भन्ने सोच सबैको हुँदैन र यो वाक्य केही हदसम्म सही पनि छ।
आखिरमा यिनीहरूले कुनै बाटो नभेटेपछि चोरीजस्ता अपराधलाई अंगाल्न बाध्य हुन्छन्। यस तर्कबाट मैले चोर्नु सही हो भनेकी हैन तर चोरहरूको मानसिकता पछाडिको तर्क दिन भने अवश्य खोजेकी छु।
सबै चोर बेरोजगार हुन्छन् भन्ने नि हैन, कोही खान्दानी चोर हुन्छन्, कोही अल्छी लागेर चोर बन्दिन्छन् भने कोही फिक्का जीवनमा रंग भर्न नि चोरी गर्छन्। अलि खतरनाक खालका चोर भने लुट्ने गिरोहसँग संलग्न भएका नि हुन्छन्। तर अन्तिममा जुनसुकै मनसायले चोर बने पनि यो माफी लायक काम भने एक रत्ति पनि हैन।
त्यसोभए चोरीजस्तो गैरकानुनी हरकतलाई हटाउनका लागि के चाहिँ गर्ने त?
पहिला त सरकारले बेरोजगारी कम गर्न उचित कार्यविधि बनाउनु पर्छ। जसमा अरु देशहरूसँग साझेदारी गर्ने, बेरोजगारी भत्ता दिने, कृषिलाई बढावा दिने, मजदुरको लागि उचित नीतिनियम बनाउने, विभिन्न किसिमका व्यापारहरूलाई हौसला प्रदान गर्ने कार्यहरू गर्न सकिन्छ।
चोरीजस्तो गतिविधिले देशका नागरिक कति गरिब छन् देखाउनुका साथसाथै देशमा भएको प्रशासनको कमजोरीको पनि उचित दृश्य देखाउँछ।
यसको विरुद्ध लड्नको लागि देशका प्रहरी गणले अझ बढी सख्ती देखाउन पर्छ। बेलाबेलामा गाडीहरूको चेकजाँच गरी कोचिएका र तोकिएका सिटमा झुक्काएका छन् कि छैनन् तर्फ आँखा घुमाउनु पर्छ।
नेपालको मुख्य बाटोमा ठूला सार्वजनिक गाडीको प्रयोग गरी सार्वजनिक बसको हालत सुधार्नतिर नि लम्कनु पर्छ।
यो त भयो सरकारले गर्ने कुरा, सधैं बस माइक्रोमा आफ्नो ज्यान जोखिममा राख्दै हिँड्नेले के गर्न सक्छन् त?
राजधानीका गाडीहरूमा आफ्नो जीउदेखि सामानसम्म सबैको हेरचाह गर्नतर्फ सचेत हुनपर्छ। चोरी भएको खण्डमा सावधानीपूर्वक आवाज उठाउन नि उत्तिकै जरुरी छ।
अन्तिममा बसको ढोकामाथि लेखिएको ‘पाकेटमारदेखि सावधान’ भनाइलाई भने आफ्नो मुटुमा छाप्दा नि केही फरक नपर्ला। बरु सधैं झर्नुभन्दा एकचोटि पकेट चेक गरी निर्धक्क भई गाडीबाट ओर्लिनू होला।