आजभन्दा १९ वर्ष अगाडि, पुसको महिना। गर्मीयाम सकिएर पनि चिसो सुरु भइसकेको थियो। म जन्मिनुपूर्व हिउँ परिसकेको पनि थियो रे।
प्रकृति निकै चिसो थियो। हिउँले डाँडाकाँडा सेताम्मे भएका थिए! मंसिरमा छरेका जौँ टुसाउँदै थिए। सबै फुल ओइलिएका थिए। हरिया घाँसपात, रुखहरू सुक्नुका साथै बगैंचामा पातहरू झरेका थिए।
अँध्यारो रात। आइतबार ९ बजेको समय। भारी भएको मेरो बुवाको मन, कठिन मेरी आमाको प्रसव पीडा अनि परिवारको खुसीसहित दोस्रो छोराको रुपमा आजैको दिन म जन्मिएको थिएँ।
मेरो आमाबुवाको आँखा खुसीका आँसुले भरिएको दिन। मेरा बाबाआमा दोस्रो पटक अभिभावक बनेको दिन। मैले संसार देखेको दिन। म पहिलो पटक रोएको दिन अनि आमा र बुबा खुसी भएको दिन।
आजैको दिन बुबामाथि थप जिम्मेवारी बढेको दिन। मैले यो धर्तीमा पहिलो पटक आँखा खोलेको, आवाज निकालेको, पाइला टेकेको दिन।
सायद मेरी आमाले बुबालाई भेटेको दिन, मायाप्रिती लगाएको दिन बिर्सनुभयो होला। उहाँहरूको विवाहको मिति पनि बिर्सनु भयो होला। आफ्नै जन्मदिन बिर्सनुभयो होला। जीवनका अति दुःखद पलहरू बिर्सनु भयो होला। तर कहिलै बिर्सिनुहुन्न मलाई मलाई जन्माएको दिन, मेरो जन्मदिन।
मेरो हजुरबुवाको पुरानो अनि सानो घर थियो, माटोले छाएको। जहाँ मेरा बाबाले आमालाई बिहे गरेर ल्याएर राख्नुभएको थियो। म जन्मनु एक वर्षअघि मेरो स्वर्गीय दाइ जन्मिनु भएको थियो रे। कारणवश म पनि पेटमा हुर्किन थालेछु अनि दाइले दूध खान पाउनुहुन्न भनेर मलाई पेटभित्र मार्ने धेरै प्रयास गरियो रे। तर भाग्यवश, म जन्मन सफल भएँ रे।
मेरा बाबाआमाको बिहे भएको करिब अढाई वर्षपछि मेरो सानो अनि प्यारो घरको एउटा कुनामा जन्मिएको हुँ रे। जन्मिँदा मेरो नाक सानो थियो रे। म जन्मिने समयमा उहाँको साथमा मेरी हजुरआमा र छिमेकी हजुरआमा हुनुहुन्थ्यो रे!
आफूले नखाएर मलाई खुवाउने आमा। आफूले नलगाएर मलाई कपडा लगाइदिने मेरो बुवा। हरेक क्षणमा म मुस्कुराएको देख्न चाहने मेरो परिवार।
यो महान् शब्दको म कसरी वर्णन गरू आमा? म त शब्दमा यो सबै लेख्न व्यतित छु। मेरो जीवनमा कहिले यो सबै शब्द उतार्न पाउँला? मेरो जीवनका धेरै लक्ष्य होलान, पूरा होलान्/नहोलान् तर बस मेरा भगवानरुपि आमाबाबालाई सधैँ खुसी राख्न पाउँ।
मानिस कति निर्दयी छन् है? भगवान खोज्न मन्दिर पस्छन्। किन पस्नु पर्यो मन्दिर? आफ्ना आमाबाबालाई सधैँ माया गर, घृणा नगर। सधैँ आमाबाको भनेजस्तै काम गर, किन खोज्न जानु पर्यो भगवान? म मन्दिर नि त्यही पाउँछु, भगवान नि त्यही पाउछु जहाँ मेरा आमाबाबा हुनुहुन्छ। हजुरहरूको चरणमा थिएँ, छु र सधैँ त्यही हुनेछु।
आमा, हजुर धर्ती हो। मलाई मायाको कहिल्यै कमी हुन दिनुभएन। बुवा, हजुर आकाश हो। मलाई हरेक कुराको कमी हुन दिनु भएन। हजुरहरूले भन्नुहुन्थ्यो नि, ‘राम्रो बनेस्, ज्ञानी बनेस्, धेरै पढेस्, ठूलो मान्छे बनेस्, झगडा नगरेस्, आफूभन्दा अगाडिको मान्छेले भनेको सबै कुरा मानेस्, आमाबुवाको र परिवारको इज्जतको ख्याल गरेस्।’
म अहिले पनि हजुरहरूले सिकाएको बाटोमा छु। अहँ! मैले बाटो बिराएको छैन्। तर माफ गर्नुहोस् आमाबुबा, म संघर्षको महासंग्राममा छु। मैले हजुरहरूलाई विश्राम दिन सकेको छैन। जिन्दगीमा ठेस नलाग्ने कहाँ हुन्छ र? मन नदुख्ने कसको हुन्छ र?
मलाई मेरो घरपरिवार, आफन्तजन, इष्टमित्रको ठूलो साथ छ। सहयोग छ, माया छ, ममता छ, स्नेह छ र त म यहाँसम्म आएको छु। यदि हजुरहरूको साथ र सहयोग नभएको भए राम्रो लगाउन पाउँदैन थिएँ होला।
म भौतिक दूरीले बा-आमाभन्दा टाढा छु। रौतहटको सदरमुकाम गौरमा ३ वर्षे डिप्लोमा इन फार्मेसी अध्ययन गर्दैछु। यदि तपाईंहरूको साथ नभएको भए रौतहटमा बसेर पढ्न पाउँदैन थिएँ होला। यो सबै हजुरहरूको प्रेरणा र सहयोगले हो। मलाई आशा छ, जिन्दगीभर हजुरहरूको माया र प्रेरणा पाइरहनेछु।
म फेरि सोच्छु। मेरो आमा अनि बाबाको अपेक्षा मध्ये सबैभन्दा ठूलो अपेक्षा हो बुढेसकालको सहारा अनि साथ मेरो छोरा अर्थात् म। त्यो बेलाको दूधभातले माया दर्शाएको छ अनि सन्तान मोह छ साथमा। म मेरो आमाबुवाको जीवन बिमा हुँ।
जीवनका हरेक पाइलामा हजुरहरूले गरेको संघर्षलाई नजिकबाट नियाल्न नपाए पनि राम्रोसँग बुझेको छु। बाबाले हामी अनि परिवारका लागि भनेर १० वर्षमा कालापहाड गएर अनेक काम गरेर त्यत्रो परिवारलाई मिलाउनु भएको, अहिले सबैलाई राम्रो जीवन बिताउन सक्ने बनाउनुभएको छ।
भारतमा व्यवसाय गरेर अझै पनि परिवारका हरेक सुख, खुसीका लागि संघर्ष गरिरहनुभएको छ। आमा तपाईंले घरमा किसान काम गरेर परिवारको सुखका लागि गरेका संघर्ष बुझेको छु।
यदाकता विभिन्न प्रकारका भावसँगै सामाजिक सञ्जालमा फोटाहरू छरपष्ट पार्ने सन्तान पनि थुप्रै छन्। बुढेसकालमा वृद्धाश्रम लिएर छोडिदिने सन्तान पनि छन्। अनि आमाबाको उच्च सम्मान गर्दै बुढेसकालको सहारा बनेका सन्तान पनि छन्।
म मेरो शरीरमा एक मुठी सास रहेसम्म हजुरहरूलाई खुसी बनाउनेछु र हजुरहरूको बुढेसकालको लौरी बनेर सहारा दिनेछु।
साँच्ची आफू जन्मेको दिन भन्नेबित्तिकै त्यो दिन निकै उज्यालो हुँदोरहेछ, रमाइलो हुँदोरहेछ, आनन्दित हुँदोरहेछ। अनि सबैको शुभकामना रुपी सन्देशहरू केलाइरहँदा पनि उत्तिकै हर्ष लाग्दो रहेछ।
कति बेला लाग्छ, समयले विस्तारै यो पृथ्वीमा मलाई नराख्नको लागी प्रयत्न गर्दैछ। मेरो अर्थ मलाई बुढो बढाउँदै छ। हिजो, आज, भोलि, एक दिन, हप्ता, महिना, वर्ष, दशक गर्दै यो संसारमा बाँच्ने दिनहरू कम हुँदैछन्।
जिन्दगीको परिभाषा नाटक रहेछ। हँसाउने र रुवाउने दुवै पात्र नाटकमा हुन्छन्। अन्त्यमा सन्देश छोडेर सकिन्छ नाटक अनि जिन्दगी पनि। नाटकको मञ्चन गर्दै मलाई यहाँसम्म ल्याउने सबैमा नमन्। हजुरहरूको वर्षौंवर्ष स्नेह पाउँ।