चिसो मौसम त्यैमाथि बुटवलको। हातखुट्टा बेस्सरी चिस्सिएका थिए। बिहान बिहानै मुड फ्रेस थियो। कतिपय दैनिक उद्धेश्यहरू आजै पूरा गर्छु भनेर आँट आइरहेको थियो। करिब ६ बजेतिर उठेँ। नित्यकर्म सकें। पानी भरें। सहरमा एउटा कोठा लिएर बस्ने भए पनि कोठाको उत्तर पट्टिको एक कुनामा भगवानको फोटोहरू टाँसेर सधैं दीयो बाल्ने गर्छु। आज नि दीयो बालेँ। अनि आफू र आफ्नो परिवारको लागि थोरै खुसी माग्दै भगवानसामु आस्थाको शिर झुकाएँ।
म आफैं पनि एउटा धर्म र संस्कृतिप्रति सकारात्मक मान्छे हुँ। मलाई भगवानको फोटोमा शिर झुकाउँदा पनि एक प्रकारको सन्तुष्टि प्राप्त हुन्छ।
त्यसपछि झनै दैनिक कार्य गर्न जागरूक हुँदै बिहानको खाना पकाएर भ्याएँ।
श्रीमानको अफिस टाएम भएकोले हतार हतार खाना खाएर भाँडा धोएर भ्याएँ।
त्यसपछि रेडी भएर श्रीमान अफिस जानुभयो म भने आफ्ना दैनिक योजनाहरूलाई पूरा गर्न भनेर किताब खोलें। ल्यापटप खोलें। फेसबुकको भित्तामा विगतको परीक्षामा सोधिएको प्रश्न भनेर अगाडि आयो। देख्नेबित्तिकै कपि निकालेर लेख्न सुरू गरें। करिब ६ वटा प्रश्न लेखिसकेको थिएँ। मेसेन्जरमा एउटा मेसेज आयो। त्यो मेसेज मेरो एक जना आफन्तको थियो।
‘कस्तो खालको भाउ बढेको तेरो? कति ठूली भएकी? हुन त ठूला बडा मान्छेलाई हामी के चाहिन्थ्यो र? कुनै दिन चाहिएछौं भने विचार गरौंला।’
एक जना शिक्षित युवा आफन्तले घुर्की लगाउँदै मेसेज गर्नु भएको रहेछ। त्यो मेसेज देख्नेबित्तिकै मेरो हातको कलम भुइँमा झर्यो। एकछिन ट्वाँल्ल परेर त्यही मेसेज हेरिरहेँ एकोहोरो।
हुन त विगतमा पनि यस्ता मेसेजहरूको सामना मैले नगरेको होइन।
‘फलानाको छोरी खुब समझदार छ भनेको त अचेल बोलचाल नै बन्द भयो त।’
‘तपाईं त हाकिमको बूढी भइसक्नु भो, किन फोन रिसिभ गर्नुहुन्थ्यो र?’
‘होइन खुब खुसी हुनुहुन्छ त अचेल हामीलाई खुसी साट्न मिल्दैन?’
यस्ता र यी भन्दा अझै सुनाउन पनि अप्ठ्यारो लाग्ने अनि देख्दा सामान्य तर मुटु घोच्ने प्रकारका मेसेजहरू मेरा आँखाले प्राय: देखिरहेका हुन्थे।
मेरो आँखा अगाडि यस्ता कुरा सुनाउने आफन्तहरूले मेरो पछाडि मलाई कसरी टिप्पणी गर्छन् होला म यकिन गर्न सक्छु।
मेरो मुड अफ भयो। झनक्क रिस उठ्यो।
मान्छेहरूले कसैलाई सम्झिने तरिका यही होला त?
मान्छेले कहिल्यै सोच्दैन कि उसको कुनै प्रतिक्रियाले कसैको मस्तिष्क कतिसम्म उथलपुथल भइदिन्छ भन्ने कुरा।
आफन्त नामको औपचारिकता निभाउनलाई यस्तो नसुहाउँदो मेसेज नदिएर सामान्य ‘के छ? अचेल बिजी छौ जस्तो छ नि?’, ‘सन्चो-आराम त होला के रे ? समय मिलेपछि बोल्दै गर है।’ यस्तो व्यवहारिक संवाद गर्न सकिँदैन र?
कि त आफन्त नाउँको दरिद्रपन देखाउन भएभरको घुर्की लाउनै पर्छ हँ?
कि हरेक शब्दमा आफन्त नाउँको कुचेष्टा नै देखाउन पर्छ?
‘आफन्तहरू दु:ख अनि सुखका सहारा हुन्’ भन्ने कुरालाई म विश्वास गर्थें। तर अहिले गर्दिनँ।
‘खुसी देखेपछि जल्ने र दुखी देखेपछि उफ्रिने’
चाहे दाजुभाइ होऊन्, चाहे दिदी-बहिनी होऊन्, चाहे अरू कुनै आसपासका मान्छे नै होऊन् त्यस्ता मान्छेहरूसँग सामान्य संवाद पनि गर्न मन नलाग्ने रहेछ।
प्राय: आफन्तहरू आफू जस्तोसुकै भए पनि मान खोज्ने र अरूको अपमानमात्रै गरेर जुग बिताइदिने पनि हुँदा रहेछन्।
हुन त म पनि थुप्रै मान्छेहरूसँग बोल्छु। कुरा गर्छु। आफन्तको आभास दिलाउँछु। तर संवाद गर्नुअघि एकपटक सोचेर मात्र गर्छु। कहिलेकाहीँ भुलचुकमा केही नमीठो बोलिहालेपछि सामान्य स्पष्टीकरण दिएर भए पनि उसको मानसिकतामा नराम्रो प्रभाव पार्दिनँ।
मान्छेको जिन्दगी सधैं एकनासको हुँदैन। कहिल्यै मुसुक्क हाँसेर संजालमा देखिन्छ कहिल्यै ऊ मलिन मुहारमा देखिन्छ। जे होस् कुनै न कुनै परिस्थितिबाट गुज्रिएको हुन्छ मान्छे।
यसरी कहिलेकाहीँ सञ्जालमा मुसुक्क मुस्कुराएको देख्नेबित्तिकै र आफूसँग कुराकानी गर्न नभ्याएकै कारणले गर्दा नानाथरी भनेर टिप्पणी गर्ने जस्तोसुकै शिक्षित मान्छे किन नहोस् उहाँलाई अशिक्षितको संज्ञा दिन्छु म।
त्यो मेसेज हेरिसकेपछि मलाई आफैंप्रति खिन्न लाग्यो। एउटा सामान्य जिन्दगीलाई मुस्कुराएर जिउन थोरै प्रयास मात्रै के गरेको थिएँ चित्त दुखाउनेहरूको लाइन लाग्यो।
हिजो म अप्ठ्यारोमा परेको देखेर पनि सान्त्वना दिन नसक्ने मेरा आफन्तहरू अहिले खुसी बाँड्न मिल्दैन र भन्छन्।
‘दु:ख परेको बेला हामी छौं’ भन्न पनि लाज मान्ने मेरा आफन्तहरूले अहिले मलाई ठूली भइस् भनेर के आधारमा भन्छन् मैले बुझ्न सकेको छैन।
तर ठूलो आँट, साहस र विश्वासलाई पनि एउटै नमिठो संवादले ध्वस्त पारिदिँदोरहेछ भन्ने कुरा बुझेको छु।
मेरो जाँगर हराएर म लम्पसार पल्टें। करिब ३ घण्टा मलाई यस्तै अनावश्यक कुराहरूसँग लडाइँ गर्न मन लागिरह्यो।
म एकोहोरो भुट्भुटिँदै रिस्सिएँ।
मेरो आजको दिन बेकारमा बित्यो।
भन्छन् नि ‘झ्यालबाट देखिने दृश्य जतिसुकै सुन्दर किन नहोस् त्यसले असर गरिरहेको छ भने झ्याल नै बन्द गरिदिनुपर्छ।’
हो त्यसैगरी आफ्नो जिन्दगीको मोडहरूमा काँडा बनेर पैंतालामा बिझ्न बेलाबेलामा कोही आउँछ भने त्यसलाई जिन्दगीबाट निकालिदिनुपर्छ नभए खिल बनेर निस्किन्छ भन्ने कुरा बिर्सिनै नहुने रहेछ।
साँच्चिकै भन्नुपर्दा असली आफ्नाहरू त एक बोलीमै चिनिन्छन् हैन र? भेट नहुँदा पनि चिनिन्छन्। कैयौं समयसम्म सम्पर्कमा नहुँदा पनि आफ्नो हो भन्ने आभास भइरहन्छ।
एउटै व्यवहारले जिन्दगीभर उसलाई खोजिरहन्छ।
त्यसैले आफन्त हुँ भनेर दिमागको दही बनाउन कोही आउँछ भने संवादको प्रतिक्रिया नै नदिएर सम्पर्कविहीन हुनु नै उपयुक्त रहेछ।
जसले जेसुकै भने पनि कसैको गलत सोचाइको कुनै प्रवाह नगरी जिन्दगी आफू अनुरूपको बनाउने हो र सदाबहार मुस्कुराइरहने हो।
देख्नेहरू जलिरहून्, जलेर खरानी नै होऊन् तर अपमान सहेर सम्मान कसैलाई दिन सकिन्न। अनि अप्ठ्यारो पर्दा पनि साथ उसैको माग्ने हो जसलाई कुनै आग्रह पूर्वाग्रह बिना नै यो मनले माया गर्छ, सम्मान गर्छ र सम्झिरहन्छ।
कतै सुनेको थिएँ, ‘रूने नि आफ्नाहरूकै लागि हो। रूवाउने पनि आफ्नाहरू नै हुन्छन्’ भनेर।
वास्तवमा यो कुरा साँचो हो जस्तो लाग्दैछ आजभोलि।
त्यसैले ‘चाहे जिन्दगी उकालो लागोस्, चाहे ओरालो’ मुस्कुराएर बाँच्ने चाहना भए केही आफन्त नामका धमिराहरूसँग टाढै रहनु उचित रहेछ।