प्रत्येक वर्षहरू कैयन् प्रश्नले भरिएका हुन्छन्। कतिपय सामान्य प्रश्नको जवाफ हामी तत्कालै पाइहाल्छौँ।
तर कयौं प्रश्नहरू यस्ता हुन्छन् जसको जवाफका लागि उपर्युक्त समयलाई कुर्नैपर्ने हुन्छ। मेरा लागि यस्ता थुप्रै वर्षहरू रहे, जहाँ म अनेकन प्रश्नहरूले घेरिएँ। आफैंलाई चित्तबुझ्दो जवाफ भेट्न नसकिएका कयौँ प्रश्नहरूका चाङ लागेका छन्, मेरा मनमाथि।
अघिल्लो वर्ष ममा प्रश्नहरूको घेराइ सम्भवतः उच्चतम विन्दुमा रह्यो। स्वअस्तित्व, जीवन, मृत्यु, दर्शन, उत्साह, निराशा जस्ता कैयन् अनन्त प्रश्नहरूले म थप भरिएँ।
वास्तवमै भन्दा गत वर्ष मेरा लागि विगतका अनुभवहरू उधिनेर खोज गर्ने वर्ष बन्यो। धेरैहदसम्म मैले अनुभवका ती अनगिन्ति पानाहरू पल्टाउँदै खोज गर्ने प्रयत्न गरेँ।
सफलताको परिभाषा
सफलता के हो? के सफलता निरपेक्ष हुन्छ? यिनै प्रश्नहरूको फरक बुझाई र मान्यताले सायद हाम्रो सफलताको मापन गरिरहेको हुन्छ। भनौँ, हरेकको सफलताको आ–आफ्नै मापनको आधार छ।
त्यसैको आधारमा उसले जीवनको सफलताको परिभाषा निर्माण गरिरहेको हुन्छ। तर यो यथार्थ विपरीत हाम्रो समाजले सफलताको सग्लो परिभाषा तय गरिदिएको छ।
जसलाई सामाजिक जीवनका अनेकन अवयवहरूमा उल्झिएको आममानिस विश्वास गर्न बाध्य भएको हुन्छ! र, जीवनभर सफलताको त्यहीँ आमपरिभाषालाई पछ्याइरहेको हुन्छ।
हामी सर्तहरूमा, टुक्राहरूमा खुसीको आशा गरिरहेका हुन्छौं। जस्तैः म यो परीक्षा उत्तिर्ण भएमा मेरो जीवन सहज हुनेछ। मैले त्यो जागीर पाएमा मेरो जीवनशैली उन्नत हुनेछ। अर्थात्, सुख र सन्तुष्टिलाई हामीले टुक्रे अवधारणाकारूपमा बुझेका छौं, बाँडेका छौं।
खुसी हाम्रो अन्तर्यबाटै किन आउँदैन? कसैको खुसी किन बाहिरी संसारमा निर्भर रहन्छ? जीवनजगतबारे मनमा प्रश्नहरू खेल्न थालेदेखि नै मैले यसको उत्तर पछ्याइरहेकी छु। भेट्टाई नै नहालुँला, तर जति नजिक पुग्छु त्यहीँ र त्यति नै त्यो मेरा लागि चित्तबुझ्दो जवाफ हुनेछ।
वास्तवमा हाम्रो जिउने आधार के हो? यस्ता प्रश्नहरूको कुनै निश्चित जवाफ तत्कालै प्राप्त गर्न सकिँदैन। र, सायद यस्तो अपेक्षा गर्नु पनि हुँदैन। तर वर्षौंदेखि थाँति रहेका मेरा जिज्ञासाहरूबारे गत वर्षले केही जवाफ र अनुभूति दिलाएको पक्कै छ। अनि केही अनुभूति आफैंमा जवाफ बनेरै आएका छन्।
प्रायः दिनहरूको अन्त्य आशाको एउटा किरणको प्रतिक्षामा हुने गर्छ। त्यही आशाको किरण प्राप्तिको चाहमै सायद मेरा दिनहरू पनि खप्टिँदै गइरहेका छन्।
मेरा जिज्ञासा र प्राप्त जवाफ, विचार र निचोडसँगै आशाको तृष्णामा गम्दै गर्दा मैले जीवनमा हासिल गरेका केही सिकाइहरूको फेहरिस्त बनेको छ। जुन सिकाइहरूले मेरा लागि आफ्नै मूल्य–मान्यता समेत बनाइदिएका छन्। र, तिनले मेरा लागि मार्गनिर्दिष्ट पनि गरेका छन्।
मेरा सिकाइहरू, अनुभूतिहरू र तिनले मेरा हकमा स्थापित गरेका केही परिणामहरू छन्। जसलाई मैले जीवन दर्शन बनाएको छु र आत्मसात गरेको छु।
एउटा निश्चित उमेरपछि हामी जीवनलाई एक रेखीय समीकरणका रूपमा देख्दैनौं। हामी जीवनका बहुआयामिक पक्षबारे जानकार भइसकेका हुन्छौं। र, जीवनको गति सधैंभरी समान हुन सक्दैन भन्नेमा हामी प्रष्ट हुन्छौँ।
हाम्रा मनमा पलाएका आकांक्षाहरूलाई अरूको मनमा उस्तैगरी सार्ने भन्ने निश्चित हुँदैन। हामी कसैलाई पनि आफूलाई छानिदियोस् भनेर बाध्य बनाउन सक्दैनौँ। कोही पनि प्रत्यक्ष वा परोक्षरूपमा हाम्रो समिपमा आउँछ भने उसको संवेदनाले उसलाई डोर्याएर ल्याएको हुन्छ।
आफूलाई व्यक्त गर्नुस्
अवसाद (डिप्रेसन) भनेको धमिराजस्तै हो। यसले मानिसलाई सनैसनै शून्य बनाइदिन्छ। कुनै त्यस्तो समय सम्झनुस् त, जब ‘म बाँच्नै सक्दिन’ भन्ने सोच्नुहुन्थ्यो, तर तपाईँले जीउने प्रयास छाड्नुभएन र आज हुनुहुन्छ। यदि यस्तो हो भने तपाइँ साँच्चै नै नायक हो।
मलाई लाग्छ, जीवनमा हामी कसैसँग एकपटका लागि विश्वास गर्छौं, माया गर्छौं। दोस्रोपटक गरिने त सम्झौता हो।
हरेक भावनाहरूलाई शब्दमा उतार्नु जरुरी हुँदैन। स्वयम् र अरूलाई पनि भावनाहरू लाद्ने काम गर्नु हुँदैन। कहिलेकाहीँ मौनतामात्र पनि हुन्छ। र, यो सुन्दर छ।
हामी कसैका लागि पनि जीवन सहज छैन। हामीमध्ये कतिपयका लागि कुनैबेला वैकल्पिक बाटो नै हुँदैन। त्यसबेला हाम्रो क्षमताको दायराबारे पनि प्रश्न उठ्छन्। तपाईंको क्षमताबारे कसैले प्रश्न गर्छ भने आफैँलाई सम्झाउनुहोस् कि तपाईँ एउटा कलाको टुक्रा हो।
जीवनमा हुने हरेक गतिविधिका पछाडि आफ्नै कारण छ । हामीले भोगेका दुखहरूको पनि आफ्नै महत्व हुन्छ । सबैभन्दा कठीन परिस्थितिहरूबाट पार लगाउन हामीलाई चाहिने भनेकै जीवनमा भोगेका दुखहरू नै हुन्।
लगाव एउटा लत हो। जसले आफूलाई गाँज्दै गरेको तपाईं देख्नुहुन्न। यसले तपाईँलाई विस्तारै मार्दै जान्छ। त्यसैले कसैसँग पनि लगाव राख्न बन्द गर्नुहोस्।
तपाईँ जे सोच्नुहुन्छ, व्यक्त गर्नुहोस् । तपाई सोच्न र त्यसलाई व्यक्त गर्न बिल्कुल स्वतन्त्र हुनुहुन्छ ।
विचार बिनाको मानिस कठपुतलीझैँ हुन्छन् । जता घुमायो उतै घुम्ने, जे देखायो त्यही देख्ने! मलाई लाग्छ प्रत्येक मानिसको आफ्नै विचार हुनुपर्छ ।
कुनै पनि विषयमा तत्कालै विचार वा धारणा बनाउन चाहिँ बन्द गर्नुपर्छ। जीवन अन्ततः आफू र आफूप्रतिको दृष्टिकोणले नै डोर्याउने हो।
जीवन विल्कुल अनिश्चित छ। तपाईँले अहिले बुन्नुभएका योजनाका गुच्छाहरू तपाईँले सोचेकोभन्दा ठ्याक्कै विपरीत हुन सक्छन्।
नयाँ पात्रोसँगैका अपेक्षा
प्रेम र ज्ञान मेरा आधार हुन्। यिनमा बेइमानी गर्ने कुरा म सोच्न पनि सक्दिनँ।
मैले आफूभित्रको उदारपनालाई जहिल्यै ज्यूँदो राख्नेछु। मेरो उदारता कसैका लागि मेरो कमजोरी दशाउने बहाना हुन सक्छ। तर मेरा लागि भने उदारता नै प्रमुख शक्ति हो।
रुनु नराम्रो हुँदै होइन। मलाई प्राय रुन मन लागिरहन्छ। र, रुन्छु पनि।
महिला हुनु मेरा लागि सबैभन्दा ठूलो शक्ति हो।
मेरो तौलसँगै मेरो अनुहारमा दागहरु दिनदिनै बढिरहेका छन् । यो कतिपयका लागि चिन्ताको विषय हुनसक्ला । तर, मेरा लागि फगत शारीरिक परिवर्तन बाहेक अरु केही पनि होइन।
म मेरो बाल्यकालको पीडाबारे लेख्ने प्रयास गरिरहेको छु। जसमा स–सानादेखि गम्भीर विषयसम्म छन्। लेखन मेरा लागि दुःखको भूमरीबाट टाढिने एउटा प्रभावकारी विकल्प हो।
मलाई मेरो संगीत र साहित्यले जोगाएको छ। यी दुवै मेरा शक्ति हुन्। यी मलाई शान्ति र सहानुभूतिको छहारी प्रदान गर्ने वृक्ष हुन्।
म जहिल्यै यिनको सम्मानमा कुनै आँच नआओस् भन्ने चाहन्छु। कारण, कठिन भन्दा कठिन परिस्थितिमा साहित्य र संगीतले नै मलाई सम्हाल्ने गरेका छन्।
ती व्यक्तिहरु जो मलाई अगाध माया गर्छन् म चाहन्छु ती व्यक्तिहरुलाई कहिल्यै ‘ग्रान्टेड’ को रुपमा नलिऊँ ।
म दृढ छु, यति मेहनत गर्न सफल हुनेछु कि सम्मानसँग मर्न सकूँ। मैले जीवनकालभन्दा पनि मृत्युमा सम्मानको चाहना राखेको छु। किनभने मृत्युलाई थप सम्मानको आवश्यकता पर्छ।
मेरा भोगाइ, मेरा अनुभूति र मेरा सिकाइहरू अन्तिम सत्य नहुन सक्छन्। तर मेरो वर्तमान भने यिनै सत्यमा जीवन्त छ।
सम्भवतः भविष्य पनि यसैमा टेकेरै अघि बढ्ला। फेरि एकपटक वर्षे पात्रो फेरिँदैछ। १२ पत्र र ३६५ चौकोठभित्र आफ्नो सुखद भविष्य कहाँ–कहाँ छ भनेर कतिपयले नजर लगाउँदै पनि हुनुहोला।
कामना गर्छु, सबै पत्र र सबै चौकोठभित्र तपाइँहरूको सुखद भविष्य कोरिएको होस्। यति भन्दैगर्दा पुराना पात्रोहरू पल्टाउन पनि नबिर्सनुहोस् भन्ने सबैमा आग्रह गर्छु। ताकि ‘विगत भोगाइ’ र ‘आगत आकांक्षा’को सम्मिश्रणले वर्तमान सहज बन्न सकोस्।