आदरणीय गुरुवर्ग, नमस्कार! म त्रिभुवन विश्वविद्यालयको विद्यार्थी। मैले त्रिविबाट भोगेको समस्या भनौँ वा अन्योलता, दुखेसो पोख्दै छु। झर्को नमानिदिनु होला है।
म २०७४ साल मंसिर महिनामा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पढाइ हुने कलेज कामना इन्टरनेशनलमा स्नातक तह पहिलो वर्षमा भर्ना भएँ।
पढेको एक वर्षपछि प्रथम वर्षको परीक्षा भयो। त्यतीबेला खै के कारणले परीक्षा सर्यो मैले त्यति ख्याल गरिनँ। दोश्रो वर्षको कक्षा संचालन भएको दुई महिना पुग्नेबित्तिकै कोभिडको महामारी आयो, लकडाउन सुरु भयो।
लकडाउनले गर्दा भोको पेट पाल्न मुस्किल अवस्थामा टियूले कक्षा संचालन गर्न सक्ने त अवस्था नै भएन, परीक्षा त परको कुरा।
कोभिडको चार महिना लकडाउनपछि त्रिविले अनलाइन कक्षा संचालन गर्यो तर त्यो पनि त्यत्ति फलदायी हुन सकेन। लगभग एक, डेढ वर्षपछि कोभिड केही रुपमा सामान्य भएकोले लकडाउन खुकुलो भयो र दोस्रो वर्षको परीक्षा दिइयो।
कहिले लकडाउन, कहिले निषेधाज्ञा भन्दै बन्द हुने खुल्ने क्रम जारी रहँदा रहँदै तीन वर्षे स्नातक तहको अन्तिम परीक्षा २०७८ फाल्गुन २४ गतेबाट सुरु भई चैत १६ गते सकियो।
तीन वर्षे पाठ्यक्रम चार वर्षमा सकियो तर पाँचौं वर्षमा पुगिसक्दा पनि नतिजा भने आएन। कहिले परीक्षा भएन भन्ने चिन्ता, कहिले नतिजा कहिले आउला भन्ने चिन्ता!
गत साल चैतमा सकिएको परीक्षाको नतिजा एक वर्ष हुनलाग्दा समेत प्रकाशित भएको छैन। उल्टै त्रिभुवन विश्वविद्यालयले स्नातकको नतिजा ननिकाली स्नातकोत्तरको भर्ना फारम खुलाएको छ।
अब स्नातकको नतिजा नआई स्नातकोत्तरको फर्म भर्न जाउँ भने बिना ट्रान्सक्रिप्ट भर्ना हुँदैन। कतै जागिर खान जाउँ, देखाउने सर्टिफिकेट हातमा छैन। विदेश जान डकुमेन्ट बनाउँ भने शैक्षिक योग्याताको प्रमाण पत्र हातमा परेको छैन।
परीक्षा सकेर मास्टर गर्न विदेश नै जानुपर्ला भन्ने सोच बनाएर आइटिइएलटिएसको परीक्षा दिएँ हतार-हतार गरी। तर त्रिविको नतिजा नआउँदा आइटिइएलटिएसको समयावधि नै सकिन लग्यो। साँच्चै नै त्रिविले घरको न घाटको जस्तो बनाइदिएको छ।
यो मेरो मात्रै समस्या होइन, विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूको कुल संख्या चार लाख ६० हजार ८ सय २६ रहेको छ। यी सबैको समस्या एउटै हो, नतिजा प्रकाशन नहुनु।
त्रिभुवन विश्वविद्यालयमा केही विषयमा सेमेस्टर प्रणाली लागु भए पनि अझ वार्षिक प्रणाली नै लागु भएका विषयहरू पनि छ। यसले गर्दा अझै पनि वार्षिक प्रणालीमै धेरै विद्यार्थी अध्ययन गरिरहेका छन्।
विश्वविद्यालय अनुदान अयोगको तथ्यांकअनुसार नेलामा कुल १२ विश्वविद्यालय संचालित छन्। यसमध्ये त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको ८० प्रतिशत विद्याथीको चाप बोकेको छ।
संकायगत रुपमा हेर्ने हो भने सबैभन्दा बढी व्यवस्थापन संकायमा अध्ययनरत छन्। व्यवस्थापनमा ४६.२४ प्रतिशत, शिक्षामा २२.१८ प्रतिशत, मानविकीमा ७.९८ प्रतिशत, कानुन संकायमा २.२८ प्रतिशत, मेडिकलतर्फ ५.३८ प्रतिशत र इन्जिनियरिङतर्फ ५.५६ प्रतिशत विद्यार्थी अध्ययनरत छन्।।
८० प्रतिशत विद्यार्थीको समयमा नतिजा नआउँदा विद्यार्थीमा पर्ने असर, बेरोजगारी, यो सबैको ट्याग त्रिविलाई दिँदा फरक नपर्ला।
कहिलेकाहीँ कलेजको सरहरूसँग भेट हुन्छ, त्यहाँ पहिलो प्रश्न- 'सर, रिजल्ट कहिले आउँछ?’
लगभग एक वर्षदेखि यसै प्रश्नमा अड्किनु परेको छ।
सरको जवाफ- ‘अब त आउनुपर्ने हो, आउला...।’
सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम छ तर त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको एक वर्ष पुगिसक्दा समेत नतिजा प्रकाशन नगर्दा मजस्ता कयौं विद्यार्थीहरू अत्यन्तै मर्कामा परेका छौँ।
विश्वविद्यालयको राजनीति खचाखच, ढिलासुस्ती, लापरबाहीले विश्वविद्यालय मात्रै होइन, त्रिविसँग जोडिएको लाखौँ विद्यार्थीहरूको भविष्यमाथि नै खेलवाड गरिरहेको छ।
स्नातकोत्तरको भर्ना फारम खुलाइसक्दा स्नातक तेस्रो वर्षको परीक्षाको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन। यस्तो अवस्थामा विद्यार्थीहरूको भविष्य कता जान्छ?
पोहोर दिएको परीक्षाको नतिजा अझै सार्वजनिक भएको छैन। स्नाकोत्तर भर्नाको फार्म खुलिसक्यो। यदि कोही विद्यार्थी अनुत्तिर्ण भए भने कहिले फर्म भरेर परीक्षा दिने? अनि स्नातकोत्तर पढ्ने तयारी कहिले गर्ने?
यसको जवाफ कसले दिन्छ? यसको जिम्मेवारी को हुन्छ?
एकपटक मात्रै होइन, पटक-पटक दोहोरिरहने नतिजा सार्वजनिकको विषयमा विश्वविद्यालयले हेलचेक्राइँ गरिरहेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खु भने सधैँ रेडिमेड जवाफ मात्रै दिन्छ- ‘प्रयाप्त जनशक्ति नभएको र विद्यार्थीको चाप धेरै भएकोले समयमा नतिजा प्रकाशन गर्न सकेका छैनौं।’
यो उत्तर पनि एक दशकदेखि नियन्त्रण कार्यालयले यही जवाफ दिँदै आएको हो। त्रिविको यस्तो अवस्था देख्दा सोध्न मन लाग्छ- ‘हेल्लो टियू, नैतिकता छ?’
यदि छ नै भने अब नझुलाइदिनुस् है, नतिजा प्रकाशन गर्न।