केही दिनअघि मेरो एकजना अग्रजकी श्रीमती बिरामी भएर शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरेको थाहा पाएँ। काम विशेषले दुई दिनसम्म भेट्न अस्पताल जान सकिनँ। थाहा पाएको तेस्रो दिन बिहान बिरामीलाई भेट्न अस्पताल गएँ।
अस्पताल पुग्दा निरास र निन्याउरो अनुहारमा बिरामीका श्रीमान् केही आफन्तसँग अस्पतालको चौरमा बसिरहनु भएको रहेछ। म पुग्ने बित्तिकै मैले केही सोध्नुभन्दा अगाडि नै बरर आँसु झार्दै भन्नुभयो- ‘उनले त हामीलाई छोडिन् नि सर।’
म भने केही बोल्न नसकेर एकोहोरो उहाँलाई हेरि मात्र रहेँ।
म भेट्न गएको दिन बिरामीको मृत्यु भएको तेस्रो दिन भैसकेको रहेछ। त्यहाँ उपस्थित आफन्तहरूसँग बुझ्दा त मैले बिरामी भनेर थाहा पाएको साँझ नै उहाँले यो धर्ती छोड्नु भएछ।
मृत्यु भएको तीन दिनसम्म पनि किन दाह संस्कार हुन नसकेको होला भनेर बुझ्दा उहाँका दुवै सन्तान विदेशमा रहेछन्।
छोराहरूलाई आमाको मृत्युको खबर सुनाएपछि छोराहरूले हामीले आमालाई दागबत्ती त दिन पाउनु पर्यो नि भनेकाले छोराहरूको आगमनलाई कुरिरहनु भएको रहेछ उहाँहरू।
छोराहरू भोलि साँझ काठमाडौँ आइपुग्दै छन् रे। त्यतिन्जेल आमाको मृत शरीर अस्पतालको शवगृहमा बरफको सिरानीमा छोराहरूलाई कुरेर सुतिरहनु पर्ने बाध्यता भएछ।
म अस्पताल धेरै बेर बसिनँ। सान्त्वनाका दुई शब्द मृतकका श्रीमानलाई दिएर म घर फर्किएँ।
घर फर्किंदै गर्दा दागबत्तीको लागि चार-चार दिनसम्म श्रीमतीको मृत शरीर कुरेर बस्नुपर्ने श्रीमान् र उहाँका दाजुभाइ तथा आफन्तहरूको मनोदशा, हाम्रो अहिलेको परिवेश, सन्तानको विदेश पलायन, यसले जेष्ठ नागरिकमा परेको असर, सन्तानको आमाबुबाप्रतिको कर्तव्य आदि इत्यादिको बारेमा अनेक तर्कनाहरू खेल्न थाले मेरो मनमा।
९ महिना गर्भमा बोकेर जन्माइ, हुकाइ, पालन पोषण गरेकी आमाको अन्तिम दर्शन र दाहसंस्कार गर्न पाउनुपर्ने छोराहरूको माग अत्यन्तै जायज छ। त्यसैले त उनीहरूका पितालगायत आफन्तहरू अस्पतालमा मृत शरीर कुरेर बसिरहेका छन्।
तर पनि मेरो मनमा भने अनेक प्रश्नहरू उठी नै रहे। उहाँका आफन्तहरूसँगको कुराकानीबाट थाहा भयो कि आमा बिरामी भएर लामो समय थलिनु भएको रहेछ। छोराहरूको मुख हेर्न पाए हुन्थ्यो भनेर पटक-पटक भन्नुभएको थियो रे उहाँले।
त्यसबेला छोराहरूले नेपाल आउने फुर्सद पाएनन्। बिरामी भएकी आमालाई हेरचाह, स्याहारसुसार गर्दै अस्पताल लैजाने ल्याउने आफ्नो कर्तव्य सम्झेनन्। अनि दागबत्ती दिन भने छोरा नै चाहिने किन? यो प्रश्न धेरैलाई नमिठो लाग्न पनि सक्छ। कतिले भन्न सक्छन्, काम गर्ने ठाउँमा बिदा पाएनन् होला के गरून् त।
तर मलाई प्रतिप्रश्न गर्न मन लाग्छ, आमाको मृत्युको खबर सुनेकै दिन बिदा दिने अफिस आमा बिरामी भएको समय भेट्न जान भने बिदा नदिने हो?
के विदेशमा अफिसहरू यतिसम्म असंवेदनशील र अमानवीय छन् कि आफूलाई जन्म दिने आमा अस्पतालको शय्यामा छटपटाउँदै छोराको मुख हेर्छु भन्दा बिदा नदिने अनि मृत्युको खबर पाएपछि भने तुरुन्तै बिदा दिने? के यो सत्य होला र? मलाई त विश्वास गर्न गाह्रो हुन्छ।
यो त मृत्युपछिको एउटा उदाहरण मात्र हो। सन्तान विदेश पलायन भएका जेष्ठ नागरिकहरूले धेरै दुःखद र समस्यायुक्त दिन बिताइरहेका उदाहरणहरू प्रशस्तै छन् नेपालमा। म यहाँ केही सत्य दृष्टान्तहरू प्रस्तुत गर्दछु।
काठमाडौँमा एकजना खान्दानी व्यक्तिको परिवार बसोबास गर्दथ्यो। परिवार खुसीसाथ चलेको थियो। तर ४/५ वर्षअगाडि पुरुषको मृत्यु भयो। भएका ३ सन्तान धेरै पहिले विदेश पढ्न गए र अहिले उतैका नागरिक भैसकेकाछन्।
महिला घरमा एक्लै हुनुहुन्छ। सम्पत्ति प्रशस्तै छ उहाँसँग। काठमाडौँको घरबाट महिनाको एक लाखभन्दा बढी भाडा उठ्छ। ५ तलाको घरमा उहाँ पाँचौं तलामा बस्नु हुन्छ। उहाँ घुँडाको बिरामी हुनुहुन्छ र सजिलोसँग भर्याङ ओर्लिन र चढ्न सक्नुहुन्न।
पाँचौँ तलाको झ्यालबाट प्लाष्टिकको बाल्टिन डोरीले झुन्ड्याइएको छ। बिहान आवश्यक पर्ने दूध, तरकारीलगायत सामान उहाँले नियमित किनमेल गर्ने पसलेले राखिदिन्छ र उहाँ डोरीले तानेर माथि लैजानु हुन्छ।
लौ सामान दिने त व्यापार भयो, पसलेले सहयोग गरेका छन्। तर उहाँलाई अस्पताल जान पर्यो भने अझ राति आकस्मिक रुपमा चिकित्सकीय सेवा लिनुपर्यो भने उहाँको अवस्था के होला?
अर्को दृष्टान्त हेरौं। एकजना नाम चलेका व्यक्तिका सन्तान विदेशमा छन्। बुढाबुढी दुवै जना नेपालमा बस्नुहुन्छ। पुरुष दमको रोगी भएकाले नियमित अक्सिजन लिनु पर्दछ।
एकदिन अक्सिजन सकिएपछि सिलिन्डर बोक्ने मान्छे फेला नपारेर महिला पीडामा परेको समयमै छोराको विदेशबाट फोन आउँछ। आमाको रुन्चे स्वर सुनेपछि छोरा भन्छ- आमा, चिन्ता नगर्नुहोस् म अहिले नै पैसा पठाइदिन्छु।
तर आमा रुँदै जवाफ फर्काउनुहुन्छ- ‘बाबु, हामीसँग प्रशस्तै पैसा छ। तेरा बा र मेरो पेन्सन अनि घर भाडाको पैसा सबै खर्च नै हुँदैन। मलाई अहिले पैसा होइन, सिलिन्डर बोकिदिने मान्छे चाहिएको छ। तँ घरमा भएको भए बोकेर ल्याउँथिस्। अब एकछिनसम्म पनि सिलिन्डर घर पुर्याउन नसके बाउको के हालत हुन्छ भन्न सकिदैनँ।’
यी दुई सत्य घटनाहरू प्रतिनिधि घटना मात्र हुन जस्तो लाग्छ मलाई। यस्ता थुप्रै बाहिर नआएका दर्दनाक कथाहरू छन् नेपालमा।
कतिपयले भन्नुहुन्छ- देशको गरिबी, शिक्षा, स्वास्थ्यको बिग्रँदो अवस्था, बेरोजगारी आदि कारणले विदेशिनु पर्छ के गर्नु त? अनि छोराछोरी कसरी बुबाआमासँग रहन सक्छन्? अब यो कल्पना गर्नु हुँदैन भनेर सम्झाउनु हुन्छ मलाई।
तर म यसो विश्लेषण गर्छु गरिबिको कारण, आर्थिक समस्याको कारण, बेरोजगारी आदि कारणले विदेशिनेहरू प्रायः खाडी मुलुक, मलेसिया, कोरिया आदि देशमा गएका छन्। केही वर्षको बिदेश बसाइपछि उनीहरू स्वदेश फर्केर आफ्ना आमाबाबुलाई सुखका साथ पालेर परिवारसँग रमाइरहेका दृष्टान्तहरू छन्। उनीहरू खाडी मुलुक मै पलायन भएको एकाध उदाहरण मात्र होलान्।
तर नेपालका उच्च र मध्यम वर्गीय परिवारका छोराछोरी जो पढ्ने नाममा युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडा आदि देश गएका छन्, उनीहरूको ध्यान त्यही देशको नागरिकता लिने र उतै बसोबास गर्नेछ।
साँच्चै भन्नु पर्दा यो वर्गको सन्तानले राम्रो शिक्षा लिन, रोजगार प्राप्त गर्न र औसत रुपमा गुणात्मक जीवनयापन गर्न नेपालमा समस्या देखिँदैन। अभिभावकले कमाएको सम्पत्ति छ, बाबुआमाले धानेको उद्योगधन्दा, व्यापार व्यवसाय छ। तर यी सबै कुरामा सन्तानको ध्यान जाँदैन।
शिक्षा, रोजगारी र आर्थिक उपार्जनको नाममा उनीहरू विदेशिन्छन् र उतै बसोबास गर्ने चाँजोपाँजो मिलाउँछन्।
यसो भनिँरहदा व्यक्तिको उन्नति प्रगति र समृद्धिको लागि जो जहाँ पनि जान पाउने र बसोबास गर्न पाउने व्यक्तिगत स्वतन्त्रताको उल्लङ्घन हुने कुराको म कहिल्यै वकालत गर्दिनँ। सन्तानहरू विदेशिन पाउँछन्, उतै बसोबास गर्न पनि पाउँछन्।
मेरो गुनासो यति मात्र हो कि आमाबुबा बिरामी हुँदा वा अशक्त हुँदा छोराछोरी नेपाल फर्कन भ्याए हुन्थ्यो र बाउ आमाको मृत्यु हुँदा बिदा दिने अफिसले बिरामी वा अशक्त हुँदा वा अस्पताल भर्ना भएको बेला आमाबाबुले ‘सन्तानको मुख हेर्न पाए स्वर्ग जान्थेँ’ भनेको बेलामा पनि बिदा दिए हुन्थ्यो वा बिदा लिनेले लिएर बाबुआमा भेट्न आइदिए हुन्थ्यो भन्ने मात्र हो।
मैले धेरै देखेको छु, विदेशमा रहने सन्तानले आमा बुबालाई उतै लगेर आफूसँग राख्न नचाहेको होइन। धेरैका सन्तानले आमाबुबाको भिसा मिलाएर आफू बसेको देश लैजान्छन्। २/४ महिना त उहाँहरू रमाएको देखिन्छ। तर त्यसपछि त्यहाँको एक्लोपन, छोराछोरीलाई भेट्न मध्यरात कुर्नुपर्ने अवस्था आदि इत्यादिले नेपाल फर्केका प्रशस्तै उदाहरणहरू छन्।
यसरी नेपाल फर्किएका आमाबुबासँग मैले भेटेर कुरा गर्दा भन्नुहुन्छ, ‘हामीले रगत पसिना गरेर आर्जेको सम्पत्ति, गाउँघरका दाजुभाइ, इष्टमित्र, आफूले सधैँ गर्दै आएको सामाजिक, धार्मिक कार्य सम्झिएर त्यहाँ बस्न सकिएनँ बाबु। त्यहाँको सुखभन्दा यहाँको दुःख नै प्यारो रहेछ बाबु, त्यसैले हामी त ६ महिना बसेर फर्कियौँ।’
यो लेख लेखिरहँदा मलाई के लागि रहेको छ भने आमा बाबुलाई उहाँहरूकै गोडामुनी बसेर स्याहारसुसार गर्ने, आफैले बोकेर अस्पताल पुर्याउने र अस्पतालमा आफै कुरेर बस्ने अनि आफ्ना सन्तानलाई काखमा राखेर हुर्काउने, डोर्याउने, स्कुल लाने, ल्याउने र सधैँ उनीहरूको उन्नति, प्रगति र समृद्धिमा चिन्तित हुने अन्तिम पुस्ता हुनसक्छ मेरो पुस्ता।
कसैले भन्न सक्छ विदेशमा भएका अहिलेका सन्तानका छोराछोरी त उनीहरूसँगै हुन्छन् नि। अनि यी सब कुराहरू गरिहाल्छन् नि।
तर पाश्चात्य समाजमा पूर्वीय समाजको जस्तो संस्कृति र पारिवारिक संरचना छैन। म २०५३ सालमा बेलायत पढ्न गएको बेला देखेको एउटा दृश्य यहाँ राख्न चाहन्छु।
हामी किनमेलको लागि बजार जाँदा पसलहरूमा ८०/८५ वर्षका आमाबुबाहरू लठ्ठी टेकेर थरथर काम्दै सामान किनिरहेको मैले देखेको छु। त्यहाँ १८ वर्ष भएपछि सन्तान आमाबुबासँग नबस्ने। बाबुआमाको सम्पत्तिलाई आफ्नो नठान्ने संस्कृति छ। त्यहाँ छोराछोरीले म बुबाआमाको घरमा बसेको छु भन्छ। तर मैले नेपालमा यस्तो अहिलेसम्म सुनेको छैन।
त्यसैले विदेशमा रहने नेपालीहरूका सन्तान पनि त्यहीँको संस्कृतिमा हुर्कन्छन् र त्यसैलाई अङ्गिकार गर्छन्। अनि कसरी होला र पूर्वीय समाजको पारिवारिक अवस्था?
मलाई त लाग्छ पाश्चात्य संस्कृति, पारिवारिक संरचना, उच्चतम स्वतन्त्रताको चाहाना आदिले मैले सुरुमा उल्लेख गरे जस्तो आमाबुबाको अन्तिम दर्शन र दागबत्ती दिन समेत फुर्सद नपाउने अवस्था आउनसक्छ त्यहाँ त।
सन्तानको कर्तव्य दागबत्ती दिनु मात्र हो र भनेर मैले किन पनि प्रश्न गरेको हुँ भने अहिले युरोप, अमेरिका, अष्ट्रेलिया र क्यानडालगायत विदेश जानेहरू सबै आफ्नो पढाइकै सन्दर्भमा गएका छन् डिभी परेर अमेरिका जाने केहीबाहेक।
कलिलै उमेर र विद्यार्थी नै भएकाले छोराछोरीले नेपालमा बसुन्जेल आमाबाबुको बारेमा सोच्ने, उनीहरूको स्वास्थ र समृद्धिको बारेमा सहयोगी बन्ने समय नै पाउँदैनन्। यो वास्तविकता हो।
उनीहरू स्नातक तहको शिक्षा सक्दा नसक्दा विदेशिन्छन्। बीचमा आफूखुसी २/४ पटक आफ्नै मर्जीमा नेपाल आउनुबाहेक आमाबुबाले चाहेको बेलामा बिदा पाउँदैनन् उनीहरू वा अफिससँग बिदा माग्दैनन् उनीहरू। अनि बिदा पाउँछन्, बिदा लिन्छन् र फर्कन्छन् दागबत्ती दिने समयमा। त्यही पनि मृत शरीरलाई अस्पतालको शव गृहमा ३/४ दिन कुराएपछि।
त्यो सन्तानले आफ्नो आमाबाबुलाई कहिले र कसरी सहयोग गर्यो? सोझो भाषामा भन्ने हो भने आमाले ९ महिना कोखमा राखेको, दश धारा दूध पिलाएको, तातो तेल लगाएर शरीर मालिस गरेको मूल्य कहिले तिर्छन् उनीहरूले?
बुबाले काँध, ढाड अनी काखमा बोकेर, हातमा डोर्याएर, बजार घुमाएको, छिमेकिको घरमा लगेको, स्कुल पुर्याएको, घर ल्याएको ऋण कहिले तिर्छन्?
अनि बिरामी हुँदा बुबाले बोकेर मेडिकल र अस्पताल पुर्याएको, अझ गाउँघरमा त धामी झाँक्रीकोमा लगेको, आमाले मिठो मसिनो बनाएर खुवाएको पैँचो कहिले तिर्छन् उनीहरूले?
यसो भनिरहँदा के नेपालमा भएका सन्तानले बुबाआमालाई राम्रसँग हेरविचार गरेका छन् त भन्ने प्रश्न पनि उठ्छ। मेरो उत्तर छ कतिपयले छैनन्। घर छ, गाडी छ, पैसा प्रशस्त छ, ऐस राम सबै छ तर बुबाआमालाई वृद्धाश्रममा लगेर राखिएका उदाहरणहरू प्रशस्तै छन् यहाँ। यो बारेमा पछि कुनै बेला लेखौँला।
अन्तमा मेरो कामना छ पूर्वीय सभ्यता, संस्कृति, रितिरिवाज र परम्परामा हुर्किएका हाम्रा सन्तानले कम्तीमा पनि परिवार, समाज र राष्ट्रलाई हानी नपुर्याउने परम्परालाई विश्वमा जहाँ रहे पनि कायम राख्दै सन्तानले निभाउनु पर्ने कर्तव्य र भूमिका खुसीका साथ निभाउने छन्।
प्रार्थाना पनि गर्छु कि विदेशमा रहेका ती सन्तान आफूलाई जन्माउने, हुर्काउने, शिक्षा, दीक्षा दिएर विश्वमा बिक्ने सवल नागरिक बनाउने बाबुआमाले भौतिक शरीरबाट बिश्राम लिने बेलामा सन्तानको मुख हेर्न चाहँदा नेपाल आइपुग्ने छन्।