हिजोआज पनि बेलाबेला ग्यास गिजर जोडिएका बाथरूमहरूमा नुहाउँदा-नुहाउँदै मानिसहरू अचेत र मृत अवस्थामा फेला परेका घटनाहरू सुन्दै आएका छौँ। चिसो पानी तताउन प्रयोग गरिने यस्ता ग्यास गिजरहरू अरु साधारण समयको तुलनामा चिसो मौसममा बढी मात्रामा प्रयोग गर्छौं।
ग्यास गिजरले विद्युतीय गिजरको भन्दा अझ कम समयमा पानी तताउने भएकोले यसको प्रयोग अझै ठूलै संख्यामा छ। सुरक्षित प्रयोग गर्न नजानेमा यस्ता उपकरणहरूले मानवीय क्षति समेत गराउन सक्ने हुनाले केही सुरक्षासम्बधी कुराहरूको जानकारी हुनु र व्यवहारमा संवेदनशील भएर अवलम्बन गर्नु जरुरी छ।
ग्यास गिजरले कसरी काम गर्छ?
यस्ता गिजरमा चिसो पानीलाई तताउनको लागि इन्धनको रुपमा एलपिजी ग्यास प्रयोग गरिन्छ। बर्नर (इन्धन बल्ने पूर्जा) र हिट एक्चेंजर (ताप उर्जा साटासाट गर्ने पूर्जा) ग्यास गिजरका मुख्य भागहरू हुन्।
गिजरको बर्नरमा ग्यासको सिलिन्डरबाट आउने एलपी ग्यास बलेर ताप उर्जा उत्पादन गर्ने गर्दछ। इन्लेट पाइपबाट छिरेको चिसो पानी र यसरी उत्पादित तातो ग्यासको बाफ हिट एक्चेंजरमा एकआपसमा भेट हुँदा तातो ग्यासले ताप दिएर चिसो पानीलाई तताउने गर्दछ।
यसरी चिसो पानी तातेर गिजरको आउटलेट पाइप हुँदै हामीले नुहाउन प्रयोग गर्ने धारोमा आउने गर्दछ र उक्त तातो पानीको उपभोग गर्दछौं।
दुर्घटनाको कारण
गिजरको बर्नरमा ग्याँस बल्दा यदि सम्पूर्ण ग्यासको मात्रा नजलेमा कार्बनमोनोक्साइड ग्यास निस्कन्छ। यो ग्यासको खास कुनै स्वाद, गन्ध र रंग हुँदैन। तर स्वास्थ्यको दृष्टिकोण यो ग्यास एकदमै विषाक्त र जोखिमपूर्ण मानिन्छ।
निश्चित मात्रामा यो ग्यास हाम्रो शरीरभित्र पुगेमा हाम्रो शरीरको अक्सिजनलाई विस्थापन गरी तन्तु र अंगहरूमा अक्सिजनको आपूर्ति कम गर्दछ, अचेत बनाउँदछ, टाउको दुख्ने र रिंगटा लाग्ने समस्या सिर्जना गर्दछ। समयमै उपचार हुन नसके मानिसको मृत्यु समेत हुनसक्छ।
कतिपय बाथरुमभित्रै जडान गरिएका गिजरहरूबाट ग्यास बाल्ने क्रममा कार्बनमोनोक्साइड ग्यास निस्किएमा उक्त ग्यास रुमबाट बाहिर निस्किने ठाउँ हुनुपर्दछ वा सो कोठामा फ्रेस हावाले अरु प्रदुषित हावालाई प्रतिस्थापन गर्ने बाटो दिनु पर्दछ। अन्यथा उत्पादित ग्यास र पानीका बाफलगायत अन्य हानिकारक ग्यासहरू जम्मा भई कोठामा विषाक्त रसायनको मात्रा बढ्न जान्छ।
हाम्रो शरीरलाई स्वस्थ राख्न र क्रियाशील बनाइराख्न नियमित रुपमा अक्सिजनको आपूर्ति आवश्यक पर्दछ।
केही मेडिकल अनुसन्धान पत्रहरूअनुसार बाहिरको ताजा अक्सिजन बाथरुममा आउन नसकेमा शरीरमा अक्सिजनको मात्रा घट्न गई क्रमश: हाम्रो मस्तिष्कमा अक्सिजनको आपूर्ति घट्दै जाँदा मस्तिष्कको क्रियाशीलतामा कमी आउँछ र स्नायु प्रणालीमा समेत असर पुर्याएर विस्तारै मानिसलाई अचेत बनाउँदछ। मस्तिष्कले काम गर्न नसकेमा वा घाइते व्यक्तिले समयमै उपचार नपाएमा मृत्यु हुनसक्छ।
नेपालमा यसको अवस्था
नेपालको सन्दर्भमा प्रत्येक वर्ष देशमा कति संख्यामा यस्ता दुर्घटना घट्दछन् र कति मानिसहरू यस्ता दुर्घटनाको शिकार भइरहेका छन् भन्ने विषयमा सरकारी आधिकारिक तथ्यांकहरू कतै संकलन गरिएको पाइन्न। यस विषयमा प्राविधिक अनुसन्धान पत्रहरू पनि कमै भेटिन्छन्।
सिभिल सर्भिस अस्पतालमा कार्यरत डाक्टरहरूद्वारा प्रकाशित अनुसन्धान पत्रानुसार साँघुरा बाथरुम, कमजोर र अपुग भेन्टिलेसन तथा कार्बनमोनोक्साइड डिटेक्टर (उक्त ग्यास पत्ता लगाउने उपकरण) जडान नगरिएका काठमाडौँका घरहरूमा यसको जोखिम उच्च भएको र थोरै मात्रामा कार्बनमोनोक्साइड निस्केमा पनि यस्ता गिजरहरू एकदमै खतरनाक हुने कुरा उल्लेख गरेका छन्।
यसैलाई आधार मान्ने हो भने पनि नेपालका खासगरी घना सहर, होटेल, साधारण घरहरू, कार्यालयहरू आदि ठाउँहरूमा यस्ता दुर्घटनाहरू घट्न सक्ने उच्च सम्भावना रहेको छ। त्यसकारण यसको समाधानका उपायहरूको गहन छलफल, बहस, सुधार, अनुगम र निरीक्षण अत्यन्त आवश्यक छ।
दुर्घटनासम्बन्धी जोखिम रोकथाम र बचावट
जोखिम र दुर्घटनाहरू कम गर्न, हटाउन र सम्भावित दुर्घटनाहरूबाट बच्न गिजरको सुरुआती जडानदेखि नै सचेत हुनपर्दछ। यससँगै यिनीहरूको सुरक्षित प्रयोग एकदमै महत्वपूर्ण छ।
यस्ता जोखिमयुक्त उपकरणहरूको आयात, भण्डारण , गुणस्तर परीक्षण, जडान र निरीक्षण गर्ने कार्यसँग सम्बन्धित सरकारी कानुनी र संरचनागत व्यवस्था एकदम कमजोर देखिन्छ।
जडान गर्दा कहाँ, कोमार्फत, कसरी र के कुरामा ध्यान दिएर गर्ने भन्ने विषयमा आवश्यक मापदण्डहरू बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्छ। त्यसकारण मुख्यत: यसको अनुगमन र निरीक्षणको निम्ति नीतिगत, प्राविधिक र संस्थागत व्यवस्था जरुरी छ।
साथै, ग्यास गिजरहरूको सुरक्षित प्रयोग गर्न र सम्भावित जोखिमहरूबाट बच्न निम्न कुराहरूमा ध्यान दिनुपर्छ:
१. ग्यास गिजरको सुरक्षित जडान
गिजर जडान गर्दा सकेसम्म बाथरूमभन्दा बाहिर छुटै कोठा वा अन्य भौतिक संरचनाभित्र गर्ने ताकी जसले गिजरबाट निस्कन सक्ने ग्यास बाथरुमसम्म आउँदैन। गिजरको आउटलेट पाइप मात्र बाथरुमभित्र जोड्ने गरी प्रबन्ध मिलाउन सके सम्भावित जोखिमलाई ठूलो मात्रामा घटाउन सकिन्छ। सुरुमा जडान गर्दा सबै पार्ट्सहरू राम्रोसँग जोडिएको निश्चित गर्नुपर्छ।
२. उपयुक्त भेन्टिलेसनको व्यस्था
कोठाभित्र अक्सिजनको सहज र नियमित आपूर्तिको लागि बाथरुममा प्राविधिक दृष्टिकोणले उपयुक्त भेन्टिलेसनको व्यवस्था मिलाउनु पर्छ। उक्त भेन्टिलेसन बेलाबेलामा निरीक्षण र आवश्यक मर्मत-सम्भार गर्ने गर्नुपर्दछ।
३. ग्यास डिटेक्टर/सेन्सर उपकरणको जडान
बाथरुमभित्र कार्बनमोनोक्साइड ग्यासको मात्रा असुरक्षित हुन पुगेको कुरा पत्ता लगाएर पूर्व सचेत गराउने सेन्सर जडित विभिन्न उपकरणहरू हाल बजारमा उपलव्ध छन्। यस्ता उपकरणहरूले जोखिमको पूर्व सूचना दिएर सम्भावित जोखिमहरूबाट बच्न मद्दत गर्दछन्।
४. गिजरको प्राविधिक निरीक्षण र मर्मत/सम्भार
जडान गरिएको गिजरमा प्रयोग गर्दै जाँदा प्राविधिक समस्याहरू आइरहेको वा आउन सक्ने हुनसक्छ। यस्ता कुराहरूको समाधानको लागि समय-समयमा सम्बन्धित प्राविधिक बोलाएर आवश्यक मर्मत/सम्भार र अन्य निरीक्षण गराउने गरेमा जोखिम घट्छ।
५. विद्युतीय गिजरको प्रयोग
सुरक्षाको दृष्टिकोणले विद्युतीय गिजरहरू ग्यास गिजरभन्दा बढी सुरक्षित मानिन्छ। अझ नेपालको लागि विद्युत आफ्नै उत्पादन भएको कारणले यो विकल्प उपयोगिता र पैसाको बचतको हिसाबले किफायती मानिन्छ।
साथै, अचानक दुर्घटना भएको थाहा पाएमा वा कोही व्यक्ति बाथरुममा घाइते वा अचेत अवस्थामा फेला परेमा आवश्यक उपचारको लागि नजिकैको अस्पतालमा लैजानुपर्छ ।
निष्कर्ष
माथि उल्लेखित उपायहरूलाई प्रभावकारी हिसाबले अवलम्बन गर्न सके थुप्रै जोखिम र दुर्घटनाहरूबाट बच्न सकिन्छ। ग्यासबाट चल्ने गिजरहरूको जडान र संचालनसँग सम्बन्धित जोखिमको नियन्त्रण र दुर्घटनाको रोकथामसम्बन्धी आम जनमानसमा जनचेतना फैलाउँदै जानुपर्छ।
अझ सुरक्षित र दिगो वैकल्पिक उपकरण र विद्युतीय गिजरहरूको प्रयोगलाई प्रोत्साहन गर्दै प्रभावकारी नीतिगत र संरचनागत व्यवस्थामार्फत सुरक्षित र भरपर्दो समाधानको कार्यान्वयन गर्दै दीर्घकालीन रुपमा उल्लेखित समस्याको न्यूनीकरण र रोकथाम गर्नु अपरिहार्य छ।
(लेखक औद्योगिक इन्जिनियर हुन्।)