प्रिय कल्पनाकी जीवन संगिनी
कहाँ छ्यौ? यो धर्तीको कुन रहस्यमा कसरी गुम्सिरहेकी छ्यौ अहिलेसम्म?
कुन त्यस्तो सुरक्षित समाज छ जहाँ तिम्रो बिहे गर्ने उमेर भैसक्दा पनि कसैले चिमोटेको छैन। तिमीलाई अब त ढिलो भएन र भनेर?
म पनि झण्डै जीवनको औसत आधा उमेर यसै बरालिएर बिताएँ। बिहे गरेका मान्छेहरूको जिन्दगी देख्दा कहिल्यै त्यो विवाहित जिन्दगीको लोभ लागेन मलाई।
आफ्नो इच्छाविपरीत जिन्दगी बाँच्न मन लागेन मलाई। कसैका बिहे कहिले गर्ने भन्ने प्रश्नहरूले डगमगाएन मेरो व्यक्त्गित स्वतन्त्रतालाई।
तर आज कता कता छेउमा एउटा सुन्दर हृदय भएको एउटा मान्छे भए जीवनमा अलिकति केही नयाँपन आउँथ्यो कि भन्ने लोभ लागेर यो पत्र लेख्दैछु।
यो ब्रह्माण्डमा एउटा अदृश्य शक्ति छ रे त्यसलाई अंग्रेजीमा 'भाइब्रेसन' भन्छ क्यारे। त्यो भाइब्रेसन भनेको विचार र भावनाका ससाना आणविक शक्तिहरू हुन्।
दुई उस्तै शक्ति भएको मान्छेको ऊर्जा वायु तरंगमार्फत् कनेक्सनमा पुग्छन् रे तर खोइ अहिलेसम्म हाम्रो भाइब्रेसन किन मिलेन? म गहिरो सोचमा छु।
सायद सबै कुरा सही आएपछि हुन्छ रे म त्यही समयको पर्खाइमा छु।
प्रिय कल्पनाकी जीवनसंगी हामी एक भएपछि म एउटा प्रतिबद्धता यहीँ व्यक्त गर्दछु।
मलाई यो स्वास्नी भन्ने शब्द किन हो किन कत्ति पनि मन पर्दैन तिमी मेरो सधैं एउटा प्रेमिका या साथी मात्र हुने छ्यौ।
अहिलेका धेरै वैवाहिक सम्बन्धहरू जागिर, पैसा, धन, सम्पत्ति खानदान हेरेर जोडिन्छन्। यस्ता शर्तमा जोडिने सम्बन्धमा म कहिल्यै प्रेम देख्दिनँ।
गरगहनाको प्रदर्शन गर्ने र एकदिन पाटी प्यालेसमा तामझामका साथ मान्छेहरूलाई बोलाउने भोज खुवाउने र प्रोफाइल पिक्चर चेन्ज गर्ने यो बहानाको विवाह परम्परालाई मैले जस्तै तिमीले अस्वीकार गर्न सक्छ्यौ कि सक्दिनौ म भन्न सक्दिन। बरु यो खर्चले त समाजका कुनै दुई गरिब छात्राछात्रलाई पढाइदिने छात्रवृत्ति कोष बनाइदिन सके कति राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई या त्यतिसम्म गर्न नसके आफ्नो भविष्यमा के कस्ता जोखिम आउन सक्छन् त्यसको लागि सोचेर राखे पनि हुन्छ जस्तो लाग्छ।
अनि बिहेपछि जब एउटी बुहारी घर भित्रन्छे केही समयपछि त्यो घरमा एक किसिमको शीतयुद्ध चल्छ नेपाली समाजमा।
एउटै घरभित्र ठाउँठाउँमा चुलो जल्न थाल्छ। सासू र बुहारी, नन्द र भाउजु, दाइ-भाइ सबैको संसार एउटै घरमा अटाउँदैन। पहिला सबैको संसार खुसीका साथ अटाएको घर सबैको लागि साँघुरो हुन थाल्छ। बिस्तारै घर फाट्छ। खेतबारीमा डोरी तानेर बित्ता बित्ता नापेर साँध र डोरी लगाइन्छ। जग्गामा अंश बण्डा लाग्छ सबैतिर हिसाब मिल्छ अन्तिममा बुबाआमाको अंकगणित बाँकी हुन्छ जिउनीको आधारमा बाबुआमा पनि भाग लगाइन्छ।
मेरी प्रिय जीवन संगिनी तिमी घरमा आएर के टुक्रिएको मेरो परिवारलाई पहिलेकै अवस्थामा ल्याइदिन सक्छ्यौ? साँच्ची मलाई मेरो परिवारका सबै सदस्य एउटै छानामुनि बसेको मन पर्छ। नारीभित्र त अथाह शक्ति हुन्छ रे जे चाह्यो त्यो गर्न सक्छन् रे। यो संसारको सिर्जना नै नारीले गरेको रे भनेपछि मेरो एउटा घरबाट अलग-अलग भएका मेरो सहोदर दाजुभाइको परिवार र आवश्यक परे दिदी बहिनीलाई पनि स्वागत छ भनेर उही घरको दैलो खोलिदिन किन नसक्ने हुन्छ र प्रिय?
यदि त्यो आवश्यक छैन भने मन खोलेर मेरो परिवारलाई आफ्नो परिवार सम्झेर हृदयले माया गर्न सक्छ्यौ?
यदि तिमी मलाई के तपाईं पनि मेरो परिवारलाई आफ्नो परिवारको जस्तै माया र सम्मान दिनुहुन्छ भनेर प्रश्न गर्छ्यौ भने म भन्छु एउटै घरमा हामी दुबैका परिवार अटाउन सक्छ या म पनि तिमीजस्तै तिम्रो परिवारमा अटाउन सक्छु।
अर्काे कुरा बिहेपछि मेरो घरको संस्कारको निर्माता तिमी बन्छ्यौ र बाँकी मेरो जिन्दगी कस्तो हुन्छ त्यो भविष्यको निर्माता पनि तिमी नै बन्छ्यौ।
मान्छे विवाहपछि शहिद हुन्छ भनेर भन्छन् के तिमी मेरो जीवनमा आएपछि म इच्छा मारेर बाँच्नुपर्ने अवस्था आउला र? के प्रेम यति निर्दयी हुन्छ र ?
हाम्रो प्रेम त्यस्तो नहोस्। जहाँ कसैका इच्छा चाहना र सपनाहरू नमरून्।
कसैका कारणले कसैका इच्छाहरू बन्धित नहोऊन्। सपना बन्धित नहोऊन्। बरू एकअर्काका सपना इच्छा, चाहना र सपनाहरू पूरा गर्नलाई एक अर्काको प्रेम सशक्त ऊर्जा बनोस्।
प्राय: बाबुआमाहरू छोरीको बिहे गरिदिँदा केटाको सम्पत्ति र जागिरलाई प्राथमिकतामा राखेर हेर्छन् त्यो त्यति अस्वाभाविक पनि होइन किनकि उनीहरू आफूले भोगिरहेको गरिबी आफ्नी छोरीले भोग्न नपरोस् भन्ने चाहन्छन्।
तर त्यो निर्णयलाई तिमी अस्वीकार गर्नू। तिमी आफ्नो जिन्दगीको जिम्मवारी लिन म आफैं तयार छु भन्ने आत्मविश्वासका साथ उभिनू। किनकि जो छोरी मान्छे केटा मान्छेको सम्पत्ति हेरेर बिहे गर्छे त्यो छोरी मान्छे सधैं उसको दास भएर बाँच्नु पर्छ। न ऊ आफ्नो जिन्दगीको मालिक हुन्छे, न त्यो घरको।
हामी हामीलाई चाहिने सम्पत्ति आफैंले कमाउँला। ठूलो घर महत्वपूर्ण होइन त्यो घरभित्र बस्ने परिवारबीचको आपसी माया र सम्मानले त्यो घरलाई ठूलो बनाउने हो।
हामी दुबै मिलेर कुनै आफ्नै क्षमताले भ्याउने काम गरौंला दुबै मिलेर सानो एउटा घर बनाउँला अरूको जागिर गर्ने जिन्दगी पनि कहीँ सुखी जिन्दगी हुन्छ र?
तिम्रा हातहरूलाई भान्साभित्रको काम, वासिङ मेसिनमा मात्र सीमित राख्नुहुँदैन। तिम्रा काम गर्ने हात र हिम्मतलाई मेरो तर्फबाट कहीँकतै प्रतिबन्ध लाग्ने छैन। तिमी यो समाजमा अथाह शक्ति र ऊर्जा भएर पनि श्रीमानमा मात्र आश्रित भएर बाँच्ने परनिर्भर नारी नहुनू। बरू त्यस्ता नारीहरूको लागि एउटा प्रेरणाको पात्र हुनु। जिन्दगी सधैं एकनास हुँदैन कसैको। आज जे छ भोलि त्यस्तै हुन्छ भन्ने हुँदैन। भोलि जे हुन्छ पर्सि त्यस्तै हुन्छ भन्ने पनि हुँदैन। परिस्थिति परिवर्तन भइरहन्छन जिन्दगीमा कुनै दिन म नहुन सक्छु त्यो बेला तिमी आफ्नो एक्लोपनाको अर्काे साथ खोज्न स्वतन्त्र छ्यौ तर आफ्नो जीवन गुजाराको लागि कसैको अघि सहानुभूतिको पात्र भएर बाँच्न तिमीलाई छुट हुने छैन।
विवाहपछि मान्छेको खुसीको जिन्दगी सकिन्छ होइन कि दुबैको ऊर्जाले जीवनलाई नयाँ गति दिन सकिन्छ भन्ने उदाहरण बनाउनुपर्छ हाम्रो जिन्दगीलाई।
यो जवानीमा मात्र होइन जवानीपछिको उमेर जति बाँचिन्छ त्यतिन्जेलसम्म यो गीत गुन्गुनाउँदै बाँचिरहुँ। हाँसीरहुँ।
माया त यस्तो होस्, माया त यस्तो होस्।
नजिक टाढा जहाँ भए नि कहिलै नछुट्ने होस्। कहिलै नछुट्ने होस्।