सन् २०२२ डिसेम्बर ३० शुक्रबार।
हरेक अंग्रेजी नयाँ वर्षको छेक पारेर व्यावसायिक संगाती अर्थात् ट्रेकिङ र ट्राभल व्यवसायीहरूका लागि मेजमानी गराउँछ होटल मनास्लुले। एउटा वैशिष्ट्य होटल मनास्लुको। नयाँ वर्षको पहिलो शुक्रबार आयोजना हुने भोज खोइ किन हो यो पटक भने नयाँ वर्षकै संघारमा गरिएको थियो।
धेरै वर्ष भयो, मनास्लु होटलले मलाई चिनेदेखि म पनि यो भोजको नियमित निम्तारू बनेको छु। निम्तो पनि मानिने, पर्यटन व्यवसायी मित्रहरूसँग भेटघाट पनि हुने। रमाइलो नलाग्ने त कुरै भएन।
साँझको साढे छ बजे पुग्दा निम्तारूहरूले भरिभराउ थियो, मनास्लु होटलको ‘मन्डला कोर्टयार्ड’।
एकापट्टि राखिएको थियो ड्रिंक्स बार। बियर पिउनेलाई बियर। वाइन पिउनेलाई वाइन। ह्विस्की पिउनेलाई ह्विस्की।
पाहुनाका हाताहातमा थप ड्रिंक्स र स्न्याक्स पुर्याइरहेका थिए बेयराहरू। स्न्याक्समा राखिएका थिए– भटमास, बदाम, चिप्स र मःमः लगायत नेपाली र नेवारी स्वादका अनेक परिकार।
तीमध्ये धराने कालो बँदेलको परिकार चाहिँ विशेष थियो। कोर्टयार्डको अर्कोपट्टि कुखुरा र खसीको सेकुवा पोल्न व्यस्त थिए कुकहरू।
डाइनिङ हलमा राखिएका थियो ‘मेन कोर्स’। त्यसमा थिए– नेपाली र नेवारी स्वादका अनेक व्यञ्जन।
डिनरमा के-के थियो भन्नुभन्दा पनि ‘के चाहिँ थिएन’ भन्दा पो जायज हुन्थ्यो। फेरि ‘डेजर्ट’ पनि रोजी र छाडी। जेरी मन पर्नेलाई जेरी। हलुवा मन पर्नेलाई हलुवा। योमरी मन पर्नेलाई योमरी; त्यो पनि खुवा र चाकुको छुट्टाछुट्टै।
लिच्छवीकालदेखि चलेको संस्कृति हो– योमरी संस्कृति। कुनै जमाना यस्तो पनि थियो– नेवार समुदायको घरआँगनमा द्यौसीभैलोमा जस्तै युवायुवती टोलटोलमा गएर नेवारी भाषामा थाबले यागु सामा वलः यमरी छगः ति यः,...न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई (अर्थात् यो सालको बाली भित्रियो, एउटा योमरी देऊ,...दुइटा दिए छोरो जन्मन्छ, एउटा दिए छोरी) गीत गाउँदै योमरी माग्ने चलन थियो।
अचेल त यो चलन छैन तर डेजर्टमा राखिएको योमरीले उही पुरानो संस्कृति सम्झाउँथ्यो।
आगन्तुकहरू कोही भित्र, कोही बाहिर। आउने आउँदै, जाने जाँदै। दोहोरीलत्त थिए निम्तारूहरू।
यस्तो प्रतीत हुन्थ्यो– यहाँ आज ठुलै भोज चलिरहेछ, कुनै ठूलो खुसीयालीमा।
खुसी साट्ने कुरा त छँदै छ, आफ्ना व्यावसायिक साझेदारहरूसँगको सम्बन्ध नवीकरण र उनीहरूलाई मनोरञ्जन दिलाउन आयोजना गरिएको होला भन्ठान्छु म।
सदाझैँ पाहुनाको स्वागतार्थ खटिएका थिए होटल मनास्लुका दुई भाइ राजीवदास र रोनेशदास श्रेष्ठ।
यसअघिका भोजमा राकेशदास श्रेष्ठ नै अग्रपंक्तिमा उभिएर पाहुनाहरूको स्वागत गरिरहेका हुन्थे। मिर्गौला रोगसित जुधिरहेका उनी गत साल मात्र दिवंगत भए।
उदयचलदेखि अस्ताचलसम्म होटलमै समय बिताउने राकेशदास श्रेष्ठ आज उनकै होटलले आयोजना गरेको भोजमा नदेखिँदा भने एकखालको शून्यताको अनुभूत हुन्थ्यो। हँसमुख, मृदुभाषी र सरल स्वभावका थिए उनी। होटल व्यवसायको एउटा मेरुदण्ड नै थिए।
आफ्नो कर्ममा लोभलाग्दो सक्रियता थियो। उनको असामयिक देहवसानले परिवारले त एक सदस्य गुमायो नै, सिंगो देशले पनि अपूरणीय क्षति व्यहोरेको छ।
त्यसो त अनगन्ती होटलहरू छन् राजधानीमा यद्यपि मनास्लु होटलबाहेकले यति भव्य भोजको आयोजना गरेको मेरो जानकारीमा छैन।
द्वन्द्वकालमा पर्यटक आगमनमा गिरावट आउँदा एकपटक होटल अन्नपूर्णले आयोजना गरेको ‘ककटेल रिसेप्सन’ मा चाहिँ बोलावट भएको याद छ।
मनास्लुको स्विमिङ पुलसँगै जोडिएको चउरमा क्रमशः प्रदर्शन भइरहेका थिए मल्लकालदेखिको इतिहास बोकेको भक्तपुरको महाकाली नाच र कुमारी नाच, रामचन्द्र नाच, जङ्गली नाच एवम् मयुर नाचलगायतका नृत्यकला।
नेवारी गीत, संगीत र नृत्यमा रमिरहेका थिए निम्तारूहरू।
होटल आफैंमा सत्कारको व्यवसाय हो। मनास्लु होटल– नेपालको एउटा चार तारे डिलक्स हेरिटेज एन्ड बुटिक होटल, नेपालको होटल व्यवसायको जीवन्त इतिहास, नेपाली एवं नेवारी आतिथ्य सत्कारको पर्याय। र, आफैंमा एउटा मूर्त संग्रहालयको प्रतीक पनि हो मनास्लु होटल।
करिब नौ रोपनी क्षेत्रफलमा निर्मित छ तीन वटा बुर्जा भएको नेपाली शैलीको भवन। सुन्दर छन् काठका कलात्मक थाम, निदाल र टुँडालहरू।
होटल परिसरमा छिर्नेबित्तिकै मोहित बनाउँछ मौसमी फूल र झरनाले। भवनको अगाडिपट्टि छ पार्किङ। भवनभित्र प्रवेश गर्ने मूलद्वारको दुवैपट्टि सजाइएको द्वारपालको मूर्तिले प्रस्तरकलाको अनुपम दृष्टान्त प्रस्तुत गरेको छ। मूलद्वारको सामुन्ने छन् दुई थान तान्त्रिक सिंह।
पृथक् आनन्दानुभूति हुन्छ होटल मनास्लु प्रवेश गर्दा।
मन्द वायु चल्दा फेगँः (हावाबाट बज्ने घण्ट) ले ट्याङट्याङ, टुङटुङको आवाज दिन्छ।
प्यागोडा शैलीको मन्दिरजस्तै लाग्छ होटलको छाना। वास्तुशास्त्रका अनुसार घोडाको तस्बिरले हाम्रो जीवन सकारात्मक ऊर्जाका लागि विशेष निर्वाह गरेको हुन्छ।
वायुपंखी घोडाको सजावटले सायद यही सन्देश दिन खोजेको छ।
हिन्दु र बौद्घ धर्मको प्रतीकका रूपमा सजाइएका शिव लिंगसहितको चिरी र शिखारासहितको चिबाले हिन्दु र बौद्धबीचको धार्मिक सहिष्णुता झल्काउन खोजेको छ।
अर्कोतर्फ गुह्येश्वरी मन्दिरमा देखिने नागको कलात्मक आकृति सजाइएको छ।
होटल मनास्लुको वैशिष्ट्य भनेकै काष्ठकला हो। कलात्मक झ्यालहरूको प्रयोग अत्यन्तै सुन्दर ढंगले गरिएको छ।
हामी अतिथि देवो भवः भन्छौं। अतिथिलाई देवतासरह आदर, सत्कार र सम्मान गर्ने भएकोले होटल मनास्लु छिर्दा देवलभित्र प्रवेश गरेजस्तै भान हुन्छ।
रिसेप्सनर्फ अगाडि बढ्दा देखिन्छन्, तामाका पुराना घ्याम्पा र फोँसीहरूका सजावट। कलात्मक बनाइएको छ रिसेप्सन। अगाडि दायाँबायाँ पानस राखिएका छन्। बुद्धको मूर्तिको सजावटले थपेको छ, सुनमा सुगन्ध।
चुकु लोँ (पुराना ढुंगा) बिछ्याइएका छन् भुइँमा। रिसेप्सनको सामुन्ने राखिएका छन् टी टेबल र कुर्सीहरू। त्यहीँ छ बगैँचातर्फ निस्कने ढोका।
रिसेप्सनबाहिर निस्कनेबित्तिकै देखिने पाटीले भक्तपुरको कुनै टोलको सत्तलको झझल्को दिन्छ। भित्तामा सजाइएका छन् अन्नपूर्णा, महालक्ष्मी, अर्धनारेश्वर, यलःकुमारी र गणेशको सुन्दर हस्तकला।
त्यसैको अगाडिका दुई थान चिरीका बीचमा रहेको चिबाले अप्रतिम सौन्दर्य थपेको छ। सिधा अगाडिको भित्तामा सजाइएको स्वेतभैरवको मूर्तिले असनको झल्को दिन्छ। त्योसँगै बनाइएको छ, होटल मनास्लुका संस्थापक स्व. हृदयदास श्रेष्ठको प्रतिमा।
होटलको पछाडिपट्टिको भागमा छ स्विमिङ पुल। स्विमिङ पुलको पिँधमा देख्न सकिन्छ तीन वटा रंगीन मण्डला कला।
हिन्दु र बौद्ध धर्ममा मण्डलाको अर्थ ‘वृत्त’ हो। यसले ब्रह्माण्ड वा देवताहरूलाई प्रतिनिधित्व गर्दछ। मूलतः मण्डला तीन किसिमका हुन्छन्।
मण्डलामा निहित रङहरूले खास अर्थ राख्छन्। सुन्तला रङले रचनात्मकता, रूपान्तरण र आत्मजागरूकता। पहेँलोले सिकाइ, बुद्धि, हाँसो र खुसी। हरियोले शारीरिक उपचार र मानसिक क्षमता। निलोले भावनात्मक उपचार, आन्तरिक शान्ति र ध्यान। र, बैजनीले आध्यात्मिकता।
पोखरीमा बनाइएका मण्डलामार्फत् सायद तिनै अर्थ सुझाउन खोजेको देखिन्छ। काठमाडौंको सुन्धाराको झल्को दिने ढुंगेधारा मौजुद छन्, पोखरीको डिलमा। ढुंगेधारा आफैंमा मौलिक सभ्यताको पहिचान हो। इतिहासको प्रतीक हो। र, कला र संस्कृतिको परिचायक पनि हो।
नेपालको एउटा कालखण्डको स्मरण गराउँछन् यी ढुंगेधाराले।
मनास्लु होटल परिसरमा इतिहास, कला र संस्कृतिको सुवास मगमगाउँछ। यहाँ संस्कृति मात्र झल्किन्न। संस्कृतिहरू झल्किन्छन्। यहाँ छन् त केवल सौन्दर्य, सौन्दर्य र मात्र सौन्दर्य।
प्राचीन कला र संस्कृति वर्तमानका वैभव हुन्। पन्ध्रौं शताब्दीदेखिका काष्ठकला र प्रस्तरकला जस्ता अनमोल रत्न जडित छन् होटल मनास्लुका भुइँ, भित्ता र पर्खालहरू। प्राचीन कलाको प्रयोगले होटल सुन्दर मात्र देखिएको छैन, ती गौरवशाली सम्पदालाई जीवित तुल्याएको पनि छ।
जसरी एउटा शिशु जन्मन्छ र उसको शारीरिक विकास र वृद्धि हुन्छ, त्यसरी नै होटल मनास्लुको भौतिक पूर्वाधारको विकास भएको यथार्थ देखाउँछ यसको इतिहासले।
होटल व्यवसायी स्व. हृदयदास श्रेष्ठको विरासत हो, वर्तमान अवस्थाको होटल मनास्लु। सन् १९५१ मा बुबा जनकदास श्रेष्ठले काठमाडौंको जुद्धसडक (न्युरोड) मा ‘पारस होटल’ खोलेका थिए।
हृदयदासले बुबाको होटलमा व्यवस्थापन हेर्ने जिम्मेवारी पाएका थिए। करिब एक दशकको अनुभव र दक्षतापछि उनलाई आफैं होटल खोल्ने हुटुहुटी जाग्यो। फलतः उनले सन् १९७२ मा चेतभवन (दरबार) को २८ कोठा भाडामा लिएर आतिथ्य सत्कारको दैलो उघारे।
त्यसैको नाम थियो तत्कालीन अवस्थाको दुई तारे मनास्लु होटल। चेतभवन त्यही ठाउँ हो जहाँ, हालको पाँच तारे र्याडिसन होटल अवस्थित छ।
उनै जनकदासका सन्तान थिए जेठा द्वारिकादास श्रेष्ठ (द्वारिकाज होटलका संस्थापक), माहिला मथुरादास श्रेष्ठ (जनक होटलका सञ्चालक) र ठाहिँला सन्तानका रूपमा हृदयदास श्रेष्ठ। जेठो र माहिलोले होटल व्यवसाय गर्ने प्रेरणा पनि पारस होटलबाटै पाएका थिए।
विदेशी मुद्रा आर्जनसँग सम्बन्धित व्यवसाय भएकोले सरकारी नीतिअनुसार दरभाउ पनि डलरमै प्रकाशित गर्नुपर्थ्यो।
मनास्लु होटलको एउटा कोठाको भाडा अमेरिकी डलर १२.५० प्रकाशित गरिएको थियो। तथापि छुट वा कमिसन दिँदा एउटा कोठा ८–९ डलरसम्ममा बेच्ने गर्थे।
ऊ बेला काठमाडौंमा होटलहरू ज्यास्ती थिएनन्। झोछेँ र नयाँ सडक पर्यटकीय केन्द्र भएकाले होटलहरू त्यतै थिए। सत्तरीको दशकमा पर्यटन झोछेँबाट थँःबही (ठमेल) तर्फ बामे सर्दै थियो।
लाजिम्पाट त तत्कालीन अवस्थाको पर्यटकीय केन्द्रबाट लामै दूरीमा थियो। त्यो बेला थँःबही आफैंमा अनकन्टार ठाउँ थियो। लाजिम्पाट त झन् त्योभन्दा पनि पर। यस्तो ठाउँमा होटल स्थापना गर्नु कम चुनौतीपूर्ण थिएन तर उनले त्यो चुनौती स्वीकार गरे।
आजका दिनमा लाजिम्पाट क्षेत्रमा पर्यटनको विकास र विस्तार हुनुको पहिलो श्रेय उनै हृदयदास श्रेष्ठलाई जान्छ। उनले कडा परिश्रम गरे। सफल पनि भए। र, एउटा उदाहरणका रूपमा आफूलाई प्रस्तुत गर्न सके।
करिब पन्ध्र वर्ष अनवरत कडा परिश्रमका साथ होटल चलाएपछि उनले सन् १९८८ मा अहिलेको ठाउँमा होटल स्थानान्तरण गरे। चेतभवनबाट सरेर लाजिम्पाटको यो भवनमा आउँदा पनि होटल मनास्लुमा २८ वटा कोठा नै थिए।
हृदयदासले समय सापेक्ष होटलको स्तरोन्नति गर्न कञ्जुस्याइँ गरेनन्।
सन् १९९५ मा ६१ वर्षको उमेरमा हृदयदास श्रेष्ठको असामयिक निधन भएपछि होटलको विरासत छोराहरू राकेशदास, राजीवदास, रोनेशदास र नागेशदासमा सर्यो। बुबाको शेषपछि सबै भाइ मिलेर होटल सञ्चालनमा दिलोज्यान दिएर लागिपरे।
त्यसो त स्व. हृदयदासका माहिला छोरा राजीवदास श्रेष्ठले सन् १९७७ मा काठमाडौंको रवि भवनबाट होटल व्यवस्थापन तालिमको प्रमाणपत्र लिइसकेका थिए।
उनी सन् १९८६ मा फ्रान्समा होटल व्यवस्थापन विषयमा अध्ययन गरी फर्केपछि मनास्लु होटलले थप सशक्त जनशक्ति पायो।
समय अनुकूल हुँदा उनको कुशलताले होटलले अपेक्षाकृत फड्को मार्दै गयो। अतुलनीय सेवा र न्यानो आतिथ्य प्रदान गर्दै जाने सिलसिलामा भौतिक पूर्वाधारमा व्यापक परिवर्तन पनि आउन थाल्यो।
अत्यन्तै संवेदनशील हुन्छ होटल व्यवसाय। सरकारी नीति त छँदै छ, होटल मनास्लुले ५१ वर्षको इतिहासमा थुप्रै असहज आरोह–अवरोह पार गरेको छ। जस्तो कि मुलुकको अस्थिर राजनीति, राजनीतिक परिवर्तनका लागि भएका आन्दोलन र द्वन्द्वकालीन अवस्था, दरबार हत्याकाण्ड, २०७२ को महाभूकम्प र कोभिड– १९ आदि।
इराक–कुवेत युद्ध पनि कम सकसपूर्ण भएको थिएन होटल व्यवसायका लागि। ‘अकुपेन्सी’ घटेर ३० प्रतिशतमा ओरालिँदा पनि होटल अस्तित्वमा रहिरहन सक्नु चानचुने कुरा थिएन।
हृदयदास छँदै सन् १९९४ मा ५४ वटा ‘गेस्ट रूम’ र छ वटा ‘अपार्टमेन्ट’ पुगिसकेका थिए होटल मनास्लुमा।
उनका छोराहरूले होटल ‘अपग्रेडिङ’ को क्रमलाई निरन्तरता दिए। होटल दुई तारे भए पनि सेवा र सुविधा बढाउँदै लगेर उनीहरूले मनास्लु होटलको स्तर तीन तारे होटल बराबरको उचाइमा पुर्याइसकेका थिए ।
सन् २०१२ सम्ममा ७३ कोठा चालु भइसकेको थियो। सोही साल आएको हो उनीहरूमा ‘हेरिटेज’ को अवधारणा।
यसपछि प्राचीन प्रस्तर र काष्ठकलाको खोजी काम सुरू भयो।
तदनुरूप उनीहरूले भेट्टाएका जतिलाई ल्याएर मर्मतसम्भार गर्दै पुनर्स्थापना गर्न थाले। फलतः सन् २०१९ मा होटल मनास्लुलाई हेरिटेज होटलमा बदल्न सके।
आजको दिनमा होटल मनास्लुमा ८० कोठा चालु अवस्थामा छन्। अन्तर्राष्ट्रिय चार तारे होटलको सुविधा छ मनास्लु होटलका कोठाहरूमा।
त्यसैले त होटल मनास्लु इन्टरनेसनल स्ट्यान्डर्डको चार तारे हेरिटेज एन्ड बुटिक होटलमा वर्गीकृत भएको छ।
आतिथ्य उद्यममा मूलतः खाना र पेय पदार्थ, सुविधाजनक आवास, यात्रा र पर्यटन, एवम् मनोरञ्जन समावेश हुनुपर्छ।
यी सबै सुविधा उपलब्ध छन् होटल मनास्लुमा।
‘कन्फरेन्स’का लागि दुई थान अत्याधुनिक हल छन्। भोजनका लागि दुइटा रेस्टुरेन्ट छन्।
नेपाली र नेवारी स्वादका परिकार होटल मनास्लुको विशिष्ट पहिचान हो।
काठमाडौंमा रहुन्जेल आफ्ना पाहुनाहरूलाई ‘अकमडेट’ गर्ने सवालमा ट्रेकिङ र ट्राभल व्यसायीहरूको पहिलो छनोटमा पर्छ, मनास्लु होटल।
यो पर्यटन व्यवसायीका अतिथिहरूको ‘अतिथिगृह’ भएको छ। व्यवसायीहरू होटल मनास्लुको साझेदारजस्तै बनेका छन्।
होटल पर्यटन व्यवसायीहरूको निरन्तरको सहयात्री भएको छ। अचम्म त के भने ३५–४० वर्षदेखि अनवरत सहकार्य गर्ने कम्पनी र कर्पोरेट हाउसहरू अद्यापि छन् मनास्लु होटलसित।
यस अर्थमा आफ्ना सहयात्री र संगातीहरूलाई कम्तीमा वर्षको एक पटक सम्झनुले यथार्थमा व्यवसायीहरूको सम्मान गरेको अनुभूति हुन्छ।
फेरि यो नेवारी संस्कार र आतिथ्यको शैली पनि हो। खुला हृदयविना यस्तो सुकर्म सम्भव हुँदैन। मान्छेको सोच फराकिलो भएपछि छाती पनि त्यत्तिकै चौडा हुँदोरहेछ भन्ने दृष्टान्त पनि हो यो।
होटल मनास्लुले जीविकोपार्जन र रोजगारीका अवसर मात्र सिर्जना गरेको छैन, विदेशी मुद्रा आर्जनमार्फत् राष्ट्रिय आयमा टेवा पुर्याएको पनि छ।
विश्व बजारमा नेपालको प्रचारप्रसार गरेको छ। कला, संस्कृतिको संरक्षण गरेको छ। आर्थिक, सामाजिक र सांस्कृतिक पक्षमा जायज आवाज बुलन्द गरेको छ।
कुनै पनि सेवा सञ्चालन गर्नु एउटा कुरा। च्याउ उम्रिएसरि होटल उम्रिरहेको वर्तमान यथास्थितिमा सेवालाई चुस्त र दुरुस्त बनाइरहन सक्नु पृथक् कुरा। ‘प्रपर्टी’ लाई हरेक वर्ष सुन्दरभन्दा सुन्दर बनाउँदै सफलताको इतिहास रच्नु झन् पृथक् कुरा।
यही यथार्थ झल्किन्छ होटल मनास्लुमा ।
रात्रिभोजबाट बाहिरिँदै गर्दा यस्तो अनुभूति हुन्थ्यो, होटल मनास्लुले जति कमाएको छ, त्यति नै यसले आफ्नै सौन्दर्यका लागि खर्च गरिरहेको छ।