कृष्ण प्रसादजी मैले तपाईंले लेखेको 'हुनेवाली श्रीमतीलाई पत्र' लेखलाई दोहोर्याइ तेहेर्याइ पढेँ।
अदृष्य जीवन साथीलाई आग्रह गरेका शब्द शब्द केलाएर पढ्दा रमाइलो साथै नमज्जा पनि सँगसँगै लाग्यो।
रमाइलो यसकारण लाग्यो कि तपाईंले आफ्नो हुनेवाली श्रीमतीलाई पत्र सार्वजनिक गरी प्रतिवद्धता व्यक्त गर्नुभयो।
नमज्जा यसकारण लाग्यो कि कोही पनि नारीले यसरी खुला हृदयले पत्र लेखी प्रेमी बनिदिन आग्रह गर्लिन्?
हाम्रो समाजमा नारी यति धेरै स्वतन्त्र होलान्? मैले कहीँकतै छनक समेत पाउन सकेकी छैन।
वरपरका आमनारीको अवस्थाबारे तपाईं र म दुवै स्पष्ट छौं होइन र? तर पनि तपाईंका ती प्रश्नहरूको खातिर केही शब्दमार्फत् जवाफ दिऊँ, दिऊँ लागेको छ।
तपाईंले कल्पना गरेजस्तै एक प्रेमिका र जीवनसाथी दुवै हुँ म मेरो प्रिय मानिसको। तर नारीहरू मजस्तै र तपाईंकी कल्पनाकी जीवनसंगीजस्तै बन्न गाह्रो यत्रतत्र सर्वत्र छ नि!
वरपर रहेका सम्पूर्ण नारीहरूको वास्तविकताबारे जानकार रहेको कारण घच्घचाएको छ शायद जवाफको लागि।
मैले म सम्बोधन गरेर तपाईंलाई जवाफ दिने प्रयत्न गरेकी छु, कुनै एक नारीको तर्फबाट।
पहिलो, मलाई पनि यो लोग्ने भन्ने शब्द मन पर्दैन। जसरी तपाईंलाई स्वास्नी भनेको मन पर्दैन। म मेरो जीवन साथीमा कहीँकतै लोग्ने हुन् भन्ने आभास भएको रुचाउँदिनँ।
मलाई गहनामा सजिएर मुसुक्क हाँस्दै गरेको फोटो देख्दा डमीजस्तो लाग्छ। यस्ता फोटोलाई शोअप गरी रमाउने कलाको पक्षमा म छँदै छैन।
सामाजिक सञ्जालको लाइक र कमेन्टमार्फत् नारी सुन्दरता माथिको अभिव्यक्ति मन पर्दै पर्दैन। किनकि यसमा आफ्नो व्यक्तित्वभन्दा नारी आवरणको चर्चा धेरै हुन्छ। म मेरो शरीरलाई नारी सुलभ गुण भन्दै नक्कली मुस्काउनमा रमाउन र आकर्षक बनाउनमा रुचि राख्दिनँ। यसमा, मेरो रुचि र तपाईंको रुचि मेल खाने देखिन्छ। यो श्रृंगार, साजसज्जा, धन सम्पत्तिसँग त म आफूलाई रत्तिभर जोड्न चाहन्न। म हिजोदेखि आजसम्म यसैको कारण दासी बनिरहेकी छु।
मलाई आफू दासी बनेर पुरूषलाई लोग्ने स्वीकार गर्ने मन छैन। कसैको दयामा बाँच्न होइन, आफ्नै कमाइको जिन्दगीमा रमाउने मन छ। त्यसैले म त वैवाहिक सम्बन्धमा दासी बनेर होइन, आफ्नै बलबुतामा उभिन चाहन्छु।
आफ्नै मेहनतले निर्माण गरेको आफ्नै पहिचानमा उभिनमा खुसी हुन्छु। नारी र पुरूष दुई भिन्न मानव प्राणी हुन् भन्ने यथार्थ स्वीकार गर्ने व्यक्तिलाई मात्र मेरो जीवन साथी बनाउन चाहन्छु।
दोस्रो, सामाजिक व्यवस्थाका नीति निर्माताले तयार गरेको अंशबण्डाको अंकगणित मलाई पनि मन पर्दैन।
तेस्रो, म सधैं बाबुआमा र उनका सन्तान सबै सँगै रहेको हेर्न चाहन्छु। तपाईंका दिदी बहिनी कोहीसँग पनि मेरो रिसराग र वैमनस्यता रहने छैन। म त चाहन्छु उनीहरू पनि हामी सँगै बसून्। जस्तो तपाईं बाबु आमाको सन्तान हो, उनीहरू पनि त्यस्तै हुन्। मैले उनीहरूलाई हृदयपूर्वक स्वागत गर्न सक्छु। किनकि मलाई पनि त्यसरी नै मेरो घरमा स्वागत गरियोस् भन्ने चाहना राख्छु। तपाईंलाई पनि आफ्नो परिवारमा सहज रूपमा सामेल गराएर बस्न चाहन्छु। त्यसको लागि तपाईंले मसँग बस्ने हिम्मत गर्नुपर्छ। मेरा परिवारले मलाई जन्मघरमा अटाउने व्यवस्था निर्माण गर्न सक्नुपर्छ। पैत्तृक सम्पत्तिमा छोराको मात्र होइन, छोरीको पनि हक लाग्ने व्यवस्थाको कार्यान्वयन जो गराउनु छ।
पैत्तृक सम्पतिमा भन्दा आफ्नै बलबुतामा कमाउने र सँगै रमाउने तपाईंको विचारको उच्च सम्मान गर्छु। जहाँ विचार र विवेकको सम्मान गरिन्छ। त्यहाँ आत्मविश्वासका साथ अगाडि बढ्न सकिन्छ। त्यस्तो विवाहले मात्र विवाहपछि एक अर्काको खुसी निमोठ्ने होइन, नयाँ जीवन र नयाँ ऊर्जा दिन्छ।
चौथो, अहिले सम्मका सम्बन्धमा कहीँकतै पनि नारीहरू पुरूष समान छैनन्। नारी-पुरूष बराबर भनेता पनि त्यो बोलीमा मात्र सीमित छ। मलाई परिवारको इज्जतको पक्षमा भन्दा आफ्नो इज्जत र आत्मसम्मानको पक्षमा रहेर बाँच्न मन छ। हामी एक अर्काको सम्मानको खातिर मिलेर लडौं। जहाँ तपाईंले जन्मसिद्ध रूपमा प्राप्त अधिकारको दुरूपयोग नगर्नुहोस् र मलाई जन्मसिद्ध रूपमा प्राप्त विभेदको विरूद्ध डटेर लड्न साथ दिनुहोस्।
मेरा बाटोमा राखिएका ताता कोइलाहरूलाई पन्छाउन मद्दत गर्नु होस्। आजसम्म हामीले आफ्नो स्वतन्त्र अस्तित्वको पहिचान पाउन सकेका छैनौं। म तपाईंजस्तो साथीको साथ पाएदेखि स्वअस्तित्व निर्माण गर्ने बाटोमा पुग्नेछु। यो बाटोमा तपाईं र म सँगै हिँडिरहँदा तपाईंले आफ्नो जिम्मेवारी बाँडिएको महशुस पनि गर्नु हुनेछ। किनकि एक्लै बोकेको आर्थिक बोझको भारीले तपाईंलाई धेरै गलाएको छ। त्यो मार्गबाट सँगै हिँड्दा तपाईंले राहत पाउने र मैले आफ्नो हक अधिकार पाउने अवसर दुवै मिल्छ।
दुई जनालाई समान दायित्वको निर्माण हुन्छ। मेरो र तपाईंको समान अस्तित्व कायमले मात्र हामी दुवैलाई एक अर्काको सही सारथि बनाउँछ।
तपाईं मेरो सपनाको संसारलाई निर्माण गर्न सहयोग गर्नुहुन्छ। जुन संसारलाई पितृसत्ताले धुजा धुजा पारेको छ। मलाई तपाईं भन्दा अगाडि बढ्नु छैन। मात्र सँग सँगै हिँड्नु छ। ती हिँड्न बन्द गरिएका तगाराहरू खोल्ने साथको जरूरत छ। जुन हामी दुईले एकसाथ खोल्दा मात्र एक अर्कालाई सहज हुन्छ।
काँडेतार लगाएको बाटो हिँड्न सहज कहीँकतै छैन। हामीभित्र साहस र हिम्मत ज्यादा भए काफी हुन्छ।
पितृसत्तात्मक व्यवस्थाले मलाई कैदी बनाई रहँदा मेरो अस्तित्वलाई कमजोर पारेको छ। यही कमजोर अस्तित्वलाई पूर्ण मानव अस्तित्व कायम गर्न साथ दिने प्रेमीको खाँचो छ।
मेरो र मात्र मेरो लागि सामाजिक व्यवस्थाले निर्माण गरेका पर्खाल भत्काउन सहयोग गर्ने जीवन साथीको आश गर्दछु। यदि यी सबैको पक्षमा रहेर तपाईं जीवन साथी बन्नु हुन्छ भने म पनि तपाईंसँग हिँड्ने छु।
आउनु होस् तपाईं र म एकसाथ अगाडि बढौं। तपाईंका सपना र मेरो सपनाको संसार एकै ठाँउमा मिसाएर नविन संसारको निर्माण गर्न हातेमालो गरौं। नयाँ बाटो खन्ने नयाँ यात्राको नयाँ यात्री बनौं।