‘माया के होला..?’ भन्ने बित्तिकै उदितनारायण झा र दिपा झाले चलचित्र बेहुलीमा पार्श्व गायनको याद आइहाल्छन्। उसो त मायाका बारेमा स्वरसम्राट नारायणगोपाल, अरूण थापाले कालजयी गीतहरू पस्केर बिदा भएका छन्।
अतः मायाका परिभाषा सबैका आ-आफ्नै छन्।
परिवार, नातागोता, साथी/भाइ, राष्ट्रियता, मानवता आदि-आदि। तर आज हामी प्रेमी र प्रेमिका, केटा र केटीबीच हुने मायाको चर्चा गरौं। हो, हामी आज दुई ध्रुवीय लैंगिक असमानताबीच हुने प्रेमको कुरा गरौं।
अस्ति भर्खरै आत्मीय एक जना दाइलाई घुर्केर फोनमा ‘दाइ मेरो ब्रेकअप भयो, के गर्ने होला?’ भनेर गुनासो सुनाएँ। त्यो दाइ मेरो प्रेमको प्रत्यक्ष साक्षी पनि हुनुहुन्थ्यो।
उताबाट ‘मेरो नि भर्खरै भाछ, तिमीले पो मलाई घुर्की लाउछौ, म चाहिँ कसलाई लाऊँ?’ जवाफ सुनेर म तीन छक्क परें।
आखिर तिनै दाइ थिए जसले हामीबीच मिलाउन सहयोगी भूमिका खेलेर हामी चार वर्षसम्म प्रेमिल जीवन बितायौं। हामी सँगै हाँस्यौं, सँगै रोयौं, म त छाती चौडा गरेर परिवारलाई सुनाउँथें, देखाउँथें ‘बुहारी त गज्जबै छ भन्या’।
महान् वैज्ञानिक अल्बर्ट आइस्टाइनले भनेका छन्, ‘ग्राभिटेसन इज नट रेस्पोन्सिबल फर पिपुल फलिङ इन लभ’।
हो, म पनि कसैको प्रेममा गुरुत्वाकर्षण उत्तरदायी नहुनेमा पछुतो रहिनँ।
हो, यो त आत्मा थियो, यो त मन थियो, यो पहिलो थियो।
किशोर अवस्था पार गरेसँगै विपरीत लिंगप्रति आकर्षण बढ्नु प्रकृतिको सामान्य नियम हो। अपवाद कहिलेकाहीँ पार्कतिर किशोरावस्थाकाहरू पनि रोमान्चित देख्छु र यो नौलो र आश्चर्य चकित पनि होइन। बुझ्न सकिन्छ! उनीहरू छिनमै झगडा गर्छन्, छिनमै रून्छन, छिनमै सामाजिक सञ्जालमा ब्लक गर्छन् , छिनमै ब्रेक-अपका स्टाेेरी अपलोड हुन्छन् अनि छिनमै मिल्छन्, फेरि चलिरहन्छ निरन्तर, चलिरहन्छ निरन्तरता। फेरि उही पानका राता पात सँगै बेबी, लभ, स्विटी, मुटु, मोटी, काले, काली, भुन्टी।
मेरो सानैदेखि स्कुलिङ थियो कि प्रेम सबभन्दा पहिला आफूलाई गर। प्रेम गर, इन्तु, किन्तु परन्तु तर प्रोफेस्नल तरिकाले! र मैले प्रेमिल जीवनमा उनीलाई एकाध कहिल्यै पनि त/तिमीले सम्बोधन गरिनँ, म तपाईं भन्थें। उमेर सँगै म पनि प्रेममा होमिएँ, म पनि कसैको प्रेमी भएँ, कयौं भेट, कयौं वाचा, कयौं साथ, कयौं चुम्बन, कयौं गफ। आज यी सबै यादहरू मात्रै, पीडा मात्रै, फगत सम्झना मात्रै। हिटलरले भनेका छन् ‘युद्ध गर्नुस् तर प्रेम नगर्नुस्, युद्धमा मरिन्छ या मारिन्छ तर प्रेममा न बाँच्न सकिन्छ न त मर्न नै सकिन्छ’।
हिटलर जतिको क्रूर र युद्ध नायकले प्रेमलाई यसरी व्याख्या गर्नुले पनि अनुमान लाउन सकिन्छ, प्रेम युद्धभन्दा दर्दनाक छ, पीडा छ।
म सम्झन्छु! मावल हजुर-आमा बित्दा पक्षघातले ग्रसित हजुरबुवाले चियानडाँडा लैजाँदै गरेकी आफ्नी ७० वर्ष साथमा रहेकी जीवन संगिनीलाई बिदाइ गरेको क्षण। भावविह्वल हजुरबुवा भन्दै हुनुहुन्थ्यो ‘राम्रोसँग जानु, बाटाेमा अवरोध नआओस्, म पनि आउँछु एकदिन, तिमी राम्रोसँग जानू’। गणितमा हजुरबुवाको ७० र मेरो ४ को आकाश-जमिन फरक छ, तर उही शब्द ‘तिमी राम्रो गर, प्रगति गर, खुसी हुनु, पशुपतिनाथ दाहिने परून्’।
सम्बन्धमा उतारचढाव हुनु नौलो होइन, काठका झिल्काहरू आपसी ठाेक-ठाकका बीच बलिन्छ। मानिसका सम्बन्धहरू पनि यसरी नै हो चल्ने, तर प्रेममा यो सधैं हुनुहुँदैन, प्रेम त आपसी बुझाइ हो, आपसी कर्म हो, प्रेम अनुरक्त हो, सच्याइ हो। प्रेम त साँच्चै नशा हो, यो एक पेग पिएपछि लागिरहन्छ, नशा-नशामा चढिरहन्छ, प्रेम आपसमा स्वीकार्य हो।
विगतका कमीकमजोरीले आज भोलि खुब सताउने गर्छ। मेरो कमजोरी नस्वीकार्ने प्रेम कस्तो प्रेम भन्दै चिच्याउने गर्छु, रून्छु, आफैंलाइ सराप्छु, जीवन गन्तव्यहीन झैं लाग्छ, अनि सुन्छु उही अरूण थापाको गीत ‘दिनभरि फुल्छु नशामा डुबी, रात काट्छु कल्पेर, दोष कसैलाई दिन चाहन्नँ, पिउनेछु बरू आँखाको आँसु मायाको चिनो सम्झेर, मायाको चिनो सम्झेर।’
ओहो! प्रेम नशा मात्रै होइनन्, यो रियल पेगको नशा हो, यो दुर्दशा पनि हो।
मेरो बुझाइमा प्रेम आरोप-प्रत्यारोपणको विज होइन। यो त आवश्यकताको मापन हो झैं लाग्छ। कसलाई कति आवश्यकतामा साथ दिने भन्ने प्रश्न दुई फरक मुटुमा हुनु जरूरी झैं लाग्छ।
कथामा सुनेको थिएँ, पढेको थिएँ, महाकवि देवकोटाले मुना-मदनमा उतारेका पात्रहरू बुझें, बिपीका तीन- घुम्तीका पात्रहरू बुझें। त्यो त किताब थियो, शब्द थियो र यथार्थमा त्यो सही पनि थियो। प्रेम वास्तवमै यथार्थ र कल्पनाको साझा समिश्रण हो। यहाँ अनेक पात्रहरू छन्, कलाकारहरू छन्, निर्देशक छन्, निर्माता छन्। यो कहीँ न कहीँ टुंगिन्छन्। तर निरन्तरतामा टुंगिएकोको प्रेम पो सच्चा प्रेम हो।
म त यस्तो प्रेम गर्न सकौं, जहाँ साथ र सहयोग होस्, माया ममताको कमी महसुस नहोस्, उद्धेश्य होस्, चेत होस्, पियार होस्, खबरदारी होस्, चुनौती होस्, शरीर होस्, प्राण होस्, स्वास्थ होस्, जीवन होस्। त्यो आफैंमा प्रेम गरेर पनि सम्भव छ, म आफैंलाई प्रेम गर्न सकौं, म आफैंमा प्रेम गर्न सिकौं, म आफैंलाई खुब माया गर्छु र अन्त्यमा दि एज ब्यान्डको गीत ‘आज प्रेमसँग हारेँ’