काठमाडौं उपत्यकाको प्रमुख समस्यामध्ये एक हो, ट्राफिक जाम। बढ्दो ट्राफिक समस्यालाई मध्येनजर गर्दै ललितपुरको ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाइओभर निर्माण हुन गइरहेको छ।
यसले तीन वटै जिल्लालाई व्यवस्थित रूपमा एकआपसमा जोड्न तथा सहज सवारी आवागमन र मालसामान ढुवानी गर्न मद्धत गरी ट्राफिक व्यवस्थापनमा सहयोग गर्दछ।
चक्रपथका प्रमुख चोकहरूमा सवारी साधन र पैदलयात्रुहरूको अत्यधिक चापका कारण यातायात व्यवस्थापन जटिल भएको र दुर्घटना न्यूनीकरण चुनौतीपूर्ण बनेको अवस्थालाई चिर्न ढिलै भए पनि दीर्घकालीन सोच राखी फ्लाइओभर निर्माण अगाडि बढाउन सडक विभागबाट भएको यो एउटा सराहनीय र उत्साहजनक कार्य हो।
बालकुमारीतर्फ ४ प्रतिशत ग्रेडमा ३२० मिटरको र्याम्प, ग्वार्को चोकमा ३५ मिटरको स्ल्याब र सातदोबाटोतर्फ ४ प्रतिशत ग्रेडमा १८६ मिटरको र्याम्प गरी सो फ्लाइओभरको जम्मा लम्बाई ५४१ मिटर रहेको छ।
ग्वार्को चोकमा ६ मिटर ५० सेन्टिमिटर उचायको क्लियरेन्स राखिएको छ। वर्षातमा फ्लाइओभरको पानी निकासका लागि र्याम्पहरूमा भर्टिकल/विक ड्रेनको व्यवस्था गरिएको छ।
काठमाडौं उपत्यकाको चक्रपथ निर्माण गर्दा चक्रपथ बाहिर नाम मात्रको (पातलो वस्ती) थियो भने अब ज्यादै बाक्लो वस्ती बसिसकेको अवस्था छ। चक्रपथ वरिपरिका चोकहरूमा फ्लाइओभर/अण्डरपास निर्माणपश्चात वा यसबाट यातायात सहज बनाउने परिकल्पना गरी व्यवस्थित टाउन प्लानिङ गरी वस्ती बसाएको अवस्था देखिन्न।
फ्लाइओभर निर्माण अवधिभर काठमाडौं उपत्यकाको अझ विशेष गरी कोटेश्वरदेखि सातदोबाटो बीचको सडक खण्डमा यातायात व्यवस्थापन कम चुनौतीपूर्ण हुने छैन। चक्रपथमा रहेका अन्य चोकहरूमा क्रमिक रूपमा फ्लाइओभरहरू निर्माण गर्दै जाने हो भने राजधानीमा निरन्तर वर्षौं वर्षसम्म जाम हुने चुनौती निश्चित छ।
चक्रपथमा रहेका सम्पूर्ण चोकहरूमा एकैपटक फ्लाइओभरहरू निर्माण गर्ने हो भने निश्चित अवधिका लागि राजधानीभित्र सवारी आवागमन निषेध नै गर्नुको विकल्प रहन्न, जुन सोच्नु पनि कहालीलाग्दो र अव्यवहारिक देखिन्छ।
ग्वार्कोमा फ्लाइओभर निर्माणपश्चात समस्याको पूर्ण रूपमा समाधान हुने भन्ने मात्र होइन, फ्लाइओभर आफैमा समस्याका रूपमा देखिने सम्भावना पनि रहन्छ।
यी कुराहरूलाई मध्यनजर गर्ने हो भने बाहिरी चक्रपथको परिकल्पना गर्दा बाहिरी चक्रपथ वरिपरि आवश्यक हुनसक्ने फ्लाइओभर वा अण्डरपासका कुराहरू र सोहीअनुसार व्यवस्थित वस्ती बसाउने गरी सहरीकरण गर्नेतर्फ बेलैमा सचेत हुनुपर्ने देखिन्छ।
दीर्घकालीन सहज यातायात व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण गर्न व्यवस्थित सहरीकरणमा जोड, राजधानीको जनघनत्वमा नियन्त्रण र नियन्त्रित सवारी साधनको प्रयोगलाई समेत समयमै ध्यान दिनु सबैभन्दा उत्तम उपाय हुनसक्छ।
फ्लाइओभर डिजाइन गर्दा निर्माणपूर्व, निर्माण अवधिभर र निर्माणपश्चात यसबाट निम्तिन सक्ने समस्याहरू र निराकरणका विषयमा गहन अध्ययन गरेकोमा शंका गर्नुपर्ने होइन। लक्षित समयमै फ्लाइओभर निर्माण सम्पन्न हुनु र निर्माण सम्पन्नपश्चात प्रभावकारी संचालन हुनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
त्यसैले फ्लाइओभरको प्रभावकारी संचालनका लागि समयमै ग्वार्को फ्लाइओभर निर्माणपश्चात ट्राफिक प्रहरीको उपस्थिति चाहिने/नचाहिने, ट्राफिक प्रहरीको उपस्थिति चाहिने हो भने ट्राफिक प्रहरीको लागि सुरक्षित व्यवस्था, ग्वार्को चोकको चारै कुनामा भिजिबिलिटी पुग्ने/नपुग्ने, ग्वार्को चोकमा र सर्भिस लेनतर्फ जेब्राक्रसिङबाट बाटो काट्ने पैदलयात्रुहरूका लागि सुरक्षित व्यवस्था, वर्षातको बेला फ्लाइओभरमा बग्ने पानीको सुरक्षित र भरपर्दो व्यवस्थापन, साँझ र रातिका लागि फ्लाइओभरमुनि चोकमा विशेष सुरक्षाका लागि प्रभावकारी लाइटनिङ र कन्ट्रोल रूमबाटै सिसिटसभीबाट निगरानी हुने व्यवस्था, सवारी साधन र पैदलयात्रु दुवैका लागि टाइमरसहितको ट्राफिक बत्तीको व्यवस्था र ट्राफिक बत्तीको नियमित संचालन आदि विषयमा गहन छलफल वा ध्यान पुर्याउनु वाञ्छनीय देखिन्छ।
र्याम्प मोडलका कारण बालकुमारी तर्फबाट ग्वार्को चोक जाने र सातदोबाटो तर्फबाट ग्वार्को चोक जाने सवारी चालकले दायाँतर्फ पूरै नदेख्ने, बालकुमारी तर्फबाट आएका ग्वार्को चोकमा टर्न लिई बालकुमारीतर्फ नै जाने सवारी साधन र सातदोबाटो तर्फबाट आएका सवारी साधनबीच (तीव्र गतिमा हुने अत्यधिक सम्भावना रहेको) र सातदोबाटो तर्फबाट आएका ग्वार्को चोकमा टर्न लिई सातदोबाटोतर्फ नै जाने सवारी साधन र बालकुमारी तर्फबाट तीव्र गतिमा आएका सवारी साधनबीच (तीव्र गतिमा हुने अत्यधिक सम्भावना रहेको) दुर्घटना हुने सम्भावना अत्यधिक देखिन्छ।
पश्चिम तर्फबाट जेब्राक्रस भई बाटो काट्ने पैदल यात्रुले फ्लाइओभरको मुनि पुगेपछि बायाँतर्फ पुरै नदेख्ने र बालकुमारी तर्फबाट सातदोबाटो जाने सवारी चालकले दायाँतर्फ पूरै नदेख्ने तथा पूर्व तर्फबाट जेब्राक्रस भई बाटो काट्ने पैदल यात्रुले फ्लाइओभरको मुनि पुगेपछि बायाँतर्फ पूरै नदेख्ने र सातदोबाटो तर्फबाट बालकुमारी जाने सवारी चालकले दायाँतर्फ पूरै नदेख्ने भएकाले पनि सवारी साधन र पैदलयात्रुबीच दुर्घटना हुने सम्भावना अत्यधिक देखिन्छ।
ग्वार्को चोकमा फ्लाइओभर निर्माणपश्चात सामान्य प्रकृतिका भन्दा गम्भीर प्रकृतिका दुर्घटनाहरू हुने प्रवल सम्भावना छ। तसर्थ, फ्लाइओभरको मुनि चारैतर्फका कुनाहरूमा उपयुक्त कन्भेक्स मिररको प्रयोग वा अन्य उपयुक्त उपाय अपनाउनु आवश्यक देखिन्छ।
यदि ग्वार्कोमा बन्न लागेको र्याम्प मोडलको फ्लाइओभर निर्माणले समाधानको सट्टा भिजिबिलिटीको कारण ब्ल्याक स्पटका रूपमा समस्या निम्त्याएमा तुलनात्मक रूपमा महंगो भए पनि पिल्लरमा आधारित फ्लाइओभर निर्माण उपयुक्त हुनसक्छ।
सवारी साधनहरूका लागि अण्डरपास निर्माण पनि समाधानको उपयुक्त विकल्प हो तर भौगोलिक अवस्थाले गर्दा सबै ठाउँमा अण्डरपास निर्माण गर्न अनुपयुक्त हुन्छ।
चक्रपथका प्रमुख व्यस्त चोकहरूमा ओभरब्रिजहरूको निर्माण गरी पैदलयात्रुहरूलाई बाटो काट्न लगाई चोकमा देखिने सवारी साधन र पैदलयात्रुहरूको द्वन्द्व घटाउने, ट्राफिक इन्जिनियरिङलाई अधिकतम उपयोग गर्ने र जनचेतना अभिवृद्धि गर्ने अन्तिम विकल्प त छँदै छ।
जे जस्तो भए पनि ग्वार्कोमा निर्माण हुन गइरहेको फ्लाइओभर हालको चक्रपथमा फ्लाइओभर निर्माण नै समस्याको समाधान हो/होइन, र्याम्प मोडलको फ्लाइओभर र पिल्लरमा आधारित फ्लाइओभरमध्ये कुन उपयुक्त हुन्छ, ब्ल्याक स्पटका रूपमा देखिन सक्ने अवस्था छ/छैन र थप सुधार गर्नु पर्ने विषयका बारेमा गहन अध्ययन गर्ने एउटा नमुना प्रोजेक्ट हुने भएकाले यस फ्लाइओभर निर्माणको विशेष महत्त्व छ।
(लेखक प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका ट्राफिक इन्जिनियर हुन्।)